You internet speed is slow. Switch to text view mode

Switch
epaper logo
ST

Last Login:
Logout
+
Page 1
गृह पृष्ठ

पर्यटक भिसाको सेटिङ

- कान्तिपुर संवाददाता,जनकराज सापकोटा

काठमाडौं - दुबई जान लागेका तीन नेपाली महिलालाई यही साता नयाँदिल्ली अध्यागमनले काठमाडौं फिर्ता पठाइदियो । पर्यटक भिसामा गएका उनीहरूका पासपोर्टमा ‘लो प्रोफाइल’ भन्ने टिप्पणीसमेत लेखिदियो ।
उनीहरू त्यसअघि कुनै देश गएका थिएनन् । पर्यटक हैसियत प्रस्ट्याउन सकेनन् । भारतीय अध्यागमनले मानव तस्करको सञ्जालमा परेको आशंका गर्‍यो ।

तीनै जनालाई एयर इन्डियाले काठमाडौं फिर्ता ल्याएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मानव तस्करीको सेटिङ चालु रहेको आशंका बढेको छ । पर्यटक भिसा उपलब्ध गराएर दुबई पठाउने र त्यहींबाट मानव तस्करी गर्ने समूहहरू सक्रिय रहेको अघिल्लो महिना पनि पाइएको थियो ।

साउन १ गते एयर अरेबिया र फ्लाई दुबईमार्फत दुबई उड्न आँटेका ५० यात्रु अफलोड गरिएका थिए । विमानस्थलका तत्कालीन वरिष्ठ अध्यागमन अधिकृत भीमराज पोख्रेलले दूरदराजको गाउँबाट आएका र कमजोर आर्थिक हैसियत भएकाहरूको पर्यटक भिसामा शंका गरेर रोके । तर उनकै सहकर्मीहरूले उडान अनुमति दिइसकेका थिए ।

त्यसको भोलिपल्ट पनि पर्यटक भिसामा दुबई जान आँटेका ३५ जना यात्रुलाई पोख्रेलले नै अफलोड गरिदिए । विमानस्थल अध्यागमनमा होहल्ला भयो । ती यात्रुले कतै उजुरी गरेनन् । पोख्रेल बिदामा बसेका बेला फरक–फरक मितिमा ती सबैजना दुबई उडेरै छाडे । पोख्रेल काममा फर्केपछि टिक्न सकेनन् । लगत्तै उनको सरुवा मोरङ कारागारमा भयो । अध्यागमन स्रोतबाट प्राप्त कागजातअनुसार गत साउन १८ गते मात्र दुई जना महिला त्यसैगरी दुबई उडे । सुरुमा उड्न पाएनन् किनभने सेटिङ मिलिसकेको थिएन ।उनीहरू पहिले दुबईको फ्रोच्र्युन प्लाजा होटल र ग्रान्ड सेन्ट्रल होटलमा कलाकारको हैसियतमा काम गरेर आएका थिए । एक जना बागलुङ र अर्की दोलखाकी । दुबई फर्किन त्रिभुवन विमानस्थल पुग्दा उनीहरूको पहिलाको भिसा रद्द गरिएको थाहा पाए ।

त्यस्तो सूचना अध्यागमनका कर्मचारीले कम्प्युटरमा पासपोर्ट नम्बर इन्ट्री गर्दा सूचना पाउँछन् ।विमानस्थलका कर्मचारीले दुवैलाई फर्काइदिए । दुई दिनपछि नै विमानस्थल आए । सरासर रद्द भएको भिसामै दुबई उडे । यसरी जानेहरूले काम नपाएपछि वा भनेजस्तो नभएर अलपत्र पर्ने क्रम बढेपछि अध्यागमनले पर्यटक भिसामा जानेलाई कडाइ गर्ने नीति लिएको छ । पर्यटकका रूपमा जान खोज्नेको आर्थिक हैसियत, उसको ट्राभल रेकर्ड, पर्यटकका रूपमा घुम्न आवश्यक पर्ने डलर, उसको काम र शैक्षिक रेकर्डजस्ता विषयमा अध्यागमन अधिकारीहरूले सोध्न सक्छन् ।

गृह पृष्ठ

तारन्तार अदलीबदली

- कान्तिपुर संवाददाता

कास्कीका प्रजिअ सहसचिव तारानाथ अधिकारी साउन २० गते विमानस्थल अध्यागमनमा सरुवा भए । कार्यभार सम्हालेको १५ दिन नबित्दै सरुवा भएर प्रहरी किताबखाना पुगे । उनी सरुवा भएलगत्तै विमानस्थल अध्यागमनको नेतृत्व निमित्त प्रमुख लक्ष्मणविक्रम थापाले सम्हाले । थापाले निमित्त सम्हालेको १५ दिनपछि नै अध्यागमन प्रमुखका रूपमा राजेश पौडेल आइपुगे । अध्यागमनका प्रमुखहरूको तारन्तार हुने अदलीबदलीको यो घटना नयाँ भने होइन । यसअघि पनि डेढ वर्षभन्दा लामो समय कोही बसेको इतिहास छैन । २०७३ असार १६ गते अध्यागमन प्रमुख भएर आएका यज्ञराज कोइराला दुई महिनापछि सरुवामा परे । उनीपछि उद्धवप्रसाद भट्टराई झन्डै ४ महिना कामु र १३ महिना प्रमुख रहे । त्यसपछि होमनाथ थपालियाले १४ महिना मात्रै कार्यभार सम्हाले । केही कर्मचारी भने वर्षौंसम्म सरुवा हुँदैनन् ।

गृह पृष्ठ

डराउँछन् निर्मलाका साथी

- कान्तिपुर संवाददाता,भवानी भट्ट
भीमदत्त नगरपालिका–२ उल्टाखामको सरस्वती उमाविमा निर्मलाले बनाएका चित्र । तस्बिर : भवानी

कञ्चनपुर - निर्मला पन्तको हत्या भएको दुई महिना पुग्न लाग्यो । घटनापछि उनका सहपाठीसमेत भयभीत छन् । कक्षाकोठामा बसे पनि पढ्न सकिरहेका छैनन् । स्कुल आउँदा, जाँदा र कक्षाकोठामा बस्दा सोही घटना मनमा खेल्ने गरेको उनीहरू बताउँछन् । भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया निर्मलाको बलात्कारपछि हत्या गरिएको थियो । उनी सरस्वती उच्च मावि, खोल्टीमा कक्षा ९ मा पढ्थिन् ।

‘हामी सानैदेखि सँगै पढ्थ्यौं, सँगै खेल्थ्यौं,’ ९ कक्षामै अध्ययनरत जानकी भट्टले भनिन्, ‘उनी नहुँदा पढ्न मनै लागिरहेको छैन, स्कुल पनि नआउँmजस्तो लाग्छ ।’ जानकी र निर्मला एउटै बेन्चमा बस्ने २ कक्षादेखिका साथी हुन् । कक्षाकोठा अगाडि निर्मलाले बनाएका केही चित्र छन् । भित्र पस्नेबित्तिकै ती चित्र देख्दा उनकै यादले सताउने सहपाठीको भनाइ छ । निर्मला र जानकीले शिक्षिका वा नर्स बन्ने सोच बनाएका थिए । त्यही भएर उनीहरू दुवैको कुरा मिल्थ्यो ।

कतिपय विद्यार्थी निर्मलाको शव भेटिएको उखुबारी छेउको बाटो हिँड्नै डराउँछन् । ‘त्यहाँ पुग्नेबित्तिकै झसंग भइन्छ,’ भीमदत्त नगरपालिका–१८ भगतपुरबाट त्यही बाटो स्कुल आउने लक्ष्मी बडुले भनिन्, ‘एक्लै आउन डर लागेर साथीहरू समूहमा मात्रै आउँछौं ।’ निर्मला मिलनसार थिइन् । शिक्षकमाझ पनि उनी अनुशासित र लगनशील विद्यार्थी थिइन् । ‘एक महिनासम्म त सरहरूले पढाउनै सक्नुभएन,’ लक्ष्मीले भनिन्, ‘जतिबेला पनि त्यही झल्को आएर उत्तरपुस्तिकासमेत जाँच गर्न सक्नुभएन ।’

कक्षा ९ मा ६४ विद्यार्थी छन् । छात्र र छात्राको संख्या आधा–आधा छ । छात्रभन्दा पनि छात्रामा यो घटनाले बढी असर पारेको शिक्षिका तृप्ति विष्ट बताउँछिन् । उनका अनुसार विद्यार्थीमा एक किसिमको त्रास कायमै छ । ‘एक/दुई जना छात्रा त सधैं ढिला हुन्छन्,’ उनले भनिन्, ‘बिहान एक्लै आउन डर लागेर अलि ढिला आउने गरेको कुरा खुल्यो ।’ अहिले विद्यालय ७ बजे लाग्ने गरेको छ ।

घटना भएको डेढ महिनाभन्दा बढी बितिसक्यो । अझै पनि वास्तविक अपराधी पत्ता नलाग्दा छात्रछात्रा त्रासमा रहेको शिक्षिका विष्टले बताइन् । अनुसन्धानका क्रममा प्रहरीले छात्रछात्रालाई पटकपटक बोलाउँदा उनीहरूमा मनोवैज्ञानिक असर परेको उनको भनाइ छ । ‘हामीलाई पनि विद्यालयबाट ड्रेसमै प्रहरीसँग विद्यार्थी पठाउन निकै समस्या हुन्छ,’ उनले भनिन्, ‘अभिभावकसँग कुरा गरेर मात्रै पठाउने गरेका छौं ।’ एक जनालाई प्रहरीले लगेपछि अरू विद्यार्थी पनि आफ्नो पालो आउने डरले विद्यालय नै नआउने समस्या बढेको छ ।

अनुसन्धानका लागि भन्दै प्रहरी पटकपटक विद्यालयमा आउँदा पढाइको वातावरण बिग्रिएको शिक्षकहरू बताउँछन् । चाँडो अनुसन्धान सके समस्या समाधान हुने उनीहरूको बुझाइ छ । ‘दोषी पत्ता लागेर कारबाही नहुँदासम्म निर्धक्क भएर छात्रछात्रालाई सम्हाल्न सकिने अवस्था छैन,’ प्रधानाध्यापक जगन्नाथ पाण्डेयले भने, ‘२५ प्रतिशत विद्यार्थी त्यही बाटो भएर स्कुल आउजाउ गर्छन् ।’ उनले घटनायता बालबालिकालाई कसरी त्रासबाट मुक्त गराउने भन्ने चिन्ता रहेको बताए ।

गृह पृष्ठ

आत्मरक्षा सिक्दै किशोरी

- नवीन पौडेल
पश्चिम नवलपरासीमा आयोजित किशोरी आत्मरक्षा तालिममा सहभागीहरू । तस्बिर : नवीन

परासी - बालिका र किशोरीले आफूमाथि आक्रमण भए कसरी प्रतिरक्षा गर्ने ? पश्चिम र पूर्वी नवलपरासीमा प्रतिरक्षा तालिम नै सुरु हुन थालेको छ । दिनदिनै बढेका हिंसा र बलात्कारका घटनाबाट जोगिन टोल–टोलमै यस्तो अभियान थालिएको हो ।

महिला हिंसाबारे चेतना जगाउने र परिआए प्रतिकार गर्न सक्ने बनाउने उद्देश्यले सञ्चालित तालिममा कुन संवेदनशील अंगमा प्रहार गर्दा आफू उम्किन सकिन्छ र गोप्य अंगको सुरक्षाका लागि के गर्ने भन्ने सिकाउने गरिएको छ ।

सरकारी सहकार्यमा सञ्चालित पहुँच कार्यक्रमअन्तर्गत नवलपरासीका बाल क्लब प्रतिनिधि र युवा क्लबमा आबद्ध किशोरीलाई आत्मरक्षा तालिम दिइएको हो । तालिम लिइसकेका किशोरीले अहिले गाउँघरमा अभियान नै चलाएका छन् । उनीहरूलाई गल्र्स किकका अध्यक्ष नीरज न्यौपानेसहितको विज्ञ टोलीले प्रशिक्षण दिएको छ ।

तालिममार्फत शारीरिक प्रतिरक्षाका साथै महिला हिंसाका कारण, कानुनी उपचार र अन्यायमा परे कसरी न्यायका लागि लड्न सकिन्छ भन्ने विषयमा पनि परामर्श दिइएको छ । धम्क्याएर बलात्कार प्रयास भए प्रतिरक्षाका लागि किशोरीको मनोबल उच्च पार्न के–कस्ता उपाय अपनाउन सकिन्छ भन्नेबारे किशोरीलाई सिकाइएको छ । आत्मबल उच्च राखेर तत्काल उम्कन सकिने गरी आक्रमण गर्ने तरिकाका विषयमा शारीरिक प्रशिक्षण दिइएको न्यौपानेले बताए ।

आफ्नो क्षमता आफूले पहिचान गर्ने, हिंसाका किसिम के–के हुन्, परिस्थितिजन्य अवस्थामा आफूलाई कसरी सुरक्षित गर्न सकिन्छ र कानुनी उपचारका लागि कहाँ जाने भन्ने विषय प्रशिक्षणका मूल सिकाइ भएको उनले जनाए । तालिममा सहभागी किशोरीले आफ्नो विद्यालय, कलेज, क्लब तथा समुदायमा गएर आ–आफ्नो क्षेत्रका बालिका, किशोरी तथा महिलालाई प्रशिक्षण दिने गरेका छन् ।
रामग्राम नगरपालिका–१ की २२ वर्षीया रेनुका चौधरी दुई पटक आत्मरक्षा तालिममा सहभागी भइन् । महिला हिंसा नबुझेकी उनी अहिले अभिभावकलाई महिला हिंसा, किशोरी सुरक्षा र मनोवैज्ञानिक परामर्श दिन सक्ने भएकी छन् । उनीसहित १५ जनाले किशोरी आत्मरक्षा समूह नै गठन गरेका छन् ।

उनीहरूले बलात्कारबाट कसरी बच्न सकिन्छ, प्रतिरोध कसरी गर्ने र यो जघन्य अपराध हो भन्ने गाउँ–गाउँमा बुझाइरहेका छन् । आफ्नो समूहले यस्ता अमानवीय कार्य कसैले पनि गर्नु हँ‘दैन भन्ने सन्देश दिइरहेको रेनुले बताइन् । ‘पहिलेपहिले एक्लै हिँडदा कसैले दुव्र्यवहार गर्छ कि भन्ने डर लाग्थ्यो, प्रतिरोध गर्ने आत्मविश्वास थिएन,’ उनले भनिन्, ‘अहिले यस्ता घटना रोक्न समाजमा कस्तो सचेतना फैलाउनुपर्छ भन्ने जानकारी भएको छ ।’ कसरी सुरक्षित हुने भन्ने शारीरिक र मानसिक उपायबारे पनि सिकाइरहेको उनले बताइन् ।

