You internet speed is slow. Switch to text view mode

Switch
epaper logo
ST

Last Login:
Logout
+
Page 1
गृह पृष्ठ

भारतले नयाँ हवाई रुट थप्न मानेन

- सुरज कुँवर

 (काठमाडौं) - नेपाललाई चारवटा हवाई रुट थप्न असार पहिलो साता काठमाडौंमा सहमति जनाएको भारत त्यसबाट पछि हटेको छ । प्रस्तावित रुट सञ्चालनको विषय टुंग्याउन बुधबार नयाँदिल्ली पुगेका पाँच नेपाली प्राविधिक सकारात्मक निर्णय नभएपछि स्वदेश फर्केका छन् ।
‘भारतीय प्राविधिकले डिफेन्स (सैन्य) कारण देखाउँदै यसपटक निर्णय नै गरेनन्,’ बैठकमा सहभागी एक अधिकारीले भने, ‘यो विषय फेरि प्रधानमन्त्री तहकै वार्तामा फर्केको छ । प्राविधिकको वार्ताबाट टुंगिएन ।’ उनका अनुसार नेपालले मागेका हवाई रुटमुनि आफ्ना सैनिक क्याम्प र बढ्दो हवाई चाप रहेको भन्दै भारतले अनुमति दिन नसकिने जनाएको छ ।
प्राविधिक तहको उक्त एकदिने बैठक बिहीबार दिल्लीस्थित राजीव गान्धी भवनमा भएको हो । ‘ढोका बन्दै भइसकेको छैन,’ नागरिक उड्डयन प्राधिकरणका एक अधिकारीले भने, ‘नेपालमा पछिल्लो पटक बढ्दो हवाई चापमा उनीहरू पनि सघाउन चाहन्छन् । तर यस पटक टुंग्याउन सकिएन ।’


दुई देशका प्रधानमन्त्रीबीच काठमाडौंमा भएको भेटघाटपछि वैशाख २९ गते जारी संयुक्त वक्तव्यमा हवाई रुट थप्ने विषय समेटिएको थियो । असार २ गते भारतीय विमानपत्तन प्राधिकरणका प्राविधिक वार्ता गर्न काठमाडौं आएका थिए । नेपालको नागरिक उड्डयन प्राधिकरणको टोलीसँग वार्तापछि उनीहरूले थप चार अन्तर्राष्ट्रिय रुट उपलब्ध गराउन सम्झौतापत्रमा हस्ताक्षरसमेत गरेका थिए । त्यसैलाई पूर्णता दिन प्राधिकरणले बुधबार प्राविधिक निर्देशक दीपक बरालको संयोजकत्वमा ५ सदस्यीय टोली भारत पठाएको थियो । काठमाडौंमा सम्पन्न बैठकमा दुवै मुलुकका प्राविधिक टोलीमार्फत सेम्टेबरमा उडान सुरक्षा मूल्यांकन गरी टुंगो लगाउने सहमति थियो ।


‘अहिले हामीसँग सहमति जनाएका हवाई प्रवेशविन्दुको एजेन्डामा हुँदैन मात्रै भनेछन्,’ स्रोतले भन्यो, ‘हाम्रा साथीहरू ‘तपाईंहरू रुटका विषयमा सकारात्मक नहुने भए इमेलमै खबर पठाए भइहाल्थ्यो, किन बोलाएको’ भन्दै शुक्रबार स्वदेश फर्केका छन् ।’


असारमा भएको सम्झौतामा भारतले हाल एकतर्फी रहेको काठमाडौं–महेन्द्रनगर–दिल्ली रुटलाई दुईतर्फी बनाउने तर दिल्लीबाट फर्किने विमानलाई उडान सुरक्षा मूल्यांकनका आधारमा कम उचाइमा सञ्चालन गर्न दिने जनाएको थियो । यो विषयले पूर्णता पाए मझौला विमान सञ्चालन गर्दै आएका नेपाली वायुयान कम्पनी बुद्ध, श्री एयरलाइन्सलगायतले दिल्लीलगायत भारतका अन्य क्षेत्रीय सहरमा उडान गर्न सक्छन् ।


युरोप, मध्यपूर्वी मुलुकलगायतबाट आउने विमान काठमाडौं आउन भारतीय आकाश हुँदै सिमराबाट मात्रै छिर्नपर्ने बाध्यता छ । प्रस्तावित रुटमा भारतले सहमति दिए काठमाडौंका लागि विराटनगर, जनकपुरको आकाश पनि दुईतर्फी खुला हुने थियो । अहिले काठमाडौंबाट भारतका पटना र कोलकाता जाने विमान जनकपुर तथा ढाका जाने विमान विराटनगरको आकाशबाट बाहिरिन्छन् । तर, यी सहरमाथिको हवाई मार्ग दुईतर्फी नभएकाले काठमाडौं छिर्न सिमराबाट मात्रै प्रवेश गर्नुपर्छ । असारमा भारतले जनकपुरबाट पटनाका लागि क्रसबोर्डर क्षेत्रीय उडानमा पनि सहमति जनाएको थियो ।


अहिले भारत हुँदै नेपाल आउने विदेशी एयरलाइन्सले दुइटा मात्रै विन्दुबाट नेपाल छिर्न पाउँछन् । कोरिया, मलेसिया, हङकङ, बंगलादेशबाट आउने विमान सिमरा हुँदै प्रवेश गर्छन् । भुटानबाट आउने विमान तुम्लिङटारमाथिको हवाई विन्दुबाट पस्छन् । नेपालबाट बाहिरिँदा महेन्द्रनगरबाट दिल्ली, भैरहवाबाट लखनउ, जनकपुरबाट पटना र कोलकाता, विराटनगरबाट ढाका रुट मात्र प्रयोग गर्न पाइन्छ । यी रुट दुईतर्फी छैनन् । भुटानका लागि बनाइएको मेची/तुम्लिङटारको हवाई विन्दु भने दुईतर्फी हो । यो रुट भुटानका हवाई कम्पनीले मात्रै प्रयोग गर्छन् । उत्तर ल्हासातर्फको रुट पनि दुईतर्फी छ । यो रुट ल्हासाबाट नेपाल आउने विमानले मात्रै प्रयोग गर्छन् । चीनका अन्य सहरबाट आउने विमान भने भारतबाट सिमरा हुँदै पस्नुपर्छ ।


नेपालले भारततर्फका रुटलाई दुईतर्फी बनाउन वर्षौंदेखि पहल गर्दै आएको छ । गत वर्ष पुस ५ गते पर्यटन मन्त्रालयका सहसचिव नेतृत्वको ८ सदस्यीय टोली वार्ता गर्न दिल्ली गएको थियो । तर, भारतीय अधिकारीले जेट एयरको विमानमा आउने हवाई मार्सललाई काठमाडौंमा बास दिनुपर्ने सर्त राखेपछि निष्कर्षमा पुग्न सकेन । सरकारले सन् २००९ मा भारतसँग वार्षिक १५ लाख ६० हजार हवाई सिटको सम्झौता गरेको थियो । दुवै मुलुकले दिल्ली, मुम्बई, बैंग्लोर, चेन्नई, हैदरबाद र कोलकातामा प्रतिसाता ३० हजार सिट यात्रु उडान पाउँछन् । नेपालबाट भारतका देहरादून, बागडौरा, गोरखपुरलगायत २१ वटा पर्यटकीय सहरमा भने जति पनि यात्रु आउजाउ गर्न पाउँछन् ।

गृह पृष्ठ

अपहरणपछि बालकको हत्या

- लक्ष्मी साह,पवन यादव

(बारा)- सिम्रौनगढ नगरपालिका–३, नयका टोलका ५ वर्षीय बालकको अपहरणपछि हत्या भएको छ । असोज २४ गते टोलबाटै अपहरणमा परेका धनेश्वर यादवका छोरा दीपकको चार दिनपछि शनिबार राति घरबाट २ सय मिटर उत्तरपट्टिको झाडीमा शव फेला परेको हो ।
घटस्थापनाको दिन (बुधबार) गाउँनजिकै रानीवास मठमा लागेको मेलाबाट हजुरबुवासँग फर्किएलगत्तै बालक अपहरणमा परेका थिए । साथीको घरमा जान भन्दै निस्किएका उनी त्यसपछि घर नफर्किएको काका गणेशले जनाए । बालक बेपत्ता भएको केही घण्टामै सिम्रौनगढ प्रहरीमा जानकारी गराएको उनले बताए ।


उनका अनुसार अपहरणकारीले भोलिपल्ट (बिहीबार) १० लाख रुपैयाँ फिरौती मागेका थिए । ‘अपहरणकारीले फोनमा दीपक मेरो जिम्मामा छ, भारतको मोतिहारीमा छ । १० लाख लिएर आऊ दिन्छौं भनेका थिए,’ उनले भने । अपहरणकारीको मागअनुसार रकम जोहो गर्दागर्दै बालकको हत्या भएको उनले बताए । प्रहरीले अपहरण र हत्या आरोपमा स्थानीय हरेन्द्र कुसवाहा र श्यामसुन्दर बैठालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ । उनीहरू बालककै छिमेकी हुन् । डीएसपी रञ्जितसिंह राठौरका अनुसार फोन ट्रेसका आधारमा हरेन्द्रलाई र उसको बयानका आधारमा श्यामसुन्दरलाई नियन्त्रणमा लिइएको हो । श्यामसुन्दरको घरबाट प्रहरीले बालकले लगाएको चाँदीको बाला बरामद गरेको छ । ‘धनेश्वरले हरेन्द्रलाई २ लाख रुपैयाँ सापटी नदिएको र घरमा विदेशबाट कमाएर ल्याएको रकम छ भन्ने थाहा भएका कारण हत्या भएको देखिन्छ,’ उनले भने ।


दुवैमाथि अनुसन्धान भइरहेको उनले बताए । अपहरणकारीले बालकलाई घाँटी थिचेर मारेको प्रहरीले जनाएको छ ।


घटनापछि गाउँ शोकमग्न छ । एक्ला छोरा दीपकको शव भेटिएसँगै आमा मुर्छित छन् । बालकको शव कलैया अस्पतालमा पोस्टमार्टम गरिएको छ ।


बेलैमा जानकारी गराउँदा पनि प्रहरीले बालकलाई बचाउन नसकेको आरोप पीडितले लगाएका छन् । ‘दीपक अपहरण भएको केही घण्टामै ४ किमि परको प्रहरी कार्यालय गएर घटनाबारे सबै बताएँ । अपहरणकारीबाट आएको फोन नम्बरसमेत उपलब्ध गराएँ । शंकास्पद व्यक्तिको नाम पनि जानकारी दिएँ,’ गणेशले भने, ‘तर प्रहरीले बचाउन सकेन ।’
चार महिनाअघि बाराकै जितपुर सिमरा उपमहानगरपालिका–७ का ९ वर्षीय अंकित गुप्ताको अपहरणपछि हत्या गरेका थिए । जेठ २२ गते साथीको घरमा खेल्न गएका बेला अपहरणमा परेका उनको शव साउन ३ गते पर्साको जगरनाथपुरस्थित नहरछेउमा फेला परेको थियो । अपहरण भएको डेढ महिनासम्म प्रहरीले बालकको अवस्था पत्ता लगाउन नसकेको पीडितको गुनासो छ । ‘अपहरणमुक्त गराउन प्रहरीले साथ दिएन,’ अंकितका बाबु ललनले भने, ‘साढे ६४ लाख भारतीय रुपैयाँ फिरौती तिर्दा पनि छोरा फिर्ता आएन । पैसा पनि गयो छोराको आस गर्ने कुरै भएन ।’


प्रहरीमा धाउँदाधाउँदै छोराको ज्यान गएको उनले बताए । ‘परिवारमा भारतीय नम्बरबाट फिरौतीका लागि फोन आइरहँदा पनि प्रहरीले बालकलाई अपहरणमुक्त गराउन सकेन,’ उनले भने, ‘साउन ३ मा अंकितको शव पर्सा प्रहरीले बरामद गरेर सद्गतका लागि नगरपालिकाको जिम्मा लगाइसकेको थियो । त्यसपछि बारा प्रहरीले थाहा पायो ।’ घटनामा संलग्न भएको आरोपमा प्रहरीले एक भारतीय नागरिकसहित तीनजनालाई पक्राउ गरेको थियो ।


प्रहरी उपरीक्षक मीरा चौधरीले भने घटनाबारे जानकारी पाउनासाथ प्रहरीले सक्रियतापूर्वक खोजी गरेको बताएकी छन् । ‘अपहरणबारे जानकारी पाउनासाथ अपहरितको बचाउका लागि प्रहरीको एक्टिभिटी र मुभ भएको छ,’ प्रहरी उपरीक्षक चौधरीले भनिन्, ‘आफन्त र छिमेकबाटै अपहरण र हत्या भएको छ ।’

गृह पृष्ठ

देउताको डरले गाउँ मदिरामुक्त

- राजबहादुर शाही
मुगुको छायानाथ–रारा नगरपालिका– १३ स्थित थार्प गाउँ, जहाँ मदिरा उत्पादन र सेवन हँुदैन । तस्बिर : राजबहादुर/कान्तिपुर

(थार्प, मुगु) - छायानाथ–रारा नगरपालिका– १३, थार्प गाउँमा मदिरा पाइँदैन । उत्पादन र सेवन दुवै हुँदैन । मदिराका सम्बन्धमा सरकारी नियम–कानुन के भन्छ, त्यो गाउँवासी त्यति जान्दैनन् । उनीहरूले आफ्ना आराध्य मष्ट देवताका डरले गाउँलाई मदिरा निषेधित बनाएका हुन् ।


एक सय तीस घरधुरी रहेको थार्पका बासिन्दामा मदिरा सेवन वा बिक्रीवितरण गरे मष्ट देवताले सजाय दिन्छन् भन्ने धारणा रहेको स्थानीय दलित संघका अध्यक्ष बाँकीलाल नेपालीले बताए ।
‘मष्ट देवताकै कारण गाउँवासी गलत काम गर्दैनन्,’ स्थानीय पुरिलाल सावतले भने, ‘मदिरा निषेध हुँदा गाउँमा हिंसा र विकृति खासै छैन ।’ मष्ट देवताप्रति गाउँवासीको ठूलो आस्था छ । उनका अनुसार घर बनाउँदा, विवाह गर्दा, गाउँबाट बाहिर निस्कँदा मष्ट देवताको पुजारीबाट साइत हेराउने चलन छ । मष्ट मन्दिरका झाँक्री तारासिंह बोहराका अनुसार स्थानीयवासी देवताका विभिन्न नियममा बाँधिएका छन् । माघ, वैशाख, साउन पूर्णिमा र दसैंका बेला विशेष पूजा गरिन्छ । जग्गा भागबन्डासमेत मष्ट देवतालाई साक्षी राखेर गरिन्छ । नि:सन्तान दम्पतीले भाकल गरे छोराछोरी जन्मने स्थानीयको विश्वास रहेको दन्तकला बोहराले सुनाइन् ।


एकातिर मष्ट देवताको डर र अर्कोतिर स्थानीय तहको अभियानले छायानाथ–रारा नगरपालिका १३ मदिरामुक्त भएको वडाध्यक्ष चक्र सावतले बताए । उनका अनुसार कारुघा, लुम, त्रिप, लह, लापु र थार्प गाउँ मदिरामुक्त भइसकेका छन् ।

गृह पृष्ठ

लोकसेवालाई दुई महिना भर्ना नखोल्न आग्रह

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– सरकारले संघीय निजामती सेवामा दुई महिना कर्मचारी भर्ना स्थगित गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले लोकसेवा आयोगलाई दुई महिना विज्ञापन नखोल्न आग्रह गरेको छ । आयोगले प्राविधिक र प्रशासनतर्फका शाखा अधिकृतको विज्ञापन गर्ने तयारी गरिरहेको थियो । आयोगले विभिन्न पदका लागि परीक्षाको विज्ञापन गर्ने कार्यतालिका साउन १ मा प्रकाशित गरे पनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट रिक्त दरबन्दीको विवरण समयमै प्राप्त गर्न सकेको थिएन । आयोग अध्यक्ष उमेश मैनालीले मन्त्रिपरिषद् निर्णयबाट करिब ८ लाख परीक्षार्थी प्रभावित हुने बताए ।

गृह पृष्ठ

उपसचिव र इन्स्पेक्टर घूससहित पक्राउ

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– अख्तियारले आइतबार उपसचिव र इन्स्पेक्टरसहित तीन जनालाई घूस लिएको आरोपमा पक्राउ गरेको छ । काठमाडौंको टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत (उपसचिव) कृष्णप्रसाद सुवेदीलाई उपभोक्ता समितिमार्फत निर्माण गरिएको सडकको अन्तिम बिल भुक्तानी गर्ने क्रममा लिएको १ लाख रुपैयाँसहित पक्राउ गरिएको हो । त्यसैगरी सुर्खेतको बाबियाचौरका प्रहरी निरीक्षक सुशोभन श्रेष्ठ र प्रहरी जवान तिलक लामिछाने सुनचाँदी पसल सञ्चालकसँग लिएको १५ हजार घूससहित पक्राउ परेका हुन् ।

गृह पृष्ठ

चिकित्सा शिक्षा शुल्क नबढाउन निर्देशन

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– यो वर्ष चिकित्सा शिक्षाको शुल्क नबढ्ने भएको छ । सरकारले मेडिकल कलेजहरूलाई शुल्क नबढाउन आइतबार निर्देशन दिएको हो । ‘बढी लिए कारबाही गर्छौं,’ आइतबार मन्त्रिपरिषद्ले निर्णय गरेपछि शिक्षामन्त्री गिरिराजमणि पोखरेलले भने । कलेजले बढी शुल्क लिए विद्यार्थी र अभिभावकले सम्बन्धित प्रमुख जिल्ला अधिकारीसमक्ष उजुरी दिन सक्नेछन् । कलेजहरूले शुल्क बढाएको गुनासो विद्यार्थीले गर्दै आएका थिए । त्यस्तै सरकारले जनशक्ति प्रक्षेपण गर्न शिक्षामन्त्री पोखरेलको संयोजकत्वमा उच्चस्तरीय निर्देशक समिति गठन गरेको छ ।

Page 2
समाचार

मलेसियासँग एमओआई कात्तिक १२ मा हस्ताक्षर

- होम कार्की

 (काठमाडौं)- नेपाल र मलेसियाबीच दुईपक्षीय श्रम समझदारी (एमओआई) मा कात्तिक १२ गते हस्ताक्षर हुने भएको छ । श्रम मन्त्रालयका सचिव महेशप्रसाद दाहालका अनुसार समझदारीमा हस्ताक्षर गर्न मलेसियाका मानव संसाधनमन्त्री कुला सेघरान आउँदै छन् । यो समझदारी वैदेशिक रोजगारीको इतिहासमा कोसेढुंगा हुने दाहालले बताए ।


नेपालले जेठ २ देखि मलेसिया रोजगारीमा रोक लगाएको छ । श्रम समझदारीलगत्तै केही प्राविधिक विषय टुंगिएपछि फुकुवा गरिने मन्त्रालयले जनाएको छ । समझदारीको मस्यौदामा दुई देशका उच्च अधिकारीबीच हस्ताक्षर भइसकेको छ । मलेसिया नेपाली कामदारको सबैभन्दा ठूलो श्रम गन्तव्य हो ।


समझदारीपछि मलेसिया जाने कामदारले पाइलैपिच्छे ठगिने अवस्था नरहने मन्त्रालयको दाबी छ । कामदारको भर्ना प्रक्रिया, सेवासुविधा र सामाजिक सुरक्षालगायत विषय स्पष्ट किटान गरिएको मलेसियाका लागि कार्यवाहक राजदूत कुमार खरेलले बताए । ‘समझदारीमा नेपालबाट कामदार पठाउने म्यानपावर, मलेसियाका म्यानपावर, रोजगारदाता, कामदार र सरकारी संयन्त्रको भूमिका स्पष्ट पारिएको छ । सबैको जिम्मेवारी र कर्तव्य तोकिएको छ,’ उनले भने ।


अब पहिलो करारपत्र दुई–दुई वर्षको हुनेछ । यसअघि तीन वर्षको हुन्थ्यो । रोजगारदाताका कारण समस्या भए कामदारले अर्को कम्पनी जान पाउनेछन् । यो व्यवस्थाले कामदार भाग्ने प्रवृत्ति हट्ने मन्त्रालयको भनाइ छ । नयाँ समझदारीअनुसार भिसा, टिकट र स्वास्थ्य परीक्षण शुल्क रोजगारदाताले नै बेहोनुपर्नेछ । कामदार आपूर्ति गरेबापत रोजगारदाताले म्यानपावरलाई कामदारको १५ दिनको तलब बराबर शुल्क भुक्तानी गर्नुपर्नेछ ।


मलेसियाले आफ्ना नागरिक र विदेशी कामदारको न्यूनतम तलब समान तोकेको छ । हाललाई बिमा मलेसियाको श्रम कानुनमा उल्लेख भएअनुसार नै कायम हुनेछ । ‘मलेसियाको श्रम कानुनले दुई थरी बिमालाई सम्बोधन गरेको छ । एउटा, कार्यस्थलमा दुर्घटना भए पीडितलाई क्षतिपूर्तिसमेत दिनुपर्ने प्रावधान छ,’ खरेलले भने, ‘शल्यक्रिया र अस्पतालमा उपचार गर्न छुट्टै प्याकेजको बिमा छ ।’ समझदारीमा श्रमसँग सम्बन्धित विषय उल्लेख छन् । यसअन्तर्गत कामदारको स्वास्थ्य परीक्षण र फिंगरिङ शुल्क रोजगारदाताको दायित्वमा पारिएको छ । यसअघि मलेसियाले एकतर्फी रूपमा लागू गरेको राहदानी संकलन गर्ने र भिसा लगाउन मलेसियाली दूतावाससम्म पुर्‍याउने निकायहरूबारे समझदारीमा उल्लेख छैन । सरकारले ती निकायबारे ध्यानाकर्षण गराउँदा पनि मलेसियाले जबर्जस्ती आफ्ना संयन्त्र सञ्चालन गरिरहेको थियो । ती संयन्त्रबाट आफ्ना नागरिकमाथि आर्थिक भार परेको भन्दै नेपालले कामदार पठाउन बन्द गरेको थियो । ‘त्यस्ता अनावश्यक संयन्त्र अब सञ्चालन हुन्छन् भन्ने लाग्दैन,’ खरेलले भने, ‘भिसा लगाउनु मलेसियाको आन्तरिक मामिला हो । सहजीकरण गर्ने प्रणालीलाई छिटो र छरितो बनाउन अपरेटरको संख्या पनि घट्ला । यो काम नेपालको सहमति र स्वीकृतिमा हुन्छ भन्ने लागेको छ ।’

समाचार

बौद्धिक नेताको अवसान

बाँस्तोलाको बौद्धिक क्षमता र तर्कप्रति बीपीसमेत प्रभावित थिए । उनले आत्मवृत्तान्तमा त्यसबारे उल्लेख गरेका छन् ।
- कुलचन्द्र न्यौपाने
कांग्रेस नेता स्व. चक्रप्रसाद बाँस्तोलाको पार्थिव शरीरमा शनिबार केन्द्रीय कार्यालयमा पार्टीको झन्डा ओढाएर श्रद्धाञ्जली दिँदै सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत । तस्बिर : सुरविन्द्रकुमार पुन/कान्तिपुर

 (काठमाडौं) - राजनीति सिधा रेखाबाट चल्दैन भन्ने भनाइ कांग्रेस नेता चक्र बाँस्तोलाको हकमा पनि लागू हुन्छ । २०२६ सालतिर अध्ययनका लागि उनी भारतको बनारस पुगेका थिए । त्यहाँ उनको भेट प्रदीप गिरीसँग भयो । प्रदीप र उनी बनारस हिन्दु विश्वाविद्यालयका ‘क्लासमेट’ हुन पुगे । गिरीकै पदचाप पछ्याउँदै उनी बनारसमा निर्वासित बीपी कोइरालाको सम्पर्कमा पुगे । राजनीतिमा रस पस्दै थियो, पछि बीपीकी भान्जी मधु (शैलजा आचार्यकी बहिनी) सँग विवाह भयो । त्यसपछि उनको राजनीतिक यात्रा अघि बढ्यो ।


२०२८ सालमा कांग्रेसले सशस्त्र क्रान्तिको घोषणा गर्‍यो । तर क्रान्ति अघि बढाउन पार्टीसँग आर्थिक अभाव थियो । त्यहीबेला नेपाल राष्ट्र बैंकको ३० लाख भारतीय रुपैयाँ बोकेर उड्न लागेको विमान अपहरणको योजना बन्यो । त्यसका योजनाकार र अपहरणका नाइके थिए दुर्गा सुवेदी । सुवेदी, वसन्त भट्टराई र नगेन्द्र ढुंगेलले पैसा बोकेको जहाजमा यात्रीका रूपमा चढी अपहरण गरेर भारतको फारविसगञ्ज पुर्‍याएका थिए । सुवेदीका अनुसार बाँस्तोलालाई अपहरणबाट लुटिएको पैसा सुरक्षित राख्न र गाडीको बन्दोबस्त गर्ने जिम्मेवारी गिरिजाप्रसादले दिएका थिए । ‘मलाई बाँस्तोलाले यस्तो जिम्मेवारी लिनुभएको छ भन्ने पूर्वजानकारी थिएन, पछि मात्रै थाहा भएको हो,’ सुवेदी सम्झन्छन्, ‘त्यही काण्डमा उहाँमाथि भारत सरकारले मुद्दा चलायो । पक्राउ पर्नु भयो । विहारको पुर्निया जेलमा ६ महिना बसेर निस्कनुभयो ।’


जेलबाट निस्के पनि मुद्दा फिर्ता भएन । २०४८ सालको आम निर्वाचनमा कांग्रेसले बहुमत ल्यायो । गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बने । चुनाव हारेका बाँस्तोलालाई कोइरालाले भारतका लागि नेपालका राजदूत बनाए । तर, विमान अपहरणको मुद्दा कायम रहँदारहँदै राजदूत बनाएको भनेर भारतीय पक्षबाट असन्तुष्टि प्रकट भयो । ‘मुद्दा भएको मान्छेलाई कसरी राजदूत बनाउने भन्ने प्रश्न उठ्न थाल्यो । गिरिजाबाबुले विमान अपहरणमा मेरै संलग्नता थियो । म प्रधानमन्त्री छु । भारत भ्रमणमै आउँदै छु । कि मलाई पनि मुद्दा लगाउनुपर्‍यो भनेपछि मुद्दा खारेज भएको थियो,’ कांग्रेस केन्द्रीय सदस्य नरहरि आचार्य सम्झन्छन् ।


कोइराला परिवारसँगको सम्बन्धमा पनि उनको उत्तरचढाव रह्यो । सुरुवाती समयमा कोइराला परिवारसँग नातासम्बन्ध र निकटता थियो । उनको बौद्धिक क्षमता र तर्कप्रति बीपीसमेत प्रभावित थिए । उनले आफ्नै आत्मवृत्तान्तमा त्यसबारे उल्लेख गरेका छन् । ‘नाताको भन्दा पनि बौद्धिक कार्यकर्ताका रूपमा उहाँ परिचित हुनुहुन्थ्यो,’ कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल भन्छन्, ‘बीपी र गिरिजाबाबुसँग राय बझाउन सक्ने बौद्धिक क्षमता भएको थोरै नेतामा बाँस्तोलाजी पर्नुहुन्थ्यो ।’


निर्वासनमा बस्दा कार्यकर्ता परिचालन गर्ने र तरुण पत्रिकाको प्रकाशनमा पनि उनी सक्रिय थिए । २०४६ सालको आन्दोलनमा उनको अग्रणी भूमिका थियो । राजनीतिक दस्तावेज बनाउनेलगायत काममा बाँस्तोलाको भूमिका रहेको आचार्य बताउँछन् । ‘मैले उहाँलाई गणेशमानजीको निवास चाक्सीबारीमा २०४६ सालको जनआन्दोलनका लागि भएको राजनीतिक भेलाबाट चिनेको हुँ,’ आचार्यले भने, ‘वामपन्थीसँग संयुक्त आन्दोलन गर्नेबारे छलफल चल्दै थियो । चक्रजी राजनीतिक दस्तावेज बनाउनेदेखि महत्त्वपूर्ण कागजात आदानप्रदान गर्ने मुख्य भूमिकामा देखिनुहुन्थ्यो, त्यसपछि नै मेरो उहाँसँगको निकटता बढेको हो ।’


राजदूत नहुँदासम्म बाँस्तोलाको सम्बन्ध बीपी, गणेशमान, कृष्णप्रसाद र गिरिजाप्रसाद सबैसँग राम्रो थियो । ‘राजदूत बनेर गएपछि भने उहाँको झुकाव कोइराला परिवारप्रति देखियो,’ सुवेदी भन्छन्, ‘यद्यपि उहाँ र्‍यासनल मान्छे हो । नबुझीकन, छलफल नगरी बोल्नु हुन्थेन । राजनीतिमा पनि उहाँको प्रवेश बुझेर नै भएको थियो ।’


गिरिजाप्रसादले शान्ति वार्ताका लागि दिल्ली पुगेर तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग पहिलो भेट गर्दा बाँस्तोला साथै थिए । विस्तारै यो प्रक्रियामा झापाकै कृष्णप्रसाद सिटौला ‘इन’ भए । सिटौला निरन्तर गिरिजाप्रसादको विश्वासपात्र बन्दै गएपछि बाँस्तोला बाहिरिँदै गए । उनी कोइराला परिवारबाट टाढिँदै गए । सिटौला पनि बाँस्तोलालाई विचारमा प्रस्ट र दृढ नेताका रूपमा सम्झिन्छन् । उनी पार्टीको केन्द्रीय सदस्य र २०५६ पछि परराष्ट्रमन्त्री बने ।


सक्रिय राजनीतिको पछिल्लो समय गिरिजाप्रसाद र सुशील कोइरालाको कार्यशैलीलाई लिएर बाँस्तोला असन्तुष्ट थिए । पार्टीमा विचलन आएको, विचारले भन्दा गुटले प्रधानता पाएको भन्दै उनले १२ औं महाधिवेशनमा कोइराला परिवारको साथ छाडे । उनले सभापतिमा सुशील कोइरालालाई समेत सघाएनन् । त्यतिबेलै तेस्रो धारका रूपमा जन्मिएको भीमबहादुर तामाङको नेतृत्वमा गठित वैचारिक समूहतिर उनी जोडिन पुगे । उक्त समूहबाट सभापतिमा तामाङ (तामाङको केही वर्षअघि निधन भइसकेको छ) महामन्त्रीमा नरहरि आचार्य र केन्द्रीय सदस्यमा उनीसहितको प्यानल थियो । वैचारिक समूहबाट उठेका कसैले जितेनन् । केन्द्रीय सदस्यमै उनी पराजित भए । ‘हामीले त त्यतिबेला सभापति नै उठाउन खोजेका थियौं तर उहाँले तपाईंहरूलाई सहयोग गर्छु म उठदिनँ भन्नुभयो । सहयोग पूर्ण रूपमा वैचारिक समूहलाई नै गर्नुभयो,’ आचार्यले थपे, ‘गिरिजाप्रसाद सभापति र सुशील कोइराला कार्यवाहक सभापति हुँदाका क्षण पार्टी ठीक तरिकाले चलिरहेको छैन भन्ने बुझाइ उहाँको थियो । तर, झन्डा बोकेरै असन्तोषको स्वर बाहिर ल्याउने काम भने कहिल्यै गर्नुभएन ।’ २०६९ पुस १४ गते मष्तिकघात भएदेखि नै उनको राजनीतिक यात्रामा पूर्णविराम लागेको थियो । शनिबार उनले लौकिक जीवनबाटै बिदा लिए ।


अन्त्येष्टि शनिबारै
स्व. बाँस्तोलाको आइतबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरियो । ६ वर्ष अघिदेखि मस्तिष्कघातबाट पीडित बाँस्तोलाको शनिबार निधन भएको थियो । उनको पार्थिव शरीरमा भाइका छोरा नवीन बाँस्तोलाले दागबत्ती दिएका थिए ।


बाँस्तोलाका दुई छोरी सुम्निमा र गरिमा छन् । दुवै छोरी पहिली श्रीमती मधुबाट जन्मिएका हुन् । मधुको निधनपछि बाँस्तोलाले आसामकी कुसुमसँग दोस्रो विवाह गरेका थिए । कुसुमतर्फ भने छोराछोरी छैनन् । अर्धचेत रहेका बेला बाँस्तोलाको स्याहारसुसार कुसुमले नै गर्दै आएकी थिइन् । कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय शशांक कोइराला र पूर्णबहादुर खडकासहित नेता–कार्यकर्ता र शुभेच्छुक पशुपति आर्यघाट पुगेर अन्तिम श्रद्धाञ्जली दिएका थिए । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा आइतबार राति नै बाँस्तोलाको अस्तु लिएर गृह जिल्ला झापा गएका छन् । उनको अस्तु सोमबार त्यहीँ सेलाउने कार्यक्रम छ । कांग्रेसले बाँस्तोलाको निधनमा तीन दिन शोक मनाउने निर्णय गरेको छ । केन्द्रीय कार्यालय र मातहतका सबै कार्यालयमा झन्डा आधा झुकाउने, पार्टीका सबै कार्यक्रम स्थगित गर्ने पार्टी केन्द्रीय कार्यसमिति आकस्मिक बैठकको निर्णय छ । असोज २९ सम्म पार्टीका कार्यालय बन्द रहने, १३ दिनसम्म केन्द्र र जिल्ला कार्यालयमा शोक पुस्तिका राख्ने र १३ औं दिन केन्द्र र सबै जिल्लामा शोकसभा गर्ने तयारी छ ।


कांग्रेसले विज्ञप्तिमार्फत पार्टी संगठन सुदृढ एवं गतिशील बनाउन बाँस्तोलाको महत्त्वपूर्ण योगदान रहेको चर्चा गरेको छ । कांग्रेसको तरुण संगठन प्रजातान्त्रिक समाजवादी युवा लिग गठनदेखि हरेक लोकतान्त्रिक आन्दोलन र संघर्षमा बाँस्तोलाको अग्रणी भूमिका रहेको विज्ञप्तिमा उल्लेख छ । ‘प्रजातन्त्र पुन:स्थापनामा नेतृत्वदायी भूमिका खेल्नु भई जेल जीवन र लामो समय प्रवासमा व्यतीत गर्नुभएका नेता बाँस्तोलाको कांग्रेस नेतृत्वमा तत्कालीन सात राजनीतिक दल र तत्कालीन विद्रोही माओवादीबीच १२ बुँदे समझदारी निर्माण गर्ने पृष्ठभूमि तयार गर्न महत्त्वपूर्ण भूमिका थियो,’ कांग्रेसले उल्लेख गरेको छ । बाँस्तोलाको निधनबाट बौद्धिक, निष्कलंक र क्रान्तिकारी नेता गुमेको कांग्रेसले उल्लेख गरेको छ ।

समाचार

मौलिक हक कार्यान्वयन ऐन: छापिन ढिलाइले अधिकारबाट वञ्चित

- मकर श्रेष्ठ

 (काठमाडौं) - सांसदलाई लाभ हुने नियम दुई साता नबित्दै राजपत्रमा आए पनि पनि सर्वसाधारणले सुविधा पाउने ऐन प्रकाशन गर्न तीन साताभन्दा बढी लागेको छ ।


असोज ५ को मन्त्रिपरिषद्बाट स्वीकृत स्थानीय पूर्वाधार तथा विकास साझेदारी कार्यक्रम (सञ्चालन कार्यविधि) नियमावली असोज १७ मा राजपत्रमा प्रकाशित भयो । बजेट (विनियोजन विधेयक) को व्यवस्था मिचेर ल्याइएको यो नियमावलीमा प्रत्येक निर्वाचन क्षेत्रमा सांसदले ४ करोड रुपैयाँ कसरी खर्च गर्ने भन्ने व्यवस्था छ । तर असोज २ मा प्रमाणीकरण भएका मौलिक हकसम्बन्धी १६ विधेयक भने २६ दिनपछि आइतबार मात्रै प्रकाशित गरिएको छ । त्यो पनि प्राविधिक कारण देखाउँदै सीमित प्रति मात्र छापिएको मुद्रण विभागका अधिकारीले जनाएका छन् ।


मौलिक हकका १६ ऐन प्रमाणीकरण भएलगत्तै राजपत्रमा प्रकाशित भएको भए करिब एक महिनाअघि नै कालोबजारी र मिसावट गर्ने व्यापारीलाई नयाँ कानुनअनुसार कारबाही गर्न सकिन्थ्यो । ‘ऐन बने पनि प्रकाशनमा ढिलाइ हुँदा उपभोक्ता अधिकारबाट वञ्चित भए,’ उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले भने, ‘प्रमाणीकरण भएलगत्तै कार्यान्वयन भइदिएको भए यसपालि दसंैमा कालोबजारी गर्नेलाई नयाँ कानुनअनुसार कारबाही गर्न सकिन्थ्यो ।’


निजी विद्यालय १५ प्रतिशतसम्म छात्रवृत्ति दिन बाध्य हुन्थे । सुत्केरी महिलाले पाउने बेतलबी बिदा तत्काल उपयोग गर्न पाउँथे । २८ साताभन्दा बढीको गर्भपतन गराउन पाइँदैनथ्यो । शिशु जन्मेपछि आमाको नाममा मात्रै अस्पतालबाट प्रमाणपत्र लिने बाटो खुल्थ्यो । पछिल्लो समय बलात्कार तथा एसिड आक्रमणका घटना बढिरहेका छन् । अपराध पीडितको संरक्षण सम्बन्धमा बनेको ऐन बेलैमा सार्वजनिक भएको भए फौजदारी अपराध पीडितलाई क्षतिको मूल्यांकनका आधारमा क्षतिपूर्ति दिइन्थ्यो ।


बजार अनुगमनका क्रममा भेटिएका प्रमाणको आधारमा उपभोक्ता संरक्षणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको ऐनअनुसार कारबाही गर्न सकिन्थ्यो । ‘कृषक र उत्पादकबाट कम मूल्यमा खरिद गरी उपभोक्तासँग बढी असुल्ने बिचौलियालाई कानुनी दायरामा ल्याउन सकिन्थ्यो,’ उद्योग वाणिज्य तथा आपूर्ति विभागका अधिकारीले भने, ‘उपभोक्तालाई हुन सक्ने हानि(नोक्सानीबापत क्षतिपूर्ति दिनुपर्ने प्रावधानसमेत ऐनमा छ । तर ऐन समयमै राजपत्रमा नआउँदा नयाँ कानुनअनुसार कारबाही गर्न सकेनौं ।’ ऐनमा वस्तु र सेवाको गुणस्तर निर्धारण गरिएको छ । कुनै वस्तु प्रदान गर्दा तोकिएको व्यापारिक तहभन्दा बढी तह वा शृंखला खडा गरी बिक्री गरे ५ वर्षसम्म कैद वा ४ लाखदेखि ६ लाखसम्म जरिवाना वा दुवै सजाय हुने प्रावधान छ ।


बजार अनुगमनमा प्राप्त प्रमाणको आधारमा बजार निरीक्षण अधिकृतले तत्काल ३ लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था पनि छ । ‘राजपत्रमा ऐन प्रकाशित नहुँदा व्यापारीलाई कालोबजारी गर्न सरकारले नै छुट दिएको उपभोक्तालाई भान परेको छ,’ मन्त्रालयका एक उपसचिवले भने, ‘हामीले नयाँ कानुन छिटो राजपत्रमा प्रकाशन गरिदिन भनिरह्यौ । तर, मेसिन बिग्रिएको भन्दै बाहिर आएन ।’


कानुन बनेको २६ दिनसम्म पनि राजपत्रमा प्रकाशन नहुँदा बदमासी गर्ने व्यापारीले उन्मुक्ति पाएका छन् । उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण विभागको अनुगमनले मूल्यसूची तथा लेबलिङ नभएको सामान बिक्री गरेको, नापतौल प्रमाणीकरण नभएको, खरिदबिक्री बिल देखाउन नसकेको, खरिद र बिक्री बिलबीच अस्वाभाविक रूपमा मूल्यमा अन्तर देखिएको तथा म्याद नाघेका सामान बिक्री गर्ने गरेको पाइएको छ । ‘उद्योगले उत्पादन गर्ने पाउरोटीमा आज उत्पादन भएको पाउरोटीको उत्पादन मिति भोलि राख्ने गरेको पाइयो,’ अनुगमन प्रतिवेदनमा भनिएको छ । दसंैअघि बजार अनुगमनमा खानेकुरामा मिसावट गर्ने, गुणस्तर नभएको, उपभोक्ताको स्वास्थ्यमा असर पर्ने सामग्री बिक्री गरेको पाइएको अनुगमन टोलीको प्रतिवेदनले औंल्याएको छ ।


प्रमाणीकरण भएको ऐनमा वस्तु वा सेवाको वास्तविक गुणस्तर, परिणाम, मूल्य, नापतौल, ढाँचा वा बनावट ढाँटेर वा झुक्याएर बिक्री गरेमा, कुनै वस्तुको कृत्रिम अभाव सिर्जना गरेमा, जम्माखोरी गरेमा, बिक्री गरेको वस्तु वा सेवाको बिल बिजक जारी गर्न इन्कार गरेमा तथा म्याद गुज्रिएको सामान बिक्री गरेमा निरीक्षकले तत्कालै २ लाखदेखि ३ लाख रुपैयाँसम्म घटनास्थलमै जरिवाना गर्न सक्थे । तत्काल जरिवानाको निणय भएको सात दिनभित्र नतिरेमा सिलबन्दी गरेर बिक्री वितरणमै रोक लगाउन सक्ने प्रावधान ऐनमा छ ।


मुद्रण विभागकी सूचना अधिकृत विमला कोइरालाले १६ ऐनलाई एउटैमा प्रकाशन गर्नुपरेकाले ढिलाइ भएको बताइन् । उनले सीमित प्रति आइतबार प्रकाशित गरिएको जनाए पनि ती मुद्रण विभागको वेबसाइटमा देखिएका छैनन् । ‘सिंहदरबारमा इन्टरनेट नचलेकाले राख्न सकिएन,’ उनले दाबी गरिन् ।

समाचार

नेसंविको टोली ‘स्वीकृतिबिनै क्यानडा’

विश्व संस्कृत सम्मेलनमा सहभागी हुन लिएको १० लाख रुपैयाँ पेस्की फिर्ता गराउन छानबिन समितिको सुझाव
- सुदीप कैनी

 (काठमाडौं)- सरकारद्वारा गठित छानबिन समितिले नेपाल संस्कृत विश्वविद्यालयका पदाधिकारी बिनास्वीकृति क्यानडामा विश्व संस्कृत सम्मेलनमा सहभागी भएको ठहर गरेको छ ।


प्रधानमन्त्री एवं कुलपति केपी ओलीले उपकुलपति कुलप्रसाद कोइरालालाई विमानस्थलबाट जबर्जस्ती फर्काएपछि भ्रमण विवादित बनेको थियो । विश्वविद्यालयकै पदाधिकारीले कोइरालामाथि आरोप लगाउँदै छानबिन माग गरेका थिए । लगत्तै प्रधानमन्त्रीको निर्देशनमा शिक्षा मन्त्रालयले ५ सदस्यीय छानबिन समिति गठन गरेको थियो ।


उपकुलपतिलाई फर्काइएको विषयमा भने प्रतिवेदन मौन छ । भ्रमणमा गएकाहरूले बिनास्वीकृति १० लाख रुपैयाँ पेस्की लिएर आर्थिक दुरुपयोग गरेको समेत समितिले उल्लेख गरेको छ । पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति केशरजंग बरालको संयोजकत्वमा गठित समितिले प्रधानमन्त्री ओलीलाई प्रतिवेदन बुझाएको हो । उपकुलपति कोइरालाले क्यानडा जान शिक्षा मन्त्रालयमा निवेदन दर्ता गराए पनि अवाश्यक प्रक्रिया नपुर्‍याएको समितिले जनाएको छ । ‘उपकुलपतिले भ्रमणमा जान स्वीकृति लिएको देखिएन,’ समितिका एक सदस्यले भने, ‘स्वीकृति नलिँदैमा प्रधानमन्त्रीले विमानस्थलबाट फर्काउने तरिकाचाहिँ मिलेन, विदेशबाट फर्केपछि कारबाही गर्न सकिन्थ्यो ।’


क्यानडा गएका सात जनाले विश्वविद्यालयबाट लिएको १० लाख रुपैयाँ पेस्की असुलउपर गर्न समितिले सरकारलाई सुझाएको छ । ‘विश्वविद्यालयबाट विदेश भ्रमण गर्दा/गराउँदा आर्थिक स्रोत व्यवस्थान गरेर मात्र जानुपर्नेमा शिक्षा मन्त्रालयलाई पत्र लेखेकै आधारमा १० लाख पेस्की लिनु/दिनु र रकम शोधभर्नासमेत नभएको देखियो,’ प्रतिवेदनमा छ, ‘सम्मेलनमा जाने व्यक्तिहरूको नाममा समेत पेस्की फछ्र्योट विवरण पेस भएकाले खर्च व्यवस्थापनमा अनियमितता देखिन्छ ।’