उनीजस्तै यस क्षेत्रका किशोरीले अभिभावक, महिला अधिकारकर्मी र पुरुषको सहायतामा बलात्कार र महिला हिंसाविरुद्ध अभियान चलाउनुका साथै शारीरिक प्रशिक्षणसमेत दिइरहेका छन् । बालअधिकार र युवा सचेतना अभियानकर्ता दीपक शर्माले किशोरीको अभियान प्रभावकारी भएको बताए । विभिन्न संघसंस्था, सुरक्षा निकाय र स्थानीय सरकारले पनि यस अभियानलाई साथ दिएका कारण स्थानीयमा सचेतना फैलिएको छ ।

 

गृह पृष्ठ

रजाक पक्राउ

- एएफपी

क्वालालम्पुर – मलेसियाका पूर्व प्रधानमन्त्री नाजिब रजाक बुधबार पक्राउ परेका छन् । उनीमाथि राज्य कोषको दसौं लाख रकम अनियमिततासम्बन्धी सात आरोप छन् । नाजिबलाई बिहीबार दिउँसो अदालतमा उपस्थित गराइने भएको छ ।

 

गृह पृष्ठ

सरिफलाई छाड्न आदेश

- एएफपी

इस्लामावाद – पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफ, उनकी छोरी मार्याम र ज्वाइँ सफरलाई बुधबार इस्लामावाद उच्च अदालतले रिहा गर्न आदेश दिएको छ । भ्रष्टाचारसम्बन्धी मुद्दा लागेका उनीहरूलाई अदालतको अन्तिम टुंगो नलाग्दासम्म रिहा गर्न आदेश दिएको सरिफका वकिल खवाज हरिशले बताए । अदालतले निर्णय सुनाउँदै गर्दा अदालत बाहिर उनका समर्थकहरूले सरिफको पक्षमा खुसियालीसहित चर्को नाराबाजी गरेका थिए ।

Page 2
समाचार

‘संविधानमा कमजोरी देखिए संशोधन’

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– प्रधानमन्त्री केपी ओलीले संविधान र संघीयतामा कतै कमजोरी देखिए परिमार्जन र संशोधन गर्ने बताएका छन् । अब अधिकार प्राप्तिको नाममा मुलुकलाई ‘गिनी पिग’ बनाउने कार्य स्वीकार्य नहुने उनले उल्लेख गरे ।

‘संघीयता होस् वा संविधान, कतै छेउकुना नमिलेको भए, कहीँकतै राँटो बाँकी रहेको भए समयक्रममा मिल्छ, मिलाइन्छ । व्यवहारको कसीमा अमिल्दा देखिएका विषय परिमार्जन र संशोधन हुन्छ,’ सैनिक मञ्च टँुडिखेलमा आयोजित झाँकीसहितको विशेष समारोहमा प्रधानमन्त्री ओलीले भने । लोकतन्त्रका लागि भएका आन्दोलन सफलतामा टुंगिएकाले अब थप आन्दोलन आवश्यक नपर्ने उनको भनाइ थियो । ‘अब अधिकार प्राप्तिको नाममा मुलुकलाई ‘गिनी पिग’ बनाउने र अवाञ्छित उद्देश्य बोकेका तत्त्वको क्रीडास्थल बनाउने कार्य स्वीकार्य हुँदैन,’ उनले भने ।

नेपालको संविधान आफ्नै अनुभवले समृद्ध बनेको उल्लेख गर्दै यसको प्राप्तिका लागि नेपाली जनताले लामो शृंखला पार गरेको ओलीले बताए । ‘हामीले हाम्रो संविधानलाई अतुलनीय दस्तावेज भनेका छैनौं न त कसैसँग दाँजिन आवश्यक ठानेका छौं,’ उनले भनेका छन् । सुदृढ लोकतन्त्रमा प्रयोगमा आएका विश्वव्यापी सबै अवयवलाई संविधानले संस्थागत गरेकाले यो नेपालीलाई सार्वभौमसत्ता सम्पन्न बनाउने सबैभन्दा प्रगतिशील दस्तावेज भएको उनको ठहर छ ।

शान्ति, सुशासन, विकास र समृद्धिका लागि यस संविधानको ‘अक्षर तथा भावना’ अनुरूप कार्यान्वयन गर्नुलाई आफूले कर्तव्य ठानेको ओलीले उल्लेख गरे । ‘वर्षौंदेखिको विकास र समृद्धिको चाहना पूरा गर्नेबाहेक कुनै पनि बहानाबाजी जनतालाई अब सह्य छैन भन्ने तथ्य सरकारले बुझेको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘समृद्धि र सुख कसैको नाम होइन, भन्नका लागि मात्रै भनिएको पनि होइन ।’ उनले समृद्धिको अभियानमा सबैलाई सहयोग गर्न आग्रह गरे । उनले वर्षौंदेखि थुप्रिएका समस्याको निकास सरकार बनेको ६ महिनामै पूरा हुन नसक्ने बताए । ‘अविकासमा बाँचेको, पछौटेपनमा अल्मल्याइएको देश ६ महिनामा ‘सब ठीकठाक’ हुनुपर्ने आग्रह त हुन सक्ला तर त्यो वस्तुपरकचाहिँ होइन भन्ने मनन गर्न म विनम्र आग्रह गर्दछु,’ ओलीले भने ।

संघीय प्रणाली नेपालका लागि नयाँ प्रयोग भएकाले र यसले व्यवहारको कसीमा घोटिने क्रममा नै पूर्णता पाउने उनले बताए । ‘संघीयता ठीक कि बेठीक भन्ने प्रश्न अब सान्दर्भिक रहेन । बहस र तर्क/वितर्क निर्णयमा पुग्नुअघि मात्र स्वाभाविक हुन्छ तर जब राष्ट्रले निर्णय लिन्छ, नेतृत्वकर्ताले त्यसलाई दृढतापूर्वक लागू गर्छ,’ उनले भने ।

‘केन्द्र–प्रदेश सम्बन्ध’ लाई संविधानको अक्षर र भावनाअनुरूप नै व्यवस्थित गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता छ । राष्ट्रले देखेको सपनालाई राज्यका सबै निकायले एउटै लयमा समाउनुपर्ने भन्दै उनले संसद् र न्यायालयलाई पनि सहयोग गर्न आग्रह गरे । ‘सरकार, संसद् या न्यायालय– हाम्रो लोकतन्त्रका यी तीनै निकायले कुनै पनि विषयमा निर्णय लिँदा देश, जनता, लोकतन्त्र र न्यायलाई केन्द्रमा राखेर सही र सन्तुलित निष्कर्षका साथ अघि बढ्न सक्नुपर्छ,’ प्रधानमन्त्री ओलीको भनाइ छ । सरकारले यस पटकदेखि संविधान दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाएको हो । राष्ट्रपतिको उपस्थितिमा भएको कार्यक्रममा विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो ।

समाचार

पुष्पलाललाई नेपालरत्न

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– सरकारले देशकै सबभन्दा ठूलो मानपदवी ‘नेपालरत्न’ बाट नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठलाई (मरणोपरान्त) विभूषित गर्ने भएको छ ।

संविधान दिवसका अवसरमा सरकारले विभिन्न मानपदवी, अलंकार र पदकबाट ५ सय १८ जनालाई विभूषित गर्ने घोषणा गरेको छ । नेपालरत्नबाट यसअघि पनि राजनीतिज्ञ नै विभूषित भएका छन् । लोकतान्त्रिक आन्दोलनमा विशिष्ट योगदान पुर्‍याएका पूर्वप्रधानमन्त्रीहरू बीपी कोइराला, मनमोहन अधिकारी, गिरिजाप्रसाद कोइराला, जनआन्दोलन–२०४६ का कमान्डर गणेशमान सिंह र तत्कालीन एमाले महासचिव मदनकुमार भण्डारीलाई (मरणोपरान्त) यो विभूषण प्रदान गरिएको छ ।

गृह मन्त्रालयले सार्वजनिक गरेको सूचीअनुसार ‘महाउज्ज्वल राष्ट्रदीप (प्रथम श्रेणी) चार जनालाई दिइने भएको छ । राजनीतिज्ञ गजेन्द्रनारायण सिंह र संगीतकार अम्बर गुरुङलाई मरणोपरान्त यो विभूषण प्रदान गरिँदै छ । यही विभूषणबाट शताब्दी पुरुष सत्यमोहन जोशी र राष्ट्रकवि माधव घिमिरेलाई विभूषित गर्ने सरकारको घोषणा छ ।

राजनीतिज्ञ, कर्मचारी, कलाकार, पत्रकार, संस्कृतिकर्मी, समाजसेवी, सुरक्षाकर्मीलगायतलाई विभिन्न श्रेणीको विभूषण प्रदान गरिँदै छ । ९६ जनालाई सुप्रबल जनसेवाश्री (तृतीय श्रेणी), १६२ जनालाई प्रबल जनसेवाश्री (चतुर्थ श्रेणी) र ७४ जनालाई जनसेवाश्री (पञ्चम श्रेणी) मानपदवी दिने घोषणा छ ।नेपाली सेनाले मात्र प्राप्त गर्ने ‘परम पौरख भाष्कर’ बाट ६ जना, ‘अतिपौरख भाष्कर’ बाट १२ जना विभूषित हुँदै छन् । सेनाबाहेकका सुरक्षाकर्मीले पाउने ‘नेपालप्रताप सुभूषण’ द्वारा २४, नेपाल प्रताप आभूषणबाट १४, समाजसेवा रत्नद्वारा १३ जना विभूषित हुँदै छन् । त्यस्तै राष्ट्रसेवा पदकद्वारा एक, सगरमाथा पदकद्वारा दुई, सुकीर्ति पदकद्वारा ३५, वीरता पदकद्वारा १७, सौर्य पदकद्वारा छ, प्राकृतिक प्रकोप पीडितोद्धार पदकद्वारा २३ र विकास रत्नपदकद्वारा तीन जनालाई विभूषित गरिने मन्त्रालयले जनाएको छ ।

समाचार

मलेसियामा मदिराले ६ नेपालीको मृत्यु

- कान्तिपुर संवाददाता

क्वालालम्पुर (कास)– मलेसियामा गत सोमबार विषाक्त मदिराले ६ नेपालीसहित १९ जनाको मृत्यु भएको पुष्टि भएको छ । दूतावासबाट प्राप्त पछिल्लो जानकारीअनुसार मृत्यु हुनेमा मिमबहादुर घले (बसेरी–३ धादिङ), रामकुमार यादव (मसिना–६, रूपन्देही), विशाल बुढाथोकी (अमरगढी–५, डडेलधुरा), सञ्जय उराव (पश्चिम कुसाहा–९ सुनसरी), बलबहादुर कुलुङ (सिद्धिथुम्का–९, इलाम) र ठेगाना खुल्न नसकेका आइतसिंह गोले छन् ।

१६ नेपालीको सुंगाइबुलो, काजाङ, बान्तिङ, आम्पाङ र क्लाङस्थित अस्पतालमा उपचार भइरहेको दूतावासले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । तीमध्ये कतिपयको अवस्था गम्भीर छ ।‘हामी मंगलबार राति सुंगाइबुलो र काजाङस्थित अस्पतालमा पुग्यौं । त्यहाँ उपचाररत नेपालीलाई भेट्यौं,’ कार्यवाहक राजदूत कुमारराज खरेलले भने, ‘६ जना नेपालीको मृत्यु भएको र १६ जना उपचारमा रहेको पाइयो ।’

समाचार

‘सरकार चुक्दा संघीयता अलोकप्रिय’

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– कांग्रेसले राष्ट्रिय प्राकृतिक स्रोत र वित्त आयोग निर्माणमा संघीय सरकारले ढिलाइ गर्दा संघीयता अलोकप्रिय बन्न पुगेको निष्कर्ष निकालेको छ । संविधान दिवसका सन्दर्भमा बुधबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले वित्त आयोग नबन्दा कर निर्धारणको स्वच्छन्दता बढेको र त्यसले संघीयतालाई अलोकप्रिय बनाएको बताए । प्रदेश सरकार बनेको सात महिना बित्दासमेत पाँचवटा प्रदेशको नामकरण र राजधानी टुंगो नलागेको, संघ र प्रदेश सरकारबीच द्वन्द्व बढेकाले संघीयता प्रभावकारी रूपमा कार्यान्वयनमा आउन नसकेको उनको भनाइ छ ।

Page 3
समाचार

३ हजार विद्यालय दरबन्दीविहीन

साढे नौ हजार विद्यालयमा एक शिक्षक बराबर २० भन्दा कम विद्यार्थी
- मकर श्रेष्ठ

सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण नहुँदा देशभरका ३२ प्रतिशत विद्यालयमा एक शिक्षक बराबर २० जनाभन्दा कम विद्यार्थी रहेको पाइएको छ । २९ हजार ३५ सामुदायिक विद्यालयमध्ये ९ हजार ४ सय ९४ वटामा एक शिक्षक बराबर २० विद्यार्थी छन् ।

एक शिक्षक बराबर १० भन्दा कम विद्यार्थी भएका विद्यालय संख्या २ हजार ८ सय १६ छन् । शिक्षा नियमावलीमा प्रत्येक कक्षामा काठमाडौं उपत्यका र तराईमा ५०, पहाडमा ४५ र हिमाली क्षेत्रमा ४० जना बराबर १ जनाका दरले शिक्षक हुनुपर्ने व्यवस्था छ ।
शिक्षक दरबन्दी पुनर्वितरणबारे सुझाव दिन मन्त्रिपरिषद्ले असार ४ गते पूर्वसचिव महाश्रम शर्माको संयोजकत्वमा गठन गरेको कार्यदलले मंगलबार प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउँदै शिक्षक दरबन्दी मिलान गर्दा प्राथमिक तहमा बढी र निम्नमाध्यमिक तथा माध्यमिक तहमा अपुग रहेको जनाएको छ ।

प्रतिवेदनअनुसार प्राथमिक तहका ३४ प्रतिशत विद्यालयमा शिक्षक/विद्यार्थी अनुपात मिलेको छैन । १ देखि ५ कक्षासम्म पढाइ हुने २७ हजार ७ सय २९ विद्यालय छन् । शिक्षक दरबन्दी मिलान गर्दा प्राथमिक तहमा ३ हजार ३ सय ८३ दरबन्दी बढी हुने तथा निम्नमाध्यमिक (६–८) मा २५ हजार ४ सय २५ र माध्यमिक (९–१०) मा २३ हजार ७ सय ४४ शिक्षक दरबन्दी संख्या अपुग रहेको प्रतिवदेनमा उल्लेख छ ।

प्राथमिक तहको अनुमति पाएका १ हजार ४ सय ८१, आधारभूत तहका कक्षा ६ देखि ८ सम्म पढाइ हुने १ हजार ७१ र माध्यमिक तहका कक्षा ९–१० मा ५ सय ४ गरी ३ हजार ७१ विद्यालयमा एक जना पनि शिक्षक दरबन्दी नरहेको प्रतिवेदनमा जनाइएको छ । ७ हजार ४ सय ३० विद्यालयमा एक जना शिक्षकको मात्रै दरबन्दी छ । ७ हजार ५ सय ६० विद्यालयमा दुई जनाको मात्रै दरबन्दी छ । ‘अधिकांश विद्यालयमा विषयगत शिक्षक दरबन्दी नभएका कारण नियमित र प्रभावकारी पठनपाठन हुन सकेको छैन,’ प्रतिवेदनमा छ ।

माध्यमिक तहका ६ हजार ५ सय १ विद्यालयमध्ये ७१ वटा र निम्नमाध्यमिक तहका ९ हजार ८ सय ९९ विद्यालयमध्ये ३ सय ३३ वटामा मात्र अंग्रेजी, गणित र विज्ञान शिक्षक सोही तह र विषयगत दरबन्दीमा कार्यरत छन् । ‘शिक्षक दरबन्दी न्यायोचित र समानुपातिक देखिएन,’ कार्यदलका एक सदस्यले भने, ‘सामुदायिक विद्यालय सुधार्न दरबन्दी मिलानको कठोर नीति लिनु जरुरी छ ।’ २०७५ को शिक्षक/विद्यार्थी अनुपात विश्लेषण गर्दा आधारभूत तह (१–५) मा १ शिक्षक बराबर २५ विद्यार्थी छन् । आधारभूत तहको कक्षा (६–८) मा १ शिक्षक बराबर ५२ विद्यार्थी छन् । माध्यमिक तहको कक्षा (९–१०) मा १ शिक्षक बराबर ३९ विद्यार्थी छन् । कतै शिक्षक अपुग छ, कतै बढी । २०५६/५७ देखि थप शिक्षक दरबन्दी स्वीकृत नहुँदा यस्तो समस्या देखिएको प्रतिवेदनमा औंल्याएको छ ।

तराईमा विद्यार्थी अनुपातमा शिक्षक न्यून पाइएको छ । अध्ययनअनुसार प्रदेश १ का ५ सय ९० विद्यालयमा १ जना शिक्षकबराबर १० विद्यार्थी छन् । त्यस्तै प्रदेश २ का ३१ विद्यालयमा एक शिक्षक बराबर १० भन्दा कम विद्यार्थी छन् । प्रदेश ३ का ६ सय ८५, गण्डकी प्रदेशका १ हजार ९१, प्रदेश ५ का २ सय १८, कर्णाली प्रदेशका ९९ र प्रदेश ७ मा १ सय १ विद्यालयमा १ शिक्षक बराबर १० जना मात्रै विद्यार्थी छन् । ‘यस्तो अवस्थाका विद्यालय हिमाल, पहाड र तराई गरी सबै क्षेत्र र प्रदेशमा छन्,’ प्रतिवेदनमा छ । कार्यदलले पहिलो विकल्पमा अहिले भएका विद्यालय कायम हुने गरी शिक्षक समायोजन गर्न सुझाव दिएको छ । दोस्रो विकल्पमा स्थानीय आवश्यकताका आधारमा अत्यन्त न्यून विद्यार्थी भएका विद्यालयलाई गाभ्न प्रस्ताव गरिएको छ । विद्यार्थीको सिकाइ सुनिश्चित गर्न समानताको सिद्धान्त अवलम्बन गरी थप शिक्षक व्यवस्थापन गर्न तेस्रो विकल्प अघि सारेको छ ।

कार्यदलको सुझाव
प्रारम्भिक बाल विकास कक्षाका लागि शिक्षकको न्यूनतम योग्यता कक्षा १२ उतीर्ण तथा तालिम प्राप्त हुनुपर्ने कार्यदलले सिफारिस गरेको छ । त्यस्तै विशेष शिक्षा कक्षामा कार्यरत शिक्षक अनुदानलाई दरबन्दीमा परिणत गर्नुपर्ने, दुर्गम क्षेत्र जान चाहनेका लागि अन्य क्षेत्रमा कार्यरतलाई भन्दा आकर्षक सेवा, सर्त, सुविधा र वृत्ति विकासका लागि विशेष व्यवस्था गर्नुपर्ने, विद्यालयमा नियमित शिक्षण सिकाइ र शिक्षक पदपूर्तिको निरन्तरता कायम हुने गरी शिक्षक पदपूर्ति गर्नुपर्ने सुझाव दिएको छ । दरबन्दी मिलान र पुनर्वितरण कार्य प्रत्येक वर्ष गर्ने गरी स्वचालित प्रणाली बनाउनुपर्ने कार्यदलको सुझाव छ ।


कार्ययोजना अलपत्र

काठमाडौं (कास)– शिक्षामन्त्री गिरिराजमणि पोखरेलले घोषणा गरेको ३ महिने कार्ययोजनाका अधिकांश कार्यक्रम पूरा भएनन् । असारभित्रै सक्नुपर्ने काम ६ महिनासम्म सम्पन्न हुन सकेका छैन । मन्त्री बनेलगत्तै पोखरेलले पत्रकार सम्मेलन गरेर वैशाख, जेठ र असारमा सम्पन्न गर्ने कामको सूची सार्वजनिक गरेका थिए । मन्त्रीले प्रतिबद्धता गरेका ३० मध्ये अधिकांश काम समयसीमाभित्र पूरा हुन नसकेका हुन् । मन्त्रीले जेठभित्रै संघीय शिक्षा विधेयकको मस्यौदा तयार पारिसक्ने कार्यतालिका बनाएका थिए । तर भर्खरै काम थालिएको छ । मन्त्रीको प्रतिबद्धताअनुसार प्रदेश र स्थानीय तहका लागि शिक्षाका नमुना कानुनको मस्यौदा बनेको छैन । जेठभित्रै गर्ने भनिएको वैज्ञानिकको सम्मेलन पनि हुन सकेन । मन्त्रालय र मातहत निकायको आन्तरिक संगठन तथा व्यवस्थापन सर्वेक्षण र सांगठनिक पुन:संरचना गत आर्थिक वर्षभित्रै सक्ने उनको लक्ष्य थियो । ढिला गरी लक्ष्य पूरा भए पनि नयाँ संरचनाअनुसार कर्मचारी खटनपटन हुन सकेन । मन्त्रालयले गठन गर्ने भनिएको जनशक्ति विकास योजनाका प्राविधिक कार्यदल गठन हुन सकेको छैन । उच्च शिक्षा र विद्यालय शिक्षाका निकायको साझेदारीमा बृहत् विज्ञान मेला असार मसान्तभित्र सञ्चालन गर्ने योजना अधुरै छ ।

विद्यालयको पूर्वाधार तथा गुणस्तर मापदण्ड निर्माण र विपद् प्रतिरोधी विद्यालय भवन नीति अझै बन्न सकेको छैन । भूकम्पले क्षति गरेका विद्यालय भने प्रभावित जिल्लामा पुनर्निर्माण भइराखेका छन् । एकीकृत उच्च शिक्षा विधेयकको मस्यौदा तयार पार्ने काम सुरु हुनै सकेको छैन । गत आर्थिक वर्षभित्रै विश्वविद्यालयको लगानी ढाँचा निर्धारण गर्ने मन्त्रालयको लक्ष्य थियो । मन्त्रीले घोषणा गरेको ढाँचा निर्धारण र विश्वविद्यालयको वर्गीकरण हुन सकेको हो । मन्त्रालयका एक उपसचिवले भने, ‘देखिने गरी काम भएको छैन ।’ शिक्षामन्त्री पोखरेलले भने ३ महिने कार्ययोजना पूरा नहुँदै सामुदयिक विद्यालय सुधारको २२ बुँदे कार्यक्रम सार्वजनिक गरेका छन् । ‘लामो अभियानपछि मात्रै शिक्षा क्षेत्रमा सुधार आउँछ,’ उनले भने, ‘सामान्य प्रक्रियाबाट सार्वजनिक शिक्षा सुधार हुने देखिँदैन ।’ तत्काल नतिजा खोज्न नहुने उनको तर्क छ । ‘काम भइरहेको छ, नतिजा आउन केही समय कुर्नुपर्छ,’ उनले भने ।

समाचार

उपराष्ट्रपति पुन चीन प्रस्थान

छोटकरी
- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– उपराष्ट्रपति नन्दबहादुर पुन ६ दिने औपचारिक भ्रमणका लागि बुधबार चीन प्रस्थान गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा गृहमन्त्री रामबहादुर थापाले उनलाई बिदाइ गरे । उपराष्ट्रपति पुन एयर चाइनाको विमानबाट सिचुवान प्रान्तको राजधानी छेन्दु प्रस्थान गरेका हुन् । उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै छेन्दुमा बिहीबार सुरु हुने ‘१७ औं पश्चिम चीन अन्तर्राष्ट्रिय मेला’ मा सहभागी हुनेछन् । उनले मेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

यसैबीच सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल ‘पान अफ्रिकन सम्मेलन’ मा सहभागी हुन मंगलबार राति घाना प्रस्थान गरेका छन् । उनी घानाको समाजवादी पार्टीको आयोजनामा हुने सम्मेलनमा सहभागी हुनेछन् ।

 

समाचार

मौलिक हक कार्यान्वयन गर्ने १६ विधेयक प्रमाणीकरण

छोटकरी
- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– राष्ट्रपति विद्या भण्डारीले संविधानले प्रत्याभूत गरेका सबै मौलिक हक कार्यान्वयन गर्ने १६ विधेयक प्रमाणीकरण गरेकी छन् । संघीय संसद्का दुवै सदनबाट पारित ती विधेयक भण्डारीले मंगलबार राति प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार संविधानको धारा ११३ को उपधारा (२) बमोजिम भण्डारीले ती विधेयक प्रमाणीकरण गरेकी हुन् । संविधानसभाबाट संविधान जारी भएको तीन वर्ष अर्थात् असोज ३ अघि नै मौलिक हकसम्बन्धी ती विधेयक कार्यान्वयनमा आइसक्नुपर्ने संवैधानिक बाध्यता भएकाले संघीय संसदको बैठकले नियमावली निलम्बन गरी छोटो प्रक्रियाबाट पारित गरेको हो ।

समाचार

केयू रजिस्ट्रारमा शर्मा

छोटकरी
- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– काठमाडौं विश्वविद्यालय (केयू) को रजिस्ट्रारमा प्राध्यापक सुबोध शर्मा नियुक्त भएका छन् । प्रधानमन्त्री तथा कुलपति केपी ओलीले उपकुलपति रामकण्ठ माकाजुको सिफारिसमा शर्मालाई नियुक्त गरेको विश्वविद्यालयले जनाएको छ । रजिस्ट्रार भोला थापाले राजीनामा दिएपछि उक्त पद रिक्त थियो ।

Page 4
प्रदेश ३

‘संविधान साधनमात्र हो’

- प्रताप विष्ट
चौथो संविधान दिवसको अवसरमा हेटौंडामा बुधबार मुस्लिम समुदायद्वारा निकालिएको र्‍याली । तस्बिर : प्रताप

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले नेपालको संविधानले एकात्मक राज्यको अन्त्य गर्दै बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक तथा भौगोलिक विविधतालाई आत्मसात गरेको बताए ।

उनले संविधानले सबै प्रकारका विभेद अन्त्य गरी आर्थिक सामानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाज निर्माण गर्ने संकल्प लिएको विचार व्यक्त गरे । चौथो संविधान दिवसको अवसरमा बुधबार हेटांैडामा आयोजित कार्यक्रममा संविधानले जनताका प्रतिस्पर्धात्मक बहुलदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानवअधिकार, पूर्ण प्रेस स्वतन्त्रता, निष्पक्ष र सक्षम न्यायपालिका र कानुनी राज्यको अवधारणा लगायतका लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्ने अठोट लिएको बताए ।

‘संविधान यथार्थमा साध्य होइन, साधनमात्र भएको’ बताउँदै मुख्यमन्त्री पौडेलले भने, ‘राजनीतिक लडाइँको यात्रा सकिसकेको र आफंैद्वारा निर्माण गरिएको संविधानमार्फत आफू शासित हुने लोकतान्त्रिक पद्धतिलाई स्थापित गरिसकेका छौं, अबको यात्रा राष्ट्रनिर्माण, सुशासन र समृद्धि हुनुपर्छ ।’ प्रदेश सरकार अहिले कानुन निर्माणमा युद्धस्तरमा जुटिरहेको बताए । कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकट्टेलले यो संविधानले सबै क्षेत्र र समुदायको हितका निम्ति काम गर्ने बताए । प्रदेश सरकारले आयोजना गरेको उक्त दिवसको प्रभातफेरी हेटांैडाको भुटनदेवी माविको चौरबाट सुरु भएर मकवानपुर बहुमुखी क्याम्पसमा पुगेर सभामा परिणत भएको थियो । प्रभातफेरीमा नेवारी बाजा, खैँजेडी भजन, तामाङ नाच र मगर समुदायको झाँकी प्रदर्शन गरिएको थियो ।

सहिद परिवारलाई सम्मान
जनयुद्धका क्रममा मारिएका मकवानपुरगढीका माओवादी नेता रुद्रबहादुर पाख्रिनकी पत्नी राममाया पाख्रिन र आव ०६२/०६३ जनआन्दोलनका क्रममा मारिएका मकवानपुरगढी गाउँपालिका आमभन्ज्याङका सहिद वासुदेव घिमिरेका बाबु कृष्णप्रसाद र आमा चित्रकुमारीलाई मुख्यमन्त्री डोरमणि पौडेलले सम्मान
गरेका थिए । उक्त कार्यक्रममा सहिद परिवारका तीनै जनालाई मुख्यमन्त्री पौडेलले दोसल्ला ओढाएर सम्मान गर्नुका साथै ५/५ हजार रुपैयाँ प्रदान गरेका थिए ।

धादिङमा फरक ढंगले
जिल्लामा यसपाला फरक ढंगले संविधान दिवस मनाइएको छ । गत वर्षजस्तो भाषण, जलपान कार्यक्रमको साटो यसपाला नागरिक समाजका संघसंस्था र राजनैतिक दलका भ्रातृसंगठनले रक्तदानलगायत सामाजिक कार्यमा समय दिएर संविधान दिवस मनाए । स्थानीय धादिङ समाज नामक नागरिक संस्थाले जिल्ला समन्वय समिति संयोजक जगन्नाथ नेपालमार्फत सदरमुकामका विभिन्न टोलमा फोहोर व्यवस्थापन गर्न ७० वटा डस्टविन वितरण गरी सदरमुकाम सरसफाइ गरेको छ । प्रमुख जिल्ला अधिकारी भगीरथ पाण्डेय, प्रहरी प्रमुख डम्बर विक, स्थानीय राजनैतिक दलका प्रमुख संलग्न समूहले सदरमुकाम सरसफाइ गरेको थियो ।
नेपाल कम्युनिस्ट पार्टीको भ्रातृ संगठन वाईसीएल तथा युवा संगठनले बीचबजारमा खुल्ला रक्तदान कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा ४८ महिला र १५ जना पुरुषले रक्तदान गरे ।