विश्वविद्यालय अनुसन्धान केन्द्रका निर्देशक काशीनाथ न्यौपाने, वाल्मीकि विद्यापीठका प्राचार्य गणेश घिमिरे, सहप्राध्यापकहरू लेखनाथ निरौला र नवराज कट्टेल, उपप्राध्यापकहरू केशव कोइराला र प्रेमराज न्यौपाने सम्मेलनमा सहभागी थिए । उनीहरू निजी प्रयासमा क्यानडा पुगेकाले पेस्की रकम विश्वविद्यालयको खातामा फिर्ता गराउन सरकारलाई सुझाइएको छ । उपप्राध्यापक न्यौपानेका नाममा एकमुष्ट पेस्की रकम लिइएको छ । ‘जुन–जुन व्यक्तिका नाममा होटल बुकिङ र हवाईजहाज टिकट खरिदलगायतमा खर्च गरिएको छ, तिनैबाट असुलउपर गरी विश्वविद्यालयको खातामा जम्मा गर्नुपर्छ,’ प्रतिवेदनको निष्कर्ष छ ।


प्रधानमन्त्रीले विश्वविद्यालयका विषयमा धेरै उजुरी परेको बताएका थिए । तिनका बारेमा समेत छानबिन गरिएको छ । आगामी दिन विदेश भ्रमणमा जाँदा अनिवार्य पूर्वस्वीकृति लिनसमेत समितिले सुझाएको छ । समितिमा त्रिभुवन विश्वविद्यालय कानुन केन्द्रीय विभागका लक्ष्मीप्रसाद मैनाली, शिक्षा मन्त्रालयकी सहसचिव देवकुमारी गुरागाईं, उपसचिव रमेशप्रसाद मैनाली र विश्वविद्यालय अनुदान आयोगका सदस्य विकास अधिकारी सदस्य थिए । समितिले दाङको बेलझुन्डीस्थित नेसंविको केन्द्रीय कार्यालय पुगेर प्रतिवेदन तयार पारेको हो । प्रधानमन्त्रीको ठाडो निर्देशनमा उपकुलपतिमाथि दुव्र्यवहार भएको भन्दै चौतर्फी विरोध भएको थियो ।

समाचार

घरैपिच्छे जोर भेडा

- आनन्द गौतम
ताप्लेजुङ उकालीपानीमा प्रवीण गुरुङको घरमा पालेको भेडा । तस्बिर : आनन्द/कान्तिपुर

 (उकालीपानी, ताप्लेजुङ) - उकालीपानीका देवराज गुरुङ १९ वर्षको उमेरमा बाबुआमाबाट छुट्टिए । हजुरबुवा–हजुरआमाले नाति र नातिनी बुहारीसँग बस्ने इच्छा देखाएपछि बाबुले आफ्ना बाबुआमाको हेरचाहको जिम्मा देवराजलाई दिए ।


अलग चुलामा धूवाँ बलेका दिन खाना खानुअघि हजुरबुवा र हजुरआमा दुवैले देवराज दम्पतीलाई जीवन जिउने शैली बताए र अर्ति दिए । त्योमध्येको एक थियो, ‘प्रत्येक वर्ष पुस पहिलो सातासम्ममा भेडाको जोर पाठा किन्नु, एउटाले दसैंमा इष्टमित्र बोलाएर चाड मान्नु अर्कोले बीउ जगाउनु ।’


अर्ति दिने हजुरबुवा–हजुरआमा दुवै बिते । ३३ वर्षीय देवराजले उनीहरूले सिकाएको अर्ति पछ्याउन छाडेका छैनन् । यो वर्ष पनि उनको खोरमा जोर भेडा छन् । एउटाले द्वादशीको दिन इष्टमित्रसँग बसेर चाड मान्छन् । अर्को मंसिरमा बिक्री गर्छन् । त्यसबाट आएको पैसाले अर्को सालका लागि जोरपाठा किन्छन । यसरी जोर भेडा पाल्ने उनीमात्र होइनन् । छिमेकी प्रवीण गुरुङले पनि यसरी नै पालेका छन् । यहाँका १८ गुरुङ परिवारका घरमा दुईवटा भेडा छन् । सबैले गर्ने त्यही हो ।


‘हाम्रो एकाघरका दाजुभाइ १८ परिवार छौं । दसैंमा प्रत्येक घरमा भेला हुन्छौं । एउटा भेडा सामूहिक भोजका लागि पुग्छ र दसैंमा आउने पाहुनालाई पनि त्यसले पुर्‍याउँछौं । अर्को भेडा मंसिर लागेपछि बिक्री गर्छौं र त्यसको आम्दानीले जोरपाठा किन्छौं,’ जोर भेडाको प्रयोगका विषयमा देवराजले भने, ‘चाड पनि मान्छौं र बीउ पनि जोगाउँछौं ।’ आधुनिकतासँगै धेरै परम्परा संस्कृति मासिए पनि यो भने अहिलेसम्म कायम रहेको उनले सुनाए । कुनै एउटा घरले नगरे अर्कोले उसलाई निगरानी गरिरहने भएकाले पनि कायम रहेको उनी बताउँछन् । फुुङलिङ–६ का शिवकुमार गुरुङका अनुसार यो परम्परामा वैज्ञानिकता पनि छ । दुईवटा भेडा पालेपछि त्यसको ऊन वर्षमा तीन पटक काटिन्छ । यसले राडी बुन्न काम दिन्छ । एउटा भेडाको एक वर्षको ऊनले एउटा पाटे राडी बने त्यसले चार हजार रुपैयाँ आम्दानी गर्छ । भन्छन्, ‘राडी बेचेको पैसाले दसैं खर्चका लागि पनि सहयोग पुग्छ ।’


गुरुङ परिवार कसैले पनि भेडा किनेर नकाट्ने उनीहरू बताउँछन् । मंसिरमा हुने विवाहमा भेडाको खोजी अधिक हुन्छ । मंसिरमा किनेर विवाहका लागि माघ–फागुनसम्म पनि राख्ने गरिन्छ । जोरपाठाको अहिले १८ हजार रुपैयाँसम्म पर्छ । वर्ष दिन पालेर बिक्री गर्ने भेडाले पनि १६ हजारदेखि २२ हजार रुपैयाँसम्म साट्छ । ‘दाना धेरै दिएर पाल्नेको सप्रिन्छ धेरै साट्छ, घाँसपानी कम भए कम साट्छ,’ प्रेम गुरुङले भने ।


आफूले जान्दादेखिको यो संस्कारले पारिवारिक मिलन पनि गराएको ८६ वर्षीया सोममाया गुरुङ बताउँछिन् । ‘कहिलेकाहीं कर्म गर्दा छरछिमेक आफन्तमा झगडा, विवाद भएको हुन्छ, दसैंमा सबैजना भएका बेला छलफल गरेर मिलाइदिन्छन्,’ सोममायाले थपिन्, ‘कसले कति न्याय, अन्याय गर्‍यो भनेर पनि दाजुभाइले बसेर छलफल गर्छन् ।’ घरको ठूलोदेखि सानोसम्म सबै अनिवार्य भेला हुने भएकाले खानाको जस्तै कुराको पनि मिठोमसिनो हुने र माझिने सोममाया बताउँछिन् । यो बेला कसको छोरा कत्रो भयो, कहाँ के गर्दैछ भनेर जानकारी हासिल हुने गरेको छ ।


हुर्कंदै गरेकाहरूले पनि आफ्नो आफन्त चिन्ने मौका भएको शिव बताउँछन् । भेला हुँदा बालबालिकालाई आफ्ना मान्यजनलाई आदर गर्न लगाउने प्रचलन पनि छ । कसैले अरूप्रति अनादर गरेको भए यहीबेला तैंले त्यो गल्ती गरिस्, त्यसो गर्नु हुँदैन भनेर सम्झाउने गरेको शिव बताउँछन् । परम्परागत संस्कार जस्तै भएकाले यसरी सम्झाउन कुनै कठिन नभएको उनको दाबी छ ।

Page 4
प्रदेश ३

नाका खुलाउन पहल

दर्जनौं पटक सरकारी अधिकारीबाट तातोपानी नाका निरीक्षण
- अनिश तिवारी
सिन्धुपाल्चोकबाट चीन जोड्ने भोटेकोसी गाउँपालिकाको तातोपानी नाकाको क्षेत्रको निरीक्षण गर्दै भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठसहितको टोली । तस्बिर : अनिशरकान्तिपुर

(सिन्धुपाल्चोक) - सीमावर्ती तातोपानी क्षेत्रको निरीक्षणमा पुगेका भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठसहितको टोलीले दसंैलगत्तै तातोपानीको भौतिक संरचना बनाएर ‘मे’ मा नाका खुलाउने बताएका छन् । ‘यहाँको भौतिक संरचना तत्कालै मर्मतसम्भार गरिनेछ, नाका खोल्नेबारेमा चीन र केन्द्रीय सरकारबीच सम्झौता हुने पूरा तयारी भइसकेको छ,’ सीमागाउँ तातोपानीमा पुगेका मन्त्री सेठले भने ।


प्रधानमन्त्री केपी ओलीसँगै नाकासम्बन्धी छलफल गर्दा तातोपानी नाका सञ्चालनप्रति चीन सकारात्मक देखिएको संकेत पाएको सुनाए । ‘असार ५ गतेदेखि १० गतेसम्म भएको चीन भ्रमणमा तातोपानी नाका आउने चैतको अन्तिम सातामा खोल्ने विषयमा सहमति भएको छ,’ उनले भने ।


कोदारी राजमार्गको क्षतिग्रस्त सडक अवलोकन गर्दै मितेरी पुलसम्म पुगेका प्रदेश ३ का उद्योग तथा वनमन्त्री अरुण नेपाल, प्रतिनिधिसभाका सांसद अग्नि सापकोटालगायतका जनप्रतिनिधिले सीमालाई ध्यानार्कषण गराए । ‘सीमा जोड्ने घाँटी भेग बजार ध्वस्त रहेकाले पुनर्निर्माणमा समस्या बनेको छ,’ सडक विभागको महानिर्देशक रवीन्द्र श्रेष्ठले भने । नाका खोल्न भौतिक संरचना अत्यन्त आवश्यक रहेकाले क्षतिग्रस्त घर–भवनजस्ता संरचना हटाइनुपर्ने जरुरी भएको उनले प्रस्टयाए ।


चरिकोट सडक डिभिजन कार्यालयले केही दिनमै सडक तयार पार्न कार्ययोजना तयार पार्न लागेको जनाएको छ । ‘सडक, बिजुलीजस्ता बलिया पूर्वाधार तयारी पार्न विशेष योजना बनाएर अगाडि बढ्नेछौं,’ सडक डिभिजन प्रमुख अशोक तिवारीले भने । चीनतर्फको भूभाग लगभग तयार हुने अवस्थामा पुगिसक्दा सीमा भेग सडकको सामान्य मर्मत हुन सकेको छैन । यसअघि दर्जनौं पटक सरकारी अधिकारीबाट तातोपानी नाका निरीक्षण भइसकेको छ । औपचारिक र अनौपचारिक गरी झन्डै दसपटक नाकाबारे बैठक भइसक्दा नाका खोल्न सकेको छैन । चिनियाँ राजदूत यु होङले नाका खोल्न चीन सधंै तयार रहेको बताउँदै आएकी छन् ।


केही दिनअघि चिनियाँ सरकारी अधिकृत भाइस सेक्रेटरी जनरल अफ गभर्नमेन्ट अफ टिबेट अटोनमस रिजनकी छुङ्लिउले नाका खोल्ने संकेत दिएकी थिइन् । ‘तर, नाका खोल्ने सुरसार स्पष्ट हुन सकेन, अब केही सुरसार देखिन्छ,’ भोटेकोसी गाउँपालिका प्रमुख राजकुमार पौडेलले भने । अब सबै कुराको डायरी टिपोटसहित मंन्त्रीको नेतृत्व टोलीले निर्देशन गरी नाका चलाउन पहलकदमी लिएकाले नाका खुल्नेमा स्थानीय आशावादी रहेको उनले सुनाए ।


‘नाका नखुल्दा युवा बिदेसिए, आयआर्जन शून्यमा पुग्यो,’ उनले भने । ६५ प्रतिशत काम भइसकेको बन्दरगाहबाहेक सीमाका अन्य पूर्वाधार बलियो नबनाइएको स्थानीय बताउँछन् । भूकम्पपछि हालसम्म बन्द रहेको तातोपानी नाका नचल्दा सीमाको जनजीवन कष्टकर बनेको छ ।

प्रदेश ३

सदरमुकाममा पशु वधशाला

- कान्तिपुर संवाददाता

धादिङ (कास)– धादिङवासीहरूले अब स्वस्थ र स्वच्छ मासुको प्रयोग गर्न पाउने भएका छन् । नीलकण्ठ नगरपालिका ८ मा आधुनिक पशु वधशाला निर्माण गरिएसँगै सदरमुकामका उपभोक्ताले स्वच्छ र स्वस्थ मासु खान पाउने भएका हुन् ।


हालसम्म खोला किनार, मूल सडक, घर–आँगनमै जथाभावी पशु काटमार भइरहेकाले नियन्त्रण गर्न नगरपालिकाले स्वच्छ मासु प्रवद्र्धन गर्न पशु वधशालालाई साझेदारी कार्यक्रमअन्तर्गत २७ लाख अनुदान दिइएको नगरपालिकाका प्रमुख प्रशाासकीय अधिकृत जगन्नाथ
पन्तले बताए ।


पशु वधशालाको उद्घाटन गर्दै आगामी दिनमा वधशालाबाहिर काटमार गर्न नपाइने धादिङका प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेले बताए । स्थानीय प्रशाासन र नगरपालिकाले नियमित रूपमा अनुगमन गर्ने, सचेत गराउने, व्यापारीले कानुन र खाद्य अधिकारको मापदण्डलाई पालना नगरेको खण्डमा कानुनी दायरामा ल्याउने तथा कारबाही गरिने प्रजिअ पाण्डेले बताए ।


स्वच्छ र स्वस्थ पशुको मासुका लागि एउटै विकल्प वधशाला रहेको प्रजिअ पाण्डेयले बताए । स्वच्छ मासु प्रवर्धन गर्न वधशाला सञ्चालक गरेको टेकबहादुर गुरुङले बताए ।

प्रदेश ३

तीन सय घर लालपुर्जाविहीन

- राजकुमार कार्की

(सिन्धुली)- कमलामाई नगरपालिका बनाउँदा सिद्धेश्वर र भिमान गाविस मिलेर बनेको हो । त्यही गाविसमध्येको भिमानको मुटु मानिने भिमान बजारको अधिकांश स्थान लालपुर्जाविहीन छ । भिमान बजारका तीन सय घरधुरी लालपुर्जाविहीन बनेको हो ।


भिमान बजारमा अहिले धमाधम पक्की घरसमेत बनेका छन् तर त्यसको धनीका हातमा लालपुर्जा छैन । घरगृहस्थी गरेर बस्नेको लागि त ठूलो समस्या छैन् तर व्यापार व्यवसाय गर्नेका लागि भने लालपुर्जाविहीन बन्दा ठूलो समस्या भएको छ । बैंक अथवा अन्य निकायमा लालपुर्जा राखेर ऋण लिई उद्यम तथा व्यापार गर्नका लागि लाखौं मूल्यको जग्गा कुनै मूल्य नै छैन ।
२०२८ सालको नापी होस् या २०३६ सालको, दुवै समयमा भिमान बजार परेन । पहिला तिरोको डरलेसमेत जग्गा नापी नगराएकाले भिमान बजार प्रताडित बनेको स्थानीयको भनाइ छ । स्थानीयवासी तथा जनजागृति क्याम्पस प्रमुख शालिग्रामप्रसाद पौडेलका अनुसार तिरोको भयले पहिला गाउँ ब्लक भनेर नापी आउँदासमेत नपाउने चलन थियो । पौडेलका अनुसार २०२२ सालतिर भिमान बजारमा दुई–चारवटा घर मात्र थिए । खेतहरू बजारभन्दा तलतिर थियो । पहिलो नापी आउँदा खेतहरू परे तर भिमान बजार नपाउन कसैले चासो राखेन । प्रमुख पौडेलले भने, ‘तिरो तिर्ने डरले कसैले नपाएनन् ।’


तत्कालीन समयमा वन सिमाना लगाएकाले नापी नभएको स्थानीयवासीको भनाइ छ । वन सिमाना सरकारले लगाएको थियो, स्थानीय टंकप्रसाद पोखरेलले भने,‘ बजारभन्दा तलतिरको जग्गालाई सिमाना बनाएर डिमार्केसन गरिएको थियो ।’ वनले खाली गराएको जग्गा तत्कालीन समयमा गाउँ पञ्चायतको हुने भन्ने थियो ।


भिमान बजारमा अहिले सडक छेउको जग्गा प्रतिधुर दुई लाख रुपैयाँसम्ममा बिक्री हुने गरेको छ । ‘नगरपालिकामा गएर बिक्री वितरण हुन्छ, लालपुर्जा भने छैन, अर्का स्थानीय एवं समाजसेवी हरीशचन्द्र पौडेलल भने, ‘सरकारले तत्काल लालपुर्जा वितरण गर्नुपर्‍यो ।’


ऐलानी रहेको जग्गा अहिले सबै नगरपालिकामा दर्ता छन् । लाखौंमा जग्गा कारोबार भयो तर धितो चलेन स्थानीयले पीडा पोखे । भिमान बजारमा अहिले सिन्धुलीमै केन्द्रीय कार्यालय रहेको मातृभूमि विकास बैंकले शाखा कार्यालय स्थापना गरेको छ तर भिमान बजारका बासिन्दाले जग्गा तथा घर धितो राखेर ऋण लिन पाएका छैनन् । तत्कालीन समयमा सुकुम्बासी समस्या समाधान आयोगले लालपुर्जा वितरणका लागि पहलकदमी गरे पनि बीचमै तुहिएको स्थानीयको भनाइ छ ।

प्रदेश ३

गाउँपालिकाबाट अस्थायी ‘लाइसेन्स’

- कान्तिपुर संवाददाता

सिन्धुपाल्चोक (कास)– जुगल गाउँपालिकाले शिक्षकलाई अस्थायी ‘लाइसेन्स’ दिने निर्णय गरेको छ । शैक्षिक गतिविधिलाई भरपर्दो बनाउन जुगल गाउँपालिकाले अस्थायी माध्यमिक र आधारभूत तहको अध्यापन अनुमतिपत्रको व्यवस्था गरेको हो । गाउँपालिकामा मात्रै लागू हुनेगरी लामो समयदेखि परीक्षा नभएको हुनाले विज्ञान, गणित, अंग्रेजीजस्ता विषयमा शिक्षक जनशक्ति पाउन गाह्रो भएकाले यस्तो निर्णय गरिएको जुगल गाउँपालिका प्रमुख होमनारायण श्रेष्ठले बताए । जुगलले हालै बैठक बसेर प्रक्रियासहित निर्णय गरेको हो ।


‘सरकारको तालिमप्राप्त मात्रैको स्थायी प्रवेशको शैक्षिक प्रावधानलाई सम्मान गर्छौं,’ प्रमुख श्रेष्ठले भने, ‘तर, सहज र व्यवस्थित बनाउन लामो छलफलपछि गाउँपालिकाबाट यस्तो निर्णय गरेका हौं ।’ यसअघि विभिन्न नमुना निर्णय गरिसकेको गाउँपालिकाले शिक्षा विशेषज्ञ ल्याएर तालिमप्राप्तलाई गाउँपालिकाले परीक्षा लिने उनले जनाए । ‘त्यहाँ उत्तीर्ण भएकाले अस्थायी लाइसेन्स पाउनेछन्,’ उनले भने । दुर्गम भेगमा रहेका विद्यालयमा परेको शैक्षिक समस्या र शिक्षकले भोग्नुपरेको निर्णयसम्बन्धी व्यवधानलाई समाधान गर्न यस्तो अभियान ल्याइएको उनको कथन छ ।


शिक्षामा अब्बल बनाउन र विद्यालयलाई नयाँ आयम दिन अभियान सुरु गरिसकेको उनको भनाइ छ । आधारभूत र माध्यमिक तहको परीक्षा गाउँपालिकाले लिइसकेपछि सफल भएकाले गाउँपालिकाबाटै लाइसेन्स पाउनेछन् । यो सरकारी अध्यापन अनुमतिपत्र बराबरकै हुने उनले प्रस्टयाए । अस्थायी शिक्षकका लागि सञ्चय कोषको व्यवस्था गरेको गाउँपालिकाले विद्युतीय हाजिरी र मल्टिमिडिया प्रविधिबाट अध्यापन गराइरहेको वडाध्यक्ष सनत अधिकारीले बताए । ‘शिक्षाको सुधारक लागि तत्पर भएर लागिरहेका छौं,’ उनले भने ।

प्रदेश ३

कर उठाउन साझेदारी

- रमेशकुमार पौडेल
भरतपुर महानगरपालिकाद्वारा आइतबार आयोजित कार्यक्रममा महानगरले लिने करका विषयमा कुरा गर्दै मेयर रेनु दाहाल । तस्बिर : कान्तिपुर

(चितवन)- भरतपुर महानगरपालिकाले चितवन उद्योग वाणिज्य संघ ९उवा संघ० सँग मिलेर व्यवसाय कर उठाउने भएको छ । दसैंलगायतका पर्वहरूको शुभकामना दिन आइतबार महानगरपालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा मेयर रेनु दाहालले व्यवसाय कर उठाएबापत उवा संघले पाँच प्रतिशत रकम अनुदान पाउने जनाइन् । त्यसरी पाएको रकम महानगरको सर्तअनुसार खर्च गर्नुपर्ने उनले बताइन् ।


भरतपुर महानगरपालिकाले चालु आर्थिक वर्षमा ५५ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको मेयर दाहालले बताइन् । साउनयता असोज २६ गतेसम्म ८ करोड ५२ लाख ९३ हजार रुपैयाँ संकलन भइसकेको छ । यो अवधिमा खासै ठूलो मात्रामा राजस्व संकलन हुँदैन । त्यसैले यो पनि सन्तोषजनक भएको उनको भनाइ छ । कुल राजस्वमध्ये व्यवसाय करबाट १० करोड रुपैयाँ उठाउने यो वर्षको लक्ष्य छ ।


‘कर प्रणालीलाई वैज्ञानिक बनाउन र कर संकलन प्रक्रियालाई प्रभावकारी बनाउन महानगरले चितवन उद्योग वाणिज्य संघसँग सम्झौता गरेको छ’ मेयर रेनु दाहालले भनिन् । शुक्रबार मात्रै उवा संघसँग सम्झौता भएको थियो । चितवन उद्योग वाणिज्य संघका अध्यक्ष सहनलाल प्रधानले यस्तो सहकार्य ५७ सालबाट सुरुवात भएको थियो । जुन ६६ सालसम्म चलेको थियो ।


‘स्थानीय निकाय र व्यावसायिक संस्थाबीच सहकार्य भएर कर संकलन गर्ने काम त्यो बेला नेपालमा अन्यत्र भएको थिएन तर भरतपुरमा सुरु भएको थियो । यो काम नमुनायोग्य भनेर उद्योग वाणिज्य संघ सञ्चालन गरेको यो परियोजना विश्व चेम्बर सम्मेलनको प्रतिस्पर्धामा पुरस्कृत पनि भएको थियो,’ उवा संघ अध्यक्ष सहनलाल प्रधानले भने । ०६६ सालयता रोकिएको यो काम फेरि सुरु भएको हो ।


महानगरले गत वर्ष करको दर र दायरा दुवै बढाएको थियो । त्यो बेलामा ठूलो विरोध त भएन तर व्यवसायीहरूले पुनरावलोकनको माग गरेका थिए । महानगरकी मेयर दाहालले श्रेणी निर्धारण गरेर कर लिएको र व्यापारी आफंैले श्रेणीको घोषणा गर्न सक्ने सुविधा महानगरले दिएको बताइन् ।

प्रदेश ३

महोत्सवमा करोड कारोबार

- कान्तिपुर संवाददाता

काभ्रे (कास)– असोज ११ देखि २७ गते सम्म भएको बनेपा महोत्सवमा एक करोड रुपैयाँ बराबरको कारोबार भएको छ । खेलकुद विकास, स्थानीय कला संस्कृतिको जगेर्ना, व्यापार व्यवसायको प्रवद्र्धन, कृषि, पर्यटन विकासमा योगदान गर्ने लक्ष्यसहित महोत्सव भएको थियो । महोत्सवमा काठमाडौं, भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक, दोलखा र सिन्धुली जिल्लाका करिब ७० हजारले अवलोकन गरेको आयोजक बनेपा व्बाइज क्लबका अध्यक्ष महेशकुमार श्रेष्ठले बताए ।


‘हाम्रो अभियान खेलको शान, संस्कृति र समृद्धि बनेपाको पहिचान’ भन्ने नाराका साथ भएको महोत्सवमा कृषि घरेलु सामग्रीलगायत ९० व्यापारिक स्टलहरू, बालउद्यान, सुपथ मूल्य पसल थिए । जिल्लामा व्यापार व्यवसायको प्रवद्र्धन, घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तुको बजारीकरण गर्न महोत्सव फलदायी भएको मुख्य संयोजक हरिकुमार कर्माचार्यले जानकारी दिए । १७ दिन चलेको महोत्सवमा दैनिक राष्ट्रिय स्तरका कलाकारहरूले सांस्कृतिक प्रस्तुति दिएका थिए ।

Page 5
उपत्यका

ट्राफिक बत्ती राख्न टेन्डर

थापाथलीमा जोडियो, अन्य १७ स्थानमा राखिने
- दीपेन्द्र विष्ट
काठमाडौंको थापाथलीमा आइतबार साँझ ट्राफिक बत्ती जडान गरिँदै । 

 (काठमाडौं) - भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले उपत्यकाका ८ स्थानमा ट्राफिक बत्ती जडान गर्ने भएको छ । ट्राफिक बत्तीको अभावमा गाडी व्यवस्थापन गर्न कठिन भएको भन्दै मन्त्रालयले ८ वटा स्थानमा मर्मत तथा नयाँ जडान गरेर ट्राफिक बत्ती बाल्ने तयारी गरेको हो ।
सडक विभागका अनुसार सिंहदरबार, पद्मोदयमोड, बागबजार, कालिमाटी र तीनकुनेमा रहेका पुराना बत्तीलाई मर्मतका लागि टेन्डर आह्वान गरेको छ । त्यसैगरी गौशाला, मित्रपार्क र पुरानो बानेश्वरमा नयाँ जडानका लागि टेन्डर आहवान गरिएको विभागका ट्राफिक व्यवस्थापन महाशाखा प्रमुख दीप वराहीले जानकारी दिए ।


‘२५ गते टेन्डर आह्वान गरेका छौं,’ उनले भने, ‘धेरै ढिलो भए ३ महिनाभित्र बत्ती जडान हुन्छ । तर, थापाथलीमा भने, ट्राफिक बत्ती जडान भइसकेको जानकारी उनले दिए । उनका अनुसार निजी क्षेत्रको कम्पनीले थापाथलीमा बत्ती जडान गरिदिएको हो । १० वर्षदेखि उक्त स्थानको गाडी व्यवस्थापन ट्राफिक प्रहरीले हातकै इसारामा गर्दै आएका थिए ।


‘अब सबै प्रमुख चोकमा बत्ती जडान गर्छौर्ं, ट्राफिक व्यवस्थापन निकै अस्तव्यस्त भएको छ,’ उनले भने, ‘त्यसका लागि विभागले गृहकार्य गरिराखेको छ ।’ करिब पाँच महिनाअघि उपत्यका ट्राफिक महाशाखा प्रमुख हुँदा तत्कालीन डीआईजी सर्वेन्द्र खनालले उपत्यकाका ७ स्थानमा दस वर्षपछि ‘स्मार्ट ट्राफिक’ बत्ती जडान गरिएको थियो । महाराजगन्जस्थित नारायणगोपाल चोक, सोल्टी मोड, नयाँ बानेश्वर चोक र पुतलीसडकस्थित पद्मोदयमोडमा मर्मत तथा नयाँ जडान गरिएको थियो ।


कुमारी बैंक र काठमाडौं महानगरपालिकाअगाडि स्मार्ट ट्राफिक लाइट जडान गरिएको थियो । लाइट नहुँदा ट्राफिक प्रहरीले निकै सास्ती भोग्ने गरेको ट्राफिक महाशाखाका प्रमुख वसन्त पन्तले बताए । ‘लामो प्रयासपछि लाइट बाल्न सफल भएका छौं, अब ट्राफिक जाम केही घट्छ,’ उनले भने, ‘ट्राफिक लाइट नहुँदा सवारी व्यवस्थापन गर्न निकै कठिन थियो । बत्ती हुनैपर्छ । ट्राफिकलाई उपत्यकाको धूलो–धूवाँले निकै हैरानी पार्ने गरेको छ । लामो प्रयासपछि लाइट बाल्न सफल भएका छौं ।’


एक ठाउँमा भएको ट्राफिक जामले पूरा उपत्यकामा दिनभर असर पार्ने उनले बताए । पछिल्लो समय १० लाखभन्दा बढी गाडीलाई १ हजार २ सय ट्राफिक प्रहरीले हातको इसाराले नियन्त्रण गर्नुपरिरहेको छ । नयाँ मर्मत गरिएका/गरिने बत्ती १० वर्षअघि जापान सरकारको सहयोगमा जडान गरिएका थिए । तर, सरकारको लापरबाहीले गर्दा मर्मत र सम्भार हुन सकेको थिएन । भक्तपुरको ३ स्थानमा भने जापान सरकारले जडान गरेको बत्तीले काम गरिराखेको विभागले जनाएको छ ।


लाइट जडानपछि ट्राफिक प्रहरीलाई केही राहत हुने पन्तले बताए । माइतीघर, तीनकुने, जयनेपाल हल, थापाथली चोक, जावलाखेल चोकमा ट्राफिक लाइट जडान गरिनेछ । त्यस्तै त्रिपुरेश्वर, दरबारमार्ग, भद्रकाली, कमलपोखरी, जमल, लैनचौरलगायत क्षेत्रमा पनि जडान गरिनेछ ।

उपत्यका

बिक्रीमा राखिएका ११ चौपाया मृत

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– चाडपर्वका बेला पशु चौपायाको स्वास्थ्य जाँच गर्ने क्रममा अहिलेसम्म ११ चौपाया मृत र १२ चौपाया बिरामी भेटिएका छन् । काठमाडौं महानगरपालिकाले मासु उपभोक्ताको स्वास्थ्यलाई ख्याल गर्दै बुधबारदेखि ४ स्थानका पशु बजारमा पशु सेवा प्राविधिक खटाएको थियो । महानगरले पशु परीक्षणका क्रममा कलंकीमा ११ चौपाया मृत भेटिएको जनाएको हो । अन्य स्थानमा अहिलेसम्म बिरामी वा मृत भेटिएका छैनन् । कलंकीका साथै बिजुलीबजार, बालाजु र टुकुचामा पशु जाँच भइरहेको छ । कलंकी र टुकुचमा सबैभन्दा बढी चाप छ । आइतबारसम्म कलंकीमा झन्डै साढे ९ हजार चौपाया बिक्री वितरणका उद्देश्यले ल्याइएको थियो । टुकुचामा पनि १७ सय हाराहारीमा खसी, बोका र च्याङ्ग्रा ल्याइएको तथ्यांक छ । मासुका निम्ति ल्याइएको चौपायामा ८० प्रतिशतभन्दा बढी खसी बिक्री हुने गरेको छ ।

 

उपत्यका

सूर्यविनायकका मासु पसल मापदण्डविपरीत

- कान्तिपुर संवाददाता

भक्तपुर (कास)– सूर्यविनायक नगरपालिकाभित्र सञ्चालित अधिकांश मासु पसलले न्यूनतम मापदण्डसमेत पूरा नगरेको पाइएको छ । तीमध्ये कति पसल दर्ता नै नगरी सञ्चालनमा छन् । नगर उपप्रमुख जुना बस्नेतको नेतृत्वमा नगरपालिकाको निरीक्षण टोली संयोजक अनिरुद्र नेपाल, पशु सेवा अधिकृत पूर्णचन्द्र शर्मा, राष्ट्रिय उपभोक्ता मञ्चलगायतको सहभागितामा आइतबार नगर क्षेत्रमा सञ्चालित मासु पसल तथा बधशालाको अनुगमन गर्दा मापदण्डको पालना गरेको पाइएन ।


सूर्यविनायकमा सञ्चालित कुखुरा, राँगो, खसी/बोका गरी आठ मासु पसलमा गरेको अनुगमनमा अधिकांश मासु पसल मापदण्डविपरीत पाइएको हो । मासु पसल सडक किनारमा सञ्चालन गरेको, बधस्थल सफा नभएको, एप्रोनको प्रयोग नभएको र मूल्यसूचीसमेत नराखेको पाइयो । कतिपय मासु पसलमा मिश्रित मासु राखेकोसमेत भेटिएको छ ।


अनुगमन टोलीले फ्रेस मिट कर्नर, माइला मासु पसल, अर्पण मिट मार्ट, ब्रदर्स फुट सेन्दर, सूर्यविनायक मिट सप, सूर्य कोल्ड स्टोर, समिरा मिट सप, जय मिट सपलगायतलाई मूल्यसूची राख्ने, बध स्थल तथा पसल सफासुग्घर राख्ने, सेतो एप्रोन प्रयोग गर्ने, भित्ता सफा गर्न मिल्ने गरी संरचना निर्माण तथा सेतो रङ लगाउन निर्देशन दिएको छ ।


म्याद नाघेको सामान जफत
भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक एवं वडा नम्बर ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वको अनुगमन टोलीले म्याद नाघेको खाद्य सामग्री जफत गरेको छ । अनुगमन टोलीले तौमढीस्थित हाडा स्टोर, बी.कोल्ड स्टोर, ईश्वरानन्द हाडाको किराना पसलबाट सुगर फ्रि डाइजेस्टिभ बिस्कुट, देव तेल पसलबाट ड्यु, मिरिन्डा, पेप्सीलगायत पेय पदार्थ जफत गरी नष्ट गरेको जनाएको छ ।

उपत्यका

टीकाका दिन सेनाले नि:शुल्क बस चलाउने

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– नेपाली सेनाले राजधानी उपत्यकामा सर्वसाधारणका लागि दसैंको टीकाका दिन नि:शुल्क बस सञ्चालन गर्ने भएको छ । विजयादशमीका दिन राजधानीमा यातायातका साधन कम चल्ने भएकाले सर्वसाधारणलाई सहज रूपमा आउजाउका लागि सुविधा दिन उपत्यकाका आठ वटा रुटमा बिहान ७ देखि अपराह्न ३ बजेसम्म ३० सिटे ८ वटा बस सञ्चालन गरिने जंगी अड्डाले जनाएको छ ।


सेनाले भद्रकाली, माइतीघर, बानेश्वर, कोटेश्वर, एकान्तकुना, बल्खु, कीर्तिपुर रुट, कलंकीदेखि कालिमाटी, त्रिपुरेश्वर, रत्नपार्क, भद्रकाली, जमल, लैनचौर, नारायणगोपाल चोक हुँदै बूढानीलकण्ठसम्म, बालाजु चोक, सोह्रखुट्टे, कान्तिपथ, माइतीघर, भद्रकाली, माइतीघर, त्रिपुरेश्वर, कालिमाटी, कलंकी, थानकोट, स्वयम्भू, छाउनी (अस्पताल), ताहाचल, टेकु हुँदै थापाथली र भद्रकाली, माइतीघर, बानेश्वर, तीनकुने, गौशाला, चाबहिल, जोरपाटी, नारायणगोपाल चोक, लाजिम्पाट, कान्तिपथ, भद्रकालीमा चारवटा बस चलाउनेछ ।
त्यसैगरी सेनाले थप चार रुट भद्रकाली, थापाथली, कुपण्डोल, जावलाखेल, सातदोबाटो, चापागाउँ, सातदोबाटो, तीनकुने, बानेश्वरसम्म, सहिदगेटदेखि भद्रकाली, दरबारमार्ग, कमलपोखरी, गौशाला, चाबहिल, बौद्ध, साँखु, चाबहिल, गौशाला, तीनकुनेसम्म, भद्रकाली, माइतीघर, नयाँ बानेश्वर पुरानो बानेश्वर, गौशाला, सिनामंगल, कोटेश्वर, सूर्यविनायक, ठिमी, कोटेश्वर, माइतीघर तथा भद्रकाली, माइतीघर, कोटेश्वर, सातदोबाटो, कलंकी, बालाजु, चाबहिल, गौशाला हुँदै तीनकुनेसम्म बस सेवा सञ्चालन गर्नेछ ।


सैनिक जनसम्पर्क निर्देशनालयले दसैंको अवसरमा घर जाने तथा फर्कने सैनिक र तिनका परिवारका लागि सेनाले असोज २५ देखि ३१ सम्म काठमाडौंबाट दोलखा, इटहरी, धनगढी, लमजुङ, रामेछाप, पोखरा, बुटवल, गोरखा, धादिङ र त्रिशूली, चौतारा, हेटौंडा, नारायणगढ र सिराहा–राजविराज जाने तथा उपत्यकाभित्र आउने गरी नि:शुल्क बस सेवा सञ्चालन भएको छ । ती बस सम्बन्धित स्थानबाट प्रत्येक दिन बिहान साढे ६ बजे छुट्ने र प्रतिसैनिक व्यक्ति (परिवारसहित) बढीमा ५ ले उक्त सुविधा लिन पाउने व्यवस्था मिलाइएको सेनाले जनाएको छ ।

Page 6
सम्पादकीय

हलियामाथि बलिया

- कान्तिपुर संवाददाता
पश्चिममा हलिया भनिन्छ । पूर्वमा हरुवा । जे भने पनि यी साहुका जग्गा जोत्ने भूमिहीन किसान हुन् । बाजेको पालामा खनखाँचो टार्न साहुसित लिएको ऋण तिर्न नसक्दा हलिया बस्नुपर्‍यो । पुस्तौं शोषण । 
 
पुस्तौंपुस्ता काँधमा हलो–जुवा, छातीमा अनो टुटेन । सुदूरपश्चिमका पहाडी भेकमा गरिबीको कहर र साहुको अत्याचार भोगेर हलियाहरू येनकेन जीवन धानिरहेको विवरण खोज पत्रकारिता केन्द्रले उदांग पारेको छ । हलियामाथि हाम्रा सरकार नै हावी हुँदै आएका छन्, मुक्तिको नाममा उल्टै भीरतिर घचेटिदिन्छन् । २०५७ सालमा नेपाली कांग्रेसको सरकारले हलिया मुक्तिको घोषणा गर्दा तयारी थिएन । साहुले घरबाट निकालिदिए । हलियाहरू एकाएक सडकमा आइपुगे ।
 
०६५ भदौ २१ मा पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सरकारले हलिया प्रथा अन्त्यको पुन: घोषणा गर्‍यो । हलिया समस्या समाधान समिति २०७० मात्र बन्यो ।
 
कसैले हलिया राख्न नपाउने, ऋण तिर्न नसकी पुस्तौंदेखि साहुको हलो जोतिरहेका हलियाको सम्पूर्ण ऋण आफैंले तिरिदिने र पूर्वहलियाको पुन:स्थापना निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्ने भनियो । दसवटा वर्षा टरिसक्यो, उनीहरू साहुको ऋणको हलो समाएको समायै छन् ।
 
मुलुकी अपराधसंहिताले कुनै पनि व्यक्तिलाई कुनै प्रतिफलबापत बाँधा बनाउन नपाइने व्यवस्था गरेको छ । हलिया राख्नेलाई ३–७ वर्षसम्म कैद र ३ हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना तोकेको छ । सुदूरपश्चिमका पहाडमा गरिब र दलितको श्रम र आर्थिक शोषणको जातोमै रिंगिरहेका छन् । 
 
हुनेखानेले गरिबलाई चर्को ब्याजदरमा ऋण दिने, ब्याजसहित तिर्न नसक्दा सन्तान, दरसन्तानलाई खेत जोत्ने हली राख्ने प्रचलनले सम्झाउँछ— सूर्य पनि अस्ताउन मात्र आउँछ सुदूरपश्चिममा ।
 
गैरदलित समुदायको हलो जोत्ने, लुगा सिउने, ठेकी बनाउने, छाला र आरनको काम गर्ने र त्यसबापत पाइने खलो (अन्न) का भरमा दलितहरूले गुजारा चलाउनुपरेको छ । यिनको आफ्नो एक टुक्रा जग्गा नहुँदा बसेको घर अरूकै नाममा छ । 
 
हलिया मुक्ति घोषणाको ५ वर्षपछि ‘मुक्त हलिया पुन:स्थापनाको ढाँचा र कार्ययोजना, २०७०’ आयो । योजना मात्रै आयो, अर्थोक आएन । सरकारदेखि गैरसरकारी संस्थाबाट प्राप्त राहत र सुविधाको लाभ पहुँचहीन हलियासम्म पुगेन । 
 
सरकारी परिभाषाअनुसार ‘आफू, आफ्नो परिवार वा पुर्खाले लिएको ऋण वा अरू कसैको जमानी बसेकामा त्यस्तो ऋणको ब्याज चुक्ता गर्न ऋणदाताको कृषि श्रमिकका रूपमा वर्षभरि वा ६ महिना हलिया, हली, गोठालो, बाउसे, खेताला, खलिया, डोलिया र भुण (कमारो) का रूपमा काम गर्ने व्यक्ति’ हलिया नै हलिया हुन् । 
 
हलिया अझै १२ जिल्लामा छन् । दार्चुला, बैतडी, डडेलधुरा, कञ्चनपुर, बझाङ, बाजुरा, डोटी, अछाम, कैलाली, हुम्ला, जाजरकोट र सुर्खेतमा । १६,९५३ जना हलियाको विवरण भरिएको छ तर सही भएको छैन । हलिया मुक्ति कार्ड बाँड्दा ११,५११ जनालाई मात्र बाँडियो । तिनीहरू मात्र मात्र प्रमाणित भए । छुटेको दाबी गर्ने पनि छन् । वास्तविक छुटेका पनि छन् ।
हलिया ४ वर्गमा बाँडिएका छन् । घडेरीसमेत नभएका । जग्गा भएका तर घर नभएका । जग्गा भएका तर घर मर्मत गर्नुपर्ने । र, अलिअलि मर्मत गरे पुग्ने ।
 
सरकार आफैं रनभुल्ल छ । पहिले हलिया भूमिसुधारले हेथ्र्यो । अहिले मालपोतअन्तर्गत राखिएको छ । मालपोतका कर्मचारीहरूले जग्गा किन्न, घर बनाउन र स्टिकरै फेरिदिनसमेत घुसखोरी गर्ने गुनासो छ । यसमा अनुगमन छैन । 
 
हलिया र कमैया पुन:स्थापनानिम्ति ३ अर्ब ८९ करोड रुपैयाँ बजेट छुट्याइएको छ । यो पैसा लक्षित समूहमा पुग्ने व्यवस्था गर्नु आवश्यक छ । अनुगमन र प्राविधिक सहयोगबिना यस्ता कार्यक्रम चल्न सक्दैनन् ।
 
स्थानीय तहलाई सहभागी गराउन मन्त्रालयले आनाकानी गर्ने प्रथा केन्द्रमै जारी छ । स्थानीय तहमा जनप्रतिनिधिहरूलाई रकम उपलब्ध गराउने हो भने फेरि नियम, कानुन, कार्यविधि सबै संशोधन गर्नुपर्ने हुन्छ । यसका लागि समय लाग्न सक्छ भन्ने सरकारी धारणाले अझै हलियाको बोझ हट्ने छाँट देखिन्न । 
 
यस्तो प्रथा हाम्रो समाजमा जारी छ, जीवित छ भन्दा कसैले जिब्रो दोब्रयाउनु पर्दैन, बरु लोब्य्राउने कसरी सोच्नुपर्नेछ । यो त हाम्रो लोकतान्त्रिक समाज र चेतनामाथि दाग हो । केन्द्रले सल्ट्याउने कि स्थानीयले भनेर फेरि पन्छाउनु निधारको माखा कुन हातले भन्काउने जस्तो हो ।
दृष्टिकोण

धन्य हो, जनमत !