प्रदेश ३

बालिकाको पीडामाथि ठूलाको मोलतोल

- राजेन्द्र मानन्धर

बलात्कृत पाँच वर्षीया बालिका पुरुष चिकित्सकले जाँच्न खोज्दा चिच्याउँदै रुन्छिन । पुरुष देख्दा तर्सने उनलाई महिला चिकित्सकले जाँच्नुपर्छ ।प्रहरीका अनुसार यौन हिंसापीडित बालिकाको स्वास्थ्य सुधारोन्मुख छ तर पुरुषहरू देख्दा तर्सने र रुने गर्छिन । संवेदनशील अंगबाट अत्यधिक रक्तश्राव हुनेगरी बलात्कृत अबोध तिनै बालिकाको नाममा ठूलाबीच मोलतोल भइरहेको छ । घटना छोपछाप गर्न लाखौं रुपैयाँको मोलतोल भइरहेको विषय स्थानीय पूर्व जनप्रतिनिधिदेखि अगुवाहरूले सामाजिक सञ्जालमा राख्दै मेटाउँदै गरिरहेका छन् ।

पाँच वर्षीया बालिका बलात्कार आरोपित दोलखास्थित डिभिजन खानेपानी कार्यालयका प्राविधिक कमल बजगाईँले लुकीछिपी आफन्तलाई पैसाले लोभ्याइरहेको सामाजिक सञ्जाल फेसबुकदेखि छिमेकमा चर्चा छ । घटनाको अनुसन्धान गरिरहेका दोलखा प्रहरी प्रमुख डीएसपी वासुदेव पाठकले बाहिरबाहिर पैसाको मोलतोल गर्न छाडेर कानुनी दायरामा आउनु नै बजगाईँका लागि हित हुने बताए । पैसाको मोलतोल भइरहेको जानकारी आएको बताउँदै उनले भने, ‘बजगाईँले तत्काल कानुनी दायरामा नआए जे पनि हुन सक्छ ।’

गत भदौ १७ गते साँझ एक घरमा खाना खान गएका बेला एकान्तमा बालिकाको संवेदनशील अंगभित्र औंला छिराएको परिवारको आरोप छ । चिकित्सकीय प्रतिवदेनमा बालिकाको गुप्ताङ्ग क्षतविक्षत छ । केही ठूलो चिज छिराइएको चिकित्सकले किटानी गरेको छ । निकै दिनसम्म रक्तश्रावको मारमा परेकी बालिकाको शरीर सुन्निएको र केही शिथिलता देखिएको छिमेकीको भनाइ छ ।

बालिकामाथि भएको जघन्य अपराध मिलाउन ५ लाखदेखि ८ लाखसम्मको मोलतोल भइरहेको स्थानीय एक पूर्व जनप्रतिनिधिले फेसबुक वालमा लेखे । सयौंले बालिकाको पक्षमा प्रतिक्रिया लेखेको उक्त पोस्ट अहिले भने हटाइएको छ । एकजना स्थानीय भन्छन्, ‘लुकेर हिँडेका उनी अहिले पनि पैसाको लोभ देखाउने र विभिन्न व्यक्तिमार्फत बलात्कारको घटना सामान्य बनाउन दबाब दिइरहेका छन् ।’

अबोध बालिका पीडामा परेको अपराध दुई दिनसम्म परिवारभित्रै लुक्यो । रातभर अभियुक्त र उनका भाइले पैसाको प्रलोभन देखाइरहे । परिवारका सदस्यमाथि अपराधी उम्काएको आरोप पनि छ । तर पारिवारिक भनाइमा घटनालगत्तै अताल्लिएका बेला अपराधीलाई समाउने ध्यान गएन ।

५२ वर्षीय कमल बजगाईँ खानेपानीसम्बन्धी सरकारी प्राविधिक कर्मचारी हुन् । जागिरको क्रममा विभिन्न ठाउँमा उनी यौन दुराचारीको आरोपबाट उम्किएका एक सहकर्मी बताउँछन् । उनले दुराचारको दाउ रच्न नै सातवटा फोन चलाउने गरेको आरोप पनि छ । प्रहरीका अनुसार अहिले सबै फोन नम्बर बन्द छन् ।

यौन अपराधको मुद्दा २५ वर्षसम्म सक्रिय रहन्छ । ५२ वर्षीय उनका लागि तत्काल कानुनी दायरामा आउनु नै उत्तम हुने प्रहरीले परिवारका सदस्यलाई सूचना दिएको छ । बालिकाको पीडालाई पैसाको लेनदेनमा परिणत गर्ने खोज्नेसमेत अपराधी ठहर्ने कानुनी व्यवस्था छ । पैसा लिन खोज्ने र बिचौलियासमेतको निगरानी भइरहेको प्रहरीको भनाइ छ ।

प्रदेश ३

प्रधानाध्यापकले पिटेपछि अस्पताल भर्ना

- कान्तिपुर संवाददाता

प्रधानाध्यापकको पिटाइबाट कानमा समस्या आएको भन्दै नवलपुर बुलिङटार–६ को श्री शिव माविमा कक्षा १० मा पढ्ने विद्यार्थी भरतपुरको पुरानो मेडिकल कलेजको शिक्षण अस्पतालमा भर्ना भएका छन् ।

स्कुल ढिला आएको भनेर प्रधानाध्यापक ओमकुमार श्रेष्ठले पिटेका कारण कानबाट रगत बगेपछि अस्पताल नै आउनुपरेको खुमन सार्कीले बताए । ‘घरबाट विद्यालय टाढा छ । कहिलेकाहीं ढिला भइहाल्छ । हिजो मंगलबार पनि अलि ढिला भयो । किन ढिला आएको भनेर सरले कानमा पिट्नुभयो । रगत बगेर सहन नसकेपछि अस्पताल आएको हुँ,’ खुमनले भने ।

आफूसहित नौजना केटाहरूलाई प्रधानाध्यापक श्रेष्ठले झ्यामझ्याम्ती पिटेको उनले बताए । घरदेखि विद्यालय एक डेढ घण्टा टाढा भएको उनको भनाइ छ । प्रधानाध्यापक श्रेष्ठले गम्भीर चोट पुग्ने गरेर आफूले कसैलाई नपिटेको प्रतिक्रिया दिए । ‘कक्षा १० मा पढ्ने विद्यार्थी अलि गम्भीर हुनुपर्छ । समयमा स्कुल नआए कसरी राम्रोसँग पढ्ने ? सधैं ढिला आएपछि किन यसो गरेको भनेर सोधें, कारण बताउनेलाई कक्षामा पनि पठाएँ । ढाँट्न खोज्नेलाई हल्का गालामा हिर्काएको हो,’ प्रधानाध्यापक श्रेष्ठले भने ।

खुमनको कानमा पहिलेदेखि नै कुनै समस्या रहेको हुन सक्ने उनको भनाइ छ । ‘यो मलाई बदनाम गराउन अनेक तरिकाले प्रचार गरेको हो कि भन्ने लागेको छ । नभए त्यस्तो गम्भीर हुने गरेर मैले कसैलाई पिटेको छैन । मेरो स्वार्थ विद्यार्थीले राम्रोसँग पढून्, समयमा स्कुल आऊन् भन्ने न हो,’ कान्तिपुरसँग टेलिफोनमा प्रधानाध्यापक श्रेष्ठले भने ।

प्रदेश ३

दुर्घटनामा एकको मृत्यु

- कान्तिपुर संवाददाता

धादिङ (कास)– थाक्रे गा.पा. ७ दुबेखोला स्थित पृथ्वीराजमार्गमा भएको मोटरसाईकल दुर्घटनामा एकजनाको मृत्यु भएकोछ । खानिखोला बाट गजुरी तर्फ जादै गरेको बा ७९ प ७२६५ नं. मोटरसाईकल आफै अनियन्त्रीत भई सडकमा पछारिंदा मोटरसाईकलमा सवार ३ जना ब्यक्ती मध्य धुनीवेंसी नगरपालिका – निवासी १८ वर्षीइ अनिल लामाको उपचारका लागी लैजादैं गर्दा मृत्यु भएको खानीखोला स्थित प्रहरी निरिक्षक उद्धव पोखरेलले वताए । अन्य २ जना गम्भिर घाईते भएका धुनिबेशी न.पा. ८ बस्ने बर्ष १७ को सौगात खड्का र बर्ष १९ को सुमन श्रेष्ठ लाई थप भई उपचारको काठमाडौं पठाईएको प्रहरीले जनाएकोछ ।

प्रदेश ३

१२ जना पक्राउ

राजमार्गमा अवरोध
- कान्तिपुर संवाददाता
नयाँ ‘मुलुकी अपराध संहिता तथा यातायात व्यवस्था ऐनमा भएको सजाय पुनरावलोकनको माग गर्दै गत मंगलबारदेखि धादिङमा चालकले हडताल गरेपछि अलपत्र परेका सर्वसाधारण ।तस्बिर : हरिहरसिंह राठौर

सवारी आवागमनमा अवरोध गरेको आरोपमा प्रहरीले यातायात मजदुर संघका अध्यक्ष प्रकाश सिम्खडासहित १२ चालकलाई पक्राउ गरेको छ । संघ अध्यक्ष ज्वालामुखी २ निवासी सिम्खडालाई सदरमुकाम धादिङबेंसीस्थित पुछार बजारबाट नियन्त्रणमा लिइएको हो । अन्यलाई जिल्लाका विभिन्न स्थानमा पक्राउ गरेको थियो ।

सवारी अवरोध गर्ने चालकलाई तितरबितर गरेर प्रहरीले सुरक्षा दिई सदरमुकामबाट केही सवारी सञ्चालनमा ल्याएको छ । पृथ्वीराजमार्गको धुनीबेंसी ७ स्थित जुगेखोलामा मुग्लिनबाट काठमाडौं जाँदै गरेको बा५ख ९४४ नम्बरको बसको सीसा तोडफोड गरेको आरोपमा थाक्रे ११ निवासी २७ वर्षीय नारायण पन्त र थाक्रे ७ निवासी रोशन पन्तलाई प्रहरीले पक्राउ गरेको हो ।

बेनीघाटको विशालटारमा सडक अवरुद्ध गरी बसेका ९ जनालाई गजुरीस्थित इलाका प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय दीपक विसुराल, विजय सेढाईसहित ५ जना चालक र ४ जना विद्यार्थी रहेका छन् ।

पक्राउ परेकालाई सार्वजनिक अपराधविरुद्धको ऐनअनुसार मुद्दा चलाइने स्थानीय प्रशासनले जनाएको छ । यातायात ठप्प पार्न समूह बनाएर सडकमा जम्मा भएका चालकलाई प्रहरीले लाठीचार्ज गरी तितरबितर बनाएको छ । नयॉ मुलुकी अपराध संहिता तथा यातायात व्यवस्था ऐनमा भएको सजाय पुनरावलोकनको माग गर्दै गत मंगलबारदेखि चालकले देशव्यापी हडताल गरेका छन् ।

गत मंगलबार जिल्लाका सार्वजनिक यातायातका चालकले प्रजिअ भगीरथ पाण्डेयलाई सवारी चालक अनुमति पत्र बुझाई हडतालमा उत्रेका हुन् । चालकहरू हडतालमा उत्रेर टिकट बेचेका सवारीसाधनहरूलाई पनि गुड्न दिएका छैनन् । सदरमुकामबाट काठमाडौं, पोखरा र चितवन गुड्ने ७ दर्जनभन्दा बढी सार्वजनिक सवारीसाधनहरू चलकको समूहले अवज्ञा आन्दोलन गरी ठप्प पारेका छन् । चालकले हडताल गरेपछि जिल्लाबाट काठमाण्डौं लगायतका जिल्लामा निर्यात हुने टमाटर लगायतका तरकारी बारीमै सडेका छन् ।

प्रदेश ३

सडकमा खाल्डै खाल्डा

- कृष्ण थापा

गंगटे–ढिकुरे–टहरे–गुर्जे भन्ज्याङ–काठमाडौं टोखा जोडिने सडकमा खाल्डा–खुल्डी परेको छ । यसले यात्रा असहज बनाएको छ । सडक ठाउँठाउँमा भासिएको छ । कतिपय स्थानमा साना सवारीका टायर नै पुरिने खाल्डा बनेका छन् । अधिकांश ठाउँमा कालोपत्रे उप्किएको छ ।

गंगटे, सेरा, बराफेदी, ढिकुरे सडक हिलो माटोले मोटरसाइल चिप्लिने गरेका छन् । ‘यात्रा गर्नै जोखिम छ,’ सूर्यगढी गाउँपालिका ४ का गोपाल न्यौपानेले भने, ‘कति ठाउँमा लडियो । यात्रुको कुरा कसले सुन्ने ?’ बराफेदीदेखि टिकुरेसम्मको ११ सय मिटर सडक नाली बनाए पनि भलपानी सडकमा छ । विदुर नगरपालिका २ गंगटेदेखि बराफेदीसम्मको सडक ठाउँ–ठाउँमा साँघुरिएको छ । सडक किनारा भत्केको छ । ‘कुनै पनि समयमा ठूलो दुर्घटना हुन्छ, लिखु गाउँपालिका १ का यादव पाण्डेले भने, ‘हाम्रो सरकार सुतेको छ । नत्र भने कति भनियो । सडक सुधार गर्दैन । भनेको सुन्दैन कसैले ।’

सडकमा १०/१२ चक्के मालबाहक गाडी र बालुवा बोक्ने टिपर आवतजावत बढी छ । टिपरका कारणले सडक पिच उप्केको स्थानीयको भनाइ छ । बराफेदीदेखि गंगटेसम्म सडक ठेक्का भइसकेकाले सडक डिभिजन कार्यालयले जनाएको छ । त्यस्तै, ढिकुरे–छहरे करिब ७ किमि सडक मध्यपहाडी लोकमार्गमा पर्छ । त्यसको पनि हालत उस्तै छ । डुडेबगैचा, ठाँटीमा सडक हिलाम्य छ । छहरे–गुर्जेभन्ज्याङ सडक बालुवा बोक्ने टिफरले ठाउँ–ठाउँमा पिच उप्केको छ । सडक खाल्डा परेका छन् ।
गुर्जे भन्ज्याङदेखि काठमाडौंको जगातेमा यात्रुवाहक बस चढ्न नसकेर यात्रुले डोरी लगाएर तान्ने र धकेल्ने गर्छन् । यो सडक विदुरदेखि काठमाडौं जाने ५२ किमि दूरीको छोटो सहायक मार्ग हो ।

गल्छी–त्रिशूली–मैलुङ निर्माणाधीन सडकको हालत पनि उस्तै छ । धादिङ र नुवाकोटको कोल्पुटारमा बालुवा बोक्ने टिपर र ठूला मालबाहक गाडीले यात्रुवाहक साना र ठूला सवारीमा चढेका यात्रुले घण्टौं जाममा पर्ने गरेका छन् । मेसिनले बालुवा झिक्न नदिएपछि त्रिशूली, कोल्पु, तादी र लिखुमा सयौं मजदुर लगाएर झिकेको बालुवा टिपरमा लोड गरेर काठमाडौं लगिन्छ । बढी गुड्ने यिनै टिपर भएकाले सडक बढी जीर्ण बनेको बेलकोटगढीका ५ का श्याम नेपालले बताए । काठमाडौंको बालाजु–त्रिशूली ७० किमि सडक निर्माणाधीन छ ।

Page 5
उपत्यका

मखमलीले आत्मनिर्भर

- कान्तिपुर संवाददाता
चाँगुनारायण नगरपालिका–९ ताथली बालाटोलस्थित बारीमा फुलेको मखमली फूल टिप्दै स्थानीय कृषक । तस्बिर : लीला श्रेष्ठ

एकताका चाँगुनारायण नगरपालिका–९ ताथलीका बुद्धिबहादुर वनमालाको पुर्खाले फूल पुर्‍याएपछि मात्र घर/घरमा पूजा सुरु हुन्थ्यो । पछि चलन फेरिँदै गयो । बुद्धिबहादुरले टोल/टोलमा फूल पुर्‍याउने काम त गरेनन् तर उनले पूर्वमुमा बडामहारानी
रत्नराज्यलक्ष्मी शाहलाई पूजाका लागि फूल दिने काम भने छोडेका छैनन् । ‘मैले फूल पुर्‍याएपछि मात्र पूर्वमुमा बडामहारानीले पूजा गर्नुहुन्छ,’ उनले भने, ‘बगैंचाको स्याहार गर्ने, फूल पुर्‍याउने नै पेसा हो ।’

बुद्धिबहादुरका अनुसार पूर्वमुमा बडामहारानीलाई फूल पुर्‍याएबापत उनले मासिक ५ किलो चिउरा, एक किलो चिनी, चियापत्ती, वार्षिक तीन जोर लुगा/कपडा पाउँछन् । रत्नराज्यलक्ष्मीको बगैंचा दक्षिणढोकामा स्याहार गरेको छुट्टै तलब पनि लिन्छन् ।

दिनहुँ बगैंचा स्याहार गर्ने र पूर्वबडामहारानीलाई फूल पुर्‍याउन उनले मखमली फूलको खेती गरेका छन् । वार्षिक २ हजार देखि ३ हजार मखमली फूलको माला व्यापार गर्दै आएको उनी बताउँछन् । ‘पहिले/पहिले पुर्खाले घर/घरमा फूल पुर्‍याएबापत स्थानीयले दिएको चामल, भेटीबाट गुजारा चल्थ्यो,’ उनले भने, ‘अहिले त्यो जमाना छैन, अब त व्यवसाय गर्नुपर्छ ।’

पुर्खाले सम्हाल्दै आएको पेसालाई उनले आत्मनिर्भर हुने व्यवसायमा ढालेका छन् । वार्षिक कम्तीमा डेढलाख देखि २ लाख कमाइ मखमली फूलबाटै हुन्छ ।
त्यस्तै, ताथली बालाटोलकी सन्तमाया बाला मखमली फूल टिप्न, गाँस्नमा व्यस्त छिन् । विशेषगरी तिहारमा नभई नहुने मखमली फूल टिप्न र गाँस्न यतिखेर ताथली, गुण्डुलगायत क्षेत्रका कृषक व्यस्त छन् । तिहार आउन करिब दुई महिना बाँकी छ तर, मखमली फूल खेती गरेका कृषकले असारको अन्तिम सातादेखि माला गाँसेर बिक्री गर्न थालेका हुन् ।

मखमली फूलका लागि सूर्यविनायक नगरपालिकाको गुण्डु र चाँगुनारायण नगरपालिकाको ताथली प्रसिद्ध छन् । केही वर्ष अघिदेखि यस भेगका कृषकको मुख्य आयस्रोत मखमली फूल खेती बनेको कृषकहरू बताउँछन् । ‘मखमली फूल खेतीले आत्मनिर्भर बनाएको छ,’ सन्तमायाले भनिन्, ‘दसैं–तिहारका लागि अन्यत्र खर्च खोज्नु पर्दैन, चाडपर्व मनाएर पनि बचत निकाल्न सकिन्छ ।’ मखमली फूल खेतीसँगै अन्यजातका फूल, फूलबारीमै भटमास, मकै लगाएको उनी बताउँछिन् ।

दिदीबहिनी/दाजुभाइको आत्मीय संगम तिहारमा दिदीबहिनीले दाजुभाइलाई कहिल्यै नओइलाउने मखमली फूलको माला लगाएर आशीर्वाद दिने चलन छ । सोही चलनअनुसार मखमली फूलको मालाको माग बढेको उनीहरू बताउँछन् । ‘मखमली फूलको माला खोज्न साउनदेखि नै आइसके,’ ताथलीकी सरिता बालाले भनिन्, ‘मखमली फूलको विकल्पमा सयपत्री लगायत अन्य फूलको माला लगाइदिने चलन पनि छ तर मखमली फूललाई विशेष मानिन्छ ।’ चैत/वैशाखमा ब्याड राख्ने, जेठमा रोप्ने मखमली फूल असारको अन्त्यबाटै टिपेर माला गाँसी झुन्ड्याएर राख्ने गरेको उनी बताउँछिन् ।

प्रत्येक वर्ष यसभेगका महिलाले मखमली फूलबाट ५० हजार देखि ३ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् । ‘विशेषगरी पुरुषहरू अन्य काममा व्यस्त हुन्छन्, फूलखेतीको विशेष श्रेय महिलाहरूलाई नै जान्छ,’ स्थानीय रामदेवी बालाले भनिन्, ‘बालबच्चा हुर्काउँदै पारिवारिक जिम्मेवारीसँगै महिला मखमली फूलखेती गरेर आत्मनिर्भर बन्दै छन् ।’ घरमा बसीबसी माला गाँस्छौं, फूल गाँस्न अन्य क्षेत्रका मानिसहरू पनि आउँछन् ।’ ‘प्रतिमाला गाँसेको पाँच रुपैयाँ ज्याला पाउँछन्,’ उनले भनिन् । एक रोपनी जग्गामा लगाएको मखमली फूलको करिब ६ हजार माला बन्ने समेत उनले बताइन् । प्रतिमाला २० देखि २५ रुपैयाँका दरले बिक्री गर्दै आएको समेत उनीहरू बताउँछन् । गुण्डु र ताथलीका महिलाहरूले वर्षमा दुईदेखि सात हजार माला बेच्दै आएको जनाए ।

विशेषगरी तिहारका लागि मात्र प्रयोग हुँदै आएको मखमली फूल छठपर्वका लागि समेत माग हुँदै आएको कृषक बताउँछन् । भक्तपुरको मखमली फूलको माग स्वदेशमा मात्र नभई विदेशमा समेत उत्तिकै छ ।

‘प्रत्येक वर्ष तिहारका लागि जापान, क्यानडा, अस्ट्रेलिया, अमेरिका लगायत देशहरूमा भक्तपुरको माला पुग्ने गरेको छ,’ कृषक इन्द्रबहादुर वनमालाले भने, ‘तिहारका लागि विदेशमा बस्ने नेपालीहरूले मखमली फूल माग गर्छन् ।’ मखमली फूलमा लागेको मेहनतको तुलनामा आम्दानी भने सोचेजस्तो नभएको कृषकको गुनासो छ । ‘मखमली फूलको बिरुवा जोगाउनै मुस्किल पर्छ’, रामदेवी बालाले भनिन्, ‘जरा कुहिने, डढुवा रोग लाग्ने हुँदा औषधि तथा भिटामिनको प्रयोग अत्यधिक गर्नुपर्छ ।’ ‘फूल खेती गर्न अत्यधिक मेहनत चाहिन्छ, प्रोत्साहन गर्न कुनै निकाय तयार छैनन्,’ उनले भनिन् । खटिए अनुसारको बजार भाउसमेत नपाएको कृषकहरूको गुनासो छ ।

‘कृषकले दिएको दोब्बर भाउमा बाहिर बिक्री भइरहेको हुन्छ,’ मोतिबहादुर बालाले भने, ‘कृषकले भन्दा बिचौलियाले दोब्बर आम्दानी गर्छन् ।’ प्रत्येक वर्ष गुण्डु र ताथलीका करिब ७ सय महिलाले ३ करोड रुपैयाँभन्दा बढीको मखमली फूल बिक्री गर्दै आएका छन् ।

उपत्यका

फेरि २० वर्षे पुराना गाडी चलाउन चलखेल

- प्रशान्त माली

मुलुकभर सबभन्दा बढी पुराना गाडी उपत्यकामा गुड्छन् । ट्राफिक प्रहरीका अनुसार उपत्यकाका तीन जिल्लामध्ये सबैभन्दा पुराना गाडी ललितपुरमा चल्छन् । विशेष गरेर शैक्षिक संस्था, सरकारी कार्यालय र अस्पतालका बस पुराना छन् । थोत्रा गाडीबाट निस्कने कार्बन मोनोअक्साइडको मात्रा बढी भएर वातावरण प्रदूषण भई बिरामीको संख्या वृद्धि भएको वातावरणविद् तथा चिकित्सकको प्रतिवेदन छ । पार्टपुर्जा कमजोर र यात्रुको चाप हुँदा बढी दुर्घटना र अपांग, अशक्त र महिला सिटको दुरुपयोग भएको सरकारी तथ्यांक छ ।

४ वर्षअघि सरकारले मुलुकबाट २० वर्षे पुराना गाडी हटाउने निर्णय गर्‍यो । यातायात व्यवस्था विभागले २०७३ चैतदेखि उपत्यकामा २० वर्ष पुराना गाडी चल्नमा रोक लगायो । यसले लगनखेल–चापागाउँ र धापाखेल रुटमा चल्ने २० देखि ५१ वर्षसम्मका पुराना बस विस्थापित पनि भए । तर, अहिले विभागले व्यवसायीको दबाबमा २०७१ भदौ २६ मा मन्त्रिपरिषद् बैठकले २ वर्षभित्र २० वर्ष पुराना गाडी हटाउने गरेको निर्णयलाई कार्यान्वयनको सट्टा उल्टो ५ वर्ष म्याद थप गर्न मन्त्रालयमा प्रस्ताव गरेको छ ।

यातायात अभियन्ता रामबहादुर थापा भन्छन्, ‘पुराना गाडी बिस्तारै हटदै थिए । अहिले आएर विभागले प्रभावमा परेर जनताको पक्षमा भन्दा व्यवसायीको पक्षमा निर्णय लिएको छ ।’ उनले तत्काल प्रस्ताव फिर्ता लिन माग गरेका छन् ।’ ‘पुरानो गाडीको हेडलाइट बेलुका मधुरो बल्छ । र कार्बोरेटर, क्लजप्लेट, गियरबक्स र इन्जिन कमजोर भएका पुराना गाडीले बढी यात्रु बोक्नाले दुर्घटना हुने गरेको छ,’ उनले भने । वैशाखबाट सवारी सधानको धूवाँ परीक्षण गरेर हरियो स्टिकर अनिवार्य गर्ने योजना पनि अलपत्रमा परेको छ । यसले उपत्यकामा खुलेआम अत्याधिक कालो धूवाँ फाल्ने गाडीहरू गुडिरहेका छन् । योजना कार्यान्वयन गर्न सुरुका दिनमा गृहमन्त्रीलगायत अन्य मन्त्रीहरू सडकमा निस्किएर सवारी चेक गरेका थिए । उपत्यकामा गाडीबाट निस्कने धूवाँले वातावरण प्रदूषित र मानव स्वास्थ्यमा प्रत्यक्ष असर पुर्‍याउने गरेको भन्दै सरकारले २०५२ बाट जाँच गर्ने सुरु गरेको थियो ।

यातायात विभागका सूचना अधिकारी गोकर्णप्रसाद उपाध्यायले २० वर्षे पुराना गाडीको म्याद थप गर्ने बारेमा आफूलाई जानकारी नभएको बताए । ‘कार्यालयमा भर्खर आएको हुँ,’ उनले भने । विभागले गत वर्ष पेट्रोल इन्जिनको धूवाँ जाँच गर्ने २० वटा, डिजेल इन्जिनको धूवाँ जाच गर्ने २० वटा र सवारीको इन्जिन र चेसिस जाँच गर्ने २० वटा क्यामेरा र यसको प्रयोगबारे देशभरका यातायात व्यवस्था कार्यालयका आवश्यक कर्मचारीलाई तालिम दिन टेन्डर गरेको थियो । त्यो नेपाली कम्पनी हेलिस इन्टरनेसनललाई १ करोड ४६ लाखमा पाएको थियो ।

उपत्यका

सहज हुँदै मोतीबिन्दु उपचार

- फातिमा बानु

बढदो जनचेतना, सर्वसुलभ उपचार र आधुनिक प्रविधिका कारण मोतीबिन्दुको उपचार सहज हुँदै छ । नेपालमा चार दशकअघि दृष्टिविहीनको मुख्य कारण मोतीबिन्दु थियो । पछिल्लो समय मोतीबिन्दु उपचार सहज भएकै कारण त्यो घटेको छ ।

बढ्दो उमेरसँगै कपाल फुले जस्तै आँखाभित्रको लेन्स पाक्दै जाने समस्या मोतीबिन्दु हो । खासगरी ५० वर्ष उमेर कटेकाहरूमा यस्तो समस्या हुन्छ । लेन्स पाक्दै जाँदा आँखा धमिलो देख्ने, बिस्तारै आँखाको ज्योति हराएर गई दृष्टिविहीन समेत हुन सक्छ । उपचार गरेमा गइसकेको ज्योति समेत फर्किएर आउँछ ।

मोतीबिन्दुको जीवनशैली र खानपिनको कुनै सम्बन्ध छैन । यस्तो बेला आँखामा मोतीजस्तो सेतो बिन्दु देखिने र यसले बाहिरबाट आउने ज्योति छेकिदिन्छ । उमेरका कारण हुने समस्याको उपचार शल्यक्रियाबाट मात्रै सम्भव भएको विशेषज्ञ डाक्टर बताउँछन् । मोतीबिन्दु विशेषज्ञ डा. बेन लिम्बू भन्छन्, ‘पहिले मोतीबिन्दुको उपचार जटिल थियो, उपचार गरेर ठीक हुन्छ भन्ने जनचेतना पनि थिएन ।’ कुनै समय दुवै आँखा बन्द भएपछि मात्रै अस्पताल आउँथे भने अहिले हल्का आँखा धमिलो देख्नेबित्तिकै बिरामी अस्पताल आइपुग्ने गरेको उनले बताए ।