अहिलेलाई नेकपामा नेतृत्वको द्वन्द्व थन्कियो । तर अर्को कुनै प्रकरणको प्रतीक्षा सकिएको छैन ।
- कृष्ण खनाल

काठमाडौं– ७ बाट संसद छिर्ने वामदेव गौतमको हुटहुटीले तरङ्गित उपचुनावी चर्चा आकार लिन नपाउँदै तुहियो । यसलाई सञ्चार प्रविधिमा सामाजिक सञ्जालले ल्याएको अभूतपूर्व विकासको परिणाम मान्न सकिन्छ । सत्तारुढ नेकपाभित्रको गुटगत राजनीतिको प्रभाव, दुष्प्रभाव आफ्नो ठाउँमा होला, तर बहालवाला सांसदले उनका निम्ति राजीनामाको चाकरी सार्वजनिक गरेपछि जनताको तहमा सर्वत्र विरोध चुलियो । त्यसले हारमात्र हात लाग्ने परिस्थिति प्रस्ट देखियो । अन्तत: उनले प्याक गरे । अहिलेलाई नेकपामा नेतृत्वको द्वन्द्व थन्कियो । तर अर्को कुनै प्रकरणको प्रतीक्षा सकिएको छैन ।


यो प्रकरणले प्रदूषित राजनीतिक संस्कारलाई कति सुधार्छ, अहिल्यै धेरै अपेक्षा गर्न नसकिएला । तर यसले जनमत लोकतन्त्रका पक्षमा सजग र ऊर्जाशील छ भन्ने तथ्यलाई फेरि एकपटक प्रस्ट रूपमा उजागर गरेको छ । साथै धेरै सन्देश पनि प्रभावित गरेको छ । पहिलो, जनताबाट निर्वाचित सांसदले आफ्नो पद र जिम्मेवारीलाई यो वा त्यो बहानामा कसैको प्रतिष्ठा र स्वार्थका लागि विनिमय गर्न पाउँदैन, हुँदैन । दोस्रो, यसले लोकतन्त्रमा व्यक्ति अपरिहार्य होइन, मूल्य र प्रक्रिया हो भन्ने मान्यता पुनर्पुष्टि गरेको छ । तेस्रो, लोकतान्त्रिक नागरिक सचेतना अत्यन्तै जागरुक छ र उपलव्ध सञ्चार माध्यमको ऊ तत्कालै प्रभावकारी उपयोग गर्न सक्षम छ । चौथो, सनातनी संसदीय विपक्षी भूमिकाभन्दा यो चेतना र सञ्चार प्रविधि बढी सार्थक र प्रभावकारी छ । पाँचौं, जजसले जे–जे स्वार्थका लागि प्रयोग गर्न खोजेका भए पनि वामदेव कार्ड लोकप्रिय रहेनछ । छैठौं, अब रामवीर काठमाडौं–७ को प्रतिनिधि रहनु–नरहनुको औचित्य सकियो । उनले गर्ने प्रतिनिधित्व खोटो भयो । यसलाई नेपालको लोकतान्त्रिक नागरिक अभ्यासमा विकसित भैरहेको नयाँ मान्यता भनेर लिन सकिन्छ ।


काठमाडौं–७ बाट संविधानसभा र प्रतिनिधिसभा गरी दुईपटक चुनाव जितेका नेकपाका सांसद रामवीर मानन्धर एकाएक बद्नाम चर्चाको शिखरमा पुगे । जनप्रतिनिधिका रूपमा उनी खासै चर्चित थिएनन् । संविधानसभा वा प्रतिनिधिसभामा बोलेको सुनिँंदैनथ्यो । कुनै उल्लेखनीय पार्टी प्रोफाइल देखिन्न । पहिलो पटक २०७० सालमा दोस्रो संविधानसभामा विजयी भएपछि थाहा भयो, उनी वडाध्यक्षदेखि एमालेका तर्फबाट निर्वाचित प्रतिनिधि रहेछन् । कला, संगीतमा पनि रुचि राख्ने व्यक्ति भनेर कुनै एफएममा सुनेको थिएँ । म जस्तै प्राय: सबैले उनलाई कुनै पूर्वाग्रहबिना हेर्दैथिए होलान् । तर जब बर्दियाबाट चुनावमा पराजित वामदेवको प्रशंसा गर्दै विकासका लागि भनेर सांसद पदबाट राजीनामा गर्न तयार भएको सार्वजनिक जानकारी दिए, उनको असली हैसियत थाहा भयो । काठमाडौं–७ का मतदाता आश्चर्यमा परे, विस्मित भए ।


कुनै नेताका लागि कुनै सांसदले आफ्नो सिट खाली गरिदिनु परम्परागत संसदीय राजनीतिमा नयाँ होइन । भारतमा सन् १९७७ को लोकसभा चुनावमा आफ्नो विरासत मानिएको रायबरेली निर्वाचन क्षेत्रबाट हारेकी कांग्रेस–आई अध्यक्ष तथा प्रधानमन्त्री इन्दिरा गान्धीका लागि कर्नाटक राज्यका एक सांसदले सिट खाली गरिदिएका थिए । उपनिर्वाचनमा विजयी भएर डेढ वर्षपछि उनी संसद प्रवेश गर्न सफल भइन् । अरु पनि एकाध घटना भेटिन्छन् । तर यो वाञ्छित वा अनुकरणीय बाटो होइन । संसदमा वामदेवको अनुपस्थिति जति नेकपाको गुटगत प्राथमिकताको विषय होला, तर राष्ट्रका लागि खट्केको कुरा होइन ।


२०४८ सालको चुनावमा प्रधानमन्त्री एवं कांग्रेस सभापति कृष्णप्रसाद भट्टराईले चुनाव हारे । संसदमा किसुनजीको अनुपस्थिति सबैलाई खट्केको थियो । उनका लागि कांग्रेसका केही सांसद सिट खाली गरिदिन तयार भएको चर्चा आइरहन्थ्यो । तर किसुनजी हतारोमा देखिनुहुन्नथ्यो । आफूलाई पराजित गरेका मदन भण्डारीको जिप दुर्घटनामा निधन भएपछिको उपनिर्वाचनमा चुनाव त लड्नु भयो, तर त्यसले नेपाली कांग्रेसको संसदीय इतिहासको रूप र संस्कारै विचलित भयो । पार्टीमा विभाजनको गहिरो चिरा पर्‍यो । प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला खुलेर विरोधमा उत्रिए । देशभरिको शक्ति परिचालन भयो, किसुनजीले चुनाव हारे ।


रामवीरले सिट खाली गरिदिने घोषणा गर्दा केही सञ्चार माध्यममा रिपोर्टिङ भैरहेथ्यो, काठमाडौं– ७ कम्युनिस्ट गढ, मानन्धर समुदायको निर्णायक मत भएको क्षेत्र हो । तर जनमत एक्कासी मानन्धर र गौतम दुवैको प्रतिकूल भयो, त्यो नेकपा अनुकूल पनि थिएन । चुनाव नहुँदै वामदेव धपिए, मानन्धर अवाञ्छित प्रतिनिधिमा झरे । वामदेव एमालेदेखि नै समस्याग्रस्त व्यक्ति छँदै थिए । चुनाव त उनले पहिले पनि पटक–पटक हारेका थिए । ‘४८ सालयता जतिपटक जिते, त्यतिपटक हारेको उनको पृष्ठभूमि छ । हारे पनि उपप्रधानमन्त्रीसम्म उनको यात्रा रोकिएको थिएन । अहिले दुई तिहाइ निकट नेकपा बहुमतको संसदमा उनी छैनन् । प्रधानमन्त्री बन्ने धोको अधुरै रहने भयो । काठमाडौंको कोठे राजनीतिमा एउटा गफ उड्दैथ्यो, वामदेव प्रधानमन्त्री हुने । कार्यकारी राष्ट्रपति प्रणालीमा जानेगरी संविधान संशोधन गरिने र प्रचण्ड राष्ट्रपति बन्ने । यो उडन्ते गफै थियो, सोम शर्माको सपनाजस्तै बेलुन फुटेको छ ।


वामदेव खेलाडी हुन् कि गोटी हुन्, छुट्याउन मुस्किल पर्दैन । गोटीको अस्तित्व खेलाडीको चालमा भर पर्छ, गोटी आफैं चल्दैन । उसको लक्ष्यभेद पनि हुँदैन । चाहे एमाले फुटाउँदा होस् वा यसपटक, उनको यस्तै हविगत भयो । नेकपा संक्रमणमा छ । त्यो खेलमा यस्ता गोटीको उपयोग सकिएको छैन । अर्को पटक को कुन रूपमा प्रकट हुने हो, हेर्न बाँकी छ ।
नेपालको राजनीतिमा केही सीमित व्यक्ति सदावहार हावी छन् । उनीहरू हरतरहले आफ्नो अपरिहार्यता स्थापित गर्न चाहन्छन् । आफनो स्वार्थका लागि संवैधानिक तथा कानुनी प्रक्रियालाई कसरी हदैसम्म उपयोग गर्न पछि पर्दैनन् भन्ने कुरा यो प्रकरणले प्रस्ट पारेको छ । डोल्पाबाट प्रतिनिधिसभा सिट खाली गराउन सफलता नमिलेपछि वामदेवका लागि अर्को कुन ठाउँ उपयुक्त हुन्छ भनेर खोजी भैरहेकै बेला प्रचण्ड–देउवाको आकस्मिक भेटको समाचार आएको थियो । राजनीतिमा के नयाँ चास्नी घोलिँंदै छ, अनुमान गर्न कठिन भैरहेथ्यो । जब रामवीर मानन्धरले मुख खोले, बुझ्न बाँकी रहेन । कांग्रेसका तर्फबाट वामदेवलाई कुनै अप्ठेरो नपर्ने निश्चितै थियो । तर जनमतले उनलाई साथ दिएन ।


ओली–प्रचण्ड मिलनबाट पुनर्गठित नेकपालाई पत्रकार शुभशंकर कँडेलले ‘अवतरण’को संज्ञा दिएका छन् । गतसाता ओली–प्रचण्डले संयुक्त रूपमा विमोचन गरेको सो पुस्तकमा यी दुवै नेताको मनोविश्लेषण गर्ने प्रयत्न छ । कँडेलको विश्लेषण छ, ओली ठन्डा दिमागका छन्, सोचविचार गरी पाइला चाल्छन् र दह्रो गरी टेक्छन् । प्रचण्ड घटनामुखी छन् । क्रमभङ्गता र छलाङमा क्रान्तिकारिता देख्छन् । ओलीबारे यो विश्लेषण कति सही हो, छुट्याउन सकिन्न, प्रचण्डबारे भने यो विश्लेषण धेरै मिलेको पाइन्छ । प्रचण्ड घटनामा रमाउँछन् । अरुलाई चक्मा दिने चातुर्य देखाउन खोज्छन् । त्यसको केन्द्रीयतामा आफूलाई उभ्याउँछन् । क्रमको निरन्तरता होइन, भङ्गता उनको विशेषता हो । यद्यपि भङ्गताको त्यो शृङ्खला उनका लागि पटक–पटक प्रत्युत्पादक र आत्मघाती भएका छन् । रामवीर प्रकरणको चक्मा पनि यस्तै भयो ।


एमाले–माओवादी एकतापछि नेकपाले संसदमा लामो समय पाएको छ, अर्थात् बहुमतसहित यो संसदको पूर्णावधि । छिटो–छिटो नेतृत्व बदल्न अभ्यस्त नेपालको राजनीतिमा उसका लागि यो निकै बोझिलो र अधैर्य यात्रा सावित हुन खोज्दैछ । स्वेच्छाले छाडे वा पार्टीले अन्यथा निर्णय गरे बाहेक प्रधानमन्त्री केपी शर्मा ओली संसदको यो अवधिभर पदमा रहन संविधानले सुरक्षित गरेको छ । विघटनको कटु अनुभवमा टेकेर संविधानले प्रतिनिधिसभा विघटनको ढोका बन्द गरिदिएको छ । प्रधानमन्त्रीको किल्ला मजबुत बनाएको छ । तर स्थिरताको आवरणमा अस्थिरताको अन्तरद्वन्द्व नेकपाको नियति भएको प्रस्ट देखिंँदैछ ।


लोकतन्त्रको राजनीतिक मुहार चुनावले निर्धारण गर्छ । नेतृत्वको परख गर्ने पहिलो आधार पनि चुनावै हो । तर चुनावबाट सबै योग्य र गतिला मानिस आउँछन् भन्ने जरुरी छैन । नेपालमा मात्र होइन, विकसित र लोकतन्त्रको लामो परम्परा भएका मुलुकमा पनि यो समस्या देखिन्छ । सामाजिक विकासको एउटा तह र शासकीय संस्थाहरू सबल भएको अवस्थामा नेतृत्वमा विद्यमान न्युनतालाई सन्तुलन गर्ने ठाउँ हुन्छ । तर हाम्रोजस्तो अवस्थामा त्यो न्युनतालाई सन्तुलन गर्ने कुनै ठाउँ छैन । बरु यसले उल्टै अरुमा समेत स्तरहीनता र भ्रष्टीकरण बढाउने जोखिम हुन्छ, जुन नेपालले भोग्दै आएको छ ।


सनातनी राजनीति विश्वमै असान्दर्भिक हुँदैछ । स्थापित बाटा र मूल्यहरूले परिणाम दिनछाडेका छन् । समाज नयाँ मूल्य र विकल्पको खोजीमा छ । यस्ता लक्षणहरू नेपालमा पनि देखिन थालेका छन् । बदलिएको सञ्चार प्रविधि सनातनी पार्टी संगठनभन्दा निकै बलियो र प्रभावकारी हुनथालेको छ । चाहे त्यो प्रधानन्यायाधीशसँंग जोडिएको विषयमा होस् वा डा. गोविन्द केसीले उठाएका चिकित्सा शिक्षा सुधारको कुरामा वा निर्मला बलात्कार प्रकरणमा सरकारी अकर्मण्यताको सन्दर्भमा होस् वा वामदेव–रामवीर प्रकरणमा देखिएको राजनीतिक कुसंस्कार विरुद्ध नेपाली जनमत एउटा निर्णायक हस्तक्षेपको नमुना सिद्ध हुनथालेको छ । गलत संस्कार र अयोग्य नेतृत्वको दुष्चक्रबाट नेपालको राजनीतिलाई जोगाउने यो एउटा आसलाग्दो ठाउँ देखिँंदैछ । यसको जगेर्ना र स्वस्थता थप अपेक्षित छ ।

पाठक मञ्च

संस्कृतिमै विकृति

- कान्तिपुर संवाददाता

समय अनुसार सांस्कृतिक स्वरुप परिवर्तन तथा परिष्कार हुनु स्वाभाविक हो । चाडपर्व मनाउने शैलीमा मात्र नभई मानवीय पक्षमा समेत परिवर्तन आउनु कुनै नौलो होइन । यो प्राकृतिक नियमको अभिन्न अंग हो । तर संस्कृति रूपान्तरणको नाममा निकृष्ट तथा निन्दनीय विकृति उत्पन्न गराउन प्रतिस्पर्धा गर्नुलाई राम्रो मान्न सकिँदैन । संस्कृतिको नाममा विकृतिले प्रश्रय पाउनु खतराको संकेत हो । अहिले विजयादसमीको माहोल छ । अर्को महान चाड दिपावली र
छठ पनि नजिकै छन् । सन्तुष्टि, मनोकांक्षा, फुर्सद, मनोरञ्जन लगायतका विषयसँग प्रत्यक्ष सरोकार राख्ने सर्वोत्तम बेला भनेकै यही हो । चाडपर्वको पछाडिको पृष्ठभूमि तथा अनन्त धार्मिक महत्त्वलाई कागजमा समेट्न साध्य छैन । यसको मानव जीवनमा उपयोगितादेखि प्रभावकारिताको विशेष मूल्याङ्कन गरिन्छ ।


यस्ता चाडपर्वको नाममा नयाँ मोडलको विकृति अपनाउनु गलत छन् । दसैं सुरु भएसँगै राजधानीमा मात्र नभई उपत्यका बाहिर पनि मिनिक्यासिनो शैलीमा जुवाखाल फस्टाएका छन् । क्यासिनोकै शैलीमा चलाइएका जुवाखालमा दैनिक करोडौंको हारजित हुने गरेको छ । १९ असोजमा प्रहरीले छापा मार्ने क्रममा तीन तलाबाट हामफालेर भाग्न खोज्दा दुईजना जुवाडेको मृत्यु भएको थियो । चाडपर्वकै नाममा मदिरा सेवन तथा लागुपदार्थ दुव्र्यसन गर्नेको संख्या पनि वृद्धि भएको छ ।


आजभोलि पूजाअर्चनाको शैलीसमेत परम्परागत र मौलिकताभन्दा धेरै फरक भइसकेको छ । पूजाअर्चनामा मनोरञ्जन गर्नेको कमी छैन । मूर्तिकै अगाडि ड्रामा, डिजे, कन्सर्टजस्ता सांगीतिक कार्यक्रमको आयोजना हुने गर्छ । भक्ति दर्शनलाई अवमूल्यन गर्दै भोजपुरी अश्लील गीतमा कम्मर हल्लाउने प्रतिस्पर्धा युवाहरूमा चलेकै छ । मूर्तिको विसर्जन पनि समस्याग्रस्त छ । जसकारण झैझगडा र मारपिट सामान्य भइसकेको छ । गतवर्ष सरस्वती माताको प्रतिमा सेलाउन जाँदा पर्साकै ग्रामीण क्षेत्रमा एकजनाको
प्राण उडेको थियो । चाडपर्वकै नाममा अव्यवस्थित र अवैज्ञानिक प्रवृत्तिको मेला आयोजना गर्नमा धेरैजसो नगर र गाउँहरू क्रियाशील छन् । वीरगन्जको रातो बंगलामा राखिएको ह्युमपाइपलाई मेला प्रयोजनले स्थान्तरण गर्दा अव्यवस्थित बनेको ह्युमपाइपमा खेल्ने क्रममा स्थानीय ९ वर्षीय बालक रोहित चौधरीको ज्यान गयो । संस्कृतिको निरन्तरताको साथ व्यवस्थापन पक्षलाई किन बिर्से सरोकारवालाहरूले ?


म्याद नाघेका कोल्ड ड्रिंक्स, गुणस्तरहीन खाद्यपदार्थको किनबेच खुलेयाम हुँदैछन् । नियमित अनुगमन भएको छैन । उपभोक्तालाई निर्वाध रूपमा बजारले लुट्दैछ । नालाकै छेउमा प्रदूषित वातावरणमा जिलेबी बिक्री हुँदैछन् । यदि संस्कृतिको नाममा यस्तै विकृति भइरहन्छ भन्ने संस्कृति केका लागि ?
– ऋतिक यादव, सिम्रौनगढ–१०, बारा

पाठक मञ्च

दरबन्दी मिलान कसरी

- कान्तिपुर संवाददाता

सामुदायिक विद्यालयको आधारभूत तहभित्र कक्षा १–५ सञ्चालित विद्यालय बाहेक सबै तहमा शिक्षक संख्या न्युन छ । एकातिर हामीले गुणस्तरीय शिक्षाको दुहाइ दिँदै सामुदायिक विद्यालयलाई कस्ने गरेका छौं, अर्कोतिर गणित, विज्ञान र अंग्रेजी तीनै विषयका दरबन्दी पुरा भएका माध्यमिक विद्यालयको संख्या देशभरि ७१ मात्र रहेको तथ्य घतलाग्दो छ । देशभरि मावि तहमा मात्र ५२९१ विज्ञान, ४८९९ गणित र २३५४ अंग्रेजी शिक्षकको अभाव छ । यति धेरै दरबन्दीको अभावमा गुणस्तरीय शिक्षा नारामा मात्र सम्भव हुन्छ, हकिकतमा हुँदैन । निकट भविष्यमा संघीय शिक्षा मन्त्रालयको तत्वावधानमा हुनगइरहेको दरबन्दी मिलान हचुवाको भरमा नभई वैज्ञानिक तरिकाले होला भन्ने आशा गरिन्छ ।
– महेन्द्रसिंह बम, टीकापुर–१, कैलाली

पाठक मञ्च

ज्यादती घटाउनुपर्छ

- कान्तिपुर संवाददाता

जब दसैं लाग्छ, पशुपन्क्षीमाथि अन्याय सुरु हुन्छ । गाडीका छतमा, डिकीमा राखेर भोकतिर्खामा दानापानी बिना मरणासन्न हुनेगरी यिनीहरूको ओसार–पसार गरिन्छ । पशु अधिकारवादीहरू पनि यो मामिलामा त्यति जागरुक भएको पाइन्न । अनेक दु:खकष्ट र पीडा दिएर टाढा–टाढाबाट ढुवानी गरिने र देवीदेवताका नाममा बलि दिइने पीडाप्रति मान्छे संवेदनशील नदेखिएको पाउँदा अनौठो लाग्छ । यो पृथ्वी सबै प्राणीको साझा घर हो । निर्दोष प्राणीहरूप्रति विवेकशील भनिएका मान्छेहरूले अलिकति सोच्नैपर्छ । सदियौंदेखि चलिआएको हाम्रा रीतिरिवाजहरू तत्काल परिवर्तन गर्न नसकिए पनि पशुपन्क्षीमाथि हुुने यस्ता प्रकारका ज्यादती न्युनीकरण गर्दै लाने र मानिसलाई बढी मांसाहारी नबन्नका लागि प्रेरित गर्ने दिन ल्याउन ढिला नगरौं ।
– कृष्ण कुम्पुरे, आदमटार, धादिङ

पाठक मञ्च

दसैं दशा नबनोस्

- कान्तिपुर संवाददाता

महान चाड बडादसैं घरआँगनमा आइसकेको छ । आ–आफ्नो गच्छे वा क्षमता अनुसार सबैले हर्षोल्लासपूर्वक मनाऔं । देखासेखी भन्दा आफ्नो आर्थिक हैसियत वा आम्दानी हेरेर मनाउनु उचित हो । चाड मनाउने बहानामा भड्किलो तडक–भडक वा आवश्यकताभन्दा बढी खानपानमा जोड दिनु किमार्थ जायज होइन । विगत केही वर्ष पहिले दसैंको मुखमा ठूलठूला सडक दुर्घटना वा हवाई दुर्घटना भएका थिए । यस वर्ष पनि केही दिनदेखि सडक दुर्घटना बढेका समाचार आइरहेका छन् । हवाई दुर्घटना हेरिकन सडक दुर्घटना हुनुमा धेरै कारण छन् । अघिपछि पनि नहुने होइन, तर चाडपर्वका बेला वा मनाउन हिँडेका परिवारका सदस्य गुमाउनुपर्दा, अंगभंग भएर अस्पतालमा भर्ना हुुनुपर्दा घरपरिवारमा बढी पीडा हुन्छ । सधैंभर सेवा दिनुपर्ने सुरक्षा, स्वास्थ्य तथा अन्य विविध क्षेत्रका कर्मचारी लगायत बिरामी वा कुरुवाले यस्ता चाडपर्वमा अस्पताल वा परदेशमा मनाउनुपर्छ । विशेषगरी सार्वजनिक यातायात र त्यसमा पनि लामो दूरीमा चल्ने बसहरू दुर्घटना हुने भनेको अघिपछि भन्दा यो बेलामा काठमाडौंबाट सक्दो धेरै र चाँडो यात्रु लिएर गन्तव्यमा जाने र पुग्नसाथ फेरि रातारात कुदेर काठमाडौं वा मुख्यत: पहिलेकै प्रस्थान विन्दुमा पुग्ने होडबाजीले गर्दा हो । काठमाडौंबाट वीरगन्ज, पोखरा तथा बुटवलजस्ता सरदर २ सय किमिमा पनि एउटै चालक हुनुभएन ।
– श्रीकृष्ण राजवंशी, सुनकोसी–३, सिन्धुली

पाठक मञ्च

नोटको जात्रा

- कान्तिपुर संवाददाता

महान चाड दसैं नेपालीहरूको घरआँगनमा आइसकेको छ । नेपालीहरू आतुर देखिन्छन्, आउँदै गरेको दसैं मनाउन । तर विडम्बना, सरकार जनताका न्युनतम आवश्यकता पुरा गर्न, सहजीकरण गर्नसमेत असफल भएको छ । महँंगी, भ्रष्टाचार, हत्या, बलात्कार, सडक मर्मत, सुपथ मूल्य पसल, शान्ति सुरक्षाको सवालमा सरकार असफल भएको कुरामात्र उठान गर्न खोजिएको होइन । सामान्यतया नेपालीहरू दसैंको टीकामा नयाँ नोटको प्रयोग गर्न रुचाउँछन्, यो एउटा प्रचलन नै भइसकेको छ ।


घरकी बुढीआमालाई समेत नयाँ नोटको चटारोले छोएको भेटिन्छ, गाउँघरमा । यता सरकार पनि राष्ट्रिय पत्रपत्रिकामार्फत ठूलै काम गरेजस्तो गरी नयाँ नोट वितरणको फेहरिस्त सार्वजनिक गर्छ । आमनेपाली जसको दैनिकी नै हो लाइन बस्नु, दसैंको बेलामा चेक साटनुहोस् वा नयाँ नोट,
लाइन नबसी सुख छैन । फेरि पनि कहीं कतै विरोधको आवाज छैन, बसेका छन्, लाइन घन्टौंसम्म । राष्ट्र बैङ्कमा उभिएको लाइन हेर्दा लाग्छ, केही कुरा दसैंको अवसरमा नि:शुल्क वितरण गरेजस्तो । नयाँ नोटका लागि आमनागरिक घन्टौं लाइनमा बसेका छन् । यो हेर्दा लाग्छ, तालुकदार निकाय र यो देशमा परिवर्तन गर्छौं भन्नेहरू देखेर विरत्तिँmदै थिए, लाइन बसिरहेका आमनागरिक । जसले एउटा नयाँ नोटको वितरण प्रणाली चुस्त मिलाउन सक्दैन, त्यसबाट देश निर्माणको कस्तो आस गर्ने ?
– रामकृष्ण बराल, जोरपाटी, काठमाडौं

पाठक मञ्च

जीवन र जगतको सवाल

- कान्तिपुर संवाददाता

निजगढ विमानस्थको निर्माण क्रममा २४ लाख ५० हजार रुख नास गर्नु ज्यादति हो । वातावरण संरक्षण निम्ति एकएक बिरुवाको महत्त्व हामीले नजरअन्दाज गर्न मिल्दैन । यतिधेरै रुखबिरुवा नष्ट गर्ने बिषयमा विज्ञहरूको मतभेद भन्ने समाचारले आश्चर्य चकित बनाएको छ । एउटा बिरुवा हुर्काउन/हुर्कन सयौं वर्ष लाग्छ, तर त्यसको विनास क्षणभरमै हुनसक्छ । कुनै पनि राजनीतिक इच्छाशक्तिले यति धेरै रुख नष्ट गर्ने दु:स्वप्न देख्नु गलत हो । विश्वको चौंथो ठूलो विमानस्थल निर्माणका लागि भनी यति धेरै रुख काट्ने योजना भइरहँदा विमानस्थल निर्माणको स्थान परिवर्तन गरेर रुख बचाउनेतर्फ किन सोच्दैन नेतृत्व ? हेटौंडा द्रुतमार्गका नाममा लाखौं रुख मासिसकेको बखत फेरि वनमाथि धावा बोल्ने काम किन हुँदैछ ?
– उत्तम पुडासैनी, जोरपाटी, काठमाडौं

पाठक मञ्च

यो दसैंलाई

- कान्तिपुर संवाददाता

बुद्ध र पशुपतिनाथको देशमा
धर्मको नाम गरी–गरी
मन्दिरजस्तो पवित्र ठाउँमा
निर्दोष पशुपन्छीको किन बलि ?
दिनैपरे–कुभिन्डोको बलि दिए हुन्छ
देउता रगतमासु खाँदैनन् होला
देवी मादकपदार्थ रुचाउँदैनन् होला
आखिर बाँच्नका लागि खानुछ भने–
हामी पनि शाकाहारी बन्दा हुँदैन र ?
विकासको गति बामे सरिरहेको देशमा
अन्य अनिवार्य आवश्यकता कटाई
भलादमी बन्ने नाममा
किन महंँगा–महंँगा गरगहना र लत्ताकपडा ?
आखिर लाजै ढाक्नुछ भने–
सादा र सफासुग्घर बन्दा के फरक पर्छ र ?
संस्कृति रमाइलो र सहज हुनुपर्छ
यो मान्न सक्ने र धान्न सक्ने हुनुपर्छ
घाँटी हेरेर हाड निल्नुपर्छ
यस्ता कुरा उहिल्यैदेखि थाहा हुँदाहुँदै
किन अनावश्यक बोझ लिने र सार्ने ?
इज्जतको नाममा किन कसैलाई पीर पार्ने ?
आखिर यो दसैंलाई–
मिलन र सद्भावको नाममा मनाउँदा हुँदैन र ?
– इन्द्रकुमार श्रेष्ठ, ओखलढुंगा

Page 7
विविधा

दसैंमा स्वास्थ्यको ख्याल

मासुसँगै हरियो तरकारी, सलाद, फलफूल र पानी पर्याप्त खानुपर्छ । नियमित व्यायाम गर्नुपर्छ ।
- भारती अधिकारी

दसैंमा सबैभन्दा बढी ध्यान दिनुपर्ने विषय खानपान हो । दसैं अवधिमा पूजाआजा नसकुन्जेल भोको बस्ने गरिन्छ र पूजा सकिएपछि चिल्लोले भरिपूर्ण मासुजन्य खाद्य परिकार अत्यधिक खाने गरिन्छ । ‘के हुन्छ र दसैं त हो नि !’ भन्ने गरिन्छ । तर त्यही भनाइमा लागेर खानेकुरामा हेलचेक्र्याइँ गरे हाम्रो स्वास्थ्य बिग्रन सक्छ ।


एकै पटक धेरै खानु भनेको धेरै क्यालोरी आर्जन गर्नु हो । शरीरले उतिबेलै त्यति धेर क्यालोरी खर्च गर्न सक्दैन । मासुका परिकारमा पानीको मात्रा कम र चिल्लो पदार्थ अधिक हुन्छ । यसले हाम्रो शरीरमा असन्तुलन पैदा गर्छ ।


दसैंका बेला धेरै परिकार पकाएर भण्डारीकरण गर्ने चलन छ । खानेकुरालाई उपभोग्य, स्वच्छ र स्वस्थ बनाउन सही भण्डारण गर्न सक्नुपर्छ । तापक्रम र तरिका मिलाउनुपर्छ । नत्र ‘फुड पोइजनिङ’ हुनसक्छ । विशेषगरी दूध तथा दुग्धजन्य पदार्थ, माछा, मासु, अन्डा र तरकारी तथा फलफूल अत्यन्त संवेदनशीलत खाद्यपदार्थ हुन् । यिनमा सूक्ष्म जीवाणुको संक्रमण हुने जोखिम हुन्छ । त्यसैले खाद्यपदार्थ भण्डारणमा विशेष ध्यान दिनुपर्छ ।


मासुमा आइरन, प्रोटिन, एमिनो एसिड, भिटामिन बी १२ राम्रो मात्रामा पाइन्छ । मासु र मासुजन्य पदार्थ, दूध र दुग्धपदार्थमा कोलेस्टेरोल, स्याचुरेटेड फ्याट हुन्छ । योसंँगै विषादी, हार्मोनको अवशेष पनि खाइरहेका हुन्छौं । मासु र मासुजन्य परिकार उपभोगका कारण मुटुको रोग, मोटोपन, उच्च रक्तचाप, मधुमेह, क्यान्सर आदि रोग लाग्ने सम्भावना अधिक हुन्छ । दसैंमा रमाइरहेका बेला जिम, एरोबिक्स र अन्य व्यायाम गर्न पनि टुट्छन् ।


विश्व स्वास्थ्य संगठनका अनुसार पश्चिमी मुलुकमा ३० प्रतिशत र हाम्राजस्ता विकसशील मुलुकमा २० प्रतिशत क्यान्सरको कारण अस्वस्थकर पोषण हो । साकाहारी मानिसमा क्यान्सरको सम्भावना कम हुन्छ । रासायनिक मल, जीवनाशक–कीटनाशक विषादी, ढुसीजन्य खाद्यवस्तु, आर्सेनिक, पारो आदि कुनै माध्यममार्फत खाद्यपदार्थमा मिसिएका हुन सक्छन् । यिनको सेवनले लाभकारी सूक्ष्म जीवाणुमा ह्रास आउँछ । हाम्रो शरीरको स्वप्रतिरक्षा प्रणाली कमजोर बन्छ ।


सेतो र रातो मासुमा रोग लगाउन सक्ने जीवाणु र रासायनिक मलको अवशेष हुन्छ । यसले गर्दा शरीर कमजोर हुने, टाउको दुख्ने, धेरै पसिना आउने, नाडीको गति कम हुने, छिटछिटो श्वास–प्रश्वास हुने जस्ता समस्या देखिन्छन् । यसले मृगौला, कलेजो, वंशाणु जिनमा असर पर्न सक्छ । जन्मने शिशुको अंगभंग हुनसक्छ ।


मासु नखाई प्रोटिन कहाँबाट पाउने भन्ने गरिन्छ । प्रोटिन वा सम्पूर्ण पोषणयुक्त खाद्यपदार्थ वनस्पतिबाटै प्राप्त गर्न सकिन्छ । विभिन्न खाले तरकारी, फलफूल, गेडागुडी खानाले शरीरलाई चाहिने प्रोटिन, भिटामिन लगायत पोषण तत्त्व प्राप्त हुन्छन् । पशुपन्क्षीको मासुमा रिसाइकल प्रोटिन पाइने हो ।


दसैंका बेला मासुसँग जांँड, रक्सी, बियर, वाइन आदि सेवन गर्ने चलन छ । अल्कोहल सेवनले एकछिन रमाइलो होला, तर कलेजो, मिर्गौला तथा शरीरका अन्य अङ्गमा लामो समयसम्म असर पुग्छ । अल्कोहल सेवनले बिसेक भएका रोग बल्झाउन सक्छ । खासगरी उच्च रक्तचाप र मधुमेहका बिरामी सचेत हुनुपर्छ ।


दसैंका बेला मासुको खपत पूर्ति गर्न सरकार तथा निजी स्तरबाट करोडौं मूल्य बराबरका खसी, बोका, च्यांग्रा लामो दूरी तय गरी ल्याइन्छ । कतिपय व्यापारी तथा मासु पसलेले रोगी, बिरामी पशु पनि बेच्छन् । यस्तो कार्य निस्तेज पार्न सरकारी स्तरबाट अनुगमन गरिएको हुन्छ । तर साना तथा मझौला पशु वधशाला, मासु प्रशोधन उद्योग, मासु पसलहरू मापदण्ड अनुरुप व्यवस्थापन भएका छैनन् ।


हामी उपभोक्ता आफैं चनाखो भई स्वच्छ र स्वस्थ मासु र खाद्यवस्तु खरिद गर्नुपर्छ । खाद्य वस्तुको गुणस्तरको पहिलो प्रमाण त्यसको लेबल हो । लेबलमा भएको उत्पादन मिति, उपभोग्य अवधि, भण्डारण र उपभोग गर्ने विधिजस्ता विवरण पढेर मात्र किन्नुपर्छ ।


हरियो साग, तरकारी र फलफूल सफा र स्वस्थ पानीमा पखाल्नुपर्छ । तेल, घ्यु, मसला कम प्रयोग गर्नुपर्छ । रोगका कारक सूक्ष्म जीवाणु नष्ट हुनेगरी पकाएर मात्र खानुपर्छ । दूध तथा दुग्धपदार्थलाई ४ डिग्री सेलसियसमा चिसो बनाई भण्डारण गर्नुपर्छ । काँचो मासुलाई –२० देखि –३० डिग्री सेल्सियसको तापक्रममा भण्डारण गर्नुपर्छ । एकै पटक धेरै मासु पकाएर भण्डारण गर्ने चलन राम्रो होइन । पटक–पटक तताएर खाइराख्दा सूक्ष्म जीवाणु वृद्धि भएर फुड पोइजनिङ हुनसक्छ । मासु सँगसंँगै हरियो तरकारी, सलाद, फलफूल र पानी पर्याप्त खानुपर्छ । नियमित व्यायाम वा दैनिक कम्तीमा आधा घन्टा हिँडडुल गर्नुपर्छ ।
लेखक खाद्य प्राविधिक हुन् ।

विविधा

बालुवा–गिट्टीको बजार

निर्माण सामग्री उद्योगको दीर्घकालीन व्यवस्थापन गर्न प्राकृतिक तवरले उत्पादित बालुवा–गिट्टी छाडेर चट्टानले बनेको पहाडतिर जानुपर्छ ।
- प्रा. तारानिधि भट्टराई

भौतिक पूर्वाधार निर्माणको बहस जोडतोडले चलिरहेको छ । भौतिक संरचना निर्माणका लागि निर्माण सामग्री कसरी जुटाउने भन्ने विषयमा भने नीति निर्माता मौन छन् । नागरिक समाज र विज्ञ समूहले पनि सार्वजनिक बहस थालेका छैनन् । भौतिक पूर्वाधार निर्माणमा हामीलाई धेरै
प्रकारका निर्माण सामग्री चाहिन्छ । तर यो आलेख गिट्टी र बालुवामा मात्र सीमित छ । यी सामग्रीको उपलब्धता र व्यस्थापनका विषयमा यहाँ चर्चा गरिएको छ ।


हामीकहाँ गिट्टी र बालुवाको बजार राम्रो छ । भौतिक पूर्वाधार निर्माणमा धेरै काम बाँकी रहेकाले आउने दिनमा यो बजारले झनै महत्त्व पाउने निश्चित छ । यो बजार छिमेकी देश भारतमा अझ व्यापक छ । भारतका प्राय: सबै प्रदेशमा बालुवाको अभाव छ । केरला, तमिलनाडु र कर्नाटका राज्यले आन्तरिक स्रोतले नपुगेर मलेसिया र कम्बोडियाबाट वर्षेनि अर्बांै टन बालुवा आयात गर्छन् । यसले नेपालले भारतलाई बालुवा निर्यात गरेर प्रशस्त विदेशी मुद्रा आर्जन गर्न सक्छ र भारतसंँगको व्यापार घाटा पनि केही हदसम्म घटाउन सक्छ भन्ने देखाउँछ । तर यो मौकाको फाइदा उठाउन हामी तयार छौं त ?


गिट्टी र बालुवाको फस्टाउँदो बजारले थुप्रै क्रसर उद्योग खुलेका छन् । त्यसबाट राज्यले राजस्व प्राप्त गरिरहेको छ । हजारौंले रोजगारी पाएका छन् । तर यो व्यवसायले भौतिक वातावरणलाई तहस–नहस पारेको छ । कैयौं उत्खनन स्थल वरिपरि बाढी, पहिरो, पानी र वायु प्रदूषणको जोखिम बढेको छ । पर्यावरणीय प्रभाव मूल्यांकन कागजमा सीमित भयो । धेरै सर्वसाधारणले अनाहकमा खेतीयोग्य जमिन गुमाए । बसाइँ सर्नुपर्‍यो । क्रसर उद्योगहरूले निम्त्याएको वातावरणीय ह्रास नियन्त्रणमा लिन र सुधार्न गर्न विज्ञ, नागरिक समाज र सर्वोच अदालत सहितले सरकारलाई ताकेता गरे । तर यो व्यवसाय वैध–अवैध रूपमा चलिरहेको छ । यो व्यवसायलाई वातावरणमैत्री, रोजगारमुखी र विकास सहयोगीका रूपमा व्यवस्थित गर्नु टड्कारो खाँचो भएको छ ।


बग्ने क्रममा नदीले बाटामा भेटिएका ढुंगा फुटाउँछ, टुक्र्याउँछ र बगाउँछ । पानीसंँग बग्दै जाँदा ती ढुंगा आपसमा ठोक्किएर र भुइँमा घस्रिएर पुन: टुक्रिन्छन् र गिट्टीका रूपमा बगरमा थुप्रिन्छन् । पानीले बगाउँदै लाने क्रममा ढुंगामा भएको चुच्चो या खस्रो भाग खिएर जान्छ । तिनीहरू आलुजस्तै गोलो हुन्छन् । नदीले बाहेक अरु कुनै पनि प्राकृतिक प्रक्रियाले यस्तो गोलो गिट्टी बनाउँदैन । यी गिट्टी बाढी आएका बेला बगेर तल्लो तटीय क्षेत्रतिर जाँदा अझ टुक्रिन्छन्, खिइन्छन् र बालुवामा परिणत हुन्छन् । बालुवा पनि पानीले बगाउँदै लाँदा खिएर झन् सानो टुक्रा (चिम्ट्याइलो माटो) मा परिणत हुन्छ । यसरी नदीले चट्टानका ठूलठूला टुक्रालाई बगाउँदै लाँदा गिट्टी, बालुवा र चिम्ट्याइलो माटोमा परिणत हुँदै जान्छ ।


भौगर्भिक शक्तिसँंग तादात्म्य मिलाउने क्रममा नदीले बगाउँदै ल्याएका गिट्टी, बालुवा, माटो बगरमा थुपारिन्छन् । यस क्रममा नदीले आफ्नो बाटो पनि बारम्बार बदल्छ । बगर जहाँको त्यहीं रहन्छ । यस्तै प्रक्रियाका कारण नदीले लाखौं वर्ष अगाडि थुपारेका अर्बार्ंै टन माटो, बालुवा र गिट्टीले तराई, दुन उपत्यका र पहाडी उपत्यका भरिएका छन् । तिनै पुराना बगरमा हामीले एकातिर खेती गरिरहेका छौं भने अर्कातिर बालुवा र गिट्टी पनि उत्खनन गरिरहेका छौं । त्यो पनि दिन दुई गुणा रात चार गुणाका दरले ।


नदीले बालुवा र गिट्टी आफ्नो बहाव क्षेत्रमा थुपार्नुको अर्थ नदी त्यो ठाउँको भौगर्भिक वातावरणसंँग मिलेर बग्न चाहन्छ । बहाव क्षेत्रको माटो उत्खनन गर्नु भनेको नदीको प्राकृतिक सन्तुलन खलबल्याउनु हो । एउटा ठूलो प्राकृतिक शक्तिलाई बिच्क्याउनु हो । नदीको बहाव क्षेत्रबाट खाल्टो खनेर हामी जति ढुंगामाटो निकाल्छौं, ठिक त्यति नै माटो नदीले आफ्नो माथिल्लो तटीय क्षेत्रमा कटान गर्छ र हामीले पारेको खाल्टो पुर्छ । तल्लो तटीय क्षेत्रमा बालुवा–गिट्टी उत्खनन गर्दा माथिल्लो तटीय क्षेत्रमा नदीले भयानकसँंग कटान गर्छ । बाढी–पहिरोको प्रकोप बढ्छ ।


नदीको बहाव क्षेत्रबाट बालुवा–गिट्टी ननिकाल्ने त ? हो, नदीको बहाव क्षेत्र नछुनु उत्तम हो । छुनैपर्ने भए नदीको उद्गम स्थलदेखि अर्को नदीसंँग मिसिएको संगम स्थलसम्म भूगर्भविद, जलविज्ञानविद र मौसम विज्ञानविद सम्मिलित विज्ञको समूहमार्फत अध्ययन गराउनुपर्छ । उनीहरूले सिफारिस गरेको स्थानबाट मात्र उनीहरूले नै तोकेको वार्षिक परिमाणभन्दा बढी नहुनेगरी उत्खनन गर्न सकिन्छ । यसरी उत्खनन गरेको निर्माण सामग्रीको परिमाण सीमित हुने हुनाले राष्ट्रिय बजारको माग पुरा गर्न सक्तैन ।


नदीका पुराना बगरबाट बालुवा–गिट्टी उत्खनन गर्न सकिन्छ, तर पुराना बगरमा खेतीपाती र गाउँबजार छन् । खेतीयोग्य जमिन र गाउँबस्ती भएका र भविष्यमा घडेरीका रूपमा प्रयोग हुनसक्ने ठाउँलाई सुरक्षित राख्नुपर्छ । त्यस बाहेकको पुरानो बगरबाट कानुन र विज्ञको सल्लाह अनुरुप प्रविधि प्रयोग गरेर बालुवा–गिट्टी उत्खनन गर्न सकिन्छ । यो उपायले अन्तरिक मागलाई केही वर्ष धान्छ । भारतमा भएको बजारलाई यसले धान्न सक्तैन । त्यसो भए छिमेकमा भएको सुगम बजारलाई उपेक्षा गर्ने ?