चार दशकअघि देशमा आँखा अस्पताल कम थिए । विशेषज्ञ डाक्टर र आधुनिक प्रविधिका उपकरण पनि थिएनन् । मोतीबिन्दुको शल्यक्रिया गर्दा बिरामी डराउँथे । शल्यक्रिया पनि उस्तै जटिल थियो, आँखा चिरेरै गर्नुपथ्र्यो । ठूलो घाउ हुने । रगत बग्ने, संक्रमण बढ्ने जटिलता हुन्थ्यो । उपचारमा पनि महँगो शुल्क तिर्नुपर्ने हुँदा धनीले मात्रै उपचार गर्न सक्ने रोगका रूपमा चिनिन्थ्यो यो रोग । उतिबेला आँखाको शल्यक्रिया गरे पनि लेन्सको आविष्कार भएको थिएन । अहिले शल्यक्रियापश्चात् कृत्रिम लेन्स राख्न मिल्छ । सुरुमा कडाखाले लेन्स आउँथ्यो । यस्तो लेन्सले आँखा दुख्ने हुन्थ्यो । अहिले नेपालमै गुणस्तरीय नरम लेन्स बन्छन् । एकपटक लगाएको लेन्सले जीवनभर काम गर्छ, महँगो पनि छैन । पाँच सयदेखि १५ सय सम्ममा लेन्स पाइन्छन् । पहिले जस्तो बिरामीले लेन्स किन्न नसकेकै कारण दृष्टिविहीन भएर बस्न पर्दैन । डा. बेन लिम्बू भन्छन्, ‘पहिले लेन्स मात्रै २५ हजार पथ्र्यो, विपन्नले किन्नै सक्दैनथे ।’ जिल्ला र गाउँसम्म आँखा उपचार सेवा पुगेकाले बिरामीले आँखा शल्यक्रियाका लागि केन्द्र नै धाउनुपर्ने अवस्था छैन ।

पछिल्लो समय तिलगंगा आँखा प्रतिष्ठानमै लेन्स उत्पादन भइरहेको छ । बिरामीले सस्तो मूल्यमा लेन्स पाउँछन् । देशभर खपत हुन पुग्ने गरी लेन्स उत्पादन भइरहेको अस्पतालले जनाएको छ । देशमा मात्रै होइन, विदेशमा पनि निर्यात हुन्छ । प्रतिष्ठानले उत्पादित लेन्स भारत, पाकिस्तान, भुटान र अमेरिकामा निर्यात गरिरहेको छ । प्रतिष्ठानबाट वार्षिक १५ जना आँखा विशेषज्ञ समेत उत्पादन भइरहेकाले जनशक्तिको कुनै अभाव छैन ।

त्रिपुरेश्वरस्थित मुलुककै जेठो नेपाल आँखा अस्पतालले दैनिक २० देखि २५ बिरामीको मोतीबिन्दु शल्यक्रिया गरेको छ । गत वर्ष मात्रै चार हजार बिरामीको मोतीबिन्दु शल्यक्रिया गरेर लेन्स हालिदिएको थियो । त्यस्तै, तिलगंगा आँखा प्रतिष्ठानबाट २४ हजारले मोतीबिन्दु शल्यक्रिया गरी लेन्स हाल्छन् । आँखा अस्पतालका मोतीबिन्दु विशेषज्ञ डा. नियाज कौसर मिकरानी भन्छन्, ‘अहिले उपचार सजिलो छ, कम्प्युटरबाट सानो प्वाल बनाएर छोटो समयमा शल्यक्रिया गरी लेन्स हाल्ने हो ।’ यस्तो आधुनिक शैलीको उपचार कम खर्चिलो र कम पीडादायी भएको उनले बताए । यस्तो उपचारमा बिरामीको अस्पताल बसाइ पनि कम हुन्छ, भोलिपल्टै घर
फर्किन सक्छन् ।

मोतीबिन्दु शल्यक्रियालाई ९९ प्रतिशत सफल हुने गरेको चिकित्सक बताउँछन् । उपचार ढिलो भएमा आँखाको पर्दा च्यातिने जलबिन्दु हुने जस्ता जटिलता देखिन सक्छ । यस्ता जटिलता देखिएपछि उपचार सम्भव छैन ।

उपत्यका

मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

छोटकरी
- कान्तिपुर संवाददाता

भक्तपुर (कास)– सूर्यविनायक–तीनकुने ६ लेन सडकखण्डअन्तर्गत मध्यपुर थिमि नगरपालिका–४ चारदोबाटोस्थित सडक पार गर्ने क्रममा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । प्रहरीका अनुसार भक्तपुरबाट काठमाडौंतर्फ जाँदै गरेको बा७०प १६६५ नम्बरको मोटरसाइकलको ठक्करबाट सख्त घाइते सोही स्थानका ८० वर्षीय जोगभक्त श्रेष्ठको मृत्यु भएको हो । मोटरसाइकल चालक भारत विहार घर भई सूर्यविनायक नगरपालिका बालकोट बस्ने ३० वर्षीय सम्लेश कुमार सिंहलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

उपत्यका

रेडियोलोजी ब्लकको भवन शिलान्यास

छोटकरी
- कान्तिपुर संवाददाता

भक्तपुर (कास)– मध्यपुर थिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरियामैत्री नगरपालिका अस्पतालको रेडियोलोजी ब्लक निर्माणको शिलान्यास भएको छ । स्वास्थ्यमा नागरिकको सहज पहुज अभिवृद्धि गर्ने उद्देश्यले सेवा विस्तार गर्न अस्पतालले ब्लक निर्माण गर्न लागेको नगर प्रमुख मदनसुन्दर श्रेष्ठले बताए । अस्पतालले सहुलियत रुपमा औषधि सेवा प्रदान गर्न फार्मेसीको समेत शुभारम्भ गरेको छ । यसअघि निसान फार्मेसीले अस्पतालभित्र भाडामा सञ्चालन गर्दै आएकामा नागरिकलाई सहुलियत औषधि बिक्री गरी सेवा प्रदान गर्न अस्पतालले आफ्नै फार्मेसी सेवा सुरु गरेको जनाएको छ ।

 

उपत्यका

अढाई केजी चरेससहित पक्राउ

छोटकरी
- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– प्रहरीले अढाई केजी चरेससहित एक जनालाई मंगलबार पक्राउ गरेको छ । नागढुंगा चेकपोस्टबाट काभ्रे घर भएका २१ वर्षीय सुदीप तामाङलाई पक्राउ गरिएको हो । धादिङबाट काठमाडौंतर्फ आइरहेका उनी सवार बा७९प १३०६ नम्बरको स्कुटरको डिकीमा चेकजाँचको क्रममा उक्त परिमाणको चरेस बरामद भएको थियो ।

उपत्यका

सुनको बाला बरामद

छोटकरी
- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– अवैध रूपमा ल्याएको सुनको बालासहित प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराका २५ वर्षीय आनन्दमोहन सिंह छन् । कतारबाट आएका उनका साथमा ५०/५० ग्रामका दुईवटा सुनका बाला बरामद भएको विमानस्थल प्रहरीले
जनाएको छ ।

Page 6
सम्पादकीय

आना चलान, घर ढलान

हामीले हेर्दाहेर्दै काठमाडौंको काँठ मासिँदै छ र योजनाबद्ध बस्ती विकासको अवसर पनि गुम्दै । बीसौं शताब्दीमा विश्वभर जहाँ–जहाँका बस्तीमा रेल र रोडका सञ्जाल बने, त्यहाँ–त्यहाँका सहरले काँठलाई धकेलिरहे । काँठ परपर सरिरह्यो । काठमाडौंमा पनि । चक्रपथ बन्नुअघि भित्रकै बस्ती काँठ थिए । सडकले सहर घेर्‍यो, काँठ बाहिर पार्‍यो । अंग्रेज लेखक क्वेन्टिन क्रिस्प भन्छन्, ‘यो विस्तारित ब्रह्माण्डमा समय निर्वासितका पक्षमा छ । जो एकपटक काँठमा बस्छ, ऊ आफ्नो ठेगाना नबदलीकनै महानगरवासी भइसक्छ ।’

सहर र गाउँको संक्रमणमा बाँच्ने थलो हो काँठ । जुन ठ्याक्कै सहर बन्न सक्दैन, गाउँ बाँकी रहँदैन । अमेरिकी राजनीतिज्ञ मोलिसा बिन भन्छिन्, ‘पहिचानको चोरी देशको सबैभन्दा तीव्र गतिमा बढिरहेको अपराध हो, खासगरी काँठमा ।’

काँठले गाउँको मूल्यप्रणाली छोड्न र सहरको अँगालिहाल्न सक्दैन । गाउँका अगाडि काँठ स्मार्ट हुँ भन्ने ठान्छ, सहरका अगाडि केही न केही । पुरै सहरी मूल्यप्रणाली अपनाउन स्रोत चाहिन्छ । सहर र पहाडको ‘बफर जोन’ काँठ । काठमाडौंको काँठको खास पहिचान छैन । पहाडका डाँडामा तामाङ । त्यसको फेदीमा बाहुन क्षेत्री, दलित, ती पनि मूलत: पृथ्वीनारायण शाहले उपत्यका जितेपछि बसाइँ सरेका । मैदानमा नेवार । काँठको मान्छे बसाइँ पनि सरेन । धेरै पछिसम्म त्यहाँ बसाइँ सरेर पनि कोही आएन । बाहिरी समुदायसँग घुल्न पनि पाएन ।

काँठ भौतिक विकासका हिसाबले मात्र सहरजस्तो देखिन थालेको हो । बाटो बन्यो । ढलान घर बने । होटल–पसल खुले । सामाजिक विकासले भने लायक केही छैन । शिक्षा, स्वास्थ्य, सरकारी सेवामा पहुँच सबै हिसाबले । काँठले रूढिवाद छाडिहाल्न पनि गाह्रो मान्छ । पुरुषप्रधान प्रवृत्ति व्याप्त छ । महिला मेहनती छन्, उत्पादन सहर लगेर बेच्छन् । घर धान्छन्, छोराछोरी पढाउँछन् । कति महिलाले वृद्धभत्ता लिने बेला मात्र नागरिकता बनाउँछन् ।

सरकारी जागिर पनि सानोतिनोमै सन्तुष्ट । सहरको मात्र वरिपरि भयो काँठ, सत्ताको होइन । विद्रोह पनि कहिल्यै गरेन, जीविका चलेकै छ भनेर । जे छ, त्यसैमा सन्तुष्ट भएर । एक मानो खान कहिल्यै दु:ख भएन । जग्गा धेरै भएर होइन, धेरै फलेर । त्यही मलिलो ठाउँ सहरीकृत हुँदै छ । कुनै योजना छैन । भित्री सहरभन्दा पनि कुरूप हुँदै छ ।

तीन वर्षअघिको भूकम्पपछि जग्गा बेच्ने होडबाजी झन् बढेको छ । आहान चलिसकेको छ– आना चलान, घर ढलान । यो प्रवृत्ति नरोकिए भविष्यमा काँठका बासिन्दाले ठूलो दु:ख पाउँदै छन् । खेतीबाट विस्थापित हुनेछन्, नयाँ अवसर पाइहाल्न सक्नेछैनन् । जानेको त्यही खेती थियो, जग्गा बेची खाइसकिनेछ । जग्गा बेचेर शिक्षामा लगानी गर्नेहरू त तैबिसेक टिक्लान्, घरगाडी र फुर्मासमा लाग्नेहरू पछुताउनेछन् ।

काँठमा गर्नुपर्ने दुई काम छन्, रूढिवाद हटाउने र व्यवस्थित बस्ती बसाल्ने । योजनाबद्ध सहरका लागि पहल गर्नुपर्ने जनप्रतिनिधिहरू दिशाहीन देखिन्छन् । कति त जग्गा दलालका प्लटिङ साझेदार छन् । अवैध बालुवाखानी धमाधम कति, भित्रभित्रै कति चलिरहेका छन्, चलाइरहेका छन् । काँठ ध्वस्त पार्न उनीहरू आफैं काफी छन् ।

काठमाडौंका काँठहरू बाँकी छन् कि छैनन् जस्तो भइसके पनि गाउँको गुण अलिअलि बाँकी छ तर खेतपातीसँगै हरियाली हराउँदै छ । मौलिकता गुम्दै छ । स्मार्ट सिटीको उद्देश्य जग्गाको भाउ बढाउने मात्रै देखिन्छ । बस्तीको बीचबाट बाटो लगिन्छ । बासिन्दाको उठिबास । व्यवस्थित बसोबासबाट मौलिकता जोगाउने बलियो अभियान नहुनु चिन्ताको विषय हो । जथाभावी प्लटिङ रोक्नु, स्थानीय मौलिकता जगेर्ना गर्नु र मास्नै नमिल्ने गरी हरित पेटी तोक्नु काँठलाई सास फेर्न दिनु हो र काठमाडौंलाई ।

दृष्टिकोण

कच्चा कूटनीति

- लोकराज बराल

साँघुरिंँदै चीन र भारतसित सीमित हुनपुगेको नेपालको परराष्ट्र सम्बन्धमा अनेक तर्क/वितर्क चलिरहेका छन् । सन् २०१५ को मधेस आन्दोलन, संविधान निर्माण र चीनसितको नयाँ आयामका सम्बन्ध र हालसालै सम्पन्न भएको बिमस्टेक सम्मेलनले त्रिपक्षीय सम्बन्ध एकपल्ट फेरि तरङ्गित भएको छ । अब समझदारी र आपसी विश्वास बढी नेपाल–भारत सम्बन्ध नयाँ धरातलमा पुग्ला भन्ने आशा पनि कताकता पुरानै अविश्वासमा फर्किएको हो कि जस्तो छ । आखिर यस्तो किन हुन्छ ? यस प्रश्नको जवाफ बहुआयामिक र जटिल छन् ।

पहिले नेपाल पक्षको कुरा गरौं । नेपालका आफ्नै समस्या र कार्यशैली छन्, जुन परराष्ट्र नीति निर्माण र सञ्चालनलाई प्रभाव पारिरहेका छन् । परराष्ट्र नीति बनाउँदा या सञ्चालन गर्दा कुनै एक व्यक्ति या ऊ नजिकका १/२ जनाको सोचले निर्धारण गरिन्छ । यो इतिहास क्रममा चल्दै आएको हुकुमी शैली हो । राणाशासन र ०७ सालपछि शाहतन्त्रमा चलेको यो दरबारी परम्परा आज पनि चलेकै छ । यसमा यो वा त्यो दल भनेर भेद गर्न मिल्दैन, किनभने भनिएको प्रजातन्त्रकाल (२०४६–०६३) र वर्तमान गणतन्त्रमा देखिने शैलीमा फरक परेको छैन । अझ बढी आज आफन्तवाद, दलीयवाद, भनसुनवाद र पैसावाद हावी भई लोकतन्त्र मरणासन्न अवस्थामा पुगको छ । अत: यो नेतामुखीतन्त्र भई झन् खस्किँदैछ । गृह, अर्थ, परराष्ट्र सबै नीति अस्पष्ट र दिशाविहीन भएका छन् ।