आन्तरिक बजारलाई दीर्घकालसम्म धान्ने, निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्ने र उत्खनन गरिएको खानी क्षेत्रको पनि भविष्यको उपयोगलाई ध्यानमा राखेर निर्माण सामग्री उत्पादन गर्ने हो भने अरु स्थान खोज्नुपर्छ । अर्थात् निर्माण सामग्री उद्योगको दीर्घकालीन व्यवस्थापन गर्न नदीले प्राकृतिक तवरले उत्पादन गरेका बालुवा र गिट्टीलाई छाडेर चट्टानले बनेको पहाडतिर जानुपर्छ । सुहाउँदिलो प्रविधि प्रयोग गरेर पहाडबाट निकालेको चट्टानलाई मेसिनले टुक्र्याएर बालुवा र गिट्टी उत्पादन गर्नुपर्छ । यो उद्योग बृहत रूपमा सञ्चालन गर्नुपर्ने भएकाले राज्यले नीतिगत निर्णय लिनुपर्छ ।


पहाडलाई मनपरी काट्नु भनेको विपद् निम्त्याउनु हो । चुरे क्षेत्रका पहाडलाई प्रयोग गर्नै मिल्दैन । किनभने त्यहाँ पहाड बन्ने भौगर्भिक प्रक्रिया सक्रिय छ । यो पहाड तराईमा पर्ने मनसुनी वर्षा, तराईको भूमिगत जल र भौगर्भिक एवं जैविक विविधतासंँग पनि गाँसिएको छ । चुरेको दाँजोमा महाभारत पर्वत र हिमाली क्षेत्रका पहाड स्थिर र मजबुत छन् । तिनीहरूलाई प्रयोग गर्न सकिन्छ । यसमा स्थानीय, प्रादेशिक र संघीय सरकारबीच सघन छलफल गरी नीतिगत निर्णय लिनुपर्छ, कानुन बनाउनुपर्छ ।


निर्माण सामग्री उत्पादनमा प्रयोग गर्न सकिने पहाड भौगर्भिक अध्ययनबाट पहिचान गर्नुपर्छ । त्यसपछि वातावरणीय प्रभाव मूल्यांकन गरेर मात्र काम अघि बढाउन सकिन्छ । धेरै ठाउँमा उद्योग खोल्नुभन्दा प्रत्येक प्रदेशले कम्तीमा आउने २५ वर्षसम्मका लागि पुग्नेगरी एउटा ठूलो क्षेत्रमा उद्योग स्थापना गर्नुपर्छ । यसले वातावरणका साथै अरु भौतिक पूर्वाधार पनि व्यवस्थापन गर्न सजिलो हुन्छ । यो कार्यले वैदेशिक लगानी पनि आकर्षित गर्नेछ । यसो गर्नसके एकातिर हाम्रा नदीहरूको संरक्षण हुनेछ भने अर्कातिर स्वदेशमै रोजगारी सिर्जना हुनेछ । खानीको काम सकिएपछि सुविधा सम्पन्न एकीकृत बस्ती बसाउन सकिन्छ ।

लेखक त्रिचन्द्र क्याम्पस, भूगर्भशास्त्र विषयका प्राध्यापक हुन् ।

विविधा

बदल्ने कि बदलिने कमरेड ?

कम्युनिस्ट जनप्रतिनिधि जग्गा दलालसँग हिमचिम गर्छन् । ठेक्कापट्टाका लेनदेनमा हिस्सा लिन्छन् । आदर्श विचार र कार्यशैलीबाट भाग्छन् ।
- अशेष घिमिरे

सत्तासीन नेकपाका यतिबेला दुइटा दायित्व छन् । एक, नेपाली समाजलाई होशियारीपूर्वक समाजवादमा लैजाने । दुई, विश्व जगतलाई समाजवादी विकल्पको एउटा सफल मोडल दिने ।
नेकपाका अगाडि दुइटा बाटा छन् । एक, नेपाली समाज बदल्ने अर्थात समाजवादमा पुर्‍याउने । दुई, यो आफै बदलिने अर्थात समाजवादको एक अर्को असफल उदाहरण बन्ने । धोखाधडी र विकृतिको अर्को अनुभव बन्ने ।


बदल्ने बाटो जोखिमको छ । बदलेको कुरा चीरस्थायी राख्नु अझ चुनौतीपूर्ण । दुनियाँ नबदलिएको हैन, तर बदल्दा–बदल्दै आफै बदलिने कुराले समाजमा डरलाग्दो संकट निम्त्याएको छ । रूसी क्रान्ति भयो । यसको प्रेरणामा संसारभर क्रान्तिका ज्वारभाटा निस्किए । तर इतिहासले देखायो कि बदल्ने दौरानमा क्रान्तिकारीहरू आफै बदलिए । क्रान्ति फेरि बदलियो । ७० वर्षमा रूस बदलिँदा बदल्नेहरूले पत्तै पाएनन् । समाजवादी सोभियत युनियन ऐया–आत्था नभनी ढल्यो ।


पत्तै नपाई बदलिएकाहरूको सूची लामै बन्छ । कतिपय मुलुकमा समाजवादका नाममा कम्युनिस्टले सत्ता लिइसकेपछि जनताले भर गरेका नेता र पार्टी बदलिए । पछि जनताले तिनलाई अपमानपूर्वक सत्ताच्युत गर्नुपर्ने अवस्था आयो । कम्बोडियामा कम्युनिस्ट नेता पोलपोटले मलामीसम्म पाएनन् । जर्मनीमा राष्ट्रिय समाजवादका नाममा फासीवादले टाउको उठायो । सारा विश्वले र समग्र मानवताले यसको कठोर मूल्य चुकायो । यो माक्र्सवादसँग गाँसिएको विषय थिएन । तर यो समाजवादकै नाममा भएको डरलाग्दो विकृति थियो ।
समाजवाद आफैमा असफल र विकृत कुरा हैन । बदल्ने कुरा र मानवीय मुक्तिको आकांक्षा फगत रोमाञ्चक सपनामात्र हैन । कतिले भन्छन्– समाजवाद सिर्फ नारा हो । भावनात्मक कुरा हो । प्रश्नहरू छन्, कुनै समाजवाद भन्ने चिज अस्तित्वमा रहन्छ वा रहन्न ? अस्तित्वमा रहन्छ भने यसले के कस्ता काम गर्छ ? यसको जवाफ जरुरी छ । मञ्चमा उभिएर ओँठे गाली गर्नु, आकर्षक नारा दिनु, गुट–उपगुट गर्नु, कुनै निर्वाचन जित्नु, हतियार उठाउनु वा सत्ताकब्जा गर्नु मात्रले यसको जवाफ पुग्दैन ।


नेपाललाई समाजवादी राज्य बनाउने कबोल हामीले संवैधानिक रूपमै गरिसक्यौं । अब सबैको चासो छ, नेकपाले आफूलाई कसरी समाजवादको तयारीमा लगाउँछ ? यसले पुरानै असफलता र अयोग्यताको पुनरावृत्ति गर्छ वा आफूले घोषणा गरेको कुरामा कामयाव हुन्छ ?


नेकपाको सत्तायात्रा समाजको असमानता, विभेद, गरिबी, बेरोजगारी, पछौटेपन, अशिक्षा, कुशासनको अवस्थाबाट मुक्त हुन जनताले नेकपासँग गरेको सम्झौता हो । नेकपाले समाजवादको यात्रामार्फत जनतालाई सहज जीवनयापन, सुरक्षित कार्यस्थल, स्वास्थ्य, शिक्षा लगायतका विषयमा सन्तोषजनक अगुवाइ गर्ने कबोल गरेको हो । यथास्थितिकै ती पुरानै समस्या र निष्ठुर जीवनको बाध्यता पुनरावृत्तिका लागि नेकपा छानिएको हैन । काम र परिणाममा कुनै भिन्नता आएन भने यो नेकपा र जनता बीचको सम्झौता नवीकरण नहुने पक्कापक्की छ ।


सम्झौता नवीकरणको पहिलो सर्त हो, समाज र राज्यलाई शासकले नियन्त्रण गर्ने नभई समाजवादी प्रतिबद्धताले नियन्त्रण गर्ने कुराको थालनी । यस्तो प्रतिबद्धता सामुहिक हुन्छ । यसका लागि नेकपाले आफूमा केही अवयव विकास गर्नुपर्ने हुन्छ । पहिलो, समाजवादतर्फ डोर्‍याउने वस्तुनिष्ठ सिद्धान्त । दोस्रो, सिद्धान्तलाई दह्रोसँग पक्रिएको सामुहिक पद्धतिमा चल्ने पार्टी संगठन । तेस्रो, श्रमजीवी वर्गको हितप्रति वफादार, समाजवादी चेतनाले भरिएका उन्नत र प्रतिबद्ध कार्यकर्ता । समग्र पार्टीको ध्यान स्थानीय तहहरूलाई सबलीकरण गर्ने र समाजवादी राज्यको इकाइका रूपमा विस्तार गर्नेमा हुनुपर्छ । यी इकाइहरूबीच निरन्तर अन्तरक्रियालाई मजबुत पार्नुपर्छ । यी इकाइलाई आपसमा अन्तरनिर्भर र उत्पादनको केन्द्र बनाउनुपर्छ । समाजवादी प्रतिबद्धता माथिबाट थोपरिने हैन, तलबाट व्यापक जनसहभगितामार्फत बन्दै जाने प्रक्रियाका रूपमा कार्यान्वयन गर्नुपर्छ । यसका लागि योजना तहमा तथा व्यवस्थापन तहमा के गर्ने र कार्यान्वयनका प्राथमिकता कसरी निर्धारण गर्ने भन्नेमा सुविचारित सुरुवात गर्नुपर्छ ।


पार्टीका सामुन्ने बाधा आउँछन् । निसन्देह आज नेपालमा समाजवादी अभियानको प्रमुख बाधा दलाल पुँजीवाद हो । दलाल पुँजीले पैसा, प्रतिष्ठा लगायतका प्रलोभन देखाउँछ । यसको सामना समाजवादी प्रतिबद्धताले भरिपूर्ण पार्टी पंक्तिले एकसाथ गर्नुपर्छ । यसका लागि निकै ज्यादा निष्ठा, विवेक, होशियारी र समझदारी आवश्यक पर्छ । यो सँगसँगै पार्टी र जनतालाई दलाल पुँजीको बर्चस्वबाट आइपर्ने सबै खाले संकट र अप्ठ्याराबारे निरन्तर जागृत गर्नुपर्छ ।


हाम्रा अगाडि केही गम्भीर दृश्य छन् । कम्युनिस्ट पार्टीबाटै निर्वाचित कतिपय जनप्रतिनिधि जग्गा दलालसँग हिमचिम गर्छन् । ठेक्कापट्टाका अपारदर्शी लेनदेनका रात्रिकालीन बैठकमा हिस्सा लिन्छन् । दलाल पुँजीको चन्दा र प्रलोभनमा आकर्षित हुन्छन् । आदर्श विचार र कार्यशैलीबाट पर भाग्छन् । यी सबैको प्रभावले ज्ञानको उत्पादन र त्यो ज्ञानले संगठन र पार्टीलाई नेतृत्व गर्ने कुरा हतोत्साहित छ । नेतृत्व निर्माणको प्रक्रिया लथालिङ्ग र गुटकेन्द्रित छ । पार्टी संगठन समाजवादी चेतनाका हिसाबले भुत्तेहरूको अखडा बन्दैछ ।


ज्ञानबाट अलग रहेको र न्युनतम आदर्श पनि बोक्न नसक्नेहरूले भरिएको संगठन क्रमश: कमजोर बन्छ । यस्तो संगठन र पार्टी संकट सामना गर्न नसक्ने बन्छ । अनि उसले आफूलाई टिकाइराख्न नक्कली कुरा गर्नुपर्ने हुन्छ । अरिङ्गाल बन, माहुरी बन भनी कार्यकर्तामा उर्दी जारी गर्नुपर्ने हुन्छ । नक्कली नारा, आदर्श, विचार, संकल्प अनि नक्कली नेतृत्वको अगुवाइमा हाम्रो बदल्ने सपना यसै तुहिन्छ । बदल्नेहरू आफै बदलिन्छन् । यसरी बदलिँदा–बदलिँदै हाम्रो संसद, हाम्रो गणतन्त्र, हाम्रा प्रतिनिधि र समाजवादी पार्टीभित्रकै पंक्ति दलाल पुँजीको कब्जामा पर्ने खतरा छ । यस्तो पंक्तिले दलाल पुँजीलाई हेर्दाहेर्दै जिताइदिन्छ । समाजवादको गन्तव्यलाई अझै पछाडि धकेलिदिन्छ । अन्तत: राष्ट्र र जनताले धेरै दु:ख पाउँछन् ।
नेकपाको सरकारबारे प्रारम्भिक प्रतिक्रिया सुखद छैनन् । विलम्ब नगरी नेकपाले नेपाली समाजलाई विश्वासमा लिएर ठिक ठाउँबाट आफ्ना प्रयत्न थाल्नुपर्छ । जति नजिकबाट अहिलेका गल्ती–कमजोरी खुट्याइन्छ र त्यसबाट मुक्त हुने कोसिस गरिन्छ । त्यति नै विगतका समाजवादी अभ्यासका असफलताबाट मुक्त भइन्छ । बदल्नका लागि सही बाटो हिँड्ने योग्यता निष्ठापूर्वक सदुपयोग गर्नुपर्छ । बदलिने हो भने धेरै मिहिनेत चाहिँदैन । अहिलेको बाटो यथेष्ट छ ।

Twitter: @GhimireAshesh

Page 8
समाचार

ज्ञवालीको निधनमा शोक

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– नेपाल मिडिया सोसाइटीले कान्तिपुर पब्लिकेसन्स तथा नेपाल रिपब्लिक मिडियाका संस्थापक अध्यक्ष हेमराज ज्ञवालीको निधनको खबरले स्तब्ध भएको जनाएको छ । सोसाइटीले आइतबार विज्ञप्ति जारी गर्दै नेपालको निजी सञ्चार माध्यमको विकास र विस्तारमा महत्त्वपूर्ण योगदान गरेका ज्ञवालीको निधनले नेपालको मिडिया क्षेत्रमा अपूरणीय क्षति भएको उल्लेख गरेको छ ।


‘स्व. ज्ञवालीले गर्नुभएको योगदानलाई सोसाइटीले सदा स्मरण गरिरहनेछ,’ विज्ञप्तिमा भनिएको छ । सोसाइटीले आफ्ना सदस्य विनोद ज्ञवालीसहित शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै ज्ञवालीको निधनले एक परिपक्व अभिभावक गुमाउन पुगेको उल्लेख गरेको छ ।

 

समाचार

हिमआँधीमा मृत्यु भएकाको शव राजधानीमा

८ जनाको शव शिक्षण अस्पतालमा, १ जनाको म्याग्दीमै पोस्टमार्टम
- घनश्याम खडका
हिमआँधीमा परेर मृत्यु भएकाको शव लिएर आएको हेलिकप्टर पोखरा विमानस्थलमा आइतबार दिउँसो अवतरण गर्ने तयारीमा । तस्बिर : लालप्रसाद शर्मा/कान्तिपुर

 (म्याग्दी) - धौलागिरि गाउँपालिका–१ स्थित गुर्जा हिमाल बेस क्याम्पमा आएको हिमआँधीमा परी मृत्यु भएकाको शव आइतबार काठमाडौं लगिएको छ । आँधीमा परी ज्यान गुमाएका ४ नेपाली र ५ कोरियाली पर्वतारोहीमध्ये एक जनाको शव म्याग्दी अस्पतालमा पोस्टमार्टम गरी आफन्तलाई जिम्मा लगाइएको छ ।


बिहीबार राति आएको हिमआँधीले गुर्जा हिमाल आरोहण गर्न आएका पर्वतारोहीलाई पहिलो बेस क्याम्पबाट उडाएर भीर र खोंचमा पुर्‍याएको थियो । हिमाली क्षेत्रको दुर्घटनासम्बन्धी तालिमप्राप्त खोजकर्ताले स्थानीयको सहयोगमा आइतबार बिहान शव संकलन गरेका थिए ।
घटनास्थलमा शव संकलन गरी नाइलनको डोरीको जालोमा ८ वटै शव राखेर हेलिकप्टरमा झुन्ड्याई पोखरा विमानस्थल पुर्‍याइएको थियो । त्यहाँबाट दुईवटा हेलिकप्टरमा राखी पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगन्ज लगिएको प्रहरीले जनाएको छ । स्थानीय नेत्रबहादुर छन्त्यालको शव जिल्ला अस्पताल बेनीमा पोस्टमार्टमपछि घर गुर्जा पुर्‍याइएको छ । ‘खोजकर्ताको सहयोगमा हामीले अक्करे भीर र खोल्सामा अल्झेका सबै शव संकलन गरेका हौं,’ आफन्तको शव लिएर बेनी अस्पताल आएका समबहादुर छन्त्यालले भने, ‘दुर्घटनास्थलमा टेन्टसहित सबै पर्यटकको शव भीरमा छरिएको थियो ।’ शनिबारै गुर्जावासी घटनास्थल पुगे पनि शव झिक्न नसकेपछि हिमाली क्षेत्रका खोजविज्ञ झिकाइएको हो ।


‘अलि खोंचमा क्याम्प राखेको भए दुर्घटना टर्न सक्थ्यो, धारिलो पहाडको टुप्पोमा क्याम्प राखिएकाले आँधीले हुत्याएर परपर पुर्‍याएको देखिन्छ,’ घटनास्थल पुगेका गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले भने, ‘हामीले उक्त स्थानमा क्याम्प नराख्न सुझाएका थियौं ।’
हिमआँधीमा परी संखुवासभा हटियाका छिरिङ भोटे, भोटेखोलाका लाक्पा सोङबु भोटे, फर्बु भोटे, म्याग्दी गुर्जाका नेत्रबहादुर छन्त्याल तथा कोरियाली पर्वतारोहीहरू जोहोन ली, च्याङ हो किम, इल जिन रिम, योङ जिक यु र जुन मो झोङको मृत्यु भएको थियो । उनीहरू ७ हजार १ सय ९३ मिटर अग्लो गुर्जा हिमालको दक्षिणी मोहडाबाट आरोहण गर्ने तयारीमा थिए ।


पोखरा संवाददाताका अनुसार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले घटनाप्रति दु:ख व्यक्त गरेका छन् । गुरुङले आइतबार विज्ञप्तिमार्फत खोज तथा उद्धारमा संलग्नलाई धन्यवाद दिएका छन् । उनले मृतकप्रति श्रद्धाञ्जली र शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

समाचार

आयोगका सिफारिस कार्यान्वयन भएनन्

अनुसन्धान भएका प्रमुख घटना
सेनाको भैरवनाथ गणमा बेपत्ता पारिएका ४९ जनालाई जलाएर गाडिएको स्थान (शिवपुरी जंगल) मा उत्खनन । दोषीलाई कारबाही सिफारिस ।
धनुषाको गोदारमा पक्राउ गरी हत्या गरिएका ५ युवाको चिहान सन् २०११ मा उत्खनन र सनाखत । तत्कालीन जिल्ला प्रहरी प्रमुख कुवेरसिंह रानालाई कारबाही सिफारिस । कारबाही सट्टा उनको बढुवा ।
- घनश्याम खड्का

 (काठमाडौं) - राष्ट्रिय मानव अधिकार आयोगले द्वन्द्वकालमा भएका सात सयभन्दा बढी घटना अनुसन्धान गरी दोषीलाई कारबाही सिफारिस गरे पनि एउटै कार्यान्वयन भएको छैन । सरकारले आयोगका छानबिन र सिफारिसलाई बेवास्ता गर्दा देशमा दण्डहीनताले प्रश्रय पाइरहेको छ ।
राजनीतिक संक्रमण सकिए पनि मानव अधिकार र न्यायिक दृष्टिले संक्रमण लम्बिँदै गएको आयोगको विश्लेषण छ । द्वन्द्वकालका प्रतिस्पर्धी सेना र पूर्वमाओवादी दुवै एकै ठाउँमा उभिएको, एमालेसँग पार्टी एकीकरण भएको र अधिकांश समय सरकारमा बसेको कांग्रेससमेत कारबाहीमा पर्ने डरले मानव अधिकार उल्लंघनका घटना सामसुम पार्नतिर लागेकाले दण्डहीनताले प्रश्रय पाइरहेको आयोगका पदाधिकारी बताउँछन् ।


‘पीडकहरू सत्ता र शक्तिमा पुगी एकै ठाउँमा उभिएको अनौठो अवस्था छ,’ एक पूर्वआयुक्त भन्छन्, ‘दोषीलाई कारबाही गर्न होइन, सरकारी सुरक्षाकर्मी, पूर्वमाओवादी सेना र पूर्वमाओवादीका नेतालाई बचाउने अभियानमा लागेका छन् । शक्ति र सत्तामा उनीहरू नै भएकाले जानाजान न्यायको बाटोलाई अवरुद्ध गरी दण्डहीनता बढाउने काम भइरहेको छ ।’


तत्कालीन शान्ति तथा पुनर्निर्माण मन्त्रालयका अनुसार सशस्त्र द्वन्द्व (एक दशक) मा १७ हजारभन्दा बढीको ज्यान गएको थियो भने १५ सयभन्दा बढी बेपत्ता भएका थिए । ८० हजारभन्दा बढी विस्थापित भए । अंगभंग हुने र यातना पाउनेको त लेखाजोखै छैन । तीमध्ये आयोगले सात सयभन्दा बढी घटना अनुसन्धान गरी दोषीलाई कारबाही सिफारिस गरेको थियो ।


‘हाम्रो सिफारिस एउटै कार्यान्वयन भएको छैन, एउटै दोषीले सजाय पाएको छैन,’ आयोग प्रवक्ता मोहना अन्सारीले भनिन्, ‘यसले नेपाललाई दण्डहीनताको राज्यका रूपमा स्थापित गर्दै छ र अन्तर्राष्ट्रिय समुदायसामु हाम्रो छवि धमिलिँदै छ । यो चिन्ताको विषय हो ।’ भारतलगायत देशमा मानव अधिकार आयोगका सिफारिस अनिवार्य कार्यान्वयन गर्नुपर्ने चलन भए पनि नेपालमा यसलाई पूरै बेवास्ता गरिएको उनले बताइन् ।


आफू नियुक्त हुने क्रममा संसदीय सुनुवाइका दौरान आयोग अध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश अनुपराज शर्माले आयोगका सिफारिस कार्यान्वयन गराउने आफ्नो पहिलो काम हुने बताएका थिए । तर, पटक–पटक पत्राचार र प्रयास गर्दासमेत सरकारले दोषीमाथि मुद्दा चलाउने वा अन्य कुनै कारबाही गरेको छैन । ‘यसले मानव अधिकार आयोग किन चाहियो भन्ने प्रश्नलाई जबर्जस्त खडा गरेको छ,’ पूर्वआयुक्त गौरी प्रधान भन्छन्, ‘अन्तर्राष्ट्रिय मानव अधिकार कानुनको पालना भए/नभएको अनुगमन गर्ने राज्य तहको निकाय राष्ट्रिय मानव अधिकार आयोग हो । त्यसको सिफारिसलाई यसरी लत्याउने काम अन्यत्र भएको छैन ।’


उनकै पालामा पनि गम्भीर मानव अधिकार उल्लंघनका थुप्रै घटनामाथि छानबिन भई दोषी पहिचान गरिएको थियो । तिनलाई कारबाही सिफारिस पनि भएको थियो । त्यसमध्ये एउटा थियो, भैरवनाथ गणमा बेपत्ता पारिएका ४९ जनालाई जलाएर गाडिएको स्थानमा भएको उत्खनन । जसको नेतृत्व स्वयं प्रधानले गरेका थिए । ‘माओवादी विद्यार्थी नेता दीपेन्द्र पन्तलाई जलाएर गाडिएको भन्ने सुराकका आधारमा विदेशी विशेषज्ञको समेत सहायतामा शिवपुरी जंगलमा उत्खनन गर्दा ४३ जनाको शव फेला पार्‍यौं,’ प्रधान भन्छन्, ‘त्यस क्रममा जलेको अंगार जस्तो वस्तुमात्रै फेला पर्‍यो । त्यसलाई हाम्रो विधि विज्ञान प्रयोगशालामा डीएनए परीक्षण गर्न सक्ने अवस्था थिएन ।’ सत्यको अन्वेषण गर्न आयोगले उक्त अंगारजस्तो वस्तुको विस्तृत जाँच गर्न फिनल्यान्डको हेलसिन्की विश्वविद्यालय पठाएको थियो । अत्याधुनिक उपकरणको सहाराले उक्त कालो पदार्थ कुनै पुरुषको हड्डी भएको पुष्टि भयो । ‘त्यसको डीएनए प्रतिवेदन पन्तका परिवारको डीएनएसँग परीक्षण गर्दा हुबहु मिल्न गयो,’ सन् २००८ मा भएको उत्खननबारे प्रधानले भने, ‘आयोगले यसरी जटिल घटनाको पनि विस्तृत अनुसन्धान गरेर सत्य अन्वेषण गरी दोषीलाई कारबाही गर्न सिफारिस गरेको थियो तर सरकारले सुनुवाइ गरेन ।’


आयोगले धनुषाको गोदारमा प्रहरीले पक्राउ गरी हत्या गरिएका ५ युवाको चिहान सन् २०११ मा उत्खनन गरी सनाखतसमेत गरेको थियो । तत्कालीन जिल्ला प्रहरी प्रमुख कुवेरसिंह राना र अञ्चल प्रहरी प्रमुख चूडाबहादुर श्रेष्ठलाई दोषी करार गरी कारबाहीका लागि मुद्दा चलाउन सिफारिस गर्‍यो । तर, कारबाहीको सट्टा रानालाई सरकारले बढुवा गर्‍यो र प्रहरी महानिरीक्षकसमेत बनायो । यसरी मानव अधिकार उल्लंघनका घटनालाई पूर्णरूपमा बेवास्ता गर्दा पीडितको न्याय पाउने हकको राज्यबाटै हनन भएको विश्लेषण कानुनविद्ले गरेका छन् । ‘राज्य संविधानअनुसार चल्नुपर्छ र संवैधानिक निकायको सिफारिसलाई सम्बोधन गर्नुपर्छ,’ गण्डकी प्रदेशका प्रमुख तथा पूर्वमहान्यायाधिवक्ता बाबुराम कुँवर भन्छन् । आयोगको सिफारिस सरकारले पालना गर्नु संविधान पालनाकै परिधिभित्र पर्ने उनले बताए ।


‘२०६२/६३ को आन्दोलनपछि भएको शान्ति सम्झौता र अन्तरिम संविधानले मुख्य रूपमा सेना समायोजन, संविधानको निर्माण र संक्रमणकालीन न्यायको टुंगो लगाउने मार्गचित्र तयार पारेको थियो,’ बारका पूर्वमहासचिव सुनील पोखरेल भन्छन्, ‘त्यसमध्ये सेना समायोजन उतिबेलै भयो, हामीले संविधान पाएको तेस्रो वर्षगाँठ मनाइसकेका छौं । तर, शान्ति सम्झौताको अर्काे मुख्य पाटो संक्रमणकालीन न्यायको व्यवस्थापन भने पूर्णरूपमा उपेक्षित छ ।’


आयोगले पीडितलाई क्षतिपूर्ति र राहत दिन गरेको सिफारिस भने सरकारले केही हदसम्म कार्यान्वयन गरेको छ । ‘न्याय भनेको क्षतिपूर्ति मात्र होइन,’ प्रवक्ता अन्सारी भन्छिन्, ‘पीडकलाई दण्ड नदिएसम्म मानव अधिकार उल्लंघन गर्नबाट राज्यका अधिकारी हच्किने छैनन्, भविष्यमा पनि यस्ता घटना दोहोरिने खतरा रहिरहन्छ ।’

समाचार

प्रदेशमा मन्त्री–सचिव टकराव: नटेर्नेबित्तिकै सरुवा

आफूले भनेअनुसार काम नगरेको आरोप लगाएर प्रदेश मन्त्रीले सचिव सरुवा गर्न केन्द्रलाई दबाब दिने गरेका छन्
- अब्दुल्लाह मियाँ

 (काठमाडौं) - प्रदेश सरकारका मन्त्री र सचिवबीच टकरावले आफूअनुकूल सचिव
खोज्ने प्रवृत्ति बढेको छ । गत वैशाखमा कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा र सचिव विद्यानाथ झाबाट सुरु भएको यो प्रवृत्ति हालै गण्डकी र सूदूरपश्चिम प्रदेशमा दोहोरिएको छ ।


कर्णालीका वनमन्त्री बुढाले आफूले भनेअनुसार काम नगरेको र सहयोग नगरेको आरोप लगाएर सचिव झालाई गत जेठमा संघको वन तथा वातावरण मन्त्रालयमा फिर्ता गरिदिएका थिए । झाले पेस्की रकम फस्र्योट नगरिदिएको मन्त्रीको गुनासो छ ।


मन्त्री बुढाले झासँग काम गर्न सक्ने अवस्था नभएकाले अर्को सचिव व्यवस्था गरिदिन आग्रह गरेका थिए । प्रदेशको मागअनुसार संघको वन तथा वातावरण मन्त्रालयले झाको ठाउँमा गत जेठमा सहसचिव धिरेन्द्रकुमार प्रधानलाई पठाएको छ । झा भने प्रदेश २ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको सचिवमा सरुवा भएका छन् ।


यस्तै समस्या गण्डकी प्रदेशमा पनि छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले सचिव बुद्धिसागर पौडेललाई सहयोग नगरेको र व्यावहारिक नभएको आरोप लगाउँदै संघमा फिर्ता गरिदिएका छन् । उनको ठाउँमा वन तथा वातावरण मन्त्रालयले कास्कीकै विष्णुप्रसाद भण्डारीलाई खटाएको छ । प्रदेश ३ को वन निर्देशनालय, हेटौंडामा प्रमुख रहेका सहसचिव भण्डारी यसै साता पोखरा गएर काम थालेका छन् ।


वनमन्त्री लम्सालले सचिव पौडेलले सहयोग नगरेको र हुने कामलाई पनि ऐन–कानुन देखाएर अटेर गर्ने गरेको मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँग गुनासो गरेका थिए । प्रदेशको आग्रहअनुसार वन तथा वातावरण मन्त्रालयले पौडेललाई केन्द्रको वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रको उपमहानिर्देशकमा सरुवा गरेको छ । पौडेलले मन्त्रीले कानुनअनुसार गर्नै नमिल्ने काममा अनावश्यक दबाब दिएको बताए । ‘हामीले कानुनलाई चिन्ने हो,’ उनले भने, ‘उहाँ (मन्त्री) हरूले अनावश्यक दबाब दिएपछि अप्ठ्यारो हुन्छ ।’ सुदूरपश्चिम प्रदेशमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री मायादेवी भट्टले रुचाएका सचिव सुधीरकुमार कोइराला सरुवामा परेका छन् । ‘सचिवको सरुवाप्रति मन्त्रीज्यू पनि सन्तुष्ट हुनुहुन्न,’ मन्त्रीका निजी सचिव भोजराज पाठकले भने, ‘केन्द्र सरकारलाई रोक्न आग्रह गर्छु भन्नुभएको छ ।’ कोइरालाको प्रदेश ३ को वन निर्देशनालयमा सरुवा भएको छ । उनको ठाउँमा प्रदेश २ का सचिव मेघनाथ काफ्लेलाई लगिएको छ ।


संघको वन तथा वातावरण मन्त्रालयका प्रवक्ता सहसचिव सिन्धुप्रसाद ढुंगानाले मन्त्रीहरूले काम फटाफट होस् भन्ने चाहना हुनु स्वाभाविकै भए पनि ऐन–कानुनविपरीत काममा दबाब दिनु अनुचित भएको टिप्पणी गरे । ‘राजनीतिक व्यक्तिले छिटोछिटो काम होस् र आफ्ना आश्वासन पूरा होस् भन्ने चाहन्छन्,’ उनले भने, ‘पहिला प्रत्यक्ष निगरानीमा बसेको अनुभव नभएकाले पनि कर्मचारीलाई अभ्यस्त हुन समय लागेको हुन सक्छ ।’


सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सहसचिव सुरेश अधिकारीले यो कर्मचारीले भएन, अर्को पठाइदिनुपर्‍यो भनेर बेलाबेला लिखित आग्रह आउने गरेको जानकारी दिए । ‘केही प्रदेशमा यस्तो समस्या बढी देखिएको छ,’ उनले भने ।

Page 9
विदेश

‘अमेरिकाले इरानी सत्ता परिवर्तन प्रयास गर्दैछ’

- कान्तिपुर संवाददाता
इरानी राष्ट्रपति हसन रौहानी

तेहरान (रोयटर्स)– इरानी राष्ट्रपति हसन रौहानीले अमेरिकाले इरानको सत्ता परिवर्तन गर्ने प्रयास गरिरहेको जनाएका छन् ।


राज्य नियन्त्रित टेलिभिजनमा आइतबार बोल्दै रौहानीले इरानले ४० वर्षयता अमेरिकासँग सबैभन्दा शत्रुतापूर्ण सम्बन्ध रहेको बताए । उनले भने, ‘४० वर्षमा इरान, इरानी जनता र इस्लामिक गणतन्त्रविरुद्ध योभन्दा खराब अवस्था थिएन ।’


रौहानीले अमेरिकाले ‘मनोवैज्ञानिक र आर्थिक युुद्धमार्फत इस्लामिक गणतन्त्र इरानको वैधानिकतामाथि प्रश्न खडा गर्ने प्रयास गरेको’ आरोप लगाए ।


अमेरिकाले इरान सम्मिलित बहुपक्षीय परमाणु सम्झौताबाट गत मेमा अलग हुने निर्णय लिएपछि इरानी राष्ट्रपति हसन रौहानी२ देशबीचको सम्बन्ध थप चिसिएको हो । त्यसयता वासिङ्टनले इरानमाथि लगाउँदै आएको आर्थिक प्रतिबन्ध थप कडा पारेको छ ।


यसअघि रौहानले गतमहिना एहवाज सहरमा सैनिक परेडमाथि भएको आक्रमणमा अमेरिका दोषी रहेको दाबी गरेका थिए । उनले अमेरिकाले खाडी देशहरूको सहयोगमा उक्त आक्रमण गरेको बताएका थिए ।


परेडमा संलग्न सैनिक तथा अवलोकन गरिरहेका सर्वसाधारणमाथि भएको आक्रमणमा एक बालिकासहित २५ को ज्यान गएको थियो । चार आक्रमणकारीलाई भने सुरक्षाकर्मीले मारिदिएका थिए ।


उनले खाडी क्षेत्रका कठपुतली सरकारलाई अमेरिकाले सहयोग गर्नुका साथै अपराधका लागि आवश्यक सामग्री दिएर भडाइरहेको बताएका थिए । त्यसैगरी, इरानी सर्वोच्च नेता आयतुल्लाह अली खामेनीले ‘अमेरिकाको इसारामा कठपुतली’ ले इरानमा असुरक्षा बढाइरहेको आरोप लगाउँदै आएका छन् ।

विदेश

रुसी विपक्षी नेता रिहा

- कान्तिपुर संवाददाता
रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीलाई आइतबार थुनामुक्त गरिएपछि कारगारबाट निस्कँदै । तस्बिर : एजेन्सी 

मस्को (एएफपी)– रुसी राजधानी मस्कोमा गैरकानुनी विरोध प्रदर्शन गरेको आरोपमा ४ साताअघि पक्राउ परेका विपक्षी नेता एलेक्सी नाभाल्नी आइतबार थुनामुक्त भएका छन् ।
मस्कोको दक्षिणमा रहेको एक कारागारबाट आइतबार बिहानै मुक्त गरिएका नाभाल्नीले पत्रकारहरूसँग कुरा गर्दै आफू ३० दिनदेखि थुनिएको घटनाले ‘राष्ट्रपति भ्लादिमिर पुटिनको
सत्ता पूर्ण रूपमा पतनको स्थितिमा पुगेको’ दाबी गरे ।


नाभाल्नीले मस्कोको गुप्तचर निकाय विदेशमा असफल भइसकेको बताए । उनले भने, ‘देशमा पनि रुसी अन्तरिक्ष यानको प्रक्षेपण असफल भएको छ ।’


उनले रुसको राजनीतिमा आफूलाई कसैले तर्साउन नसक्ने बताए । नाभाल्नीले भने, ‘कोहीले गिरफ्तार गरेर हामीलाई तर्साउन वा रोक्न सकिन्छ भन्ने सोचेका होलान् त्यो कदापि सम्भव छैन ।’
नाभाल्नीलाई सत्ताको विरोधमा गरिएको प्रदर्शनको अगुवाइ गरेको अभियोगमा गत सेप्टेम्बरमा ३० दिन थुनामा राखिएको थियो । तर, थुनामुक्त भएलगत्तै अर्को प्रदर्शनको अभियोगमा प्रहरीले उनलाई पुन: गिरफ्तार गरेको थियो । अवकांश उमेर वृद्धि गर्ने क्रेमलिनको योजनाको विरोधमा पछिल्लो प्रदर्शन आयोजना गरिएको थियो ।


रुसी राष्ट्रपतिका पछिल्ला कार्यक्रम र नीतिप्रति आमजनतामा व्यापक असन्तुष्टि रहनुका साथै लोकप्रियतासमेत खस्किएको जनाइएको छ । गत महिना रुसमा सम्पन्न दुइटा क्षेत्रीय चुनावमा समेत सत्तारूढ युनाइटेड रसिया पार्टी पराजित भएको थियो । रुसी अधिकारीले नाभाल्नीमाथि फौजदारी मुद्दा लगाउन सक्ने उनका समर्थकहरूले आशंका गरेका छन् । यस्तो अवस्थामा नाभाल्नीमाथि लामो काराबास सजाय हुन सक्नेछ ।


मानव अधिकारवादी संस्था एमनेस्टी इन्टरनेसनलले ‘नाभाल्नी आस्थाका बन्दी रहेको तथा उनले कुनै पनि अपराध नगरेको’ जनाएको छ । नाभाल्नी सन् २०११ र २०१२ मा राष्ट्रपति पुटिनको विरोधमा देशव्यापी विरोध प्रदर्शन गरेपछि चर्चामा आएका थिए । नाभाल्नीले संसदीय चुनावमा धाँधली भएको आरोप लगाउँदै आएका छन् । साथै उनले रुसमा भ्रष्टाचारविरोधी अभियान चलाउँदै आएका छन् ।


अभियानमा युवाहरूको व्यापक सक्रियता र समर्थन छ । उनलाई थुनामा राखिएपछि उनकी १७ वर्षीया छोरी डारियाले युट्युबमा सञ्चालन गरेको ‘मेरो पिंढीको आवाज’ नामक कार्यक्रम लोकप्रिय बन्दै गएको छ । गत मार्चमा भएको राष्ट्रपतीय निर्वाचनमा पुटिनविरुद्धमा उठ्न नाभाल्नीलाई रोक लगाइएको थियो ।


पुटिनको राष्ट्रपति पदका लागि चौथो कार्यकालका लागि शपथग्रहण हुँदा समेत उनले विरोध प्रदर्शन गरेका थिए । नाभाल्नीले अमेरिकाको येल विश्वविद्यालयबाट कानुनमा स्नातक गरेका हुन् । छोटो समयमा प्रमुख विपक्षी नेताको रूपमा उदाएका नाभाल्नी लोकप्रियता बढदै गएपछि सत्तापक्षले एकपछि अर्को आरोप लगाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

विदेश

‘कारबाही गरे कडा प्रतिवाद’

- कान्तिपुर संवाददाता
बेपत्ता पत्रकार जमाल खसोग्गी

रियाद (एजेन्सी)– साउदी अरबले पत्रकार जमाल खसोग्गी प्रकरणमा आफ्नो देशमाथि कुनै पनि आक्रमण भए कडा प्रतिकार गर्ने चेतावनी दिएको छ । बीबीसीले जनाएअुनसार त्यस्तो प्रतिकार ‘निकै ठूलो हुने’ साउदी उच्च स्रोत जनाएको छ ।


साउदी अरबका राजकुमारका कतिपय नीतिका कडा आलोचक खसोग्गी गत अक्टोबर २ देखि टर्कीस्थित साउदी कन्सुलेट कार्यलयबाट बेपत्ता भएका थिए । टर्कीले उनको साउदी अरबले हत्या गरेको दाबी गर्दै आएको छ । तर, साउदीले भने उक्त आरोपको खण्डन गर्दै खसोग्गी त्यसै दिन कार्यलयबाट बाहिरिएको बताउँदै आएको छ ।


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार साउदी अरब खसोग्गीको हत्यामा जिम्मेवार भए उसलाई कडा ‘दण्ड’ दिने बताएका थिए । सीबीएस टेलिभिजनसँगको अन्तर्वार्तामा ट्रम्पले ‘यदि टर्कीको आरोप सत्य भए त्यसको नतिजा निकै भयानक हुने’ चेतावनी दिएका थिए ।


यसैबीच, बेलायत र अमेरिकाले साउदी अरबमा हुने अन्तर्राष्ट्रिय सम्मेलन खसोग्गीको बेपत्ता प्रकरणको घटनालाई लिएर बहिष्कार गर्ने विषयमा विचार गरिरहेको जनाइएको छ ।
कूटनीतिक स्रोतलाई उल्लेख गर्दै अमेरिकी अर्थमन्त्री स्टेभेन मुन्चिन र बेलायतका अन्तर्राष्ट्रिय व्यापार मामिलासम्बन्धी मन्त्री लियाम फक्स सम्मेलनमा नजान सक्ने बीबीसीले जनाएको छ । मुन्चिनले वासिङ्टनले ‘घटनाको सूचना संकलन गरिरहेको र वास्तविकता बुझ्न प्रयास गरिरहेको’ जनाएका छन् ।


विश्व बैंक प्रमुख जिम किमले आफू सम्मेलनमा सहभागी नहुने जनाइसकेका छन् । त्यसैगरी, भर्जिन ग्रुप प्रमुख रिचार्ड ब्रान्सनले १ खर्ब डलर लगानीका विषमा साउदी अधिकारीसँगको वार्ता पनि रद्द गरिसरेका छन् ।


साउदीले खसोग्गीको हत्या गराएको पुष्टि भए त्यसको भत्र्सना गर्दै संयुक्त वक्तव्य जारी गर्ने विषयमा पनि अमेरिकी र युरोपेली कूटनीतिज्ञहरूले विचार गरिरहेका छन् । सुधारका मुद्दालाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ साउदी राजकुमारले सम्मेलनको आयोजना गर्न लागेका हुन् ।


अमेरिकी तथा बेलायती मन्त्री सम्मेलनमा सहभागी नभए साउदी अरब आफ्ना दुई महत्त्वपूर्ण साझेदारबाट बहिष्कृत भएको मानिनेछ । बेलायतको अन्तर्राष्ट्रिय व्यापार मामिलासम्बन्धी मन्त्रालयका प्रवक्ताले सम्मेलनमा सहभागी हुने/नहुनेबारे टुंगो भने लागिनसकेको बताए ।


यसअघि, राष्ट्रसंघले साउदी अरबका पत्रकार जमाल खसोग्गीको हत्या प्रकरणबारे ‘सत्यतथ्य सार्वजनिक गर्न’ माग गरिसकेको छ । महासचिव एन्टोनियो गुटेरेजले खसोग्गीको अवस्थाप्रति आफू चिन्तित रहेको उल्लेख गर्दै ‘घटनामा जिम्मेवार पक्षले जवाफ दिनुपर्ने’ बताएका थिए ।

विदेश

ट्रम्पविरुद्ध प्रदर्शन

- कान्तिपुर संवाददाता

सिकागो (एएफपी)– अमेरिकाको सिकागोमा राष्ट्रपति डोनाल्ड ट्रम्पको विपक्षमा हजारौंले प्रदर्शन गरेका छन् ।


आउदो नोभेम्बरमा हुने सिनेटको मध्यावधि निर्वाचनको पूर्वसन्ध्यामा डेमोक्रयाट पार्टीका समर्थकले ट्रम्पको विपक्षमा प्रदर्शन गरेका हुन् । उनीहरूले ‘नीलोलाई मतदान’ लेखेका ठूला ब्यानर फहराएका थिए । प्रदर्शनकारीले ट्रम्पलाई ‘महिलाविरोधी एजेन्डा’ बोकेका राष्ट्रपतिका रूपमा चित्रित गर्दै मतदातालाई डेमोक्रयाटलाई मतदान गर्न आग्रह गरेका थिए । डाउनटाउन पार्कबाट सुरु भएको निर्वाचन लक्षित र्‍यालीका सहभागीलाई डेमेक्रयाट्सका तर्फबाट हिलारी क्लिन्टनले भिडियोमार्फत सम्बोधन गरेकी थिइन् । क्लिन्टन उनी सन् २०१६ मा अमेरिकामा भएको राष्ट्रपतीय चुनावमा ट्रम्पसँग पराजित भएकी थिइन् । उनले रिपब्लिकको शासन गर्ने समय सकिएको भन्दै आफ्नो दालका उम्मेदवारलाई मतदान गर्न आग्रह गरिन ।

 

 

विदेश

मलेसियाली राजनीतिमा अनवरको पुनरागमन

- कान्तिपुर संवाददाता
मलेसियाका पूर्वउपप्रधानमन्त्री अनवर इब्राहिम पोर्ट डिक्सन क्षेत्रमा शुक्रबारको निर्वाचनमा विजयी भएपछि शनिबार समर्थकलाई अभिभादन गर्दै । तस्बिर : रोयटर्स

(मलेसिया)- मलेसियाली भूतपूर्व उपप्रधानमन्त्री अनवर इब्राहिम मूलधारको राजनीतिमा फर्किएका छन् । मलेसियाली राजनीतिको विभिन्न कालखण्डमा प्रभावशाली नेता मानिएका अनवर शुक्रबार पोर्ट डिक्सन क्षेत्रमा सम्पन्न उपचुनावमा विजयी भएसँगै मलेसियाली मूलधारको राजनीतिमा उनको पुनरागमन भएको हो ।


पूर्ववर्ती नाजिब रजाक सरकारको पालामा यौन दुराचारसम्बन्धी मुद्दामा जेल सजाय बेहोरेका अनवरलाई गत मेमा राजा सुल्तान मुहाम्मद भीले आममाफी दिएपछि उनी मे १६ मा जेलबाट रिहा भएका थिए । नाजिब भने हाल भ्रष्टाचार मुद्दा खेपिरहेका छन् । यसअघि राजनीतिबाट विश्राम लिएका महाथिरले मुलुक गलत बाटामा गएको भन्दै त्यसलाई सुधार्न ६१ वर्षसम्म सरकारको सञ्चालन गर्दै आएको बरिसान नेसनल गठबन्धनविरुद्ध गत मे महिनामा चुनावी मैदानमा ओर्लिएका थिए । अनवरको पार्टीलगायत अघिल्ला सरकारको विपक्षी पार्टीहरूसित मिलेर आफ्नै नेतृत्वमा रहेको गठबन्धनले बहुमत प्राप्त गरेपछि प्रधानमन्त्री बनेका महाथिरले अनवरलाई नेतृत्व दिने यसअघि नै बताइसकेका छन् । सरकारको प्रमुख व्यक्तिमा निर्वाचित हुनेमध्ये महाथिर विश्वमै सबभन्दा ज्येष्ठ व्यक्ति हुन् । सन् १९९८ ताका आफ्नै प्रतिद्वन्द्वी तथा वर्तमान प्रधानमन्त्री मोहम्मद महाथिरलाई अनवरले आफ्नो गुरु मान्छन् । समय र परिस्थितिमा कुनै नाटकीय बद्लाव नआए अनवर छिट्टै नै मलेसियाको प्रधानमन्त्री बन्ने आँकलन गरिएको छ । स्थानीय समाचारमाध्यमले भावी प्रधानमन्त्रीका रूपमा प्रचार गरेका ७१ वर्षीय अनवरसामु मुलुकलाई सुशासन र स्थिरता दिनेलगायतका चुनौती रहेको उल्लेख गरेका छन् ।

Page 10
समाचार

पशु आत्मशान्तिका लागि ‘मानिबुम’

- अनिश तिवारी
सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका ६, कालाङदोङ लामाटोलस्थित ज्याङ्छुप सेम्पा गुम्बामा दसैंमा मारिने पशुआत्माको शान्ति कामना गर्दै त्रयोदशीबाट सुरु भएको ह्योल्मो संस्कृतिको ‘नहरा’ पूजा । अन्तिम दिन दसैंको अष्टमीमा एकदिने विशेष ‘मणिबुम’ पूजा गरिन्छ । तस्बिर : अनिश/कान्तिपुर

 (हेलम्बु) - दसैंमा हिन्दु धर्मावलम्बीले देवीदेवतालाई बलि दिने गर्छन् । मासुका लागि खसी, च्यांग्रा, भेडा नपाइने घरै हुँदैनभन्दा फरक पर्दैन । शक्तिपीठमा घटस्थापनाबाटै पशु बलि दिइन्छ । तर, हिमाली गाउँको पर्यटकीय क्षेत्र हेलम्बुको हयोल्मो समुदायले भने दसैंमा मारिने पशुआत्माको चिरशान्ति कामना गर्दै ‘मानिबुम’ पूजाको सुरु गरेको छ । दसैंमा बलि दिइने पशुहरूको मुक्तिको कामना गर्दै ह्योल्मो समुदायले बस्तीका गुम्बाहरूमा चारदिने पूजा गर्छन् । हेलम्बुमा बलि पूजा निषेध गरिएको मात्र होइन सामान्य अवस्थामा पनि पशुवध गर्न पनि दिइँदैन । हेलम्बु जाने पर्यटकका लागि होटलहरूमा पनि मासु पाक्दैन । पशुबलि हिंसा भएकाले उनीहरू पूजा र जप गरी दसैं मनाउँछन् । मानिबुम भन्नाले १ लाखपटक जप गर्नु हो ।


हिन्दुको विष्णु अवतारमा मानिने विष्णुस्वरूप बुद्ध र बौद्धका आर्य अवलोकेश्वरी देवको ६ लोकमा रहेको प्राणीउपदेशअनुसार हेलम्बुका ह्योल्मोका बासिन्दाले पशुबलिलाई पाप मान्छन् । यहाँ बलिप्रथा निषेध मात्रै छैन, मारिने पशुबलिका लागि लामा गुरुले सुरुवाती चरणमा ‘नाहरा’ को तीनदिने ‘वाङ्’ पूजा सकेर अष्टमीका दिन ‘मानिबुम’ गर्छन् । ‘मानिबुम सकेपछि न्युङने या ३ दिने व्रत दुईपटक बस्छौं,’ कालाङदोङ् लामाटोलका दावादोर्जे डाङसोङ ह्योल्मोले भने । ३ वर्षदेखि ज्याङ्छुप सेम्पा गुन्पाको व्यवस्थापन गरिरहेका उनी ‘नाहरा’ र ‘मानिबुम’ ह्योल्मो संस्कृतिको विशिष्ट पूजा रहेको बताउँछन् ।


‘हत्या गर्नु पाप हो, यसलाई हाम्रो सभ्यताले स्विकार्दैन,’ मानिबुम पूजा तयारीमा व्यस्त उनले भने । हेलम्बु गाउँपालिकाभरका झन्डै ६० गुम्बामा यस्तो शान्ति पूजा गरिन्छ । ‘नहरा’ भनेको नर्क र ‘मानिबुम’ भन्नाले १ लाख जप भन्ने अर्थ लाग्छ । चिसो सुरु हुने भएकाले दशमीमा दृश्यअदृश्य जीवहरूको अन्त्य हुने उनीहरूको विश्वास छ । ‘गर्मीमा जन्मने र यो जाडो समयमा मर्ने जीवको वैज्ञानिकतमा टेकेर पूजा थालिएको हो,’ काजेघ्याङका दोर्जे लोभेन छाङ लामाले भने । ह्योल्मो समुदायका अनुसार खेती किसानीको फसल निकाल्ने र जीवको मृत्यु हुने समय दसैंमा पर्छ । ‘शुक्लपक्ष गुरु रेन्पोछेको जन्मदिन भएकाले यी नवमी, दशमी एकादशीलाई हौसलापूर्वक मनाउने परम्परा छ,’ ३० वर्षदेखि मानिबुम गर्दै आएका उनले भने । हयोल्मो समाज सेवा केन्द्रमा आबद्ध उनले हेलम्बु क्षेत्रका पवित्र मानिएका ७ गुम्बा गुठीअन्तर्गत रहेको बताए । गुठीको तिरो नतिरे पनि त्यसबापत पूजा गरी कट्टा गर्न सकिने उनले बताए । प्रत्येक गुम्बाका ‘चिबा’ अर्थात् आयोजक समूहले ‘नाहरा’, ‘मानिबुम’ का साथै ‘न्युङ्ने’ व्रत राख्छन् । गाउँपालिकाभरका ह्योल्मो समूहभित्रको घरधुरीले बर्सेनि पालैपालो यस्तो पूजा गर्छन् । हेलम्बुकै प्राचीन मानिएको चिरी गुम्बामा विशेष पूजा गरिन्छ । गुम्बा सञ्चालनका लािग टोलमा राखिएका एक जना ‘गोबा’ या मन्त्रीले नियम बनाउने गरेको लामा सांगेको भनाइ छ । तार्केघ्याङको डुपुन्डोङ गुम्बाका प्रमुख रिन्पोछे नोवाङतेन्जेन् लामा ४० वर्षदेखि साधना गरिरहेका मानिन्छन् । मानिसलाई जस्तै पशुलाई पनि पीडा हुने भएकाले पशु बलि हिंसा भएको उनको दाबी छ । ‘हिन्दु र ह्योल्मो बौद्ध धर्मको मूल उद्देश्य अहिंसा परोधर्म नै हो,’ उनले भने । सरकारी ढिलासुस्तीले गुम्बा पुनर्निर्माण नहुँदा भत्केकैमा पूजा गर्नुपर्ने बाध्यता रहेको हेलम्बु गाउँपालिकाका प्रमुख निमाग्याल्जेन शेर्पा बताउँछन् । ‘यो परम्परा निरन्तरता दिन्छौं,’ उनले भने । हेलम्बुमा अधिकांश शेर्पा र लामा समुदायको बसोबास छ । उनीहरूले आफूहरूलाई ह्योल्मो जाति बताउँछन् ।

समाचार

रैथाने प्रजाति जोगाउने रहर

साखिनी, प्वाँख उल्टे र घाँटी खुइले हाम्रा गाउँघरमा पालिने कुखुराका रैथाने प्रजाति हुन् । बजारमा माग सधैं उच्च हुने भए पनि रैथाने प्रजाति पाल्ने तरिका अझै निर्वाहमुखी छ ।
- भीम घिमिरे
पोखराको लेखनाथ, डाँडानाकनजिक रैथाने कुखुरा हेरचाह गर्दै राजेन्द्र अधिकारी । तस्बिर : भीम/कान्तिपुर

 (पोखरा) - लगानी र श्रम खन्याएर दुनियाँलाई छिटो फाइदा हात पार्न उत्साहित पार्नुपर्ने जमाना छ । व्यावसायिक कृषिका जुनसुकै उद्यम गर्न खोज्नुस्, सुझाव पाइन्छ– विकासे जातमा बल गर्नुस् । अन्नबाली, तरकारी र माछा होस् वा पशुपक्षीपालन । जे गर्नुस् सिफारिसकर्ता छिटो फाइदा दिने विकासे जातै सुझाउँछन् ।


पोखरामा डाँडानाक नजिकै भित्री बाटोका राजेन्द्र अधिकारीको सल्लाह भने अलि फरक छ । उनी भन्छन्, ‘विकासे होइन लोकल पाल्नुपर्छ । तरिका पुर्‍याए लोकलबाट पनि मनग्गे फाइदा लिन सकिन्छ ।’ उनको कुखुरा फार्म गएर हेर्नेले विकासे कुखुरापालनको सोच बनाएका छन् भने पनि थालिहाल्नुअघि अवश्य सोच्छन् । ‘ब्रोइलर जतासुकै पाइन्छ तर लोकलको स्वाद जिब्रोमा बसेकाहरूले सकेसम्म गाउँघरमा पालेकै कुखुरा खोज्छन्,’ उनी भन्छन्, ‘लोकल धेरैले व्यावसायिक तरिकाले पाल्दैनन् । पाले घाटा लाग्ने कुरै छैन ।’ अध्ययनका हिसाबले अधिकारी स्वास्थ्यकर्मी हुन् । लामो समयदेखि विकासे कार्यकर्ताका रूपमा गैरसरकारी संस्थामार्फत खानेपानी र सिँचाइका परियोजनाहरूमा काम गरिरहेका उनले देशका विभिन्न जिल्ला पुगेर भूगोलपिच्छे कुखुराका फरक–फरक रैथाने प्रजाति देखेका छन् । ‘मेरो अध्ययनको विषय कुखुरा होइन तर योबारे बुझ्न रहर लागेदेखि तरिका पुर्‍याए फाइदा हुने नै देखेको छु,’ उनी भन्छन्, ‘हामीले अहिले गाउँघरमा पाल्ने गिरिराजजस्ता केही जात इन्डियाले विकसित गरेपछि भित्रिएको छ । खोज्दै गए हाम्रा आफ्नै रैथाने प्रजाति पनि कमका छैनन् ।’


थोरै पाल्ने, आफ्ना लागि खान मात्रै पाल्ने निर्वाहमुखी चलन छाडेर कुखुराका रैथाने प्रजाति पनि सन्तुलित आहारा र लाग्न सक्ने रोगव्याधिलाई ध्यान पुर्‍याएर पाल्न सक्दा राम्रो फाइदा लिन सकिने उनको भनाइ छ । ‘लोकल कुखुरा पाल्नेको न संगठन छ, न त जोगाउनुपर्छ भन्ने प्रभावकारी सरकारी कार्यक्रम,’ उनले भने, ‘ब्रोइलर र लेयर्स पाल्नेको लगानी ठूलो, दाना कारखानाको लबिङ । जमात ठूलो भएकाले विकासे जातका कुरा जसले पनि गर्न सजिलो छ । तर, म लोकल पालेर पनि फाइदा लिनसक्ने कुरा भन्छु ।’


त्यसो त अधिकारीले पनि विकासे जातका कुखुरा पाल्दै नपालेका भने होइनन् । २०७२ वैशाख १२ को भूकम्पअघिसम्म उनले पनि विकासे कुखुरा पालेका थिए । ‘त्यो बेला घाटा लागेको थियो । अनि यातायातको हडताल भो कि दाना चाहिने बेलामा नआइदिने समस्या भयो,’ उनले भने, ‘मैले पहिलेदेखि पनि लोकल जातमाथि प्रयोग गरिरहेकै थिएँ । भूकम्पपछि अब मसँग लोकल जातमात्रै छन् ।’ डाँडानाकको भित्री गल्लीमा रहेको उनको लेखनाथ पशुपक्षी ब्रिडिङ फार्ममा अहिले पनि हजार हाराहारी रैथाने प्रजातिका कुखुरा छन् । भालेमात्रै डेढ सय हाराहारी छन् । पत्नी र छोरीले काममा सघाएका छन् । फरक प्रजातिका भाले लगाएर प्रयोग गरिरहेका उनले तनहुँ, स्याङ्जा, लमजुङ आदि जिल्लामा पनि १८ फार्मसँग साझेदारीमा कुखुरापालन गरेका छन् । रैथाने प्रजाति पाल्न रहर गर्नेहरू चल्ला खोज्न उनको लेखनाथस्थित फार्ममा पुग्छन् । वरपर गाउँमा पालेकाहरूले अन्डा र कुखुरा बेच्न पनि उनैकहाँ ल्याउने गरेका छन् ।


‘साखिनी, प्वाँख उल्टे र घाँटी खुइले गरी ३ प्रजाति र यिनका क्रससहित अहिले मसँग ८ प्रकारका कुखुरा छन्,’ उनले भने, ‘हुन त सबै पशुपक्षी र मान्छेमा पनि हाडनाता ख्याल राख्नुपर्छ । कुखुरामा मैले भाले लगाउँदा हाडनातामा पार्दिनँ, त्यसले गर्दा प्रयोग सफल छ ।’ जहाँ ब्रोइलर कुखुरा खानयोग्य तौलको डेढ महिनामै हुन्छ, त्यहीँ लोकल भने ३ देखि ४ महिना लाग्ने उनले बताए । ‘दाना सन्तुलित तरिकाले दिने, चिसो–तातो र रोगव्याधि ख्याल गरे लोकल प्रजाति पनि एउटै कुखुरो ८–९ किलोको बनाउन सकिन्छ,’ उनी भन्छन्, ‘अहिले मेरोमा आएर, हेरेर, चल्ला लगेर पाल्नेहरूले पनि मनग्गे फाइदा लिन थालेका छन् ।’ कास्की, स्याङ्जा, पर्वत, बागलुङ, लमजुङ, म्याग्दी, मनाङ र मुस्ताङलगायत ट्ेरकिङ रुट र होमस्टे सञ्चालित जिल्लाका व्यवसायीसँगै गाउँलेलाई रैथाने प्रजाति पाल्न सल्लाह दिइरहेको उनले बताए । ‘हिजोआज लोकल पाल्नुस् भनेर चित्तबुझ्ने गरी सल्लाह दिने नै कोही भएनन्,’ उनी भन्छन्, ‘गाउँघरमा जति जोगिएका छन् त्यो गाउँलेले जानीनजानी पालेर जोगिएका हुन् ।’ जंगलमा हुने कुखुरालाई मानवीय सभ्यताको विकास क्रमसँगै घरपालुवा बनाइएको हो । जंगलमा हुर्केका भाले आफ्नो समूह छाडेर अर्को समूहमा जाने, त्यो समूहका भालेलाई लडाइँ गरी अन्तै धपाएपछि प्रजननमा हाडनाता नपर्ने विकास भइआएको उनी बताउँछन् । ‘हामीले गाईभैंसी पालौं, भेडाबाख्रा वा कुखुरा,’ उनी भन्छन्, ‘हाडनातामा प्रजनन हुन नदिने हो भने पशुपक्षी स्वस्थ हुन्छन् । छिटो रोगले भेटैन ।’ पोल्ट्री फार्महरूले आवश्यकताअनुसार चिसो–तातो राखेजस्तै रैथाने प्रजाति पाल्दा पनि तापक्रम, आहारा र हाडनाता ध्यानमा राख्न नसक्दा गाउँघरमा पाल्नेले फाइदा लिन नसकेको अवस्था भएको उनी बताउँछन् । ‘हाम्रो फरक–फरक भूगोलमा घरपालुवा पशुहरू फरक प्रजातिका भएजस्तै कुखुरा पनि छ,’ उनी भन्छन्, ‘यसो हेर्दा यो अनुसन्धानका लागि राम्रो विषय हो । तर, यसमा काम गर्नेहरू मैले भेटेको छैन । बरु जसलाई भेट्यो विकासे जात पाल्नेबारे खरर बताइदिन्छन् ।’ मुलुकको जुनसुकै कुनामा स्वाद र धार्मिक संस्कार प्रयोजनका लागि रैथाने प्रजातिका कुखुराको माग सधैं हुने भए पनि धेरै पालेर व्यावसायिक काम गर्नेहरू औंलामा गन्न सकिने संख्यामा रहेको उनले बताए ।


ग्रामीण कुखुरा तथा रैथाने पशुपक्षीपालक कृषक संघका उपाध्यक्षसमेत रहेका अधिकारी भन्छन्, ‘जातीय चेत बढेका बेला आ–आफ्नो संस्कार संस्कृति जोगाउनुपर्छ भन्छौं भने हाम्रा रैथाने प्रजातिका पशुपक्षी जोगाउन किन अघि नसर्ने ?’ पाल्दा विकासेका तुलनामा केही ढिलोगरी बेच्नयोग्य हुने भए पनि रैथाने प्रजातिका कुखुराले किसानलाई घाटा नपर्ने उनको दाबी छ ।


कास्कीको पशु रोग अन्वेषण प्रयोगशालाले कुखुरामा लाग्ने रोगबारे अनुसन्धान गरिरहेको हुन्छ । यहाँ रोग पहिचान र निदानको उपाय खोज्न पुग्ने विकासे कुखुरापालक अधिकांश हुन्छन् । ‘लोकल कुखुरा झोक्रायो कि के रोग लाग्यो भनेर सोधीखोजी गर्नुभन्दा काटेरै खाइहाल्ने चलन छ,’ डा. केदार पाण्डे भन्छन्, ‘हामीकहाँ पाइने रैथाने प्रजाति वातावरणअनुसार बाँच्न सक्ने प्रकारकै छन् । तर, बेलाबखत तिनमा लाग्ने रोग के हो भनेर चासो लिने किसान मैले निकै कम भेटेको छु ।’ पछिल्ला केही वर्षयता राम्रो दाम आउने बुझेकाहरूमा व्यावसायिक तरिकाले लोकल कुखुरा पाल्न चासो बढ्न थालेको उनले बताए । ‘बन्द खोरमा नापेर दाना खुवाएर पालेर लोकल हुने होइन,’ उनले भने, ‘लोकल पाल्नेले छोडेर पाल्नुपर्छ, चरनको व्यवस्था गर्नुपर्छ र कुखुराले एक्सरसाइज गर्न पाएको हुनुपर्छ ।’ साखिनी, प्वाँख उल्टे र घाँटी खुइले नेपालका पुराना र चलनमा रहेका कुखुराको रैथाने प्रजाति भएको उनले बताए । ‘भाले–पोथी हेर्दा सुन्दर, छिटो बढ्ने र मासु स्वादिलो हुने साखिनी हो,’ उनले भने, ‘लोकल प्रजाति अझैसम्म निर्वाहमुखी तरिकाले पाल्ने नै धेरै भएकाले न किसान संगठित छन्, न उनीहरूको निश्चित बजार छ ।’ बजारमा लोकल कुखुराको माग सधैं हुने र तुलनात्मक रूपमा विकासेभन्दा राम्रो दाम पाइने बुझेकाहरूले बिस्तारै गाउँघरमा रैथाने प्रजाति नै पाल्न रहर गरिरहेको उनले बताए ।

समाचार

प्रयोगमा आएन टेलिमेडिसिन सेवा

- मनोज बडू
महाकाली नदीमा २०७० मा आएको बाढीले टेलिमेडिसिन सेवा रहेको कोठा डुबानमा पर्दा जिल्ला अस्पताल दार्चुलामा प्रयोगविहीन बनेको क्याप्चर छाता । तस्बिर : मनोज/कान्तिपुर

 (दार्चुला) - महाकालीमा आएको बाढीले बन्द रहेको जिल्ला अस्पतालको टेलिमेडिसिन सेवा अझै सञ्चालन हुन सकेको छैन । विशेषज्ञ डाक्टरबाटै दुर्गमका बिरामीको उपचार र परामर्श दिने उद्देश्यले सञ्चालन गरिएको यो सेवा उपकरण अभावमा प्रयोगमा आउन सकेको छैन । अस्पतालका अनुसार बाढीपछि उपकरणमा खराबी आउँदा प्रयोगविहीन बनेको हो ।


२०७० असारमा महाकालीमा आएको बाढीले टेलिमेडिसिन राखेको कोठा जलमग्न बनेको थियो । त्यस बेलादेखि बन्द रहेको कोठा अझै बन्द छ । जिल्लामा तालिमप्राप्त चिकित्सक नभएको र पूर्वाधार नबनेसम्म सञ्चालन गर्न नसकिने अस्पतालले जनाएको छ । तर, टेलिमेडिसिनको डिभाइसबाट गरिने सेवाहरू नयाँ प्रविधिबाट बिरामीलाई दिइरहेको अस्पतालका निमित्त प्रमुख शिवराज सुनारले बताए । ‘टेलिमेडिसिन प्रविधिबाट गरिने काम फेसबुक लाइभ, भाइबर, स्काइपबाट उपलब्ध गराइरहेका छौं,’ उनले भने, ‘टेलिमेडिसिन पुन: सञ्चालनका लागि आपूर्ति महाशाखालाई अनुरोध गरिएको छ ।’


सुनारका अनुसार जिल्लामा अहिले एक विशेषज्ञ डाक्टरसहित ५ दक्ष जनशक्ति छ । केही उपकरण २/३ पटक यताउता सार्दा काम नलाग्ने बनेका छन् ।


बाढीका बेला हतारमा उपकरणहरू सार्दा केही बिग्रिए भने केही बाढीले बगाएको अस्पतालको भनाइ छ । स्वास्थ्य विभागले दुर्गम जिल्लामा विशेषज्ञ डाक्टरबाट चिकित्सक र बिरामीलाई परामर्श दिन ०६८/६९ मा यो सेवा सञ्चालन गरेको थियो । बन्द भएको ४ वर्ष पुग्दा पनि सेवा अझै अलपत्र छ ।

समाचार

पात बेचेरै दैनिक ७ सय

- कान्तिपुर संवाददाता

(बाँके) - राप्ती सोनारी गाउँपालिका काम्दीकी सीता केसी उज्यालो हुने बेला नेपालगन्ज बजार आइपुग्छिन् । साइकलमा सालको पातको भारीसहित झिसमिसेमै आउने उनको नेपालगन्ज बजार त्यही पात बिक्री गरेर आम्दानी गर्ने मुख्य स्थल हो । व्यस्त रहेको नेपालगन्ज उपमहानगरपालिकाको त्रिभुवन चोकमा बिहानभरि बसेर उनले ५ देखि ७ सय रुपैयाँको
पात बेच्छिन् ।


उनले २५ वर्षदेखि पात बिक्री गरेरै गुजारा गर्दै आएकी छन् । ‘पात बेचेरै २५ वर्ष बिताएँ,’ उनले भनिन्, ‘पहिला पैदलै हिँडेर बेचें, अहिले त्यही आम्दानीले साइकल किनेर साइकलमा आउजाउ गर्छु ।’ साइकलमा आउजाउ गर्न थालेपछि सीतालाई धेरै सजिलो भएको छ ।
खेतीपाती गर्ने सीता बिहानको समय सदुपयोग गरेको बताउँछिन् । आफ्नो काम र पेसाप्रति गर्व गर्ने उनले काम सानो भए पनि आम्दानीले आफ्नो खर्च टरेको बताइन् । सीताका ६ छोराछोरी छन् । उनले पात बेचेरै कमाएको पैसा र श्रीमान्ले भारतमा कमाएको पैसाले छोराछोरी पढाउन सहज भएको सुनाइन् । पात बिक्रीसँगै उनले बाख्रा र भैंसी पनि पालेकी छन् । दसंै, तिहारलगायत चाडपर्वमा पातको माग बढ्छ । चाट पसल, पान पसल, ठेलाका नास्ता पसले उनका मुख्य ग्राहक हुन् ।


दिउँसो जंगलबाट ल्याएको पात राती मुठा पारेर बिहानै बेच्न आइपुग्छिन् । सीतालाई यो काम गर्न सजिलै लाग्छ । ‘बिहानभरि मात्रै हो । आफूलाई खर्च भइहाल्छ । त्यसै किन बसौं भन्ने लाग्छ । हातमा दुईचार पैसा भयो भने कसैका सामु हात थाप्नु पर्दैन । सकेजति गर्ने हो,’ उनले भनिन्, ‘काम सदावहार हो । चैत न वैशाख ।


पुस न माघ । बर्खा न केही । बाह्रैमासे हो ।’ सीता मात्रै होइन, उनको गाउँका अरू महिला पनि पात बेचेर आम्दानी गर्छन् । वर्षौंदेखि गाउँका दिदीबहिनी मिलेर सालको पातलाई आम्दानीको स्रोत बनाएका छन् ।

समाचार

कर्णालीमा सेल्फी

पुलको आकर्षण र माछाले चिसापानीका होटल व्यवसायीको व्यापार फस्टाएको छ
- अर्जुन शाह

 (धनगढी) - कर्णाली पुल हेर्ने रहर पहिल्यैदेखिको थियो । दसैंको मुखमा मौका जुर्‍यो । बाजुराबाट काम विशेषले धनगढी आएका २५ वर्षीय बलबहादुर साउद साथीहरू जुटाएर मंगलबार कर्णाली पुल हेर्न पुगे ।


खुला आकाश, माथितिर हरियाली पहाड, तलतिर नीलो रंगमा बग्दै गरेको कर्णालीको कञ्चन पानी अनि एसियाकै नाम चलेको कर्णाली पुल । बलबहादुर जस्तै थुप्रै संख्यामा युवा युवतीहरू यही पुल हेर्न चिसापानीको कर्णाली ओहोरदोहोर गरिरहेका थिए । चिसापानी पुगेका सबैको पहिलो लक्ष्य कर्णाली पुलमा सेल्फी खिच्नु थियो । त्यसैले त एक आपसमा सेल्फी खिच्दै गरेका तन्नेरीले अक्सर भरिभराउ हुन्छ कर्णाली पुल । सेल्फी खिच्नेहरूको आकर्षणले कर्णालीको क्रेज झन् बढाएको देखिन्थ्यो ।


चार जना साथीसँग आएका बाजुराकै अर्का युवा उपेन्द्र शाहले पनि त्यहाँ पुग्नेबित्तिकै गोजीबाट
आफ्नो मोबाइल झिकेर विभिन्न पोजमा धमाधम सेल्फी खिचे । ५ सय मिटर लामो पुलमा उनीहरूले दुईतीन पटक ओहोरदोहोर गरे । विभिन्न कोणबाट तस्बिर खिचे । एकभन्दा अर्को राम्रो लाग्यो । ‘धेरै आनन्द लाग्यो,’ उपेन्द्रले भने, ‘जति हेर्‍यो, कर्णाली त हेरिरहुँ जस्तो लाग्ने,’ उनले भने ।


सेल्फी खिच्दै फेसबुकमा अपलोड गर्दै । चिसापानी कर्णालीको पोस्ट गरेको फोटो देख्नासाथ साथीहरूका लाइक र कमेन्टको ओइरो लाग्ने भएकाले पनि किशोर–किशोरीहरू झन् मक्ख । टीकापुरबाट कर्णाली घुम्न आएकी १८ वर्षीया रिता चौधरीले भनिन्, ‘हिजोआज त कर्णालीमा झन् रमाइलो लाग्छ ।’


‘कर्णाली पुलमा सेल्फीमा रमाउन पाउँदा बेग्लै आनन्द आउँछ, त्यसमा पनि सेल्फी खिचिरहेका थुप्रै साथीहरूसँग नयाँ चिनजानको मौका पनि जुर्छ,’ कर्णाली हेर्न आएका अछामका बलबहादुर कुँवरले भने, ‘जति फोटो खिचे पनि धितै नमर्ने रहेछ ।’


शनिबार त अझ भीडभाड हुन्छ कर्णाली पुलमा । ‘अधिकांश युवायुवती सेल्फी खिच्नकै लागि कर्णाली आएको बताउँछन्,’ चिसापानीका स्थानीय प्रेमबहादुर थापाले भने, ‘निजी गाडीमा यात्रा गर्नेहरू त प्राय: सबै एक पटक ओर्लेर तस्बिर खिच्नकै लागि रोकिन्छन् ।’


अक्सर भीडभाड हुने कर्णाली पुलमाथि पूरै पुल र नदीसमेत कैद हुने गरी तस्बिर खिच्न तँछाडमछाड चलिरहन्छ । तस्बिरको पृष्ठभूमिमा पुलको पूरै भाग र तल बगिरहेको कर्णाली एकैसाथ कैद गर्न उनीहरू लागि परेका देखिन्थे । कर्णाली पुलसँगै त्यहीबाट सुरु हुने रानी जमरा सिँचाइ कुलोले पनि चिसापानीको आकर्षण थपेको छ । पुलको पल्लो छेउबाट सुरु हुने बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्र भित्रको संरक्षित घना जंगलले चिसापानीको आकर्षण थपेकै छ ।


चिसापानीको अर्को आकर्षण त्यहाँको माछा हो । घुम्नकै लागि मात्र त्यहाँ पुगेकाहरू कर्णाली पुलमा रमाउँछन् अनि चिसापानीको माछाको स्वादले आनन्दित हुन्छन् । ‘ओहोरदोहोर गर्नेहरू अक्सर सबैले एकपल्ट चिसापानीमा ओर्लेर माछाको स्वाद चाखेरै जान्छन्,’ चिसापानीमा एक दशकदेखि होटल गर्दै आएका होटल सञ्चालक हेमबहादुर थापाले भने ‘पहिलोपल्ट यो ठाउँ हेर्नकै लागि आउनेहरूले त झन् माछाको स्वाद मिस गर्ने कुरै हुँदैन ।’ बाजुराका बलबहादुरले भने, ‘यसपल्ट चिसापानीको माछा खाने रहर पनि पूरा भयो ।’

Page 12
कला र शैली

आलियालाई त्यो अफसोस

- कान्तिपुर संवाददाता

आफ्नो परिवार भनेपछि मरिहत्ते गर्ने बलिउड अभिनेत्रीमध्ये पर्छिन्— आलिया भट्ट । आफ्ना दिदीहरू पूजा र शाहिनसँग उनको उत्तिकै घनिष्ठ सम्बन्ध छ । उनकी सहोदर दिदी शाहिनले केही वर्षअघि आफ्नो संघर्ष र डिप्रेसनबारे मुख खोलेकी थिइन् । उनले यति बेला त्यही अनुभवलाई पुस्तकाकारमा ल्याएकी छन्, ‘आई ह्याभ नेभर बिन (अन)ह्याप्पियर’ ।


शाहिनको संघर्षपछिको सफलतालाई देख्दा आलिया खुसी छिन् । उनले दिदीको पुस्तक पढेपछि प्रफुल्लित हुँदै युटयुबमा भिडियो अपलोड गरिन् । त्यसमा उनले उक्त पुस्तक मानसिक द्वन्द्वको सिकार भएका र डिप्रेसनमा गएका मान्छेप्रति लक्षित रहेको टिप्पणी गरेकी छन् ।
आलियाले शाहिनको मर्मलाई पहिले बुझ्न नसकेकामा भिडियोमार्फत क्षमासमेत मागेकी छन् । भिडियोको सुरुवात भने आलिया र शाहिनले बालापनमा गरेको नृत्यबाट भएको छ । शाहिनको पुस्तकबारे आलियाले भनेकी छन्, ‘मैले तिम्रो पहिलो पुस्तक पढें, जसमा तिमीले आफ्नाबारे केही नछुटाई, बडो इमानदारीपूर्वक लेखेकी छयौ । यस्तो बेला म तिमीलाई एउटा चिठी लेख्न पनि संघर्ष गरिरहेकी छु । एकदमै अप्ठ्यारो अनुभूति भइरहेको छ । तिमीसँगै २५ वर्ष बिताए पनि तिम्रो डिप्रेसनको त्यो मौन अवधिलाई मैले कहिल्यै बुझ्न सकिनछु । तिमी हरेक समय बाहिर डिनरका लागि जान इन्कार गथ्र्यौ । मलाई लाग्थ्यो— तिमी घरमै एक्लै टीभी हेर्दै बस्नमै खुसी मान्छयौ ।’

कला र शैली

पाटनमा नाच्दै छन् अष्टमातृका

- प्रशान्त माली
पाटनको मंगलबजारमा शुक्रबार राति अष्टमातृका नृत्यमा सहभागी देवगणहरू । प्रत्येक वर्ष घटस्थापनामा सुरु हुने यो नाच बाह्र दिनसम्म नचाउने परम्परा छ । तस्बिर : हेमन्त श्रेष्ठ/कान्तिपुर

 (ललितपुर)- पाटनमा नाचिने अष्टमातृका नाच समूहका नरेन्द्र वज्राचार्यले दुई दशकदेखि पोंगा बाजा बजाउँदै आएका छन् । यस वर्ष भने ४७ वर्षीय उनकी आमाको निधनले गर्दा बजाउन मिलेन । संस्कृति अनुसार उनकै छोराहरूले पोंगा बजाउनुपर्ने हो तर वज्राचार्यका दुई छोरामध्ये १७ वर्षीय जेठा निकेश कुमारी देवगण भएर नाच्नुपर्छ भने कान्छा आयुश ७ वर्षका मात्रै छन् ।

वज्राचार्य र शाक्य समुदायले मात्रै बजाउने बाजा नरेन्द्रको सट्टामा बजाउने गुठियार नभएपछि सबैमा चिन्ता पर्‍यो । अन्तत: ३८ वर्षीय सम्यक वज्राचार्य अग्रसर भए । सम्यक नरेन्द्रकै काकाका कान्छा छोरा हुन् । उनले अहिलेसम्म बाजा बजाएका थिएनन् । ‘बजाउने कोही नभएपछि म अघि सरें,’ सम्यकले भने, ‘संस्कृति बचाउन भए पनि यसलाई निरन्तरता दिनुपर्छ ।’
नकबहिलका १३ वर्षीय आर्यन वज्राचार्य पनि कुमारी नाच्न तयार भए । उनी स्कुले विद्यार्थी हुन् । बुबा राजेश ‘सिंघिनी देवगण’ बाट गत वर्ष अवकाश भएपछि कला संस्कृति बचाउन आर्यन पनि कलिलै उमेरमा नाचमा सहभागी हुने भए । आर्यनले भने, ‘पढाइपछिको फुर्सदिलो समयको सदुपयोग गरेका छौं ।’ निकेश, सम्यक र आर्यन प्रतिनिधि पात्र मात्र हुन् । उनीहरूजस्तै पाटन दरबार क्षेत्रमा बडादसैंको अवसरमा नचाइने मल्लकालीन अष्टमातृका नाचलाई निरन्तरता दिन लागिपरेका छन् । नाच घटस्थापनादेखि सुरु भएर आश्विन शुक्ल एकादशीसम्म १२ दिन दरबारको मूलचोक, कात्तिक डबली र नकबहिलस्थित डबलीमा प्रस्तुत गर्ने परम्परा छ । नाचमा सिंघिनी, भैरव, गणेश, कुमार, ब्रह्मायणी, माहेश्वरी, कुमारी, विष्णुदेवी, वाराही, इन्द्रायणी, महालक्ष्मी, काली र व्याघिनी देवगण छन् । पोंगा, ता:, खिं को पञ्च तालमा नाच मञ्चन गराइन्छ । नाच प्रदर्शन गर्न नकबहिलस्थित नाथ गुरु मन्दिरबाट मुकुन्डो, कलेवर, गरगहना लगाएर नगर परिक्रममा गरी दरबार क्षेत्रमा पुग्ने गरिन्छ । कुमार, महालक्ष्मी, कालीले खड्ग र सिंघिनीले डमरु र व्याघिनीले घण्टा हातमा लिएका हुन्छन् ।


‘अष्टमातृकालाई नेपाल भाषामा गँ: प्याँख भनिन्छ’, नाचका गुरु बेखाराज वज्राचार्य भन्छन्, ‘नाच प्रस्तुत गर्ने देवगणले प्रत्येक दिन नुहाईधुहाई गरेर चोखो भई विधिवत् पूजा गर्नुपर्दछ । नत्र अशुभ हुने जनविश्वास छ ।’ उनले एकादशीमा गुरुजु, बेताजु, मातजुको विषेश नाच प्रस्तुत गरिने बताए । कुनै बेला नाच प्रस्तुत गर्ने प्रत्येक देवगणको आ–आफ्नै गुठी थियो । अहिले संरक्षणको अभावमा नाश भएर काली र वाराहीको मात्र बाँकी छ । नाच प्रबन्ध समिति अध्यक्ष राजेन्द्र शाक्य भन्छन्, ‘संस्कृति मन्त्रालयबाट दिँदै आइरहेको रकम २०७४ बाट बन्द भयो । नाच सञ्चालन गर्न कम्तीमा ६ लाख रुपैयाँ आवश्यक पर्छ । तर, ललितपुर महानगरबाट साढे चार लाख रुपैयाँ मात्र दिने गरिएको छ । अपुग रकम गुठियार आफैंले व्यहोर्दै आइरहेका छन् ।’


दसंैको अवसरमा पाटन दरबार, सुनाकोठी कोत घर र ठेचोमा नचाइने नवदुर्गा नाचका लागि पनि तयारी सुरु भएको छ । शनिबार ठेचोस्थित नवदुर्गा मन्दिरमा पाटनका चित्रकारहरू आएर मुकुटमा कला भरेका छन् । त्यसपछि नवदुर्गा गुठियारले बलिसहित पूजा गरेर मूर्ति प्रतिस्थापन गरेका छन् । पाटन दरबार स्क्वायरसँग सम्बन्धित लिच्छवीकालीन, मल्लकालीन र शाहकालीन तीन पर्व छन् । सबै पर्वहरू एक–आपसमा अन्तरसम्बन्धित छन् । नकबहिलको अष्टमातृका देवगणले गोदावरी नगरपालिका १२ ठेचोस्थित नवदुर्गा मन्दिरबाट दरबार क्षेत्रमा नाच प्रस्तुत गर्न आएका देवगणलाई स्वागत गर्ने चलन छ भने नवदुर्गा देवगणले अष्टमातृका देवगणलाई बिदाइ गर्ने चलन छ ।


पाटन दरबार स्क्वयारसँग सम्बन्धित लिच्छवीकालीन पर्वमध्ये मानमानेश्वरी देवीको पूजा पर्व हो । २० वर्षअघि बन्द भएको यो पर्व यस वर्ष सञ्चालन हुँदैछ । यसका लागि राजोपाध्याय, तलेजुका पुजारी, गुठी संस्थान त:बहाल कार्यालय, पुरातत्त्व विभाग, स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय, पाटन संग्रहालय र मंगल टोल सुघार समितिले प्रहरीको रोहवरमा मानमानेश्वरी देवीको मूर्ति प्रतिस्थापन गरिसकेका छन् । मूर्ति पाटन संग्रहालयको स्टोर रुममा राखिएको थियो । दरबार क्षेत्रसँग सम्बन्धित लोप भइसकेका नाच पुन: सञ्चालन गर्न तलेजु र मुछेँ आँगन घरका पुजारी, पाटनका नाय: बाजा, इन्द्रबाजा खल:, कुमारी घरका गुठियार लगायत पनि तयारीमा जुटेका छन् । सुनधाराका ७५ वर्षीय कान्छा कपाली लोप भइसकेको लिच्छवीकालीन खड्ग जात्रामा मुहाली बजाउने गुठियार हुन् । पाटन च्यासलका ७७ वर्षीय इन्द्रवीर व्यञ्जनकारचाहिँ अग्रपंक्तिमा बसेर इन्द्र बाजा बजाउने गुठियार हुन् । व्यञ्जनकार भन्छन्, ‘जात्रा गर्न आवश्यक १५ जना गुठियारद्वारा क्षमापूजा गरिसकेका छौं ।’


कायगु ननी:का गुठियारले खड्गजात्राका बेलामा बौ: (धान र चामल मिसाएर पकाएको भात) बोक्ने परम्परा छ । महालक्ष्मी मन्दिरमा राँगासहित बलि चढाउँदा बौ: अनिवार्य मानिन्छ । कायगु ननीका गुठियार ६३ वर्षीय कृष्णबहादुर महर्जनले गुठीमा प्रशिक्षण सुरु भइसकेको बताए । त्यस्तै यल मु:खल, कोन्ति खल:, महालक्ष्मी ध:पाला, कुमारी घर, कुम्भेश्वर मन्दिरका पुजारी, ग: प्याख: खल: नकबहिल (अष्टमातृका नाच), डंगु खल: हौगलगायत गुठियार पनि तयारी थालिसकेका छन् । ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले जात्रा पर्वलाई पर्यटनसँग जोडेर आम्दानी गरिने बताए । ‘सरकारको मात्र मुख ताकेर हुँदैन,’ उनले भने, ‘गुठियारले पनि सक्दो योगदान पुर्‍याउनुपर्छ ।’


यल सांस्कृतिक पर्व संरक्षण समिति संयोजक एंव ललितपुर उद्योग वाणिज्य संघ अध्यक्ष कृष्णलाल महर्जनले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । ललितपुर गुठी संस्थान प्रमुख शैलेन्द्र पौडेलले गुठियारहरूले समयमा प्रस्ताव गरेमा आगामी वर्ष नाच सञ्चालन गर्न जिन्सी र नगदमा समयानुकूल परिमार्जन गर्न तयार रहेको बताए ।

कला र शैली

नेपाली कलाकारद्वारा बनारसमा प्रस्तुति

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– नेपाली कलाकारहरूले बनारसमा नृत्य प्रस्तुति दिएका छन् ।


काशी हिन्दू विश्वविद्यालय (बीएचयू) मा हालै आयोजित ‘वैश्विक लोक संस्कृति : परम्परा एवं प्रतिविम्ब’ विषयक अन्तर्राष्ट्रिय सेमिनारमा स्वजन रघुवंशी, सुजाता बराल, आरती थापा, पवन थापा, सुरम्य पोखरेल, अस्मिता तिम्सिना, सुमु कोइराला र नेहा पोखरेलले कला प्रस्तुत गरेका हुन् । ललितकला क्याम्पसका प्रमुख डा. रमेश पोखरेलको नेतृत्वमा गरेको नेपाली टोलीले चर्या, मारुनी, टप्पा, तामाङ सेलो, कृष्ण चरित्र, झाँगड नाचमा कौशल देखाएका थिए । ‘बीएचयूको पर्फर्मिङ आर्ट फ्याकल्टीअन्तर्गत नृत्य विभागद्वारा आयोजित त्यो सेमिनारमा हाम्रा कलाकारहरूको प्रस्तुतिबाट भारतका विभिन्न प्रान्तका सहभागीहरू प्रभावित भएका थिए,’ डा. पोखरेलले भने । सेमिनारमा उनले चाहिँ नेपाली संस्कृति र नृत्यबारे कार्यपत्र प्रस्तुत गरेका थिए । नेपाली टोलीले तीन दिने सेमिनार सकिएपछि बनारसकै असी घाटमा अर्को प्रस्तुति पनि दिएको थियो ।

कला र शैली

‘प्रसाद’ को ‘वनकी चरी’

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– फिल्म ‘प्रसाद’ को पहिलो गीत ‘लै लै...’ पछि आइतबार ‘वनकी चरी...’ बोलको दोस्रो गीत सार्वजनिक गरेको छ । मंसिर २१ देखि देशव्यापी प्रदर्शनमा आउन लागेको ‘प्रसाद’ को लिरिकल गीत ‘लै लै...’ लाई युट्युबमा मात्रै तीन सातामा २४ लाख पटक हेरिएको छ भने शतप्रतिशतले गीत मन परेको प्रतिक्रिया दिएका छन् । पहिलो गीतमा फिल्मका मुख्य जोडी विपिन कार्की र नम्रता श्रेष्ठको वर्ग र पेसा झल्कने दृश्य समावेश गरिएको थियो भने ‘वनकी चरी...’ दोहोरी साँझको सेटअपमा नाचगानको शैलीमा कोरियोग्राफी गरिएको छ । गीतमा विपिनलाई गायकका रूपमा प्रस्तुत गर्दा फिल्मका अर्का अभिनेता निश्चल भने नाच्नमा व्यस्त देखिन्छन् ।