संस्थागत विकासतिर अलिकति पनि ध्यान नदिंँदा सर्वमान्य सिद्धान्त र तिनको कार्यान्वयन नभई व्यक्तिगत लहड र वैयक्तिक सोचलाई आधुनिक जामा पहिर्‍याई चलाउन खोजिएको छ । यसमा नत मन्त्रीको भूमिका देखिन्छ, न कर्मचारीको । कर्मचारी दक्ष र चुस्त भए पनि नभए पनि नेता सर्वज्ञानी र सर्वव्यापी भई शासन शैलीलाई कमजोर पारी समस्या थप्ने काममा लागेका छन् । मन्त्रलायको कुनै भूमिका नहुँदा कुनै विषय र नीतिमा छलफल नभएको मात्र होइन, मन्त्रालयहरूबीच अन्तर–सम्बन्ध छैन । यसको पछिल्लो उदाहरण बिमस्टेक राष्ट्रहरूबीच हुने सैनिक अभ्यासमा नेपाली सेना नपठाउने निर्णयलाई लिन सकिन्छ । भारतको सेनाप्रमुखको प्रस्तावमा केही महिना पहिलेदेखि तयार भएको विषय नेपाली सेनाले देशको परराष्ट्र नीतिमा कुनै असर नपर्ने ठानी स्वीकृतिका लागि रक्षामन्त्रीकहाँ पठाएको र त्यो प्रस्ताव स्वीकृत भई सेना जान तयार भएका बेला एकाएक प्रधानमन्त्रीबाट रोक्ने आदेश आएकाले नेपाल कसरी चलिरहेछ, यकिन हुन्छ । सेना अभ्यासमा पठाउन उचित हुने/नहुने कुरो पहिले नै तय गर्नुपर्ने हो । परराष्ट्र मन्त्रालयलाई समेत जानकारी नभएकाले २१ औं शताब्दीको लोकतान्त्रिक नेपाल चल्ने शैली प्रस्टिएको छ । 

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बिमस्टेक सम्मेलनमा सैनिक अभ्यासको उल्लेख गरेपछि मात्र काठमाडौंमा पक्ष/विपक्षका बहस चलेकोले प्रधानमन्त्रीले संसद्मा सैनिक अभ्यास नभई ट्रेनिङमा पठाउने भनेको तर पछि यो बोली पनि फेरि नपठाउने निर्णय गर्दा नेपालको कूटनीतिक मर्यादा कस्तो छ भन्ने यकिन हुन्छ । आफ्नै दलभित्र र बाहिरबाट पनि विरोधको स्वर आएपछि प्रधानमन्त्री ओलीको रूप फेरियो । सेनाले रक्षामन्त्रीलाई अनुमतिका लागि पठाएको पत्रमा नेपालको परराष्ट्र नीतिमा कुनै असर नपर्ने राय दिँदा विचार नपुगेको भन्न मिलेन । रक्षामन्त्रीले परराष्ट्रसित राय माग्ने कुरा सरकारका प्रक्रियागत पक्ष भए ।

नेपालले हठात गरेको निर्णयमा आन्तरिक र बाह्य दबाब रहेको भन्ने विश्लेषण भैरहेका छन् । चीनसित हुनगइरहेका यातायात र पारवहन समझदारीमा असर पर्ने सोच राखी भारतमा सैन्य अभ्यासका लागि नेपाली सेना नपठाउने निर्णय गरिएको भन्ने तर्क पनि छ । तर अब चीनसित पनि सैन्य अभ्यास असोज १ देखि १२ गतेसम्म भइरहेको र भारतसित विगतमा भएकोले यसबाट चीन–नेपाल सम्बन्धमा तलमाथि पर्ला भन्न सकिन्न । तर नेपाली शासक वर्गमा मनोवैज्ञानिक त्रासले काम गरेको हुनसक्छ । नेपालको निर्णयमा विश्वाससाथ अडिने परम्परा कम र दबाब तथा आफ्नै वैयक्तिक सोचबाट बदलिने चलन बढी भएकाले यस्तो कच्चा कूटनीतिक निर्णय आएको हो ।

नेपाल–भारत सम्बन्धमा नेपालको निर्णयले के प्रभाव पार्ला भन्ने बहस पनि दुवैतिर चलेको छ । एकथरी कठोरपन्थी भारतीय विश्लेषक र सञ्चारकर्मीका विचारमा नेपालले भारतलाई हेपेको र चीनलाई खुसी पार्न यसो गरेको हो भन्ने छ । अर्काथरी भने नरेन्द्र मोदीले सपार्न थालेको नीति पनि असफल भएको मान्छन् र चीनलाई नै फाइदा पुगेको निष्कर्ष निकाल्छन् । तर भारत सरकारको कुनै औपचारिक प्रतिक्रिया नआएकाले बेला–बेला सतहमा आउने ससाना घटनाका आधारमा नीति परिवर्तन नहुने संकेत पाइन्छ । भारतले गतसाल डोक्लाम सीमा विवादका समयमा चीनसित यस्तै संयम अपनाएको र शान्त कूटनीतिका माध्यमद्वारा सीमा शान्त पार्ने रणनीति लिएको थियो ।

नेपाल र भारतको सैन्य सम्बन्ध ज्यादै पुरानो र गहिरो भएकाले यस्ता केही घटनाले दुईपक्षीय सम्बन्ध बिग्रेला भन्न सकिंँदैन । चीन पनि भारतसितको सम्बन्ध बिगार्न चाहँंदैन, किनभने उसका लागि भारतीय बजार आवश्यक छ । बजार र रणनीतिक पहँुंचका लागि चीन अफ्रिका, दक्षिण अमेरिका र अन्य क्ष्ोत्रमा पुगिरहेछ । हालसालै कोलकातास्थित चिनियाँ महावाणिज्यदूतले चीनको कुनमिङलाई म्यानमार, बंगलादेश र भारतको कोलकता जोड्न सडक सञ्जालको प्रस्ताव राखेको खबर भारतीय पत्रिकामै छापिएको छ । यो राष्ट्रपति सी जिनपिङको बीआरआई अवधारणासित जोड्ने प्रयास हो । भारतको सकारात्मक भूमिका नभई यो परियोजना दक्षिण एसियामा साकार हुन गाह्रो पर्ने तथ्य चीनले बुझेको छ । नेपाल र चीनबीच भएका रेल, सडक र पारवहन सम्बन्ध यसैसित जोडेर हेर्नुपर्छ । नेपालका लागि नै चीनले यत्रो ठूलो लगानी गरी रेल ल्याउला भन्न सकिंँदैन । त्यसमा पनि यहाँको भूगर्भीय जोखिम छंँदैछ । चीनले चीन, नेपाल र भारत त्रिपक्षीय सम्बन्धको कुरामा हिजोआज जोड दिने कुरा पनि त्यही रणनीतिसित जोडिएको छ । बेल्ट एन्ड रोडको परिकल्पनासित व्यापार र पारवहन र त्यसले ल्याउने पूर्वाधार विकास आवश्यक पक्ष हुन् । नेपालसित चीनले यातायात, व्यापार र पारवहनका लागि अघि बढ्ने प्रतिबद्धता जनाएको छ । नेपालमा यसबारे दुई धारणा बनेको पाइन्छ । एक, यसले सांकेतिक रूपमा विकल्प दिने काम गरे पनि यथार्थमा आशा गरिए जस्तो भारतसितको निर्भरता उल्लेख्य रूपमा कम हुने छैन । चीनका उल्लेख गरिएका ५ बन्दरगाहबाट सामान चीन–नेपाल सीमासम्म पुग्न ३ हजार किलोमिटरभन्दा कम दूरी पर्दैन (साप्ताहिक नेपाल, ७ असोज २०७५) । करिब १० प्रतिशतमात्रै परनिर्भरता कम हुनसके यो विकल्पको सार्थकता देखिन्थ्यो । भावनाले मात्र परराष्ट्र या आर्थिक नीति चल्ने होइन । तर ३ देशको सहकार्य भए र अघि उल्लेख गरिएको कोलकाता कुनमिङ सडक बने अहिले भारतको उत्तर बंगालसित जोडिने एसियन हाइवेसित नेपाल जोडिन सक्नेछ ।

तर परराष्ट्र नीति सञ्चालनमा देखिने अपरिपक्व व्यवहार र चिन्तनहीन तदर्थ नीतिले देशको भलो गर्ला भन्न सकिंँदैन । किनभने सुरक्षा, विकास र राजनीतिक स्थायित्वको आधार बलियो गृह र विश्वसनीय परराष्ट्र नीति नै हो । राज्यका अन्य निकायले यस उद्देश्य प्राप्तिका लागि सघाउने मात्र हो । त्यसैले घरभित्र शान्ति, स्थायित्व, विकासका लागि आन्तरिक र बाह्य कारण दुवै प्रमुख छन् । अत्यावश्यक क्षेत्रमा सीमित साधनस्रोत खर्चिंदा प्रभावकारी र दक्ष सरकार हुनुपर्छ ।

अयथार्थवादी सस्ता नारा र कल्पनाले मात्र देश विकास हुंँदैन । हाम्रा आजका अति प्राथमिक क्षेत्र के हुन्, तिनको पहिचान गरी परियोजना कसरी चांँडो सकिन्छ, त्यसतिर बढी ध्यान गए विकासको गति तीव्र हुन्छ । आज काठमाडौं र ललितपुरका मेयरले मोनोरेल (एउटै लिगमा हिंँड्ने) को सपना बाँडिरहेका छन् । ती आउलान् पनि तर के रिङरोडमा मोनोरेल कुदाएर जनताका आधारभूत आवश्यकता पूरा होलान् ? उनीहरूले आज अति साना कामसम्म गर्नसकेका छैनन् भने मोनोरेल व्यवस्थापन सम्भव होला ? ल्याइएका ट्रली बससेवा व्युँत्याई जनतालाई राहत दिएमात्र हाइहाइ हुन्थे होलान् यी हाम्रा मेयरसा’बहरू । भोलि चीन र भारतको रेलको कथा होला । भएको जनकपुर रेलसेवाको हविगत के थियो ? सबैले जानेकै कुरा हो । यसको मतलब विकास नगर्ने भन्ने होइन । विकासका क्रममा यी सबै आउलान्, तर प्राथमिकता भने ती होइनन् । चीन या भारतसितको रेलका सन्दर्भमा नेपालको दीर्घकालीन हित पनि हेर्नुपर्छ र अन्य देशका अनुभवबाट पाठ सिक्नुपर्छ ।

पाठक मञ्च

चिनी उद्योगी र आयातकर्ताको स्वार्थ

‘चिनीमा सरकारकै सिन्डिकेट’ कान्तिपुरको समाचार पढियो । नेपालका रैथाने चिनी उद्योगलाई प्रोत्साहन, प्रबद्र्धन गर्ने भनी दसैंको छेवैमा आएर सरकारले एउटा निर्णय गरेछ, ‘बाहिरबाट आयात गर्दा १ लाख टनमात्र चिनी आयात गर्नु र नेपालमा खपतका लागि करिब सवा २ लाख टन आवश्यक भएकाले नपुग सवा १ लाख टन चिनी आन्तरिक उद्योगबाट किनेर वितरण गर्नु’ भनेर । सबैलाई थाहा नहुन सक्छ, भारत वा अन्य मुलुकमा चिनीको मूल्य निकै सस्तो छ, नेपालको चिनीको तुलनामा । आयातित चिनी सफा, सेतो र मोटा–मोटा दाना भएको र लोभ लाग्ने खालको छ । नेपाली चिनी तुलनात्मक रूपमा कम गुणस्तरका तर महँगो मूल्य भएकै कारण आयातित चिनीसँग प्रतिस्पर्धा गर्न नसकी गोदाममा थन्किएको छ ।

विगतका वर्षहरूमा झंै चिनी आयात गरिरहेका व्यापारीहरूले विदेशमा सस्तोमा पाइएका बेला ठूलो मात्रामा आयात गरिराख्ने र चाडबाडका बेला ह्वात्तै भाउ बढाएर बेच्ने दाउमा हुन्छन् । सरकारले सकेसम्म अब बाह्य मुलुकबाट चिनी किन्ने निर्णय नगरिदिए हुन्थ्यो र किन्ने नै भए पनि निश्चित कोटामात्र खरिद गरिदिए हुन्थ्यो भन्ने अभिलाषामा छन् । यसको ठिक विपरीत यहाँका उद्योगी भने बाहिरबाट ल्याउन रोकी यहीं थन्किएका नेपालकै चिनीलाई महँगो मूल्यमा विगतझैं बेच्ने लबिङ गरिरहेका छन् । रैथाने चिनी उद्योगी र चिनी आयात गर्ने व्यापारीहरू दुबैका स्वार्थ डरलाग्दा तवरले जेलिएका छन् । चिनी आयात गर्न कोटा निर्धारण हुनुपूर्व सरकारले कम्तीमा एउटा निश्चित मूल्य तय गर्नुपथ्र्यो । मूल्य तोकिदिँदा चिनी उद्योगी तथा निजी व्यापारी दुवै पक्षलाई अंकुश लाग्थ्यो र बाध्य भएर कम नाफामा जनतालाई बेच्नै पथ्र्यो । जनताले सहुलियत मूल्यमा चिनी खरिद गर्न सक्थे ।
– श्यामसुन्दर कुइँकेल, हाँडीगाउँ, काठमाडौं

पाठक मञ्च

बलात्कारको भयावह रूप

हिजोआज हरेकजसो अखबार, रेडियो, टीभी या विद्युतीय समाचार माध्यममा बलात्कार तथा जघन्य अपराधका सचित्र तस्बीर पढ्न, देख्न पाइन्छ । निर्मला पन्तको हत्या रहस्यको गर्भमै छ भन्दा हुन्छ, अहिलेसम्म । नभए अपराधीको नजिक पुगिसकेको आवश्वासन प्रधानमन्त्री स्वयंले दिनसकेका छैनन् । अपराधीले सजाय पाउँछ भन्ने सनातनी सान्त्वनाका भाषा प्रयुक्त छन् । सके राष्ट्रपतिबाट यस्तै खालको सन्देश आउन बेर छैन । मुलुक वा समाज शिक्षित र समृद्ध हुँदै जाँदा यस्ता घटना कम हुँदै जानुपर्ने हो । हामीकहाँ पनि पहिला हेरिकन कम हुनुपर्नेमा झन् डरलाग्दो समाचार आइरहेका छन् । राजधानी उपत्यकामै बालबालिका तथा महिला सुरक्षित हुनसकेका छैनन् । दूरदराज तथा प्रहरी प्रशासनको पहुँचभन्दा टाढा यस्ता कैंयन कर्तुत हुने गर्छन् । अझ कतिपय ठाउँमा त सामान्य लेनदेनमै घटना मिलापत्र हुन्छ । लामो समयपछि कुनै अधिकारवादी वा जिल्लासम्म खबर पुगे पनि सबुद प्रमाण नपुग्ने वा आधार केही नहुने भन्दै यस्ता घटना आझेलमा पर्छन् । कतिपय ठाउँमा प्रहरी प्रशासन तथा जनप्रतिनिधिलाई गुहारे पनि उनीहरू स्वयं यस्ता घटना मिलाउने मध्यस्थकर्ता भएका उदाहरण छन् । कतिपय पीडितले शुभेच्छुक तथा मनकारीको सहयोगले अदालतसम्म पुगे पनि अन्त्यमा अपराधी सामान्य धरौटीमा रिहा हुने गरेका छन् । राजीखुसीमै यौनसम्पर्क भएको भन्ने बयानमा मिलापत्र भएर खेल खत्तम हुन्छ । मुलुकमा दिन–प्रतिदिन बढ्दै गएको यौनहिंसा तथा जघन्य अपराध न्यूनीकरण गर्न सबै तरहबाट प्रयास गरौं । र अपराधीलाई कडाभन्दा कडा सजायको व्यवस्था गर्न कञ्जुस्याइँ नगरौं ।
– श्रीकृष्ण राजवंशी, सुनकोसी–३, सिन्धुली