दिनेश राउतको निर्देशन रहेको ‘प्रसाद’ लाई सुशील पौडेलले लेखेका हुन् । सुभाष थापाको निर्माण रहेको फिल्मको उक्त गीतलाई भने रूपक डोटेल र अञ्जु पन्तले गाएका हुन् भने संगीत सुवास भुसालको रहेको छ । बी पाण्डेले लेखेको गीतमा निश्चल र विपिनसहित अञ्जली अधिकारी फिचरिङ छन् । गीतको कोरियोग्राफी शिव विकेले गरेका हुन् । ‘प्रसाद’ नि:सन्तान दम्पतीको जीवन संघर्षमा आधारित रहेको बताइएको छ ।

कला र शैली

नारायणका गीतगजल

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– आख्यानकार तथा गीतकार नारायण नेपाल नयाँ एल्बमसहित आएका छन् । ‘यी नजर’ मा एउटा राष्ट्रिय गीतसहित नौ गीतगजल छन् ।


‘घर त मेरो,’ ‘सग्लो थियो,’ ‘नसोध है,’ ‘यी नजर,’ ‘एन्जोमेन्जो,’ ‘म हल्का छु,’ ‘उल्कायो पानीले,’ ‘मेरो मनको दर्पण तिमी’ र ‘कालोकालो चस्मा’ बोलका गीतगजलमा ज्ञानकुमार खड्का, सुजाता बर्मा, सतीश महर्जन, शशीविक्रम थापा, कृष्णकुमार खड्का, राजु श्रेष्ठ, भीम बीसी र अनुष्का घिमिरे तथा सूर्यकमल राई र ग्रिष्मा संग्रौलाको स्वर सुन्न सकिन्छ । यिनलाई डम्बर ढकाल, राम सिटौला, विनय बर्मा, शशीविक्रम, सूर्यकमल र भीमले संगीतबद्ध गरेका हुन् ।
‘भिन्नाभिन्नै कालखण्डमा रेकर्ड भएका यी गीतगजल स्रोताले एकमुस्ट सुन्न सकून् भन्ने मेरो ध्येय हो,’ नारायणले भने । लामो समयदेखि अंग्रेजी प्राध्यापन गर्दै आएका उनका अंग्रेजीमा दुई उपन्यास, सबाई संग्रहलगायत प्रकाशित छन् ।

 

Page 13
कला र शैली

‘डाइङ क्यान्डल’ लाई सिंगापुरमा अवार्ड

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– सिंगापुर साउथ एसियन इन्टरनेसनल फिल्म फेस्टिभलमा नेपाली फिल्म ‘डाइङ क्यान्डल’ ले अभिनेत्री र सिनेमाटोग्राफीतर्फका दुई विधामा अवार्ड जितेको छ ।
नरेशकुमार केसी निर्देशित उक्त फिल्मबाट अभिनेत्रीतर्फ सिर्जना सुब्बा र सिनेमाटोग्राफरमा दीपांकर सिक्देर र रविन आचार्यले संयुक्त रूपमा अवार्ड पाएका हुन् । फेस्टिभलका निर्णायकमा ओस्कार अवार्ड विजेता ‘नो म्यान्स ल्यान्ड’ का निर्देशक मार्क बास्चेत, गोल्डेन ग्लोब विजयी निर्देशक तथा निर्माता सिद्दिक बर्माकलगायत थिए । ग्रामीण हिमाली भेगको पृष्ठभूमिमा दिदी–भाइबीचको आत्मीय सम्बन्धलाई केलाएर तयार पारिएको फिल्म गत वर्ष रिलिज भएको थियो । त्यसमा सिर्जनासहित सौगात मल्ल, अर्पण थापा, लाक्पा सिंगी तामाङ, विद्या कार्कीलगायतको अभिनय छ ।

 

कला र शैली

अर्जुनसँग आस ग्रुप

- कान्तिपुर संवाददाता

(काठमाडौं)- संगीतकार अर्जुन पोखरेल, गायक सुगम पोखरेल र गायिका अञ्जु पन्तको सहकार्य धेरै गीतमा सुनिएको छ । उनीहरू आफूलाई ‘आस ग्रुप’ भन्दा रहेछन् । अर्जुन, अञ्जु र सुगमको अङ्ग्रेजी पहिलो अक्षरबाट ‘आस’ बनाइएको सुगम शनिबार सुनाउँदै थिए । यो रहस्योद्घाटनसँगै अर्जुनको संगीतमा बनेका तीन गीत अञ्जु र सुगमले गाए पनि ।


उनीहरूले ‘म यस्तो गीत गाउँछु....’, ‘भन्छु आज मनका कुरा...’ र ‘तिमी रोएको पल...’ प्रस्तुत गरिसकेपछि अर्जुनले गदगद हुँदै भने, ‘उहाँहरूले एकसाथ गाएको देख्न पाउनु मुस्किल छ । दुवै सधंै व्यस्त । एउटै मञ्चमा उभ्याउन साह्रै गाह्रो पर्छ ।’


सुगम र अञ्जुको प्रत्यक्ष युगल गायनको तारतम्य मिलाइएको थियो, ‘अर्जुन पोखरेल एकल साँझ’ मा । सांस्कृतिक संस्थान (नाचघर) मा आयोजित समारोहमा अर्जुनका एक दर्जन गीत प्रस्तुत गरिए । विन्ध्यवासिनी फाउन्डेसनद्वारा आयोजित कार्यक्रममा विभिन्न गायक–गायिकाले अर्जुनका कम्पोज सुनाए । संगीतकार स्वयंले पनि कतिपय गीतमा स्वर हाले ।
ज्ञानु राणाको ‘कसैले बुझेन मेरो...’ गीत गाएर अर्जुनले एकल साँझ उद्घाटन गरेका थिए । निशान भट्टराई र सुनिता थेगिमले ‘तिम्रो आँखामा आँसु...’ प्रस्तुत गरे भने सन्तोष लामा र स्वेच्छा ठकुरीले ‘मैले सोचेको जस्तै...’ सुनाए ।


‘दिलमाया’ फिल्ममा समाविष्ट ‘छुट्छ कि साथ...’ गीत दुर्गा खरेलले सुनाइन् । उनले ‘काले केटाले...’ प्रस्तुत गर्दा दर्शक–श्रोताले रमाइलो मानेको देखिन्थ्यो । सुरेश लामाले ‘सुन्छु तिमीले अचेल...’ गाएपछि अञ्जु र सुगम स्टेजमा आएका थिए । तिनको प्रस्तुतिलगत्तै दोहोरी गायिका मञ्जु पौडेललाई मञ्चमा निम्त्याइयो । पौडेललाई अर्जुनले नै साथ दिए । उनीहरूले ‘तिमी लाइटर...’ दोहोरी गाए ।


कन्सर्टमा कुमार महर्जन, प्रमोद उपाध्याय, अनुप दास, रूपेश सिंह, गोपाल देव, सञ्जीव बराइली, सरोज बिस्ट र प्रदीप श्रेष्ठले वाद्यवादनमा सघाएका थिए । संगीत संयोजन थियो प्रदीपको ।


पहिलो पटक एकल साँझ गरेका अर्जुनले कन्सर्ट अवधिभर आफ्ना सांगीतिक अनुभव सुनाइरहे । ‘मेरा बुबा खैंजडी बजाउनुहुन्थ्यो’, उनले भने, ‘आमा रत्यौली गाउने । चाडबाड आउनुअघि हामी घरमै गाउने/बजाउने गथ्र्यौं ।’


उनले रोयल्टीको कुरा गर्दागर्दै नेपालमा म्युजिकल कार्यक्रम गर्न राम्रो हलसमेत नभएकोमा दु:ख बिसाए । संघर्षका दिनमा साथ दिनेहरूप्रति आभार व्यक्त गरे । संगीतकर्मीले त संगीत सिक्नु परिहाल्यो, स्रोताले समेत संगीत बुझ्न आवश्यक रहेको तर्फ उनले ध्यानाकर्षण गराए ।

 

‘संगीत बुझेर सुन्नका लागि संगीत सिक्दा हुन्छ’, उनले भने, ‘रहर गरेर गाउनुभन्दा आफ्नो प्रतिभा चिन्न/चिनाउन सकियो भने राम्रो प्रतिफल आउँछ ।’


अर्जुनको एकल साँझ सुरु हुनुअघि आयोजक विन्ध्यवासिनीले स्रष्टा सम्मान कार्यक्रम गरेको थियो । गायिका ज्ञानु राणालाई संगीत साधना सम्मान स्वरूप ५० हजार रुपैयाँ प्रदान गरियो । सरस्वतीको कृपाले आफूमा गायन कला भएको भन्दै ज्ञानुले सरस्वती वन्दना गाइन् । बिरामी अवस्थामा रहेका गायक बुद्धिकृष्ण लामिछानेको सहयोगार्थ विन्ध्यवासिनीले ५० हजार रुपैयाँ प्रदान गरेको थियो ।

Page 14
समाचार

पोखरा पर्तिर

- दीपक परियार
चाडबाडको बिदा उपयोग गर्दै घुमघाममा निस्कनेका लागि गण्डकी प्रदेशमा गन्तव्य थुप्रै छन्
अन्नपूर्ण सेन्चुरी पदमार्गमा पर्यटक

(लेखनाथ) - शरद ऋतुको मन्द चिसो सिरेटोसँगै लेकसाइड अचेल गुलजार छ । दिनदिनैजसो हुल बाँधेर हुइँकिँदै आउने मोटरसाइकलको आवाजले शरदमा संगीत भर्छन् । साथीसाथी । जीवनसाथी । परिवार । आफन्त बोकेर मोटरसाइकल र जिपको लस्कर पोखरा भित्रिने
सिजन यही हो । ती घुमन्तेको गन्तव्य आजकल पोखरामात्रै भएको छैन । पोखरादेखि पर्तिर पुग्न शरदमै दसैंतिहार आइपुग्छ ।


व्यस्त दैनिकी । कोलाहलपूर्ण सहर । धूलो धूवाँको राज । यी सबैबाट टाढा हुन चाडपर्व गाउँ फर्कने बहाना मात्रै बनेको छैन, गाउँ छाडेर कतै घुम्ने फुर्सद पनि भएको छ । युवा जमातले यही मेसोमा घुम्ने योजना बनाउन थालेका छन् । सिनेमा हेर्नेजस्तै । किताब पढ्नेजस्तै । फुर्सदिला दिन । फिल्ममा देखिने दृश्य । सामाजिक सञ्जालमा पोस्टिएका तस्बिरले घुम्ने संस्कार बढाएको छ । केही रकम जोगाएरै भए पनि दसैंतिहारमा ‘ब्याक प्याक’ बोकेर घुम्न निस्कनेको लर्को उत्साहपूर्ण छ ।


घुम्नेको रोजाइमा पोखरा सदाबहार पर्छ । अहिले भने पोखरा नजाऊ भने पनि धरै छैन । मुस्ताङ अहिले चल्तीको गन्तव्य भएको छ । यातायात व्यवसायीको सिन्डिकेट हटेपछि मुस्ताङ जाने आन्तरिक पर्यटक बढेका छन् । आफ्नै सवारी लिएर मुस्ताङ पुग्न युवापुस्ता लालायित छन् । मुस्ताङको पहिलो ‘इन्ट्री प्वाइन्ट’ हो पोखरा । मनाङबाट मुस्ताङ निस्कने अन्नपूर्ण फेरो लगाउन पर्यटक पहिले पोखरा आइपुग्छन् ।

कास्कीको पर्यटकीय गाउँ घान्द्रुकको पुरानो बस्ती


अन्नपूर्ण सेरोफेरोमा उपल्लो मुस्ताङ, अन्नपूर्ण सर्किट ट्रेक, अन्नपूर्ण सेक्युरिटी ट्रेक, घान्द्रुक घोरेपानी सर्किट ट्रेक, घलेखर्क सर्किट ट्रेक, राउन्ड मनास्लु, घान्द्रुक, घम्पुस, जोमसोम, नारफूलगायत दर्जनौं उत्कृष्ट पदयात्रा मार्ग छन् । जुन घुमन्तेका लागि अहिलेको दसैं–तिहारमा उपयुक्त विकल्प हुन सक्छन् । अन्नपूर्ण क्षेत्र दृश्यावलोकन, उच्च हिमाली भन्ज्याङ, आरामदायी लज र स्याउका परिकारका लागि नामुद छ । पोखराबाट उत्तरपट्टि रहेको यो क्षेत्रमा ७ हजार मिटरभन्दा अग्ला १४ हिमाल पर्छन् । जसमा संसारकै दसौं अग्लो ८ हजार ९१ मिटरको अन्नपूर्ण प्रथम हिमाल पनि पर्छ ।


कास्कीको अन्नपूर्ण आधार शिविर पदयात्रा होस् वा म्याग्दीको घोरेपानी–पुनहिल । पदयात्राको तयारी पोखराबाट हुन्छ । स्याङ्जा, पर्वत र कास्कीको संगमस्थल पञ्चासे लेक, बागलुङको ढोरपाटन, मनाङको तिलिचो पुग्न आवश्यक ट्रेकिङ सामग्रीको किनमेल लेकसाइडमै हुन्छ ।


देशका सुगम सहरबाट एक दिनमै पोखरा आइपुगिन्छ । भोलिपल्ट बिहानै सराङकोटमा सूर्योदय हेरे भइहाल्यो । दिनभरि फेवा ताल, पातले छाँगो, शान्ति स्तूप, महेन्द्र र चमेरे गुफा, पर्वतीय संग्रहालय घुमे पुग्छ । साँझ लेकसाइडको रात्री जीवन रमाउन चाहनेलाई छुट्टै आनन्द छ । अन्तर्राष्ट्रियस्तरका रेस्टुरेन्ट, पब, डिस्कोमा रमाउन प्रशस्त ठाउँ छन् । पर्यटकीय नगरीको नयाँ परिचय आजकल ‘ट्रान्जिट’ सहर भएको छ ।


पहुँचयुक्त पर्यटनको अवधारणा पनि पोखराबाटै सुरु भएको छ । पर्यटन बोर्डको अगुवाइमा नेपालमै पहिलोपल्ट पहँुचयोग्य पदयात्रा मार्ग खुलेपछि अपांगता भएका पर्यटकले ट्ेरकिङको मज्जा लिन पाएका छन् । कास्कीकोटको थामाको गह्रा र ढिकुरपोखरीको देउराली फल्लापानीसम्म १.३ किमिको पदयात्रा मार्ग खुलेको छ । ६ फिट चौडाइ भएको मार्गमा हरेक प्रकारका अपांगता भएका व्यक्तिले दृश्यावलोकन गर्दै डाँडाकाँडा छिचोल्न सक्छन् ।

 

मनास्लु पदयात्रा मार्ग
मनास्लु संरक्षण क्षेत्र परियोजना (एमक्याप) भित्र पर्ने मनास्लु पदमार्ग आन्तरिक पर्यटकको कम रोजाइमा परेको गन्तव्य हो । धादिङ र गोरखाको सिमानामा पर्ने सोती बजारबाट मनास्लु पदयात्रा मार्ग सुरु हुन्छ । गोरखाको उत्तरी भेगका बासिन्दाको नजिकको बजार यही हो । यो पदमार्ग जति रोमाञ्चक छ, उति नै जोखिमयुक्त पनि ।
मार्गमा पर्ने चुमभ्याली र नुब्री उपत्यका घुमेर लार्केपास पार गर्न २ सातादेखि २० दिनसम्म लाग्छ । मनास्लु परिक्रमा गरी मनाङको धारापानी हुँदै बेंसीसहर झर्ने पर्यटक पछिल्लो समय बढेका छन् । पास नकाट्नेहरू दुई उपत्यकामा रमाएर सोही मार्ग फर्कन्छन् । ‘किलर माउन्टेन’ का रूपमा चिनिने मनास्लु हिमाललाई नजिकबाट नियाल्न यात्रा गर्नैपर्छ । पदमार्गमा उत्तरी गोरखाको विकटता, त्यहाँको जीवनशैलीको अध्ययन गर्न पाइन्छ ।

अन्नपूर्ण आधार शिविरमा रमाउँदै पर्यटक 

अन्नपूर्ण सर्किट
संसारकै सबैभन्दा विश्वासिलो गाइडबुक तथा ट्राभल वेबसाइट कम्पनी अमेरिकाको ‘लोन्ली प्लानेट’ ले सन् २०१७ का लागि नेपालका उत्कृष्ट पदयात्रा मार्गको सूची तयार पार्‍यो । लोन्ली प्लानेटको यो सूची थियो चक्रीय अन्नपूर्ण पदमार्ग ।


पदयात्रीका लागि चक्रीय अन्नपूर्ण निकै रोमाञ्चकारी पदमार्ग हो । २१ दिनको पदयात्रालाई मोटर चलेपछि धेरै पर्यटक एक सातादेखि १० दिनमै यात्रा टुंग्याउँछन् । पोखराबाट लमजुङ हुँदै सुरु हुने यात्रा पोखरा नै आएर टुंगिन्छ । कतिपय बेंसीसहरबाट मनाङसम्म हिँडेर यात्रा गर्न रुचाउँछन् । काठमाडौंबाट सिधै बेंसीसहर पुगे पनि भयो ।


दोस्रो दिन बेंसीसहरदेखि बाहुनडाँडा (१२७० मि.), तेस्रो दिन बाहुनडाँडादेखि च्याम्चे (१४१० मि.), चौथो दिन च्याम्चेदेखि बगरछाप (२१६०), पाँचौं दिन बगरछापदेखि चामे (२७१० मि.), छैटौं दिन चामेदेखि पिसाङ (३२१० मि.), सातौं दिन पिसाङदेखि मनाङ (३५२० मि.) । आठौं दिन हाइअल्टिच्युट भएको क्षेत्र पुगिने भएकाले पदयात्री मनाङमा एकदिन थकाइ मार्ने गर्छन् ।


नाङबाट लेदर (४२५० मि.), नवौं दिन लेदरदेखि थोराङफेदी (४४०० मि.), दसौं दिन थोराङफेदीदेखि मुक्तिनाथ (३८०० मि.), ११ औं दिन मुक्तिनाथदेखि मार्फा (२६६५ मि.), १२औं दिन मार्फादेखि घाँसा (२००० मि.), १३औं दिन घाँसादेखि तातोपानी (११८० मि.) साथै तातोपानीबाट घोरोपानी हुँदै दुई दिन लगाएर पोखरा वा तातोपानीबाट म्याग्दी हुँदै एकैदिनमा पोखरा आउन सकिन्छ । थोराङफेदीबाट मुक्तिनाथको बाटोमा संसारकै अग्लो हिमाली भन्ज्याङ थोराङ्ला (५४१६ मि.) उचाइ पार गरिन्छ ।

 

अन्नपूर्ण आधार शिविर
कास्कीको वीरेठाँटीबाट सुरु हुने यो पदयात्रा मार्ग एक सातामा पूरा गर्न सकिन्छ । घान्द्रुक, न्युब्रिज, झिनु, छोम्रोङ, भनुवा, सिनुवा, बम्बु, दोभान, हिमालय, देउराली, माछापुच्छ्ेर आधार शिविर (एमबीसी) र अन्नपूर्ण आधार शिविर (एबीसी) पुगिन्छ । एबीसीबाट एकैसाथ ८ हजार ९२ मिटरको अन्नपूर्ण प्रथम, अन्नपूर्ण साउथ, हिउँचुली, गंगापूर्ण, गन्धर्वचुली, माछापुच्छ्रे हिमालको अवलोकन गर्न सकिन्छ । एबीसी पुग्ने मुख्य सिजन भदौदेखि कात्तिक र फागुनदेखि वैशाखसम्म हो । हिउँदमा बढी हिउँ पर्ने र बर्खामा पानी पर्ने भएको उक्त सिजनमा पर्यटक कम जान्छन् ।


दसैं तिहारको बिदामा एबीसीमा पर्यटकको चाप अत्यधिक हुन्छ । छोम्रोङ कटेपछि जम्मा २६ होटल छन् । ती होटलमा ६ वटाका दरले १ सय ५६ कोठा छन् । होटल व्यवसायीले टेन्ट, अस्थायी कटेरो बनाएर पाहुनाको व्यवस्थापन गर्छन् ।

मुस्ताङको जोमसोमनजिकै रहेको ढुम्बा ताल ।

मुस्ताङ
नेपाली फिल्ममा हिमालपारिको जिल्ला मुस्ताङको दृश्य समावेश हुन थालेपछि आन्तरिक पर्यटक अत्यधिक पुगे । यो सातादेखि जोमसोमलगायत मुक्तिनाथ, कागबेनी, मार्फा, कोवाङ, लेते र घाँसाका सानाठूला सबैजसो होटल तथा रेस्टुरेन्ट आन्तरिक पर्यटकले भरिएका छन् । युवाहरू मोटरसाइकलको यात्रा गर्दै उपल्लो मुस्ताङ घुम्न पुग्छन् । वर्षायाम सकिएर हिउँद सुरुआतको समय भएकाले यतिखेर मुस्ताङको मौसम पूर्ण सन्तुलित हुन्छ । खुला मौसम, स्थिर हावाको वेग, गर्मी र जाडोको सम्मिश्रण मिलेकाले सबै तप्काका पर्यटकले मुस्ताङको हावापानी थेग्न सक्छन् ।


दसैं बिदा छल्न मुस्ताङ आएका नेपाली पर्यटकको रोजाइ ढुम्बाताल बनेको छ । घरपझोङ(५ ठिनी सम्लेमाथिको डाँडामा पर्ने प्राकृतिक ढुम्बाताल जोमसोमदेखि ७ किमि दूरीमा छ । ताल हेर्न यतिबेला सयौं आन्तरिक पर्यटक मोटरसाइकल लिएर ढुम्बा पुग्छन् । ठिनीमा सञ्चालित होमस्टेको रौनक पनि त्यस्तै छ । मुस्ताङमा ३९ सय मिटरको उचाइमा अवस्थित यारुझो भ्युटावर, नीलगिरि र धौलागिरिको दृश्यावलोकन, हिउँ चितुवा, घरपझोङ किल्ला, कुछपतेरंगा गुम्बा, ऐतिहासिक संग्रहालय, मेसोकोन्दोपास र तिलिचो पदमार्ग छन् ।
मुस्ताङ पुग्ने पर्यटकको अर्को रोजाइ पर्यटकीय गाउँ मार्फा हो । जुन स्थान स्याउका लागि प्रख्यात छ । मुस्ताङको यात्रा आजकाल जोमसोम, कागबेनी र मुक्तिनाथमा मात्रै टुंगिदैन । उपल्लो मुस्ताङ पुग्ने आन्तरिक पर्यटक पनि उत्तिकै छन् । उपल्लो मुस्ताङमा लोमान्थाङ दरबार, दामोदर कुण्ड, छोसेर गुुफा र कोरलापास घुम्ने मध्येका मुख्य गन्तव्य हुन् । त्यसो त उपल्लो मुस्ताङमा हेर्नलायक दर्जनौं ऐतिहासिक गुम्बासमेत छन् ।

 

मर्दी हिमाल ट्रेक
सन् २०१० मा मर्दी हिमाल पदमार्ग खुलेपछि यसको चर्चा एकाएक चुलियो । स्थानीय बासिन्दाकै पहलमा चर्चा र चल्तीमा ल्याइएको यो मार्गमा अहिले पर्यटकले रुचाएपछि पूर्वाधार पनि धमाधम निर्माण भइरहेको छ । पर्यटकहरू पोखराबाट लुम्लेकाँडे, धम्पुस, प्रितम देउराली, हाइक्याम्प, बेसक्याम्प मर्दी हिमाल, सिदिङ र घलेल हुँदै यो रुटबाट फर्कन्छन् ।
कास्कीको अन्तिम गाउँका रूपमा समेत चिनिने सिदिङबाट ३ दिनमा यो ट्ेरकबाट आउजाउ गर्न सकिन्छ । यो पदमार्ग ४ देखि ७ दिनमा पूरा गर्न सकिन्छ । ४ हजार ५ सय मिटर उचाइको मर्दी हिमालबाट पुनहिल, पञ्चासे, माछापुच्छ्ेर मोडेल ट्रेक र अन्नपूर्ण बेसक्याम्प पनि सहजै अवलोकन गर्न सकिन्छ । हाइक्याम्प उक्लेपछि माछापुच्छ्ेर हिमाल नजिकैबाट मोहक देखिन्छ ।


एक रात बिताउने हो भने ल्वाङ गाउँको चियाबारी, क्यानोनिङ र यहाँको संस्कृतिले पनि पर्यटकलाई लोभ्याउँछ । लेकका खर्कहरू अनि छहरा हेर्दै पछिल्लो क्रममा मोटरबाटाले नछोएको यो मार्गमा पर्यटक लस्कर लागेर हिँड्न थालेका छन् ।

 

तिलिचो
टुर अपरेटरले गन्तव्य तिलिचोका लागि विदेशी पर्यटकहरूलाई प्याकेजै बनाएर बिक्री गर्छन् । नेपालीका लागि भने खासै त्यस्तो सुविधा छैन । तर तिलिचो व्यक्तिगत रूपमै पनि जान सकिन्छ । पछिल्लो समय मनाङको तिलिचो पुग्ने युवापुस्ताको कमी छैन ।


पोखरा र काठमाडौं तिलिचो घुमेर फर्कन बढीमा सातादिन र प्रतिव्यक्ति बढीमा १५ हजार रुपैयाँ खर्च लाग्छ । तिलिचो पुग्न लमजुङको बेंसीसहरसम्म बस, पर्यटक बस, माइक्रोबाट जान सकिन्छ । त्यहाँबाट जिपमा माथिल्लो मनाङ पुगिन्छ । माथिल्लो मनाङबाट तिलिचो आधार शिविरसम्म पैदल जानुपर्छ । त्यहीं बस्ने व्यवस्था पनि छ ।


भोलिपल्ट आधार शिविरबाट पदयात्रा गर्दै तिलिचो ताल अवलोकन गरेर बास बस्न फेरि त्यही फर्किन सकिन्छ । अर्को दिन माथिल्लो मनाङ पुगेर पहिले आएकै बाटोबाट फर्किन मिल्छ । पदमार्गमा बास बस्न, खानका लागि प्रशस्त लज तथा रेस्टुरेन्ट छन् ।

 

घोरेपानी–पुनहिल
घोरेपानी–पुनहिल पदमार्ग प्राकृतिक सौन्दर्यमा रमाउँदै पदयात्रा गर्न चाहनेलाई उत्कृष्ट गन्तव्य हो । पोखरा नजिकै हेमजाबाट धम्पुस, लान्द्रुक, घान्द्रुक, टाडापानी, घोरेपानी हुँदै पुनहिल पुगिन्छ । घना जंगलको बाटो गगनचुम्बी हिमाल नियाल्दै हिँड्नु कम्ता रोमाञ्चक हुँदैन ।


पोखराबाट नयाँपुल, वीरेठाँटी, उल्लेरी, तिखेढुंगा हुँदै पनि घोरेपानी पुग्न सकिन्छ । वीरेठाँटीबाटै घान्द्रुक, टाडापानी हुँदै घोरेपानी पुग्ने अर्को पदमार्ग हो । घोरेपानीबाट डेढ घण्टा हिँडेपछि पुनहिल पुगिन्छ । यहाँका जुनसुकै ठाउँबाट हिमाल हेर्न सकिन्छ । गुरुङ र मगर संस्कृतिलाई नजिकबाट नियाल्न यो पदमार्ग उत्तम हो । ३ देखि ४ दिनमा पदयात्रा सिध्याउन सकिन्छ ।


३ हजार २ सय १० मिटर उचाइमा रहेको पुनहिलबाट मौसम सफा भएको बेलामा अन्नपूर्ण, धौलागिरि हिमाल पूरै देखिन्छ । यसको अलवा बाह्र पिकअन्तर्गत पर्ने नीलगिरि अन्नपूर्ण प्रथम आकर्षक देखिन्छ । सबैभन्दा नजिकै देखिने ठूलो हिमाल अन्नपूर्ण साउथ हो । साथै, हिउँचुली, माछापुच्छ्ेर हिमाल पनि देख्न सकिन्छ ।

 

ढोरपाटन
अथाह सम्भावना बोके पनि ‘अन्डररेटेड’ पर्यटकीय गन्तव्य हो बागलुङको ढोरपाटन । ढोरपाटन सिकार आरक्षमा विदेशी सिकारी पुग्ने भए पनि आन्तरिक पर्यटकको चाप न्यून छ । अहिले भने सहज आउजाउको व्यवस्था भएपछि ढोरपाटनमा आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ । मध्यपहाडी लोकमार्गको बुर्तिबाङदेखि ग्रामीण सडकको ३१ किमिले जोडिएपछि ढोरपाटनमा आउजाउमा सहज भएको हो ।


अघिल्लो वर्षदेखि सडकको ट्रयाकले जोडिएपछि बागलुङ बजारदेखि जिप रिजर्भ गरी जानेहरू बढेका छन् । दैनिक २ सयसम्म पुग्ने आन्तरिक पर्यटकमध्ये अधिकांश भने एकैदिनमा घुमेर फर्कन्छन् । फर्कनेहरू बुर्तिबाङ र बोबाङलगायत स्थानमा बस्ने गर्छन् । पर्यटककै लागि लक्षित गरी ढोरपाटनमै सामुदायिक लजसमेत बनाइएको छ । प्याकेज बनाएर पुग्नेले खाने(बस्ने व्यवस्था पाउँछन् । ढोरपाटनको आकर्षण दृश्य र यात्रामा लोभिनेसहित ढोरवराहको पूजाका लागि समेत आन्तरिक पर्यटक तथा भक्तजनहरू पुग्ने गरेका छन् ।


ढोरपाटनमै रहेको प्रसिद्ध छेन्टुङ गुम्बाले बौद्धमार्गीलाई पनि आकर्षण गरेको छ । ढोरपाटनमा घोडा चढेर मनोरञ्जन लिनेहरू पनि पुग्छन् । मैदानी भाग भएकाले घोडा भाडामा लिएर घुम्ने चलन छ । पुथा, चुरेन र गुर्जा हिमालको काखमा रहेको ढोरपाटन समुद्र सतहबाट २ हजार ८ सय ५० मिटर देखि ५ हजार ५ सय मिटरसम्मको उचाइमा फैलिएको छ । वरिपरि हिमाली दृश्य हिमालको काखमा राता डाँडा । त्यसमुनि हरियो जंगल । जंगलमुनि मैदानी भाग र बस्ती । कञ्चन पानी बग्ने नदी । प्रकृतिको उत्तम उपहार हो ढोरपाटन । विश्वकर्मा, मगर, नौथर, छन्त्यालजस्ता पिछडिएका नेपाली समुदाय र तिब्बती शरणार्थीको जीवनशैली मात्रै होइन, अलगअलग र सामूहिक सांस्कृतिक गतिविधि पनि ढोरपाटनमा देख्न सकिन्छ ।
बागलुङ जिल्लाको बुर्तिबाङबाट अधिकारी चोक र वोवाङको बाटो हुँदै एक दिनको पैदल यात्रामा ढोरपाटन पुग्न सकिन्छ ।

 

पञ्चासे
कास्की, पर्वत र स्याङ्जाको संगमस्थल हो पञ्चासे लेक । पर्यटकीय तथा धार्मिक क्षेत्रबाट हिमालको दृश्यावलोकन गर्न पाउँदा जोकोही खुसी हुन्छन् ।


पोखराबाट पञ्चासेको भन्ज्याङसम्म पुग्न फेवातालको किनारै किनार ३० किमि कच्ची सडकको यात्रा गर्नुपर्छ । पोखरा(बागलुङ राजमार्गको काँडेबाट भदौरेसम्म गाडीमा र त्यहाँबाट पैदल ३ घण्टा हिँडेर जाने अर्को बाटो छ । पोखराकै ड्यामसाइड, शान्ति स्तूप हँुदै ८ घण्टा हिँडेर पनि पञ्चासे पुगिन्छ । पर्वतको आर्थर र चित्रेबाट २/२ घण्टा हिँडेर पनि पुग्न सकिन्छ ।


एकै ठाउँबाट चार जिल्लाका सदरमुकाम (पोखरा, स्याङ्जा, कुश्मा र बागलुङ), आसपासका डाँडाकाँडा, हिमशृंखलाको दृश्यावलोकन र जैविक विविधताको प्रत्यक्ष अवलोकन गर्न यहाँ पाइन्छ । त्यसैले त पछिल्लो समय आन्तरिक र बाहय पर्यटकको गतिलो गन्तव्य बनेको छ । आदिमकालदेखि धार्मिक दृष्टिकोणले पनि यो प्रसिद्ध छ ।


सूर्योदय, सूर्यास्त, आसपासका सुन्दर गाउँबेसी, फाँट खोलानालाको दृश्यले सबैको मन लोभ्याउँछ । साढे ५ हजार हेक्टरमा फैलिएको पाँच टाकुरा मिलेर बनेको छ यो । पञ्चासेमा १२ प्रकारका वनजंगल, ५ सय ८९ जातिका फूल फुल्ने वनस्पति, १ सय ५० थरी औषधिजन्य जडीबुटी, ८ थरीका रेसादार वनस्पति, १ सय १३ थरीका सुनाखरी, १८ थरीका पुष्पजन्य वनस्पति, ५६ थरीका जंगली च्याउ, ९८ थरीका उन्यूजातका वनस्पति पाइन्छन् । भालु, चितुवा, मृग र दर्जनांै चराचुरुंगीको बासस्थान हो पञ्चासे । पञ्चासेको शिखर २ हजार ५ सय १७ मिटर उचाइमा अवस्थित छ ।


टुप्पोमा रहेको तालले पनि झनै लोभ्याउँछ । पोखराको फेवातालको मुख्य स्रोत पनि पञ्चासे हो । महत्त्वपूर्ण पर्यटकीय गन्तव्य भएकाले पर्यटकको आकर्षणसँगै भन्ज्याङमा सुविधासम्पन्न होटल र आसपासका गाउँमा होमस्टेको सुविधा छ ।

Page 15
समाचार

खाद्यको चामल गाउँमा पुगेन सदरमुकाममा बिकेन

- तुलाराम पाण्डे
कालीकोटको मान्मस्थित खाद्य संस्थानबाट चामल खरिद गरी घर जाँदै स्थानीय महिला ।तस्बिर : तुलाराम/कान्तिपुर

 (कालीकोट) - सरकारले ढुवानी अनुदानमा उपलब्ध गराउँदै आएको चामल यहाँका ग्रामीण भेगमा रहेका खाद्य डिपोमा अझै पुग्न सकेको छैन । सदरमुकाम मान्मस्थित खाद्य संस्थानको शाखामा अघिल्लो वर्षको करिब ७ सय क्विन्टल अझै मौज्दात छ । तर, थिर्पु, पादमघाट र खल्लागाड डिपोमा चामल नहुँदा स्थानीय समस्यामा छन् ।


दसैंको मुखमा गाउँका कुनै पनि डिपोमा चामल नहुँदा स्थानीय नजिकका बजारबाट महँगोमा चामल किन्न बाध्य छन् । ढुवानी अनुदानमा जिरा मसिनो प्रतिकिलो ६३, जापानी ५६, सोना मन्सुली ४७ र उसिना ४२ रुपैयाँ पर्छ । बजारबाट खरिद गर्दा व्यापारीले ढुवानी ज्याला जोडेर बेच्दा महँगो पर्छ । शाखाका लागि चालु आवमा ३ हजार क्विन्टल चामलको कोटा स्वीकृत भए पनि ढुवानी हुन सकेको छैन । थिर्पुका लागि १५ सय क्विन्टल कोटामध्ये १ सय क्विन्टल ठेकेदारले पुर्‍याइसकेको निमित्त प्रमुख खडकबहादुर बुढाले बताए । उनका अनुसार पादमघाट र खल्लागाड डिपोका लागि पनि १५ सय क्विन्टलका दरले कोटा स्वीकृत भएर आएको छ । डिपोमा चामल ढुवानीका लागि ठेक्का भइसकेकाले तिहारसम्म चामल गाउँ पुर्‍याउन सकिने उनको भनाइ छ ।


शतप्रतिशत ढुवानी अनुदानमा बिक्री हुने खाद्य संस्थानको चामल सदरमुकाम आसपासका बासिन्दालाई दसैंसम्म पुग्ने संस्थानका चामल विक्रेता तिलक खनाल बताउँछन् । उनका अनुसार आइतबारसम्म मान्म शाखामा सोना मन्सुली चामल २ सय ७८, जापानी एक सय २३, उसिना १ सय ६९ र जिरा मसिनो ४१ क्विन्टल मौज्जात छ । उनले दसैंका बेला भएकाले दैनिक १५/२० क्विन्टल बिक्री भइरहेको जानकारी दिए ।


‘तिहारसम्म नयाँ कोटाको चामल आउँछ होला,’ खनालले भने, ‘सदरमुकाममा बजारबाट खरिद गर्न सहज भए पनि गाउँमा चामल अभाव छ ।’ उनले सडक पुगेपछि पहिलेजस्तो चामलको अभाव नभएको दाबी गरे । कर्णाली राजमार्ग असारसम्म सञ्चालन भएकाले विनियोजित सबै चामल जिल्लामा पुग्नु, स्थानीय व्यापारीले पनि चामल स्टक राख्नु, गहुँ र मकै बालीको उत्पादनमा वृद्धि हुनुले चामलको कम खपत हुन थालेको छ । त्यस्तै कर्णाली नदीपारि पर्ने दर्जन गाउँका बासिन्दा संस्थानको चामल लिन सदरमुकाम मान्मभन्दा जिते बजार जाने गरेका छन् ।


खाँडाचक्र १ का रघुवीरे विश्वकर्माले विगतमा जस्तो खाद्य समस्या नभएको बताए । सदरमुकामसहित सडक पुग्ने ठाउँमा व्यापारीले चामल पुर्‍याएको उद्योग वाणिज्य संघका अध्यक्ष सुईबहादुर शाहीले बताए । उनका अनुसार बजारमा चामलको माग घटेको छ । सधैंजसो खाद्यान्न अभाव हुने पलाता र पचालझरना गाउँपालिकामा भने चामलको समस्या धेरै छ । त्यहाँका बासिन्दा अझै महँगोमा चामल किनेर खान बाध्य छन् । कर्णाली करिडोर पनि पूर्ण रूपले सञ्चालनमा नआएकाले चामल ढुवानीमा समस्या रहेको स्थानीयको भनाइ छ ।

समाचार

बलात्कृत बालिकालाई आर्थिक सहयोग

उपचारका लागि विदेशमा रहेका रोल्पाली युवाले घरमै पठाइदिए रकम
- कान्तिपुर संवाददाता

(रोल्पा)- डेढ महिनाअघि आफन्तबाटै बलात्कृत भएकी रोल्पा नगरपालिकाकी एक बालिकाको उपचारार्थ विदेशमा रहेका रोल्पालीले आवश्यक सहयोग रकम प्रदान गरेका छन् । गत भदौमा आफन्त १४ वर्षीय किशोरले साढे ६ वर्षकी ती बालिकालाई बलात्कार गरेका थिए ।


आर्थिक अवस्था कमजोर बालिकाको परिवारलाई विदेशमा रहेका रोल्पाली युवाको साझा संस्था अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजको पहलमा संकलन गरिएको रकम शनिबार प्रदान गरिएको हो । समाजका तर्फबाट संकलन गरी पठाइएको २२ हजार रुपैयाँ पीडितलाई पत्रकारहरू काशीराम डाँगी, खेम बुढा र हीरा घर्तीमगरले घरै पुगेर हस्तान्तरण गरेका हुन् । उक्त घटनाबारे समाचार लेखेका पत्रकारमार्फत नै पीडित बालिकाको थप उपचार र पढाइ खर्चमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम जुटाइएको समाज अध्यक्ष जापानमा रहेका सन्दीप थापाले बताए । रकम हस्तान्तरण गर्न स्थानीय एक शिक्षकले सहजीकरण गरेका हुन् ।


उक्त घटनाबारे स्थानीयदेखि राष्ट्रिय तहका सञ्चार माध्यममा ‘बलात्कृत बालिकाको उपचार खर्च अभाव’ समाचार प्रसारित/प्रकाशित भएका थिए । तिनै समाचारका आधारमा विदेशमा रकम संकलन गरिएको संस्थाका महासचिव लेखप्रसाद रोकाले बताए । समाजले छोटो समयमै मानवीय एवं सामाजिक कार्य गर्दै आएको छ । यसअघि पनि ब्लडमनी अभावमा जेल परेका रोल्पाका युवालाई संस्थाले आर्थिक सहयोग गरेको थियो । यस्तै विदेशमा अमानवीय व्यवहार सहँदै आएका नेपाली दुई महिलाको पनि उद्धार गरिएको छ । मुुलुकभित्र र बाहिर उपचार अभावमा रहेका थुपै्रलाई आर्थिक सहयोग गर्दै आएको अध्यक्ष थापाले बताए ।


बालिका बलात्कृत अभियोगमा संलग्न स्थानीय किशोरलाई प्रहरीले नियन्त्रणमा लिई कानुनी कारबाहीका लागि मुद्दा चलाएको छ । प्रहरीका अनुसार ती किशोरलाई सुधारगृहमा राखेर कानुनी कारबाही गरिएको हो । बलात्कृत बालिकाको उपचार प्यूठान र बुटवलमा गरिएको थियो । उपचारमा निकै दु:ख पाएको परिवारले जनायो । ‘हामीलाई गरिब र दलित भनेर हेला गरेको जस्तो लाग्यो,’ बालिकाकी आमाले भनिन्, ‘पछि निकै दु:ख गरेपछि मात्रै छोरीको उपचार सुरु भयो ।’ उनले छोरीको भर्ना गर्न अधिकारकर्मी र प्रहरी गुहार्नुपरेको सुनाइन् ।


अहिले फेरि घाउ सुन्निएपछि नियमित उपचार गर्नुपर्ने अवस्था रहेको अभिभावक बताउँछन् । ‘घाउ दुख्यो भनेर बेलाबेला रुन्छे,’ बालिकाकी आमाले भनिन्, ‘त्यसैले नियमित औषधि खुवाउने र चिकित्सकको सम्पर्कमा रहँदै आएका छौं ।’ उक्त घटनापछि भारत कमाउन पुगेका बालिकाका बुबा पनि फर्किएका छन् । घटनापछि छोरी आत्तिने गरेको उनले बताए । बालिका बलात्कृतपछि राज्य तहबाट भने उनको उपचारमा आर्थिक सहयोग नगरिएको जनाए ।


बालिकाको उपचारमा सुरुमा लिबाङस्थित सेभ द चिल्ड्ेरन र हुरेकले २० हजार रुपैयाँ सहयोग गरेका थिए । स्थानीय शिक्षकको पहलमा करिब २७ हजार सहयोग जुटाइएको थियो । विदेशमै रोजगारका लागि पुगेका नेपालीको एक समूहले पनि ५० हजार प्रदान गरेको छ ।

 

शिक्षक पक्राउ
मोरङ (कास)– सोलुखुम्बुको पासाङल्हामु गाउँपालिका ४ की एक बालिकालाई बलात्कार गरेको आरोपमा एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । सोलुखुम्बुको हिमालय आधारभूत विद्यालयमा कार्यरत शिक्षक ५५ वर्षीय मोहन घिमिरेलाई नियन्त्रणमा लिएको हो । घिमिरेले स्थानीय ९ वर्षीया बालिकालाई आफ्नो कोठामा बोलाएर बलात्कार गरेको उजुरीका आधारमा पक्राउ गरिएको प्रदेश १ प्रहरीले जनाएको छ । बालिकालाई परीक्षणका लागि जिल्ला अस्पताल सोलुखुम्बु पठाइएको छ ।

समाचार

धार्मिक पर्यटनले समृद्धि

सबैको प्रयासले पाँच वर्षभित्रै पुरानो बजार रंगेली पूर्वाञ्चलकै प्रमुख धार्मिक केन्द्रतर्फ उन्मुख
- जितेन्द्र साह
मोरङको रंगेली नगरपालिकाको मुख्य बजारमा रहेको प्राचीन काली मन्दिर । दर्शनका लागि यहाँ स्वदेशी तथा विदेशी पर्यटकको आगमन बर्सेनि बढिरहेको छ ।

 (रंगेली, मोरङ) - सय वर्षअघि मोरङको सदरमुकाम रंगेलीबाट विराटनगर सारियो । यहाँबाट भारतीय सीमा टाढा, सडक र परिवहनको समस्या भएकाले विराटनगर उपयुक्त रहेको त्यतिबेलाका सरकारी अधिकारीको तर्क थियो । रेलवे सुविधायुक्त सीमावर्ती जोगवनीनजिक भएकाले आयातनिर्यातमा सहज हुने भन्दै महत्त्वपूर्ण सरकारी कार्यालय यहाँबाट विराटनगर लगिएको हो ।


एकपछि अर्को गर्दै उद्योग, व्यवसाय र सरकारी कार्यालय गएपछि पूर्वाञ्चलकै यो पुरानो बजार रंगेली लामो कालखण्डसम्म उजाड रह्यो । धेरैजसो उद्योगी एवं व्यवसायी अवसर खोजीमा यहाँबाट अन्यत्र पलायन भए । चहलपहल भइराख्ने बजार अचानक सुनसान भयो । तर पुर्खौंदेखि यहाँ बसिरहेका जुझारु स्थानीयले हरेस खाएनन् ।


आपसमा थोरैथोरै आर्थिक सहयोग संकलन गरी टोलपिच्छैका पुराना मठमन्दिरको संरक्षण गर्दै धार्मिक पर्यटनलाई बढावा दिने अठोट उनीहरूले लिए । अधिकांश धार्मिक सम्पदा प्राचीन समय र राणाकालदेखिका थिए । मिलिजुलीको प्रयासले पाँच वर्षभित्रै पुरानो बजार रंगेली पूर्वाञ्चलकै प्रमुख धार्मिक पर्यटनका रूपमा चिनिएको छ ।


‘सदरमुकाम भएको गौरव गुमाए पनि धार्मिक तीर्थाटनका रूपमा आफूलाई स्थापित गरायो,’ स्थानीय बुद्धिजीवी सुरेश मिश्रले भने, ‘विराटनगरवासीलाई पनि मुख्य पर्वहरूमा पूजाआजा गर्न रंगेली नआई हुन्न ।’ सरकारको नयाँ नमुना सहर योजनामा परेको यो नगरमा पथरी–कानेपोखरी–रंगेली सडक निर्माण एवं अन्य भौतिक पूर्वाधार विकास जारी रहेकाले निराशाका दिन सकिएको उनले बताए ।


आवागमनसँगै व्यवसाय बढेर सयौंले रोजगारी पाइरहेको स्थानीय युवा कैलाश मण्डलले बताए । चण्डीपूर्णिमा (वैशाख), दसैं, तिहार र छठजस्ता पर्वमा यो नगरमा स्वदेश एवं विदेशका यात्रुको घुइँचो लाग्छ । ‘काठमाडौं, भक्तपुर र ललितपुरलाई मन्दिरहरूको सहर भनेझैं उति बेलादेखि रंगेली मन्दिरहरूको गाउँ भनेर चिनिएकै हो,’ स्थानीय युवा बजरंग अग्रवालले भने, ‘यहाँका मधेसी, पहाडी एवं मारवाडीले मिलेर त्यो गरिमाको संरक्षण र प्रवद्र्वन प्रयास गरिरहेका छौं ।’


नगरपालिका बन्दै सम्मान पाएको यो थलोमा झन्डै १ सय ५० मठमन्दिर छन् । स्थानीय चिसाङ र बक्राहा खोला छेउमा प्राचीन संसारी माईस्थान मन्दिर, थोरै पूर्वपट्टि अघि बढेपछि ठूलो हाट एवं मुख्य बजार क्षेत्रमा दुर्गा, शिव, राधाकृष्ण र कालीका गरी ६ भव्य मन्दिर छन् । फिर्दै जाँदा टोल र बस्तीपिच्छै धार्मिक स्थलमात्र देखिन्छन् । ‘सबैको आ–आफ्नै धार्मिक एवं सांस्कृति महत्त्व छ,’ अग्रवालले भने । स्थानीय अग्रवाल नेपाल मारवाडी युवा संगठनका केन्द्रीय अध्यक्ष पनि हुन् । ऐतिहासिक काली मन्दिरमा राणाकालदेखि चलिआएको फूलपातीको बढाइँ बर्सेनि जारी रहेको उनले बताए । अग्रवालले भने, ‘यो नगरको इतिहास गरिमामय छ, वर्तमान र भविष्य पनि उज्ज्वल छ ।’


बजारको माझस्थित भव्य काली मन्दिरकै कारणले किराना, मिठाई, खाजा, कपडा, सौन्दर्य सामग्री एवं सुनचाँदीलगायत वरिपरिका २५ पसलको व्यापार चलेको छ । दसैंतिहारमा यो बजारमा ३० वटा मिठाई पसल थपिन्छन् । ‘दसैंमा सबै खर्च कटाएर कम्तीमा १० हजार रुपैयाँ नाफा हुन्छ,’ मिठाई व्यवसायी ३५ वर्षीय शंकर साह हलुवाईले भने । दसैंका दिन एक व्यवसायीले झन्डै ३५ हजार रुपैयाँसम्मको मिठाई बेच्ने गरेको उनले बताए । साहका अनुसार सप्तमी, अष्टमी, नवमी, एकादशी र द्वादशीमा समेत व्यवसायीले दैनिक औसत १० हजार रुपैयाँसम्मको मिठाइ बिक्री गर्छन् । धार्मिक पर्यटनले गर्दा मुस्लिम समुदायको व्यापारसमेत फस्टाएको रंगेली–८ का वेल्डिङ मिस्त्री मोहम्मद दिलसादले बताए ।


सीमावर्ती विहारको अररिया जिल्लाको फारबिसगन्जसम्मका नागरिक घुमफिर एवं पूजाआजाका लागि आइरहेको स्थानीय धार्मिक, सांस्कृतिक एवं सामाजिक अभियन्ता सञ्जीव श्रेष्ठले जानकारी दिए । ‘सिक्किमसम्मका पनि फाटफुट आउँछन्,’ उनले भने । तीन बिघा १७ कट्ठा क्षेत्रफलमा फैलिएको संसारी माईस्थान मन्दिर व्यवस्थापन समितिमा श्रेष्ठ अध्यक्ष हुन् । ‘जलाशय किनार र खेतमाझस्थित यो पूजनीय स्थलबाट श्रद्धालुले यात्रा सुरु गर्छन्, नगरका अन्य मठमन्दिरसम्म पुग्छन्,’ श्रेष्ठले भने । भक्तजनको चाप र सामुदायिक भवन निर्माणलगायतको मागलाई पूरा गर्न मन्दिर वरिपरि थप १२ कट्ठा जग्गा किनेको उनले बताए । ‘श्रद्धालुकै दानदक्षिणाबाट यो सम्भव भएको हो,’ श्रेष्ठले भने । मन्दिर व्यवस्थापन समितिले स्थानीय निकायमार्फत प्रदेश १ सरकारसमक्ष सामुदायिक भवन निर्माणका लागि प्रस्ताव पेस गरिसकेको उनले बताए ।


दैनिक औसत ५ सय भक्तजन आउने संसारी माईस्थान परिसरमा मिठाई, चियानास्ता, चुरी, चुनरी, खेलौना, औंठी एवं फूलको गरी ६० पसल छन् । यहाँ पूजा सकेर अन्यत्र जान सहज हुने गरी विद्युतीय रिक्सा सेवा पनि उपलब्ध छ । ‘प्रत्यक्ष र परोक्ष रूपले झन्डै ५ सयले रोजगार पाएका छन्,’ श्रेष्ठले भने ।


बिदाको दिन शनिबार र शुभ दिन मानिने मंगलबार संसारीमाईमा झन्डै १० हजार आउने उनले बताए । श्रेष्ठले भने, ‘यहाँ सयौं कार्टुन मिनरल वाटर बिक्री हुन्छ, यसबाटै व्यापारको अनुमान गर्न सकिन्छ ।’ यो दुई दिन बाहिरका मान्छे र अन्य दिन स्थानीय दर्शन एवं वनभोज मनाउन आउने गरेको उनले जनाए ।


खोला किनारस्थित हराभरा यो धार्मिक स्थलको मुख्य सडकमा मुख्य चाडबाडमा ५ हजार जनाको लस्कर हुने गरेको श्रेष्ठको अनुमान छ । ‘रंगेलीले पुन: आफ्नो पहिचान स्थापित गरेको छ,’ मोरङको सुनवर्षी–३ अमरदहका किसान शम्भु श्रेष्ठले भने ।


३ बिघा खेत र चार जनाको परिवार भएका उनी पनि घुमफिर गर्न रंगेली आइपुग्छन् । श्रेष्ठको घरनजिकै पर्ने पथरीशनिश्चरे बजारमा पनि दसैं मेला लाग्छ । श्रेष्ठले भने, ‘रंगेलीको जस्तो दसैं मेला मोरङमै कही हेर्न पाइन्न ।’ फेरि एकपटक रंगेली उदाहरणीय बनिरहेको सुनवर्षी–५ का योगेन्द्रप्रसाद राजवंशीले बताए ।


ऐतिहासिक महत्त्व बोकेको थलोमा जन्मिन पाएकोमा आफूलाई गर्व लागेको स्थानीय आपगाछीका २२ वर्षीय धिरज राजवंशीले बताए । विराटनगरमा स्नातक अध्ययरत उनी मोरङको कटहरी बजारको एक पेट्रोल पम्पमा काम गर्छन् । ‘दसैंमा चार दिन त मेलामा घुम्दै, खाँदै, मित्रजन एवं आफन्तलाई भेटै बित्छ,’ उनले भने, ‘रंगेलीमा नवमीदेखि द्वादशीसम्म लाग्ने मेलामा सीमावर्ती विहारसम्मका बासिन्दा आउँछन् ।’

समाचार

पहिरोपीडित बालकको मृत्यु

- कान्तिपुर संवाददाता
उपचारका क्रममा छोराको मृत्युपछि हुम्ला, चंखेली गाउँपालिका ५ का प्यामाछिरिङ तामाङ श्रीमतीका साथ मेडिकल कलेज नेपालगन्जमा ।तस्बिर : कान्तिपुर

नेपालगन्ज (कास)– सुक्खा पहिरोमा परी गम्भीर घाइते हुम्ला, चंखेली गाउँपालिका ५ का ८ वर्षीय युकेश तामाङको मृत्यु भएको छ । उनलाई एक महिनादेखि भेन्टिलेटरमा राखिएको थियो । आर्थिक अभावका कारण उपचार हुन नसकेर उनको मृत्यु भएको आफन्तले बताए ।
उनको उपचारमा दैनिक १० देखि १५ हजार रुपैयाँभन्दा बढीको औषधि लाग्ने गरेको थियो । भदौ ३० को पहिरोमा परी युकेश गम्भीर घाइते भएका थिए । उनको टाउकोमा गहिरो चोट लागेको थियो । पहिरोमा पर्ने अन्य दुईको घटनास्थलमै ज्यान गएको थियो । चार जना गम्भीर घाइते भएका थिए । घटनापछि मन्त्री, प्रदेश सांसदलगायतले सरकारका तर्फबाट नि:शुल्क उपचार गर्ने आश्वासन दिएका थिए । तर, कसैले सहयोग नगरेको परिवारको गुनासो छ ।


‘सांसदलगायतले सहयोग गर्ने आश्वासन दिएपछि छोराको उपचारमा सहयोग हुने आस थियो । तर, यस्तो दु:खमा पनि उहाँहरूबाट सहयोग पाएनौं,’ युकेशका बुबा प्यामाछिरिङ भने, ‘दु:ख पर्दा सरकारले सहयोग गरेन । आर्थिक अभावले छोराको ज्यान गयो ।’


घटनामा परी चंखेलीकै वसन्ती र अनिता तामाङको घटनास्थलमै मृत्यु भएको थियो । युकेशलाई उपचारका लागि नेपालगन्ज ल्याइएको थियो । आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या परेको थियो । आफन्तले सहयोग गरेको केही रकमले उपचारमा थोरै सहयोग पुगेको उनले बताए । ‘आफन्तले केही सहयोग गरे । ऋण पनि भयो,’ उनले भने, ‘तर पनि छोरा बचाउन सकिएन ।’


सामान्य पारिवारिक अवस्थाको तामाङ परिवारले खेतीपाती गरी जीविका चलाउँदै आएको छ । उनीहरू शोकमा डुबेका छन् । चंखेली गाउँपालिका ५ का अध्यक्ष भैरव तामाङले भने सक्दो सहयोग गरेको पारिवारिक स्रोतले बतायो । उनले आर्थिक सहयोगका लागि कर्णाली प्रदेश सरकार र संघीय सरकारसँग आग्रह गरेका थिए । उनकै पहलमा
युकेशको हेलिकप्टरबाट उद्धार सम्भव भएको हो ।


चंखेली विकट गाउँ हो । सदरमुकामबाट त्यहाँ पुग्न तीन/चार दिन लाग्छ । अस्पताल भर्ना भएकै दिन सुरुमै ६० हजार रुपैयाँ वडाध्यक्षले नै व्यवस्था गरिदिएका थिए । तामाङ परिवारले उक्त रकम जुटाउन नसकेपछि वडाध्यक्षले ऋण सापटी गरेर रकम जुटाइदिएका थिए ।

Page 16
समाचार

तलब आएन, घर जाने कसरी ?

दसैं आयो
प्रदेश मातहत सरेका कृषि ज्ञान केन्द्र, वन डिभिजन, सिँचाइ, पशु अस्पताल लगायतका कर्मचारीले तलब पाएनन्
- कान्तिपुर संवाददाता
पर्वतको मोदी गाउँपालिका–२ स्थित मैदानको देवपुरकोट मन्दिरमा आयोजित दसैंविशेष शुभकामना आदानप्रदान कार्यक्रममा भेला भएका स्थानीय ।तस्बिर : अगन्धर तिवारी/कान्तिपुर

(पर्वत)- गाउँघर र सहरबजार सबैतिर दसैंको रौनक छ । यहाँका केही कार्यालयमा कार्यरत कर्मचारीमा भने दसैं मनाउने खर्च अभावले चिन्ता बढेको छ । संघीय सरकार माताहतबाट प्रदेश सरकार अन्तर्गत स्थापना भएका कार्यालयमा कार्यरत कर्मचारीले साउनयता तलब पाएका छैनन् ।


प्रदेश मातहत सरेका कृषि ज्ञान केन्द्र, वन डिभिजन, जलस्रोत तथा सिँचाइ विकास, पशु अस्पताललगायतका कर्मचारीले तलब नपाएको बताए ।


तिनै कार्यालयमा कार्यरतमध्ये केहीको तलब आएको छ । प्रदेश सरकारले दरबन्दी कायम भएअनुसार कर्मचारीको दरबन्दी कायम गरी अख्तियारी नदिएका कारण दसैंमा पनि तलब नपाइएको कर्मचारी सुनाउँछन् ।


प्रदेश सरकारको आवश्यकताअनुसार स्थापना हुने भन्दै गत असारदेखि कृषि, वन, पशु, सिचाइ, खानेपानी, भू–संरक्षण, महिला तथा बालबालिका, शिक्षालगायत कार्यालय खारेज भएका थिए । तीमध्ये कृषि ज्ञानकेन्द्र, जलस्रोत तथा सिंचाइ, वन डिभिजन, भू तथा जलाधार कार्यालय प्रदेश सरकारअन्तर्गत रहने गरी स्थापना भएका हुन् । साउनमै स्थापना भएका यी कार्यालयका कर्मचारीले भने तीन महिनाअघिदेखि तलब पाएकै छैनन् ।


वन डिभिजनकी सूचना अधिकारी माधुरी खड्काका अनुसार तीन साताअघि प्रदेश मन्त्रालयले माग गरेबमोजिम कर्मचारी विवरण पठाइए पनि त्यसबारे कुनै सुनुवाइ भएको छैन । ‘तलबभत्ता, कार्यक्रमलगायत अख्तियारीका लागि विवरण माग भएको थियो,’ हामीले सोहीअनुसार विवरण पठायौं । रेस्पोन्स आएकै छैन ।’ साउनयताको तलब नआउँदा वन डिभिजनमा कार्यरत १२ र जिल्लाभरका सबडिभिजन कार्यालयका कुनै पनि कर्मचारीको तलब खान नपाएको उनले बताइन् ।


कृषि ज्ञानकेन्द्रका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीका अनुसार ज्ञानकेन्द्रमा १७ कर्मचारीको दरबन्दी भएकामा केहीको मात्रै दसैं पेस्कीसहित तलब आएको छ । केहीको अझै आएको छैन । ‘सबैको नआएकाले कसैले तलब लिएका छैनन्,’ रेग्मीले भने, ‘दसैंमा पनि तलब नपाएपछि साथीहरू निराश छन् ।’ जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयको अवस्था पनि उस्तै छ । कार्यालयमा एक उपसचिवसहित १० कर्मचारीको दरबन्दी भएकोमा पाँचको मात्रै दसैं पेस्कीसहित ३ महिनाको तलब स्वीकृत भएको छ ।
सबइन्जिनियर दिनेश तिमिल्सिनाका अनुसार सबै कर्मचारीको तलब नआएका कारण अख्तियारी आएकाले पनि लिएका छैनन् । ‘नयाँ कार्यालयमा प्रदेशबाट पाँच जनाको मात्रै अख्तियारी आयो,’ तिमिल्सिनाले भने, ‘पाँच जना पुरानै कार्यालयअन्तर्गतका छौं । पुरानाको अख्तियारी नआउँदा तलब रोकिएको हो ।’ ६ कर्मचारीको दरबन्दी भएको शिक्षा विकास तथा समन्वय इकाइका कर्मचारीले पनि तलवभत्ता नबुझेको इकाइ प्रमुख उद्दिमराज पौडेलले बताए ।


‘खारेजीमा परेका दरबन्दीको हकमा सम्बन्धित कार्यालयले तलबभत्ता दिने, अपुग रकम मन्त्रालयमा माग्ने निर्देशन थियो,’ पौडेलले भने, ‘पूर्णरुपमा खारेज भएका कार्यालयको हकमा प्रदेश सरकारले व्यवस्थापन गर्ने हो । सबैतिर अलमल नै छ ।’ दसैं मनाउने खर्चसमेत नभएपछि कतिपय कर्मचारी खर्च अभावकै कारण घर जानसमेत नसक्ने स्थितिमा रहेको बताए । सोमबारदेखि दसैं बिदा हुने भए पनि साउनयता तलब नपाएका कारण घर जाने स्थिति नभएको सिंचाइका प्राविधिक डिल्लीबहादुर ओलीले जनाए ।

समाचार

दैनिक १० हजार बाहिरिँदै

- कान्तिपुर संवाददाता

काभ्रे (कास)– बीपी र अरनिको राजमार्ग हुँदै दैनिक १० हजार यात्रु जिल्लाबाट बाहिरिरहेका छन् । बीपी राजमार्ग हुँदै पूर्व तथा तराईका जिल्ला र अरनिको राजमार्ग भएर सिन्धुपाल्चोक, दोलखा, रामेछाप दसैं मनाउन काभ्रे हुँदै फर्किएका हुन् ।


ट्राफिक प्रहरी पोस्ट काभ्रेभञ्ज्याङका प्रमुख उमेश थपलियाका अनुसार, दैनिक १५ सय सार्वजनिक सवारी र करिब ३ सयको हाराहारीमा निजी साधन बीपी राजमार्ग भएर बाहिरिएका छन् । ‘सवारीको चाप निकै छ,’ उनले भने, ‘दैनिक ८ देखि ९ हजार मानिस दशै मनाउन फर्किने गरेको अनुमान छ ।’ सार्वजनिक यातायातका साधनले काभ्रेभञ्ज्याङस्थित ट्राफिक प्रहरी पोस्टमा नम्बर दर्ता गराएर जाने गर्छन् । दोलखा, रामेछाप, ओखलढुंगा, उदयपुर, सोलुखुम्बु र तराईका जिल्ला जान राजमार्ग प्रयोग गरिने गरेको छ ।


अरनिको राजमार्ग हुँदै सिन्धुपाल्चोकको बाह्रविसे, चौतारालगायत क्षेत्रमा पनि दैनिक सार्वजनिक सबारीमार्फत यात्रु गाउँ फर्किरहेका छन् । ‘निजी सवारी इन्ट्री गर्ने गरेका छैनांै, दैनिक सरदर २ सय सवारी बाहिरिरहेका छन्,’ दोलालघाटस्थित ट्राफिक प्रहरी पोस्टका इन्चार्ज सञ्जीव झाले भने, ‘दोलखा, रामेछाप जाने यात्रुले बीपी राजमार्ग भएर जाने भएकाले यात्रु चाप कम छ ।’ खाडीचौरदेखि चरिकोट जाने सडक निर्माण क्रममा अस्तव्यस्त भएकाले दोलखा जानेले बीपी राजमार्ग नै प्रयोग गर्ने गरेका छन् । केही संख्यामा यात्रु मेलम्ची मार्ग हुँदै सिन्धुपाल्चोकको हेलम्बु, मेलम्चीलगायत क्षेत्रमा पनि जाने गरेका छन् ।


१० स्थानमा यात्रु सहायता कक्ष
जिल्लाका १० स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । यात्रु नठगिऊन्, क्षमताभन्दा बढी नबोकून् र दुव्र्यवहारमा नपरून् भनेर सहायताका लागि बनेपा, बनेपा बसपार्क, मंगलटार, भकुन्डेबेंसी, हिंगुवापाटी, पनौती, दोलालघाट, पाँचखाल, खावा, साँगामा कक्ष स्थापना गरिएको हो । ‘बढी यात्रु बोकेको, बढी भाडा लिएको वा कुनै दुव्र्यवहार भए तत्काल सहायता कक्षमार्फत उजुरी लिएर कारबाही गर्छौं,’ जिल्ला ट्राफिक प्रमुख निशेष चापागाईंले भने । उनका अनुसार यसबीचमा यात्रु भाडा बढी लिने ४ माइक्रोबसलाई बीपी राजमार्गमा कारबाही गरिएको छ ।

समाचार

वृद्धाश्रममा घर सम्झँदै दम्पती

- रमेशचन्द्र अधिकारी
धनकुटाको मूलघाटस्थित तमोर किनारमा रहेको विश्रान्ति वृद्धाश्रममा बसोबास गर्दै आएका वृद्ध दम्पती ।तस्बिर : रमेशचन्द्र/कान्तिपुर

 (धनकुटा) - उनीहरूलाई चाडपर्वको रौनकले छोएको छैन । दसैंको माहोल सबैतिर छाइरहँदा वृद्धाश्रममा बसेर उनीहरूले घर सम्झिरहेका छन् । ५ छोरा र ४ छोरीका बाबुआमा यतिबेला वृद्धाश्रमको एक कोठामा सीमित छन् ।


घरमा मनाएको दसैं अब उनीहरूको सम्झनामा मात्र छ । उनीहरूले यो दसैं वृद्धाश्रममा मनाउँदै छन् ।


तमोर नदी किनार मूलघाटमा अवस्थित विश्रान्ति वृद्धाश्रममा रहेका ७९ वर्षीय निधिराज सुवेदी र ७३ वर्षीया पत्नी सुकला आफ्ना सन्तान सम्झँदै बसेका छन् ।


वृद्धाश्रम आउनुअघि राम्रै हैसियतमा रहेका उनीहरू सन्तानबाट टाढिएर बस्नुपर्दा चाडबाडमा पीर पर्छ ।


चार वर्षदेखि वृद्धाश्रममा बस्दै आएका यी दम्पतीले अरू बेलाभन्दा चाडपर्वको समयमा आफन्तको यादले तडपनुपरेको बताए । ‘खै चाडपर्व भित्रिसक्यो भन्छन्,’ निधिराजले भने, ‘हाम्रा लागि वृद्धाश्रमको यो बासमा केही उमंग छैन ।’


साबिकको कुरुलेतेनुपा ३ बाट मोरङको टाँडी बसाइँ सरेर गएका उनीहरूले साथमा रहेका छोराले उपेक्षा गरेपछि वृद्धाश्रमको बाटो रोज्नुपरेको सुनाए । टाँडीमा मनग्गे जग्गा–जमिन र राम्रै हैसियतमा रहेका उनीहरू पछिल्लो समय सम्पत्तिको मोह त्यागेर शान्तिको खोजीमा लगेको बताउँछन् ।


२ छोरा काठमाडौंमा घरजम गरेर बसेको वर्षौं भयो । तर यी दम्पती राजधानीमा रहेका छोराबारे धेरै जानकार छैनन् । ‘धेरै भयो, भेटघाट नभएको’ सुकलाले आँसु
झार्दै भनिन्, ‘सहरमा भएका सन्तान सबै व्यस्त हुने भएकाले होला बाबुआमालाई सम्झन भ्याउँदैनन् ।’


साइँला छोरा मानसिक रूपमा विक्षिप्त छन् भने एक छोरी अपांग छिन् । यीबाहेक अन्य ७ सन्तानको अवस्था भने सबल रहेको उनले बताइन् । काइँला छोरा शिक्षक र दुई छोरा टाँडीमा नै कृषि व्यवसायमा संलग्न रहेको निधिराजले जनाए । राजधानीमा रहेका दुईमध्ये एक छोरा कम्प्युटरमा काम गर्छन् भन्ने मात्र थाहा छ उनलाई । अर्का छोराले ४ आना जग्गा लिएर काठमाडौंमा नै घर बनाइसकेका छन् । ठूली छोरी पनि २५ वर्ष काठमाडौं बसेर पछिल्लो समय मोरङ फर्किएकी छन् । उनमा अपांगता रहेको आमा सुकलाले बताइन् ।
साथमा रहेका छोराले आफूलाई उपेक्षा गरेकाले चित्त दुखेर वृद्धाश्रमको बाटो रोजेको उनीहरू बताउँछन् । ‘पहिले त भरसक सम्झाइबुझाइ गरेर साथै बसौं भन्ने लाग्या थ्यो,’ उनीहरूले भने, ‘नसकेपछि लु बसिराख भनेर वृद्धाश्रममा आइपुग्यौं ।’


मनमा पीर परेपछि विकल्प खोज्नुपरेको दम्पतीको भनाइ छ । ‘पहिले कस्तो र’छ भनेर हेर्न आएको थिएँ,’ निधिराजले भने, ‘सबै आफैं जस्ता उमेरका धेरै जना देखेपछि बसौं बसौं भन्ने लागेर बसियो ।’ निधिराज विश्रान्ति मन्दिरमा पुजारीको भूमिका समेत निर्वाह गर्दै छन् । पहिले टाँडीमा १ बिघा ५ कठ्ठा जग्गालाई राम्रैसँग जोतखन गर्दै कृषि व्यवसाय गर्दै आएका थिए । तर पछिल्लो समय धेरै जग्गा बाँझिएको थाहा पाएर दु:ख लागेको उनले बताए । कहिलेकाहीं समय मिलाएर घर जाने गरे पनि वृद्धाश्रममा फर्केर आइहाल्न मन लाग्न थालेको उनीहरूले सुनाए । त्यहाँ रहेका ४५ मध्ये अधिकांशले वृद्धाश्रममा नै एकापसमा दसैंको खुसियाली साटासाट गर्छन् । अधिकांशको घरभरि सन्तान भएर पनि परिवारबाट टाढिएको विश्रान्तिकी व्यवस्थापक कमला दाहालको भनाइ छ ।

समाचार

उद्यम केन्द्र सुरु

- कान्तिपुर संवाददाता

परासी (कास)– पश्चिम नवलपरासीको सुनवल नगरपालिका ७, सिसानिमा महिला उद्यम केन्द्र सञ्चालनमा आएको छ । केन्द्रमा महिलाका लागि सीपमूलक तालिम तथा उत्पादन भएका सामानको बजार प्रवद्र्धन हुनेछ । ११ लाख रुपैयाँको लागतमा निर्माण गरिएको केन्द्र तथा तालिम सञ्चालनका लागि हरेक वर्ष नगरपालिकाले बजेट विनियोजन गर्दै आएको छ ।

 

समाचार

बादीको दसैं खल्लो

निर्माण सम्पन्न नहँुदै भत्किए घर
- वसन्तप्रताप सिंह
निर्माण सम्पन्न नहँुदै भत्किएका र जोखिममा रहेका थलाराका बादी समुदायका घर ।तस्बिर : वसन्तप्रताप/कान्तिपुर

 (बझाङ) - सरकारले जनता आवास कार्यक्रमअन्तर्गत निर्माण गरिदिएका बादीका घर भत्किएका छन् । थलारा गाउँपालिका ६ को खोलीमा बस्ने बादीबस्तीका लागि बनाइएका चार घर निर्माण पूरा नहँुदै भत्किएका छन् । थप तीन पनि भत्किने अवस्थामा पुगेको स्थानीयले बताए ।


सरकारले जनता आवास कार्यक्रमअन्तर्गत थलाराको बादी बस्तीका लागि २० वटा घर निर्माण गरिदिएको थियो । ती घरमध्ये लाले, मदन, बाबाजी र विकास बादीका घर पूर्णरुपमा भत्किएका छन् । बलु, राम र गणेश वादीका घरको गाह्रो भासिएर भत्किने अवस्थामा छन् ।
सदियौंदेखि प्लास्टिकका टुक्राको ओतले बचाएका छाप्रामा बस्दै आएका विपन्न बादी समुदायका नयाँ घर पाउने भए पछि खुसीले रमाएका थिए । ‘दसैंमा नयाँ घरमा सर्ने तयारी गर्दै थियौं,’ स्थानीय मदन बादीले भने, ‘बनाइसक्न लागेका घर एक्कासि गल्र्यामगुर्लुम भत्किए ।’ बन्दाबन्दैका घर भत्किएपछि आफूहरूको वर्षाैंदेखिको पक्की घरमा बस्ने सपना अधुरै रहेको उनले बताए ।


सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बैतडीका सबओभरसियर र इन्जिनियरको प्राविधिक सुपरिवेक्षणमा आफूहरूले घर निर्माण गरेको बताउने उनीहरू गलत डिजाइन इस्टमेट दिएका कारण भत्किएको बताउँछन् ।


‘इन्जिनियरकै डिजाइन र इस्टमेटअनुसार घर बनाएका हौं,’ पीडित लालेले भने, ‘कम्मरसम्म खनेर जग हालेका थियौं कसरी भत्किए थाहै भएन ।’ खोली बजारको डाँडोमा रहेको भिरालो जमिनमा निर्माण भएका कारण पानीले माटो गलेर भत्किएको हुन सक्ने उनले बताए । उनले भने, ‘अफिसका प्राविधिक आएर पटकपटक हेरेर ठीकै छ भनेका हुन् । घर सर्ने तयारी गरिरहेका बेला एकै रातमा भत्किएर झ्याल ढोकासहित खोला पुगे ।’ सुरक्षित आवासको अभावमा वर्षाैंदेखि बर्खाको झरी र हिउँदको जाडोसँग संघर्ष गरिरहेका उनीहरू बन्दै गरेका घर भत्किँदा थप समस्या परेको बताउँछन् । पुराना छाप्रा भत्काएर नयाँ घर बनाउन लागेका उनीहरूले एक वर्ष स्थानीय गैरदलितको गोठमा आश्रय लिएर बसेका थिए ।


यता जनता आवास कार्यक्रम कार्यान्वयन जिम्मा लिएको सहरी विकास तथा भवन निर्माण डिभिजनका इन्जिनियर शिवराम महर्जनले आफूहरूलाई बादीको घर भत्किएको विषयमा कुनै जानकारी नभएको बताए । सवइन्जिनियर स्तरको कर्मचारीको प्रत्यक्ष सुपरिवेक्षणमा घर निर्माण भएको बताउने उनले त्यहाँको स्थलगत अवलोकनपछि मात्र के कारणले घर भत्किएका हुन् भन्ने थाहा हुने जानकारी दिए ।


उनले बादीले भत्किएका घर पुनर्निर्माण गर्नुपर्ने बताउँदै त्यसो नगरिए अन्तिम किस्ताबापत भुक्तानी गर्न बाँकी रकम रोक्का गरिने बताए । घर भत्किएको जिम्मा बादीले लिनुपर्ने बताउँदै उनले भने, ‘जे कारणले घर भत्किएको भए पनि उनीहरूले बनाउनुपर्छ । घर पूरा नभए हामी भुक्तानी रोक्छौ ।’


तर बादी समुदायका मानिसहरू भने आफूहरूलाई दसैं खर्चसमेत नभएको अवस्थामा भत्किएका घर पुनर्निर्माण गर्न नसक्ने बताउँछन् । बाबाजी बादी भन्छन्, ‘बिहान बेलुका खानका लागि त गाउँ डुलेर मागेर ल्याउँछौं । यत्रो घर कसरी बनाउने ?’


बझाङका विपन्न दलित परिवारका लागी भनेर जनता आवास कार्यक्रमले १ सय घर निर्माण गरेको थियो । साविक कोटभैरव र चैनपुर गाविस गरी पहिलो चरणमा २८ परिवार बादीको घर बनाउने कार्यक्रम थियो । कार्यक्रमले घर निर्माणका लागि प्रतिपरिवार २ लाख ३३ हजारका दरले ३ किस्तामा रकम उपलब्ध गराउने सम्झौता गरेको थियो ।

समाचार

केन्द्रीय सहसंयोजक पक्राउ

छोटकरी
- कान्तिपुर संवाददाता

परासी (कास)– स्वतन्त्र मधेस गठबन्धन (सीके राउत समूह)का सहसंयोजक कैलाश महतोलाई पश्चिम नवलपरासीको परासीबाट प्रहरीले नियन्त्रणमा लिएको छ । शनिबार बेलुका सदरमुकामस्थित बुद्धचोकमा भाषण गरिरहेको अवस्थामा महतोलगायत २४ जना नेता/कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले बताए । अन्यलाई शनिबार बेलुका नै छोडे पनि केन्द्रीय सहसंयोजक महतो र जिल्ला संयोजक श्रीकृष्ण यादवलाई भने मुद्दा चलाइएको छ । महोत्तरी स्थायी घर भएका महतो लामो समयदेखि परासीमा अध्यापन पेसामा आबद्ध थिए । स्वतन्त्र मधेस गठबन्धन गठन भएपछि यो संगठनमा लागेका उनी यसका दोस्रो तहका नेता रहेको प्रहरीको दाबी छ । महतोमाथि राष्ट्रिय अखण्डतामा खलल पुर्‍याउने अभिव्यक्ति दिएको आरोपमा ‘राज्यविरुद्धको कसूर’अन्तर्गत मुद्दा चलाइएको पश्चिम नवलपरासीका प्रहरी प्रमुख एसपी राजेन्द्र भट्टले बताए ।

समाचार

कछुवा समात्दा थुनामा

छोटकरी
- कान्तिपुर संवाददाता

कपिलवस्तु (कास)– अदालतले तोकेको धरौटी रकम तिर्न नसक्दा संरक्षित वन्यजन्तु चोरी सिकारीको मुद्दामा दुई जना जेल चलान भएका छन् । महराजगन्ज जिल्ला इन्द्रनगर पिपराडेरा बस्ने गिरिधारी बन्जरा, राजकुमार बन्जरा र बखु बन्जरा कारागार चलान भएका हुन् । संरक्षित वन्यजन्तु उभयचर कटैया प्रजातिका कछुवा वाँणगंगा नगरपालिका ७, कोइली बनगाई पुल तलको तालबाट बाहिर झिकेर लैजान लाग्दा उनीहरू पक्राउ परेका थिए । १० देखि १२ किलो तौलका दुई कछुवा डिभिजन वन कार्यालयमा छन् । गैरकानुनी रूपमा कछुवा समातेको भन्दै डिभिजन वनले जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । अदालतले जनही १ लाख २० हजार धरौटी माग गरेको थियो । धरौटी बुझाउन नसकेपछि उनीहरू थुनामा परेका हुन् ।

समाचार

सडक बत्ती नहुँदा सास्ती

छोटकरी
- कान्तिपुर संवाददाता

बर्दिया (कास)– जिल्लाको सदरमुकाम गुलरिया नगरपालिकामा सडक बत्ती मर्मत नहुँदा पैदल यात्रुलाई समस्या परेको छ । नगर क्षेत्रको उद्योग वाणिज्य संघ रोड, जिसस रोड, मिलन टोल, चाइना लङ फुटलगायत मठ मन्दिर जाने सडकमा बत्ती बिग्रिएको महिनौं भएको छ । मर्मत नहुँदा चाडपर्वमा मन्दिर जाने श्रद्धालु अँध्यारो सडकमा हिँड्न बाध्य छन् । विगतका दसैं, तिहारमा नगरले सडक बत्ती बाल्ने गरे पनि यस वर्ष कुनै चासो नदिएको स्थानीयको गुनासो छ । ‘कागजमा मर्मत सम्भार भएको लेखिन्छ,’ स्थानीय हीरादेवी शर्माले भनिन्, ‘जनप्रतिनिधि आए विकासका काम हुने आसमा बसेका नगरवासी सडक बत्ती अभावले अँध्यारोमै सडक पेटीमा हिंड्न बाध्य छन् ।’ नगरपालिकाले सडक बत्ती जडान र मर्मतमा वार्षिक १० लाख बजेट खर्च गर्दै आएको छ । कर पनि लिन्छ तर सुविधा केही पनि नभएको गुलरिया ५ का गंगा थारूले बताए ।

Page 17
अर्थ वाणिज्य

खसीबोका बजार: संस्थानको उपस्थिति नाम मात्रैको

राजधानीमा दसैंभर ६० हजार खसीबोका तथा च्यांग्रा किनबेच हुने अनुमान गरिएकामा संस्थानले १ हजार २ सय वटा किनेर बेच्न थालेको छ
- राजु चौधरी

(काठमाडौं) - खाद्य संस्थानले दसैंका लागि खसीबोका तथा च्यांग्राको बजारमा नाम मात्रैको उपस्थिति जनाएको छ । दैनिक ३ हजारभन्दा बढी खसीबोका किनबेच हुने काठमाडौं उपत्यकाका लागि उसले एक/एक हजार खसीबोका र र च्यांग्रा खरिद गर्ने लक्ष्य राखेको थियो ।
संस्थानका अञ्चल प्रमुख सुरेन्द्र विष्टका अनुसार संस्थानले एक हजार च्यांग्रा खरिद गर्ने लक्ष्य राखेको थियो । संस्थानले खरिद गरेका ९ सय ८५ वटा च्यांग्रामध्ये ७५ वटा बाटामै मरेको उनले बताए । संस्थानले खसीबोका ३ सय ७ वटा मात्रै खरिद गरेको विष्टले बताए । गत वर्ष संस्थानले २ हजार ५ सय खसीबोका र च्यांग्रा किन्ने लक्ष्य राखेको संस्थानले ७ सय बोका र ९ सय च्यांग्रा खरिद गरेको थियो ।


निजी व्यवसायीभन्दा प्रतिकिलो ५० रुपैयाँ सस्तोमा संस्थानले खसीबोका र च्यांग्रा बिक्री गरेको छ । थोरै परिमाणमा खसीबोका कारोबार गरेर संस्थानले बजार हस्तक्षेप गर्न सकेको छैन । हाल संस्थानले प्रतिकिलो खसीबोका ५ सय रुपैयाँ र च्यांग्रा ७ सय रुपैयाँमा बिक्री गरेको छ । चौपाया व्यवसायी संघ कलंकीले प्रतिकिलो खसीबोका ५ सय ५० रुपैयाँसम्म र च्यांग्रा ७ सय ५० रुपैयाँमा बिक्री गर्दै आएको छ ।


व्यवसायीको तुलनामा किलोमै ५० रुपैयाँ सस्तो भएपछि खसीबोका किन्नेको भीड छ । उपभोक्ताको मागअनुसार संस्थानले उपलब्ध गराउन सकेको छैन । ‘सरकारको छुट दिने योजनाअनुसार व्यवस्थापनले निर्धारण गरेको मूल्यअनुसार ५० रुपैयाँ सस्तो छ,’ संस्थानका प्रवक्ता शंकर सापकोटाले भने, ‘सस्तो भएकाले भीडभाड बढी छ । खसीबोका लगभग सकिएको छ ।’ संस्थानले तोकेको मूल्य निजी व्यवसायीको भन्दा केही सस्तो भए पनि गत वर्षको तुलनामा खसीबोकामा ४५ रुपैयाँ र च्यांग्रामा २५ रुपैयाँ महँगो छ । संस्थानले भने ढुवानी भाडा महँगो भएकै कारण केही मूल्य बढेको दाबी गरेको छ ।


‘संस्थानले प्रतिकिलो ४ सय ३० रुपैयाँमा खरिद गरेको थियो । व्यवसायीहरूले ४ सय ६० रुपैयाँसम्म बढी तिरेर खरिद गरे,’ उनले भने, ‘किसानले राम्रो मूल्य पाए, तर, संस्थानको खरिद गर्ने लक्ष्य पुगेन ।’ किसानले मूल्य बढाएपछि संस्थानले मूल्य बढाएर पुन: पत्रचार गरेको थियो । प्रविधिक कारणले ढिलाइ भएको उनले बताए । संस्थानले च्यांग्रा मुस्ताङबाट र खसीबोका हेटौंडाबाट खरिद गरेको हो । खसीबोका खरिद गर्न जिल्ला प्रमुख अधिकारीको संयोजकत्वमा खरिद कमिटी गठन गरेको छ । स्थानीय प्रशासनले बजार मूल्य निर्धारण गर्छ । त्यसपश्चात् काठमाडौंमा ल्याउन ढुवानी भाडा र बजार मूल्यअनुसार बिक्री मूल्य निर्धारण गरेको जनाएको छ ।


संस्थानले खरिद गरेको च्यांग्रामध्ये ५ सय ३० वटा बिकिसकेका छन् । खसीबोका ७/८ वटा मात्र बाँकी छन् । उता संघका पूर्वअध्यक्ष दीपक थापाका अनुसार खसी किन्ने ग्राहकको संख्या दैनिक बढदै गएको छ । ‘शनिबारबाट चहलपहल धेरै बढेको छ । दैनिक ३ हजारभन्दा बढी खसीबोका बिक्री भएको छ,’ उनले भने । फुलपातीदेखि नवमीसम्म दैनिक ४ हजार बिक्री हुने उनले दाबी गरे ।


खसीबोकाको माग बढ्दै गएकाले मूल्य बढ्ने सम्भावना रहेको उनले बताए । ‘अहिले सामान्य मूल्यमा बिक्री गरिरहेका छौं । सोमबारबाट केही बढ्न सक्छ,’ उनले भने । संघका अनुसार दसैंमा खसीबोका र च्यांग्रा गरेर करिब ६० हजार बिक्री हुन सक्छ । ‘८ हजार च्यांग्रा उपत्यका भित्र्याइसकेका छौं । च्यांग्रा १५ हजार वटा बिक्री हुने अनुमान गरेका छांै,’ उनले भने, ‘खसीबोका पनि ४५ हजारको हाराहारीमा बिक्री हुन्छ ।’ संघले गत वर्षको तुलनामा खसीबोका ७० रुपैयाँ र च्यांग्रा ३० रुपैयाँ महँगोमा बिक्री गरिरहेको छ ।


माग बढेपछि व्यवसायीले मनपरी रूपमा भाउ तोक्दै आएका छन् । व्यवसायीहरूले भने स्थानीय सरकारले विभिन्न शीर्षकमा कर लगाएकाले खसीबोकाको मूल्य बढेको दाबी गर्छन् । उनीहरूका अनुसार भन्सारमा ५ प्रतिशत कर लागेपछि नगरपालिकाले पनि थप लगाएका छन् । जसले गर्दा मूल्यमा बढेको उनीहरूको दाबी छ । बिक्री मूल्य पनि तलमाथि भइरहने उनीहरूको दाबी छ । व्यवसायीहरूले तराई, भारत र चीनबाट समेत आयात गर्छन् । भारतबाट मात्रै करिब ६५ प्रतिशत खसीबोका आयात हुन्छ । भारतको मुख्यत: उत्तरप्रदेशबाट खसीबोका खरिद हुन्छ ।

अर्थ वाणिज्य

सिक्टा नहर भत्किनुको दोष माटालाई

निर्माण सुरु भएको ४/५ वर्षमा घुलनशील माटाले दु:ख दिन थाल्यो । हाम्रा लागि यो नौलो समस्या हो : सचिव सञ्जय शर्मा
- कान्तिपुर संवाददाता

(काठमाडौं) - घुलनशील माटोका कारण सिक्टा सिँचाइ आयोजनाको नहर भत्किएको विषयमा छानबिन समितिले निष्कर्ष निकालेको छ ।


नहर निर्माणस्थलको माटो परीक्षण गर्दा घुलनशीलताबारे आकलन नभएकाले भत्किन गएको छानबिन प्रतिवेदनले औंल्याएको हो । घुलनशील माटोमा नहरको संरचना जोगाउन थप घुलनशील नहुने माटो प्रयोग गर्नुपर्ने सुझावसमेत छ । बाँध हालको भन्दा थप बलियो बनाउनुपर्ने सुझाव पनि समितिले दिएको छ ।


राष्ट्रिय गौरवको यो आयोजनाको मूल नहर परीक्षणका क्रममा भत्किएपछि छानबिनका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सहसचिव सुशीलचन्द्र तिवारीको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । प्रतिवेदन सार्वजनिक गर्दै सिँचाइ सचिव सञ्जय शर्माले आयोजना घुलनशील माटाले आयोजना निर्माण सुरु भएको ४/५ वर्षमा दु:ख दिन थालेको बताए । ‘आयोजना निर्माणपूर्व विस्तृत परियोजना अध्ययनको क्रममा घुलनशील माटोबारे कुनै आकलन भएन,’ उनले भने, ‘हाम्रो लागि यो नौलो समस्या हो ।’


नहरको मुख्यत: २० देखि ३५ किलोमिटर खण्डमा उच्च भाग र माटो भरेर निर्माण गरिएको स्थानमा नहर भत्किने समस्या देखिएको छानबिन समितिको प्रतिवेदनमा जनाइएको छ । माटोको घुलनशील भाग पानीसँगै घुलेर बाँधको खुला भागबाट निस्किएर बढ्दै गएकाले नहर भत्किएको प्रतिवेनमा उल्लेख गरिएको छ ।


ठेक्का व्यवस्थापन पक्ष कमजोर र विगतमा गठित समितिहरूले दिएका सुझाव कार्यान्वयनमा ढिलाइ हुँदा सिक्टा सिँचाइ आयोजनाको नहर भत्किने समस्या थप जटिल बन्दै गएको समितिको निष्कर्ष छ । नहरको संरचनामा सुधार गर्न यसको बाँध र नहरलाई सहायता गर्ने गरी रिटेनिङ वाल निर्माण गर्नुपर्ने, अघुलनशील माटोको प्रयोग गरी नहरको सुदृढीकरण गर्नुपर्ने सुझाव प्रतिवेदनमा दिइएको छ । भदौ २३ गते गठित समितिले शुक्रबार मन्त्री वर्षमान पुनलाई प्रतिवेदन बुझाएको हो । उक्त प्रतिवेदनबारे आइतबार मन्त्रालयले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।


मूल नहरको सुरक्षाका लागि चुरेबाट बग्ने खोलाहरूमा बर्सेनि जम्मा हुने ढुंगागिट्टीको व्यवस्थापन गर्नुपर्ने, नहरको निकासको संरचनाको सुधार गर्नुपर्ने, आवश्यक स्थापनमा थप स्पिल वे (पानी बाहिरिने स्थान) को व्यवस्था गर्नुपर्ने, रासायनिक विधि अपनाएर माटोको गुणस्तर सुधार गर्नुपर्ने जस्ता सुझाव पनि दिएको छ ।


सिक्टा सिँचाइ आयोजनाको मूल नहर परीक्षणको क्रममा २ पटक भत्किइसकेको छ । मूल नहर परीक्षणका क्रममा पहिलो पटक २०७३ असार १४ गते भत्किएको थियो । यस्तै यही वर्ष साउनको पहिलो साता परीक्षणका क्रममा पनि मूल नहर भत्किएको थियो । आयोजना परीक्षणको क्रममै भत्किएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि आयोजना निर्माणबारे चासो राखेको थियो ।


सिक्टाबारे तयार पारिएको प्रतिवेदन आइतबारै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत दिइएको समिति संयोजक तिवारीेले जानकारी दिए । यो आयोजनाको गुणस्तर र कामप्रति महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा समेत प्रश्न उठाइएको छ । ‘सतहमै देखिने घुलनशील माटोको पहिचान, विश्लेषण र उपचारको व्यवस्था नगरी नहर निर्माण गर्नाले योजना तयारी चरणमा पर्याप्त ध्यान पुगेको देखिएन,’ महालेखाको पचपन्नौं प्रतिवेदनमा भनिएको छ ।


प्रतिवेदनमा आयोजना निर्माण कार्यको गुणस्तरमा पुनरावलोकन गर्नुपर्ने सुझाव दिइएको छ । आयोजना निर्माण सुरु भएको ११ वर्ष बिते पनि अहिलेसम्म आधा काम मात्रै भएको छ । यो आयोजना कालिका कन्स्ट्रक्सनले निर्माण गरिरहेको छ ।


आयोजना २८ महिनाभित्र सम्पन्न गर्न २०७३ असार ६ मा सम्झौता भएको थियो । बाँकेको अगैयास्थित राप्ती नदीमा बाँध निर्माण गरी करिब ४३ हजार हेक्टरमा सिँचाइ सुविधा पुर्‍याउने उद्देश्य रहेको आयोजना २०६० देखि निर्माण सुरु भएको हो । आयोजनाको सुरुवाती लागत करिब साढे ७ अर्ब अनुमान गरिएको थियो । तर, ५ वर्षअघि आयोजनाको लागत संशोधन गर्दै २५ अर्ब पुर्‍याइएको थियो । यो आयोजना आर्थिक वर्ष २०७६/२०७७ सम्म सम्पन्न गर्ने लक्ष्य छ ।

Page 18
अर्थ वाणिज्य

तस्करी रोक्न सघाउँछौं : चीन

- बलराम घिमिरे

 (रसुवा) - रसुवागढी नाकाबाट हुन सक्ने सुनलगायत सबै मालवस्तुहरूको चोरी तस्करी नियन्त्रण गर्न चिनियाँ अधिकारीले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।


केरुङमा नेपाल र चीनका सीमावर्ती जिल्लाका सुरक्षा अधिकारीहरूबीच बुधबार भएको छलफलमा कार्यक्रममा सुनलगायत सबै मालवस्तुहरूको चोरी तस्करी नियन्त्रण गर्न चिनियाँ अधिकारीले सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् । पछिल्लो समय तस्करले रसुवागढी नाकाको प्रयोग गर्न थालेपछि नियन्त्रण गर्न बैठकमा नेपाली पक्षले चिनियाँ अधिकारीहरूलाई अनुरोध गरेको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए ।


‘चाडपर्वमा हुन सक्ने सुनलगायत सबै मालवस्तुको तस्करी नियन्त्रण गर्न चिनियाँ पक्षले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ,’ उनले भने, ‘नाकाबाट हुन सक्ने सुनलगायत सबै मालवस्तुको चोरी तस्करी नियन्त्रण गर्न चिनियाँ भन्सार कार्यालयलाई चनाखो बनाउने कुरामा चिनियाँ अधिकारीले प्रतिबद्धता जनाएका छन् ।’


चीनको केरुङसम्म जानका लागि रसुवाबासीलगायत अन्य जिल्लाका बासिन्दालाई एकदिने पास र व्यवसायीलाई बिजनेस पासको व्यवस्था लागू गर्न नेपाली पक्षले बैठकमा पुन: चिनियाँ अधिकारीहरूलाई अनुरोध गरेको छ । चिनियाँ अधिकारीले दुई देशबीचको व्यापार सहजीकरण गर्नका लागि ट्रान्सपोर्टेसन एग्रिमेन्टको तयारी भइरहेको बैठकमा बताएका छन् ।


चिनियाँ अधिकारीहरूलाई नेपाली पक्षले वान डे पास नहुँदा व्यापार सहजीकरण असहज भएको बैठकमा बताएका थिए । वान डे पासको व्यवस्था नहुँदा रसुवा जिल्लाभन्दा बाहिरका व्यापारीलाई व्यापार व्यवसाय गर्न असहज भएको छ । जिल्लाभन्दा बाहिरका व्यापारी र गाडी चालकसमेत केरुङ जान पाइरहेका छैनन् । जिल्लाभन्दा बाहिरका चालक र व्यापारी एकदिने पासको व्यवस्था नहुँदा केरुङसम्म जान नसकेको गुनासो गरे । रसुवा जिल्लाभन्दा बाहिरका व्यापारी र चालकलाई केरुङसम्म जाने पहुँच छैन । केरुङसम्म जान खुकुलो व्यवस्था भए व्यापार–व्यवसायले गति लिने व्यापारीहरू बताउँछन् ।


बैठकमा नेपालको तर्फबाट रसुवा जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेललगायत भन्सार र सुरक्षा अधिकारी तथा चिनियाँ पक्षबाट जनवादी गणतन्त्र चीनको केरुङस्थित फ्रन्टायर इन्स्पेक्सन स्टेसनका मेजर केर्नेल गाओ हुइहाईसहित भन्सार, अध्यागमन, क्वारेन्टाइन र सुरक्षा अधिकारीहरूको सहभागिता थियो ।


भूकम्पले क्षति गरेका जिल्लाका तीन वटा विद्यालय चीन सरकाले बनाउने सहमति भएकामा अहिलेसम्म निर्माण सुरु नभएको विषयमा नेपाली पक्षबाट अनुरोध भएकामा छिट्टै निर्माण सुरु गरिने कुरामा चिनियाँ पक्षबाट सकारात्मक जवाफ प्राप्त भएको छ । नाकामा रहेका दुवै देशका सुरक्षा अधिकारीहरूलाई भाषागत क्षमता विकासमा सहयोग गर्न चिनियाँ पक्षले सहयोग गर्ने बैठकमा बताएका छन् । दुवै देशका स्थानीय प्रशासन, भन्सार अध्यागमन तथा सुरक्षा निकायबीच समयसमयमा बैठक बसी दुवै पक्षको समन्वयमा थप प्रभावकारी बनाउने छलफल भएको प्रजिअ पौडेलले बताए ।

अर्थ वाणिज्य

कामदार शोषण नगर्न श्रममन्त्रीको आग्रह

‘एनआरएनका जिम्मेवार साथीहरूले आजाद भिसा, भिजिट भिसाका नाममा पैसा असुलेको गुनासो आइरहेको छ’
- कान्तिपुर संवाददाता

(काठमाडौं)- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले गैरआवासीय नेपाली संघ (एनआरएनए) को आवरणमा नेपालीमाथि शोषण र ठगी गर्नेेप्रति सचेत रहन एनआरएनए पदाधिकारीलाई आग्रह गरेका छन् ।


मन्त्री विष्टले एनआरएनएका पदाधिकारीलाई संगठनभित्र रहेर कामदारमाथि शोषण र ठगी भइरहेका सूचना प्राप्त भइरहेको जानकारी दिए । ‘श्रम गन्तव्य देशमा थुप्रै एनआरएनका जिम्मेवार साथीहरूले आजाद भिसा, भिजिट भिसाका नाममा पैसा असुल्न संलग्न भएको र उनीहरूबाट शोषण भयो भन्ने गुनासो आइरहेको छ,’ एनआरएनए पदाधिकारीहरूसँगको अन्तरक्रियामा उनले भने, ‘एनआरएनका साथीहरूले यस्तो गर्छन् भन्ने मलाई विश्वास छैन । विश्वास नलाग्दा नलाग्दै पनि यो समस्या गम्भीर ढंगले आएको छ । यतातिर तपाईहरूको ध्यान जाओस् ।’
उनले एनआरएनको नाममा ठग्ने स्थिति भएमा तथ्य बुझेर रेडकर्नर नोटिस जारी गर्ने र थुन्ने बताए । ‘एनआरएनको साख जोगाउने काम तपाईहरूबाटै हुनुपर्छ । यस्ता कार्यमा बेलैमा ध्यान पुर्‍याइएन भने भोलि संस्था नै बद्नाम हुन पुग्छ,’ उनले भने ।


एनआरएनका महासचिव बद्री केसीले ठगीमा संलग्न हुनेलाई कारबाही गर्न सरकारलाई सहयोग गर्ने बताए । ‘सरकारलाई प्राप्त सूचना हामीलाई दिनुभएमा संघले कारबाही गर्नेछ,’ उनले भने, ‘कोही व्यक्ति यस्तो कार्यमा संलग्न भएमा हामी सरकारलाई सूचना दिनेछौं ।’


मन्त्री विष्टले श्रमिकको सवालमा एनआरएनएले उठाएका मुद्दाहरूलाई सम्बोधन गरिसकेको बताए । एनआरएनका खाडी संयोजक आरके शर्माले मन्त्रीसमक्ष दुबई सम्मेलनले उठाएका विषयबारे अवगत गराएका थिए । जम्मा दर्जनभन्दा बढी एजेन्डा छन् । शर्माका अनुसार दूतावासबाट मागपत्र प्रमाणीकरणलाई प्रभावकारी बनाइनुपर्ने, विदेशबाट फर्केका कामदारको सीप परीक्षण हुनुपर्ने, कामदारलाई सामाजिक सुरक्षाभित्र ल्याउनुपर्ने, कामदारको शून्य लागतलाई कार्यान्वयन गर्न गन्तव्य देशसँग श्रम सम्झौता गर्नुपर्ने प्रमुख मुद्दाहरू हुन् ।


त्यस्तै दूतावासबाटै पुन: श्रम स्वीकृति दिने व्यवस्था यथाशीघ्र कार्यान्वयनमा ल्याउन, बिदामा घर गएका खाडी क्षेत्रमा कार्यरत घरेलु कामदारलाई सोही रोजगारदाताकहाँ काम गर्न चाहेमा अभिलेखीकरण गरी श्रम स्वीकृति दिन, एक हजारभन्दा बढी महिलाहरू कार्यरत देशमा आवश्यकताअनुसार संंरक्षण गृह बनाउन र श्रम सहचारी व्यवस्थालगायत विषयमा उनले जानकारी दिए ।


‘राज्यको दायित्व जनताको जीउधनको सुरक्षा गर्नु हो । त्यसकारण हामी कतिपय कुराको बहकाउमा नलागी आम नागरिकको जीउधनको सुरक्षाका लागि काम गरिरहेको छौं,’ उनले भने, ‘नागरिकको सुरक्षा हुने गरी दुई देशबीच श्रम सम्झौता गरेर मात्रै कामदार पठाउने हो ।’


सामाजिक सुुरक्षाभित्र ल्याउने
प्रवासमा कार्यरत नेपालीको सामाजिक सुरक्षाका लागि सरकारले तयारी गरिरहेको मन्त्री विष्टले बताए । यसका लागि कानुनी संरचना बनाउन कार्यदलले काम गरिरहेको छ । ‘जवानीमा श्रम गर्छन् । फर्किंदा खाली हात आँउछन् । राज्यले छुट्टै कानुनी संरचना गरेर सम्बोधन गर्छ,’ उनले भने, ‘कानुनबमोजिम संरचना तयार गर्न सचिवको नेतृत्वमा बनेको कार्यदलले सम्भावनाबारे काम गरिरहेको छ । श्रमिकको सुरक्षाका लागि गर्नुपर्ने विषयमा कन्जुस्याइँ राख्दैन ।’


श्रम सचिव महेशप्रसाद दाहालले सञ्चय कोषभित्रै एउटा विभाग बनाउने काम अगाडि बढेको बताए । ‘लगानीको प्रतिफल परिवारलाई दिने गरी काम अगाडि बढेको छ । हामीले सामाजिक सुरक्षा कोषमार्फत परिवारलाई राहत दिने योजना पनि बनाएका छौं,’ उनले भने ।


एनआरएनका सचिव डीबी क्षेत्रीले कामदारको सामाजिक सुरक्षा निकै महत्त्वपूर्ण विषय भएको बताए । ‘६ वर्षदेखि यो मुद्दालाई गम्भीरतापूर्वक उठाइरहेको छ । हामी सरकारलाई साथ दिन चाहन्छौं,’ उनले भने, ‘यो अभियानमा संघ आफैंले पैसा उठाउने होइन ।’


मन्त्री विष्टले सीपयुक्त जनशक्ति उत्पादनका लागि पूर्वाधारको विकास भइरहेको बताए । उनले पूर्वाधार बनेपछि मात्रै वैदेशिक रोजगारीमा बिनासीप कामदार पठाउन बन्द गर्ने बताए । ‘सबै प्रदेशमा सीप दिने तालिम केन्द्र बनाउने योजना छ । झन्डै वर्षमा तीन लाखसम्म जनशक्तिलाई सीप प्रदान गर्ने लक्ष्य राखेको छ,’ उनले भने, ‘त्यसका लागि आवश्यक काम भइरहेको छ ।’


संघका अध्यक्ष भवन भट्टले सीप केन्द्र स्थापना गर्न आफूहरू तयार रहेको बताए । ‘सीप केन्द्र बनाउने अभियानमा हाम्रो साथ हुनेछ,’ उनले भने । सरकारले फर्केका कामदारको सीप परिक्षण गर्न सुरुवात भइसकेको उनले बताए । ‘असोज १५ गतेदेखि फर्केका कामदारको तथ्यांक राख्न सुरु भइसकेको छ,’ उनले भने, ‘यसलाई थप व्यवस्थित बनाउन जरुरी छ ।’

अर्थ वाणिज्य

खसीबोका अभाव

पहिले दसैं सुरु हुनुभन्दा एक साताअघिदेखि नै तिब्बतका व्यापारीले जिल्लाको वसन्तपुर बजारसम्म बिक्रीका लागि हूलका हूल भेंडा र च्यांग्रा ल्याउँथे
- कान्तिपुर संवाददाता

(तेह्रथुम) - दसैंलाई लक्ष्य गरी व्यापारीले यस पटक चीनबाट भेडाच्यांग्रा नल्याउँदा पूर्वका पहाडी जिल्लामा खसीबोकाको अभाव भएको छ । संखुवासभा र ताप्लेजुङको उच्चपहाडी क्षेत्रबाट समेत यसपटक व्यापारीले खसी र च्यांग्रा नल्याएकाले मासुका लागि पहाडमा खसीबोकाको अभाव भएको हो ।


तराई तथा सहर बजारदेखि दसैंका लागि खसीबोका किन्न गाउँ पसेका दर्जनौं व्यापारी खसी नभेटेर रित्तो हात फर्किरहेका छन् । दिनभर गाउँ चाहार्दा पनि भने जस्तो खसी नभेटिएपछि सुनसरीको दुहबीदेखि पहाडको खसी किन्न धनकुटाको सिधुवा बजार आएका विजय खडका बुधबार रित्तै फर्किएका छन् ।


‘पहिलेको दसैंमा त रामै्र खसी भेटिन्थ्यो,’ उनले भने, ‘यो वर्ष त दु:ख मात्र पाइयो ।’ गाउँ र स्थानीय बजारमा भेटिएका खसीबोकाको मूल्यसमेत बढेकाले खसीबोका किन्न नसकिएको
उनले बताए ।


साताअघि मात्र पहाडका किसान र व्यापारीले समेत खसीबोकाको मासुमा प्रतिकेजी ५० रुपैयाँ मूल्य वृद्धि गरेका छन् । जसका कारण पनि पहाडमा खसीबोकाको मूल्य ह्वात्तै बढेको छ । पहाडका खसीको मासु स्वादिलो हुने भन्दै पूर्वी तराईका व्यापारीसमेत खसीबोका किन्न पहाड उक्लिने गरेका छन् ।


अघिल्लो वर्षको दसैंमा आफूले वर्षभरि पालेका खसीबोका बिक्री गर्न बजारतर्फ निस्कने किसान यो वर्ष न्यून देखिएका छन् । जिल्लाको संक्रान्ति, चुहानडाँडा, म्याङलुङ, वसन्तपुर, लसुने, जिरिखिम्ती, शुक्रबारेलगायत मुख्य बजारमा खसीबोका बिक्री गर्न आउने किसान कम देखिएका छन् ।


खसी बिक्रीका लागि ल्याउने किसानको संख्या भने गत वर्षको तुलनामा न्यून छ । खसी व्यापारी देवेन्द्र श्रेष्ठका अनुसार गाउँमा खसीपालन गर्ने किसानको संख्या घटिरहेकाले पनि अभाव भएको हो ।


गाउँमा रहेका सामुदायिक वनमा वस्तु चराउन उपभोक्ता समितिले प्रतिबन्ध लगाएपछि पछिल्ला वर्षहरूमा व्यावसायिक बाख्रापालन गिर्दो अवस्थामा छ । वन पाखा र जंगलमा भेंडाबाख्रा चराउन नपाएपछि धेरै किसानले व्यावसायिक बाख्रा पाल्नसमेत छाडेका छन् ।


बाख्रा पाल्न छाडेपछि मासुको अभाव चुलिँदै गएको लालीगुराँस नगरपािलका ७ सुङनामका किसान अम्बरबहादुर लिम्बुले बताए । यसको असर किसानदेखि व्यापारीसम्मलाई परेको छ । गाउँमा पालिएका खसीबोकाले त्यहीका बासिन्दालाई नपुगेपछि अघिल्ला वर्षहरूमा घरैमा खसी पाल्ने किसानसमेत यो वर्षको दसैंका लागि अन्यत्रको गाउँतर्फ खसी खोज्न निस्किएका छन् । गाउँमा खसीबोकाको अभाव भएपछि दसैंको मुखमा मासुको मूल्य अकासिएको छ । पहिले दसैं सुरु हुनुभन्दा एक साताअघिदेखि नै तिब्बतका व्यापारीले जिल्लाको वसन्तपुर बजारसम्म बिक्रीका लागि हूलका हूल भेंडा र च्यांग्रा ल्याउँथे । यी भेंडाच्यांग्राले जिल्लाको मासुको माग दसैंमा ३० प्रतिशत धान्थ्यो । तर गत पाँच वर्षदेखि भेंडाच्यांग्रा यहाँका बजारमा आएका छैनन् ।

Page 19
खेलकुद

नेदरल्यान्ड्सविरुद्धको हारले लोमाथि दबाब

- कान्तिपुर संवाददाता
नेदरल्यान्ड्सका कप्तान भर्जिल भान डिक गोल गरेपछि (दायाँ) । हारपछि निराश जर्मनीका कप्तान म्यानुएल नोए ।तस्बिरहरू : एएफपी

आम्सटर्डम (एएफपी) - नेदरल्यान्ड्सविरुद्ध लज्जास्पद रूपमा ३–० ले हारेपछि शनिबार जर्मनीका प्रशिक्षक जोचिम लो राष्ट्रिय टिमसँगको १२ वर्षयताको करिअरमै सबभन्दा ठूलो संकटमा परेका छन् ।


लिभरपुलका डिफेन्डर भिरभिजल भान डिकले डच टिमलाई पहिलो हाफमै अग्रता दिलाएका थिए । अन्त्यतिर मेम्फिस डिपाय र जोर्जिनियो विज्नाल्डमले पनि गोल गर्दै आम्सटर्डमको योहान क्रुफ एरिनालाई डच टिमका लागि स्वर्णिम रात बनाएका थिए । विश्वकपमा खराब प्रदर्शन गरेर समूहको अन्तिम स्थानमा रहँदै बाहिरिएयता उठ्ने प्रयासमा रहेको जर्मनीका लागि यो कालो रात नै बन्यो ।


अब जर्मनी नेसन्स लिगको पनि समूह १ को पुछारमा रह्यो र प्रशिक्षक लोसामु मंगलबार विश्वकप विजेता फ्रान्सविरुद्ध पेरिसमा हार टार्ने मुख्य चुनौती हुनेछ । उनको भवियबारे पनि स्वदेशमा वादविवाद सुरु भएको छ ।


‘हो, म बुझछु त्यहाँ वादविवाद हुन्छ । यसलाई व्यवस्थापन गर्नुपर्छ,’ लोले भने, ‘अबका दुई दिन सार्वजनिक रूपमा वादविवाद गर्नुमा होइन, पेरिसमा फ्रान्सविरुद्ध हुने खेलको तयारीमा केन्द्रित गर्नेछु । यस्ता वादविवाद सामान्य हुन् । धेरै सामान्य ।’ उनले थपे, ‘हामीले फ्रान्सविरुद्ध आफ्नो विशेषता देखाउनुपर्छ । र, फर्केर घरेलु मैदानमा डच टिमविरुद्ध खेल जित्नुपर्छ अथवा हामी पछाडि परिनेछ ।’


प्रशिक्षक लोले नेदरल्यान्ड्सविरुद्धको खेलबारे भने, ‘हामीले राम्रा अवसर पाएका थियौं । तर, ती अवसरलाई उपयोग गर्न सकेनौं । त्यसलाई आत्मविश्वासका लागि राम्रोका रूपमा लिनुपर्छ । अन्त्यमा एकसाथ रहन सकेनौं र त्यो नै खराब रह्यो ।’


जर्मनीका पूर्वकप्तान माइकल बालाकले विश्वकपको पीडादायी प्रदर्शनपछि पनि लोको जागिर कायमै रहनुलाई आश्चर्य मान्दै डच टिमविरुद्धको हारले दबाब बढाएको बताएका छन् । फेरि एकपल्ट लोले सिनियर खेलाडीमा जित निकाल्ने विश्वास गरे । तर बायर्न म्युनिकका म्यानुएल नोय, जेरोमे बोएटेङ, म्याट ह्युमेल्स र थोमस मुलर असफल रहे । मुलर र दोस्रो हाफमा उनको स्थान लिएका म्यानचेस्टर सिटीका स्टार लेरोय साने स्पष्ट अवसरमै पनि असफल रहे ।


ह्युमेल्सले हारपछि पनि जर्मन जनताको समर्थन पाउने आशा व्यक्त गरे । ‘हामीलाई घाँटीसम्मै आइपुगेको छ । तर, हामी कसैलाई पनि दोष लगाउँदैनौं । हामी नै हौं,’ उनले भने, ‘वास्तवमै खेल जित्न सक्ने अवस्थाबाट पनि हामी ३–० ले हार्‍यौं । हामी धेरै दुर्भागी रह्यौं । यसमा कुनै एउटा खेलाडीलाई भन्न (दोष) मिल्दैन ।’


जर्मनीले पछिल्ला १९ खेलमै गोल बेहोरेको छ । ‘हामीले थोरै मात्र अवसर बनायौं । तैपनि हामी चाँडै अगाडि बढ्न सक्थ्यौं ।’ गोलकिपर तथा कप्तान म्यानुएल नोयले भने, ‘अन्त्यमा हामी धेरै नै खुला भयौं र गल्ती गर्न पुग्यौं ।’ उनले दोष खेलाडीमाथि नै थोपरे, ‘खेल्नुअघि हरेक खेलाडीले आफू खेल्नको लागि तयार भएको संकेत प्रशिक्षकलाई दिएका थिए ।’
रियल म्याड्रिडका मिडफिल्डर टोनी क्रुजले जर्मन टिमले पछाडि परेपछि आफ्नो संरचना नै गुमाएको बताए । ‘पहिलो ३० मिनेटपछि हामीले संरचना नै गुमायौं । तर, गोल नगरी घर फर्कनु गाह्रो हुन्छ,’ क्रुजले भने, ‘राम्रो काम गरेकोमा सम्मान पाउनुपर्छ र त्यस्तो भएन । हामी कायमै रहनुपर्छ । अर्को अवसर मंगलबार छ र त्यसमा राम्रो गर्ने पक्षमा केन्द्रित हुनुपर्छ ।’
डच टिमले जर्मनीमाथि १६ वर्षयता पहिलो जित रचेको हो । ‘कहिलेकाहीं भाग्यको पनि साथ चाहिन्छ । तर, हामी जितको हकदार थियौं । धेरै नजिकबाट प्रतिस्पर्धा गरेका थियौं र रक्षा पनि राम्रो गरेका थियौं,’ डच प्रशिक्षक रोनाल्ड कोएम्यानले भने, ‘यो नतिजा अविश्वसनीय रह्यो । विशेषत: जर्मनी त्यस्तो खराब पनि थिएन । जर्मनीलाई हराएको १६ वर्षपछि हामी प्रतिभावान युवा टिमको साथमा सही लयमा छौं ।’

 

यूईएफए नेसन्स लिग
शनिबारको नतिजा
लिग ए
समूह १
नेदरल्यान्ड्स ३–० जर्मनी
लिग बी
समूह १
स्लोभाकिया १–२ चेक रिपब्लिक
समूह ४
आयरल्यान्ड ०–० डेनमार्क
लिग सी
समूह ३
नर्वे १–० स्लोभेनिया
बुल्गेरिया २–१ साइप्रस
लिग डी
समूह १
लात्भिया १–१ कजाकिस्तान
जर्जिया ३–० एन्डोरा
सूमह ४
आर्मेनिया ०–१ ज्रिब्राल्टर
मेसेडोनिया ४–१ लिच्टेस्टाइन

 

 

खेलकुद

महिला रग्बी टिम ब्रुनाईमा खेल्ने

- कान्तिपुर संवाददाता
एसिया रग्बी वुमेन्स सेभेन्स २०१८ को तयारीमा नेपाली राष्ट्रिय टिमका खेलाडीहरू कीर्तिपुरस्थित ल्याबोरोटरी स्कुलको मैदानमा अभ्यास गर्दै ।तस्बिर: श्रुति श्रेष्ठ/कान्तिपुर

(काठमाडौं) - नेपाली महिला रग्बी टिमले ब्रुनाईमा हुने एसिया रग्बी वुमेन्स सेभेन्स ट्रफी २०१८ मा प्रतिस्पर्धा गर्ने भएको छ । कीर्तिपुरस्थित ल्याबोरोटरी स्कुलको मैदानमा प्रशिक्षणरत नेपाली टिम बिहीबार ब्रनाई प्रस्थान गर्नेछ ।


अक्टोबर २० र २१ मा हुने प्रतियोगितामा नेपालले पहिलो दिन पाकिस्तान र भारतविरुद्ध प्रतिस्पर्धा गर्ने नेपाल रग्बी संघले जनाएको छ । आयोजक ब्रुनाईसहित नेपाल, भारत, पाकिस्तान, इन्डोनेसिया, फिलिपिन्स, ग्वाम, मलेसिया, लाओस र उज्वेकिस्तानले प्रतिस्पर्धा गर्नेछन् । उक्त प्रतियोगिताले अन्तर्राष्ट्रिय रग्बीमा नेपाली महिलाको सम्भावनालाई थप बलियो बनाउने रग्बी संघका अध्यक्ष टंकलाल घिसिङले बताए ।


श्रीलंकाली प्रशिक्षक हेटिराचिलेज राधिका इसानले सम्हालेको नेपाली टिमको कप्तानी एलिसा थापाले गर्नेछिन् । सिर्जना राई उपकप्तान हुन् । दर्जन खेलाडीको टिममा पञ्चमाया श्रेष्ठ, सुनीता तामाङ, सविना महर्जन, सावित्री पुर्जा, सविता लुइँटेल, सुजिना गुरुङ, सानिका तामाङ, नानी तामाङ, अमृता किराँत राई र मनीषा थापामगर छन् ।


सविता, नानी, सुजिना र सोनिका अन्तर्राष्ट्रिय प्रतियोगितामा नयाँ खेलाडी हुन् । बाँकी आठ खेलाडी एसिया रग्बी वुमेन्स सेभेन्सका अनुभवी खेलाडी हुन् ।


यसअघि नेपाली टिमले सन् २०१५ मा चेन्नाई र २०१६ मा लाओसमा भएको एसिया रग्बी वुमेन्स सेभेन्स ट्रफीमा पनि प्रतिस्पर्धा गरेको थियो । नेपालले चेन्नाईमा इन्डोनेसियामाथि जित हात पारेको थियो । अन्य खेलको नतिजा भने नेपालको पक्षमा आएन ।

खेलकुद

झरना कप फर्साटिकरलाई

- कान्तिपुर संवाददाता

रूपन्देही (कास)– रूपन्देहीको कुन्जलापुरमा सम्पन्न ३२ औं झरना रनिङ सिल्ड नकआउट फुटबल प्रतियोगिताको उपाधि फर्साटिकर युथ क्लबले हात पारेको छ । झरना स्पोटर््स क्लबको आयोजनामा शनिबार भएको फाइनलमा लिस्नु युवा क्लब कोटिहवालाई १–० गोल अन्तरले पराजित गर्दै फर्साटिकर विजेता बनेको हो ।


प्रतिस्पर्धात्मक खेलको अन्तिम समयमा सुरज हमालले विजयी गोल गरेका थिए । टंक बस्नेतको क्रसलाई सुरजले आकर्षक गोलमा परिणत गरेका थिए । पहिलो हाफ गोलरहित बराबरी भएको थियो । दोस्रो हाफमा फर्साटिकरबाट भएका आधा दर्जनभन्दा बढी प्रहार लिस्नुका गोलकिपरले रोकेका थिए ।


प्रतियोगितामा नवलपरासी, कपिलवस्तुका एक/एक टिम र रूपन्देहीका विभिन्न क्लब गरी १६ टिमले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए । गत वर्ष युनाइटेड कपिलवस्तुले उपाधि हात पारेको थियो ।


प्रतियोगितामा फर्साटिकरका सुरज हमाल सर्वोत्कृष्ट खेलाडी घोषित भए । यसैगरी फूलबारी गाइज बुटवलका सरोज क्षत्री सर्वाधिक गोलकर्ता र योङ स्टार एफसी मडाहा अनुशासित टिम घोषित भए ।


विजेता, उपविजेता र उत्कृष्ट खेलाडीलाई नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण, जिल्ला फुटबल संघ रूपन्देहीका अध्यक्ष दीर्घबहादुर केसी र क्लबका अध्यक्ष लोक पुनले पुरस्कार वितरण गरेका थिए । उपाधिसँगै फर्साटिकरले नगद ३ लाख र उपविजेता लिस्नुले १ लाख ५० हजार रुपैयाँ पाए ।

Page 20
खेलकुद

स्याङ्जामा पाराग्लाइडिङ विश्वकप हुने

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– नेपाल पाराग्लाइडिङ तथा ह्यान्डग्लाइडिङ संघ, नेपाल हवाई खेलकुद संस्था, बाबु एड्भेन्चर क्लब स्याङ्जाको संयुक्त आयोजनामा नेपालमा पहिलो पटक पाराग्लाइडिङ विश्वकप हुने भएको छ ।


हालै इन्डोनेसियामा सम्पन्न १८ औं एसियन गेममा पाराग्लाइडिङबाट नेपालले एक मात्र रजतपदक जितेको थियो । प्रथम नेपाल प्याराग्लाइडिङ एकुरेसी विश्वकप आयोजना गर्न लागिएको संघका महासचिव तथा प्रतियोगिता संयोजक शैलेन्द्र राउतले बताए ।


स्याङ्जाको स्वरेक महापुर मैदान र डौंवफाँटमा हुने प्रतियोगिता कात्तिक १५ देखि १९ गतेसम्म हुनेछ । उक्त मैदान पाराग्लाइडिङको ट्रेनिङ सेन्टरका रूपमा समेत विकास गरिरहेको संघले जनाएको छ । यसअघि पनि नेपालले यसै स्थानमा एक्युरेसीको अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गरिसकेको छ ।


पुरुष र महिलाको टिम तथा व्यक्तिगत एक्युरेसी गरी ४ स्वर्णका लागि हुने प्रतियोगितामा नेपालसहित क्यानडा, फ्रान्स, टर्की, ब्रिटेन, जापान, कोरिया, साउदी अरेबिया, सिंगापुर, इन्डोनेसिया, मलेसिया, मंगोलिया, भारत, पाकिस्तान र इरानको प्रतिस्पर्धा रहने महासचिव राउतले बताए । नेपाल भ्रमण वर्ष २०२० मा हवाई साहसिक पर्यटकको संख्यामा वृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको संयोजक राउतले बताए ।

खेलकुद

लुम्बिनीलाई जीसीए कप

- कान्तिपुर संवाददाता

रूपन्देही (कास)– दोस्रो जीसीए कप टी/ट्वान्टी जिल्लास्तरीय क्रिकेट प्रतियोगिता लुम्बिनी सांस्कृतिक युवा क्लबले जितेको छ । आयोजक गोलपार्क क्रिकेट क्लब, बुटवललाई २३ रनले पराजित गर्दै लुम्बिनीले उपाधि उचालेको हो । गोलपार्क क्रिकेट क्लबको आयोजनामा बुटवल बहुमुखी खेल मैदानमा आइतबार भएको फाइनल खेलमा टस जितेर लुम्बिनीले २० ओभरमा १ सय ३७ रन बनायो । गोलपार्क १९ ओभरमा १ सय १४ रनमा समेटियो ।

खेलकुद

अनिश बने लिगलिगे राजा

- हरिराम उप्रेती
लिगलिगे दौडका विजेता अनिश थापामगर सम्मानस्वरूप श्रीपेच लगाएपछि । तस्बिर: हरिराम/कान्तिपुर

 (गोरखा) - भारतीय गोरखा सेनामा कार्यरत पर्वतका अनिश थापामगर तेस्रो पटक दौड जितेर लिगलिगे राजा बनेका छन् । आइतबार भएको नवौं लिगलिगे दौड प्रतियोगितामा ७७ जना प्रतिस्पर्धीमा थापाले ५८ मिनेट २५ सेकेन्डमा चेपेघाटदेखि लिगलिगसम्मको १३.८ किलोमिटर दूरी पार गरी विजेता बनेका हुन् । विजेता थापालाई श्रीपेच पहिर्‍याएर बाजागाजासहित लिगलिगकोटको परिक्रमा गराइयो ।


प्रतियोगितामा पहिलो भएका थापाले ६० हजार एक सय नगद, पगरी, ट्रफी र लिगलिगकोट राजदूतको ब्याच पाएका छन् । उनलाई आइतार एक रात प्रतीकात्मक रूपमा लिगलिगे राजाका रूपमा राखिने आयोजक लिगलिगकोट विकास अभियानका अगुवा पूर्णबहादुर रानाले बताए । उनले २०७१ र ०७३ मा भएको यस दौड पनि जितेका थिए । ‘तीन पटकसम्म विजय बनें, अहिले पनि जित्दा निकै खुसी लागेको छ,’ थापाले भने । उनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले श्रीपेच लगाएर नगद र प्रमाणपत्रले पुरस्कृत गरे ।
५८ मिनेट ४० सेकेन्डमा निर्धारित दूरी पार गर्दै बागलुङका तीर्थ पुन दोस्रो र ५९ मिनेट २१ सेकेन्डसाथ चेपेघाटदेखि लिगलिगसम्मको दूरी पार गर्दै नेपाली सेनाका राम्जी बस्नेत तेस्रो भए । दोस्रो हुने पुनलाई ३५ हजार १ सय र तेस्रो हुने बस्नेतलाई २५ हजार १ सय नगद पुरस्कार प्रदान गरिएको थियो । पहिलोदेखि नवौं हुनेलाई नगद पुरस्कार प्रदान गरिएको हो । चेपेघाटबाट लिगलिग दरबार पुग्ने स्थानीयलाई पनि छुट्टै पुरस्कारको व्यवस्था गरिएको थियो ।


१८ वर्ष पूरा भएकाले मात्र खुलातर्फको प्रतियोगितामा भाग लिने नियम थियो । खुलातर्फको दौड पालुङटारको चेपेघाटबाट ढिकी डाँडा, ठाटीपोखरी, मगरगाउँ, छापथोक, माल्ती गैरा, बडडाँडा, साउनेपानी, बोहरा गाउँ हुँदै आपिललको लिगलिग पुगेर टुंगिएको थियो ।

 शीर्ष तीन स्थानमा रहेका खेलाडी पुरस्कारसाथ । तस्बिर: हरिराम/कान्तिपुर


खुला महिलातर्फ बडडाँडाबाट लिगलिगकोटसम्मको पाँच किलोमिटर दूरी ३९ मिनेट ५८ सेकेन्डमा पार गर्दै पुष्पा भण्डारी पहिलो भइन् । ४१ मिनेट ४२ सेकेन्डसाथ सानुमाया कार्की दोस्रो र ४२ मिनेटसाथ छमी बुढामगर तेस्रो भए । पहिलो हुनेले २० हजार, दोस्रोले १२ र तेस्रोले सात हजार नगद पुरस्कार पाए ।


लिगलिगकोटलाई आन्तरिक तथा बाह्य पर्यटनको गन्तव्य बनाउनुका साथै खेल र खेल क्षेत्रको विकास प्रतियोगिता भएको लिगलिगकोट विकास अभियानका उपाध्यक्ष किरण गिरीले बताए । ‘ऊ बेलामा पनि लोकतान्त्रिक तवरले राजा छान्न दौड प्रतियोगिता हुन्थ्यो भन्ने यो उदाहरण हो, यसलाई जीवन्त राख्न र नेपाल इतिहासको उद्गम स्थलका बारे प्रचार गरी खेलको माध्यमबाट पर्यटक भित्र्याउन दौडलाई निरन्तरता दिएका हौं,’ उनले भने । दौडमा दक्षिण एसियाली खेलकुदमा स्वर्ण जितेका वैकुण्ठ मानन्धर र पुष्पलाल श्रेष्ठले पनि भाग लिएका थिए ।


नेपाल एकीकरणअघि बाइसे चौबीसे राज्य हुँदा लिगलिगकोटमा राजा छान्न विं.सं. १६०४ मा उक्त दौड सुरु भएको मानिन्छ । लिगलिगको राज्य सञ्चालनका लागि तत्कालीन समयमा विजयादशमीको दिन दौड हुने तत्कालीन समयमा सहमति बनेको थियो । १६०४ देखि १६५५ सम्म दलसुर घलेले दौड जितेर लिगलिग राज्यको राजा भई राज्य गरेका थिए । सोही सम्झना तथा इतिहासलाई जीवन्त बनाउन दौड सुरु गरिएको हो । तत्कालीन शाहवंशीय राजाका संस्थापक द्रव्य शाह पनि उक्त दौड जितेर राजा भएको इतिहासमा
उल्लेख छ ।


तत्कालीन राजा द्रव्य शाहले लिगलिगे दौड जितेर नै घले राजाहरूले राज्य सम्हालेपछि ऐतिहासिक लिगलिगे दौड वि.सं. १६१६ मा समाप्त भएको थियो । ४५१ वर्षपछि २०६७ सालबाट फेरि दौडले निरन्तरता पाएको हो ।

खेलकुद

भारतको क्लिन स्विप

- कान्तिपुर संवाददाता
भारतीय बलर उमेश यादव वेस्ट–इन्डिजका ब्याट्सम्यानलाई आउट गरेपछि ।तस्बिर : एपी

हैदराबाद (रोयटर्स) - भारतले वेस्ट–इन्डिजलाई दोस्रो टेस्टमा तीन दिनभित्र १० विकेटले पराजित गर्दै दुई खेलको सिरिजमा ‘क्लिन स्विप’ गरेको छ । उमेश यादवले घातक बलिङ गर्दै भारतको सजिलो जित निश्चित गरेका हुन् । वेस्ट–इन्डिज कप्तान जेसन होल्डरले ५६ रनमा ५ विकेट लिएर भारतलाई पहिलो इनिङ्समा घरेलु टिमलाई एक समय ५६ रनको मात्र अग्रता दिएका थिए । त्यसयता खेल भारतको पक्षमा मोडियो र उसलाई जितका लागि ७२ रनको लक्ष्य मात्र तोकियो ।


प्रारम्भिक ब्याट्सम्यानद्वय पृथ्वी सव र लोकेश राहुल दुवै समान ३३ रन बनाएर नटआउट रहे । भारतको जित १६.१ ओभरभित्र सम्भव भएको थियो ।


वेस्ट–इन्डिज भारतको हातबाट टेस्टमा तीन दिनभित्र पराजित भएको यो लगातार दोस्रोपल्ट हो । उमेश दुईपल्ट ह्याट्रिकको अवसरमा पुगेर पनि चुके । उनले ४५ रन खर्चेर चार विकेट लिए । उनी एकै घरेलु टेस्टमा १० विकेट लिने कपिल देव र जवागल श्रीनाथपछि पहिलो भारतीय पेसम्यान भएका छन् ।


‘म उमेशका लागि निकै खुसी छु,’ भारतीय प्रशिक्षक रवि शास्त्रीले भने । उत्कृष्ट बलिङ गर्दै आएका उमेश अधिकांश समय भारतीय टिमका लागि ‘बेन्च’ को खेलाडी साबित भइरहेका छन् । ‘इंग्ल्यान्डविरुद्ध चारै खेलमा उनले खेल्न पाएनन् । कम्तीमा उमेश जत्तिको खेलाडीलाई यसले पक्कै पनि निराश पार्दो हो । यसपल्ट भने उनले घरेलु पिचमा अवसर पाए र आफूलाई सिद्ध गरे । उनले छनोटकर्तालाई तनावमा पुर्‍याएका छन् र यो राम्रो हो,’ शास्त्रीले थपे ।


भारतले तेस्रो दिनको खेल चार विकेट गुमाएर ३ सय ८ रनबाट सुरु गरेको थियो । रिसव पन्त ९२ रन बनाएर आउट भए । उनी लगातार दोस्रोपल्ट शतक बनाउनबाट चुके । अजिंक्या रहाने पनि शतक बनाउन असफल रहे । होल्डर र सनन ग्याब्रिएलले भारतलाई ३ सय ६७ रनमा सीमित पारेका थिए । रहानेले ८० रन बनाए र उनी होल्डरको सिकार बने । उनले नै रवीन्द्र जडेजालाई शून्यमा आउट पारे । रहानेले पन्तसँग मिलेर १ सय ५२ रनको साझेदारी गरे ।


बलरले जस्तो प्रदर्शन गरेका थिए, त्यस्तै मिल्दो प्रदर्शन वेस्ट–इन्डिजका ब्याट्सम्यानले गर्न सकेनन् । पाहुना टिमले निकै खराब सुरुआत लिएको थियो र प्रारम्भिक ब्याट्सम्यान जोडी क्रेग ब्राथवाइट र किरन पावेल दुवै शून्यमा आउट भए । पाहुना टिमका लागि सुनील एबब्रिसको ३८ रन नै सर्वाधिक रह्यो । ‘पक्कै पनि हाम्रो प्रदर्शन निराशाजनक रह्यो । हामीले सक्दो त प्रयास गरेका थियौं, तर भारतले उत्कृष्ट प्रदर्शन गरेको तथ्यलाई भुल्नुहुन्न,’ कप्तान होल्डरले भने ।