देशमा दिनानुदिन हत्या, हिंसा, बलात्कारजस्ता जघन्य आपराधिक क्रियाकलाप बढिरहेका छन् । केही घटना प्रशासनको असक्षमता तथा नालायकीपनले चर्चित एवं विद्रोह निम्त्याउने तहसम्म पुग्छन् । प्रशासनिक कमजोरीले आन्दोलनको आँधी–बेहरी सिर्जना गरेको एक घटना हो– कञ्चनपुरको निर्मला पन्त बलात्कार तथा हत्या प्रकरण । पन्त प्रकरणले कञ्चनपुरमा ठूलो विध्वंस भयो । एकजना मारिए भने दर्जनौं घाइते भए । प्रहरी प्रशासनले नक्कली अपराधी खडा गर्दा कञ्चनपुर रणभूमि बन्न पुग्यो । डेढ महिना बित्दासमेत घटनाको सत्य–तथ्य बाहिर नआएपछि निर्मलाका आमाबाबु न्याय खोज्न राजधानी काठमाडौंसम्म पुगे । हप्तादिनको पर्खाइपछि बल्लतल्ल प्रधानमन्त्री केपी शर्मा ओली निर्मलाका आमाबाबुसँग भेटघाट गर्न तयार भए । उता राष्ट्रपति विद्यादेवी भण्डारीले घटनालाई सामान्य रूपमा लिँदै निर्मलाका आमाबाबुलाई भेट्न उचित ठानिनन् । जनताको जीउधनको सुरक्षा गर्नुपर्ने दायित्व बोकेको जननिर्वाचित सरकार किन जनताको सुखदु:खमा साथ दिँदैन त ?
– एसपी बडु, कृष्णपुर–६, कञ्चनपुर

पाठक मञ्च

न्यायाधीशको कुर्सी मोह

प्रधानन्यायाधीशमा सिफारिस भई संसदीय सुनवाइ समितिले अयोग्य भनी फर्काएका न्यायाधीशको पद मोहले सरकारी कार्यालयमा हुने बेथितिको उजागर गरेको छ । जागिरे जीवनको अन्तिम समय उच्चपदमा पुग्नैलाग्दा संसदीय सुनवाइ समितिले अस्वीकार गरिसक्दा समेत अलिकति पनि संकोच नमानीकन पुन: पुरानै पदमा काम गर्न लालायित देख्दा वास्तवमै हाम्रो न्यायालयमा के छ, चासोको विषय बनेको छ । संसद्ले अयोग्य भनेर फर्काएका व्यक्तिले गरेका फैसला स्वीकारेर दण्डित भएकाले अहिलेको अवस्थामा के महसुस गर्ने ? उनीहरूले ती फैसला विरुद्ध पुनरावेदन गर्ने कि नगर्ने ? एउटा व्यक्ति न्यायाधीश बन्न योग्य हुने र त्यही व्यक्ति प्रधानन्यायाधीश बन्न अयोग्य हुने ? फेरि प्रधानन्यायाधीश बन्न अयोग्य, न्यायाधीशका रूपमा काम गरिरहन पाउने ? आम मानिसलाई बुझ्न कठिन भइरहेको छ ।
– रामकृष्ण बराल, जोरपाटी–२, काठमाडौं

पाठक मञ्च

बहुसरकारबीचको द्वन्द्व

प्रदेश सरकार गठनको ७ महिना पुगिसक्दा पनि संघीय सरकारले समन्वयात्मक पहलको भूमिकामा देखाएको उदासीनताको कारण प्रदेश सरकार देखावटी मात्र हुनपुगेका छन् । संघद्वारा आवश्यक कानुन निर्माण, कर्मचारी र संस्थागत संरचनाको हस्तान्तरणमा गरिएको ढिलाइले प्रदेश सरकारले संविधानले प्रदान गरेका एकल र साझा अधिकारसमेत प्रयोग गर्नसकेका छैनन् । प्रदेशले समन्वयका लागि आफै पहल र प्रयास गर्दा आयोजित प्रदेश परिषद स्थगित गर्नु र प्रधानमन्त्रीले मुख्यमन्त्रीहरूलाई भेटसमेत नदिनुले समस्यालाई झन् जटिल बनाएको छ । प्रदेश भित्रको शान्ति सुरक्षा प्रदेश सरकारले गर्न नसकी संघीय सरकारको मुख ताक्नुपरेको छ । यस्तो अवस्थालाई बेलैमा ध्यान नदिएमा संघीयतामा आँच आउने खतरा बढेको छ ।
– महेन्द्रसिंह बम, टीकापुर–१, कैलाली

पाठक मञ्च

ओलीका कुन सपना पूरा भए ?

प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको पछिल्लो समय राष्ट्रियताप्रतिको ढृढ अडान, दृष्टिकोण तथा समृद्धिको सपना सबैको आशाको ‘इपिसेन्टर’ बनेको थियो । आफ्ना अविश्वासिला एजेन्डा र उदेकलाग्दा सपना जनतामाझ राखेकै कारण आज उनी राष्ट्रकै सर्वोच्च वरियतामा विराजमान छन् । अचेल उनका कुनै पनि सपनामा खासै प्रगति देखिँदैन । सबै सपना ओलीको बोलीमा मात्र सीमित भए र हुनेछन् । हास्यव्यंग्य भाषण शैलीमा सपनाको व्याख्यान गर्न माहिर ओलीले आफ्ना सबै सपना किन बिर्से ? प्रश्न अनुत्तरित छ तर गम्भीर छ । आखिरमा ओलीको यी लोकप्रिय सपनामध्ये कुन पूरा भएको छ ? जनता जान्न चाहन्छन् ।
१. हरेक नेपालीको घरमा ग्यासको पाइप लाइन
२. काठमाडौंमा मेट्रो ट्रेन सञ्चालन
३. नेपाली नदीमै नेपाल लेखेको पानीजहाज
४. हावाबाट बिजुली उत्पादन गर्ने
५. चीनलाई विद्युत बेच्ने
६. लोडसेडिङको विधिवत अन्त्य
७. तुइन विस्थापन
८. चीनसँगको पारवहन सन्धि
९. इन्धन भण्डारण
१०. आफ्नै पानीजहाज
११. आफ्नै पेट्रोलियम खानी
१२. फास्ट ट्रयाक नेपालले नै बनाउने
– ऋतिक यादव, सिम्रौनगढ–१०, बारा

पाठक मञ्च

प्रहरी साथी कि शत्रु

अपराधीले प्रहरी देख्यो भने डराउँछ । तर अपराधबाट पीडितले तिनै प्रहरीलाई देख्यो भने खुसी हुन्छ र अन्यायबाट मुक्त हुने आस गर्छ । त्यसैले सरकारले ‘प्रहरी मेरो साथी’ उक्ति प्रचलनमा ल्याएको हो । आजभोलिको प्रहरीको व्यवहारले यो कुरालाई पुष्टि गर्दैन । ३३ किलो सुनकाण्डमा होस् कि निर्मला पन्तको हत्या काण्डमा प्रहरी चुक्दै गइरहेको छ । अझ रहस्यमय कुरा त हरेक घटनाको पहिलो अनुसन्धान नै प्रहरीबाट सुुरु गर्नुपर्ने भइसकेको छ । किनकि प्रहरी संलग्न नभएको घटना कमैमात्र भेटिनु दुर्भाग्य हो । अझ पछिल्लो समय राजदूत केशवराज झा हत्या प्रकरणमा उनकै भान्से निर्दोष प्रमाणित भएका सानुकान्छा तामाङलाई हिरासतमा लिएर गम्भीर यातना दिएको समाचारले प्रहरीप्रति नागरिकले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याइदिएको छ । अन्तर्राष्ट्रिय कानुन अनुसार पनि हिरासतमा लिइसकेको व्यक्तिलाई यातना दिन पाइँदैन । यो नियमलाई पनि प्रहरीले पालना गरेको देखिएन । असोज १ गतेदेखि लागू भएको मुलुकी ऐन अनुसार हिरासतमा लिइसकेपछि यातना दिने अधिकारी नै सजायको भागिदार हुन्छन् । तसर्थ प्रहरीले आफ्नो छवि सुधारेर जनताको मन जित्न धेरै काम गर्नुपर्ने देखिन्छ । यसको लागि खराब प्रहरीलाई कारबाही गर्नु नै सुधारको पहिलो खुड्किलो हो ।
– पुरुषोत्तम घोरासैनी, बालाजु–१६, काठमाडौं

पाठक मञ्च

भने इज्जत जाने, नभने नरहने

पूर्ण बहुमतसाथ स्थानीय, प्रादेशिक र केन्द्रीय सरकारमा आसिन यो सरकारले विकास–निर्माण र जनचाहनालाई सम्बोधन गर्न नसकिरहेको सत्तापक्षबाटै आवाज उठ्न थालेको छ । सरकार गठन भएको यतिका दिनसम्म औंलामा गन्न सकिने कुनै काम गर्नसकेको छैन । सम्झौता गरिएका काम लथालिङ्ग छन् । जनताले सरकारबाट कुनै राहत पाएका छैनन् । प्रादेशिक सरकार गठन गरेर कर्मचारी र नेतृत्व वर्गलाई तलब–भत्ता खुवाउनुलाई विकास र निर्माणका रूपमा लिन सकिन्न । असल सरकारले राज्यकोषको सञ्चय गरी देश र जनताको हितमा सदुपयोग गर्छ । देश चलाउन, कर्मचारी पाल्न करको दायरामा वृद्धि गर्नु सरकारको गौरवको नभई लाजको विषय हो । संघीयता देश र जनताको आवश्यकता होइन भनेर कुर्लनेहरूका लागि सरकारको यस्तो रवैयाले मलजल थप्ने काम गरिरहेको छ । जनतालाई ठूलठूला सपना पस्केको यो सरकारसँग जनताको अपेक्षा उच्च थियो र छ । काम गर्न समय लाग्छ भन्दै एकाध महिनामा बनाउन सकिने बाटोघाटो, खानेपानी, अराजकतालाई चुस्त–दुरुस्त रूपमा सम्पादन र नियन्त्रण नगर्नु सरकारको असफलता हो ।
– लक्ष्मीनारायण मिश्र, बुढानीलकण्ठ–८, काठमाडौं

पाठक मञ्च

दन्तचिकित्सकको संख्या मिलेन

असोज २ गते प्रकाशित ‘एक लाख बीस हजार जनालाई एक दन्तचिकित्सक’ समाचारमा नेपाल डेन्टल एसोसिएसनको ध्यानाकर्षण भएको छ । शीर्षकमा नै खण्डन गर्न चाहन्छौं । नेपालमा १ लाख २० हजारमा १ नभई १२ हजारमा १ दन्तचिकित्सक रहेको जानकारी गराउँछौं । अहिले पहिलाजस्तो लोकसेवा आयोगले दरबन्दी खुलाउँदा डाक्टरको आवेदनै नपर्ने अवस्था छैन । बरु उच्च प्रतिस्पर्धाबाट दन्त चिकित्सक सरकारी सेवामा कार्यरत छन् । र अझै दरबन्दी खुलाएमा देशको जुनसुकै कुनामा गएर सेवा दिन तत्पर छन् । नेपाल मेडिकल काउन्सिलको नियम अनुसार दन्त उपचार गर्न नेपाल मेडिकल काउन्सिलमा दर्ता हुन अनिवार्य हुन्छ । हो, दन्त सहायकको पनि आवश्यकता हुन्छ, तर उनीहरू दन्त चिकित्सकका सहयोगी हातमात्र हुन् । स्वतन्त्र रूपमा डाक्टरको अनुपस्थितिमा बिरामीको उपचार गर्न नियमसम्मत छैन । त्यसैले आजको आवश्यकता भनेको हरेक प्राथमिक स्वास्थ्य केन्द्रमा कम्तीमा १ जना दन्त चिकित्सक र १ जना दन्त प्राविधिकको दरबन्दी खुलाउनुपर्ने हा,े तर त्यस्तो कार्य हुनसकेको छैन ।
– डा. मनोज हुमागाईं, महासचिव, नेपाल डेन्टल एसोसिएसन

Page 7
दृष्टिकोण

हतकडीमा पाँच दिन

भदौ २५

मर्निङवाकबाट फर्किएर म घर नजिकैको चिया पसलमा छिमेकी सुरेन्द्र थापा मगरसँग चिया खाँदै थिएँ । चापागाउँ प्रहरी वृत्तका दुई प्रहरी जवान मोटरसाइकलमा आए । उनीहरूले अदालतको आदेश भनेर पत्र देखाए । सोधपुछका लागि भन्दै मोटरसाइकलमा राखेर सिधै महानगरीय प्रहरी परिसर जावलाखेलको मुद्दा शाखामा पुर्‍याए ।

मैले अघिल्लो दिन राति करिब साढे ८ बजे नै प्रहरीले पक्रन लागेको भन्ने सूचना पाएको थिएँ । हामीले हरिसिद्धिको जग्गा विवाद सम्बन्धी समाचार खोजतलास न्युज डट कम र खोजतलास साप्ताहिकमा साभार गरेका थियौं । त्यही विषयलाई लिएर प्रहरीले पक्राउ गर्दैछ भनी साथीहरूले सुनाएका थिए । उनीहरूले मोबाइल स्विच अफ गरेर लुक्न सल्लाह पनि दिएका थिए । समाचार साभार गरेकै भरमा प्रहरीले दु:ख देला भन्ने लागेको थिएन । सातदोबाटोमा साथीहरूसँग कुराकानी गरेपछि घरै आएको थिएँ ।
जावलाखेल पुगेपछि मुद्दा शाखाका प्रहरीले मविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दामा अनुसन्धान गर्न ल्याइएको जानकारी गराए । सुशील खनालले जाहेरी दिएका रहेछन् । पक्राउ पुर्जी र थुनछेक पत्र बनाई मलाई सहीछाप गर्न लगाए । मैले मानिनँ । मेरो कानुनी सल्लाहकार प्रवेश केसीसँग सल्लाह गरेर सहीछाप गरौँला भनेँ । त्यसपछि मलाई हतकडी लगाए ।

स्वास्थ्य परीक्षण गराउन पाटन अस्पताल लाने तयारी भयो । मेरी श्रीमती रमिताले ‘श्रीमान लामो समयदेखि सुगर र प्रेसरको बिरामी हुनुहुन्छ, धापाखेलको सुमेरु अस्पतालमा नियमित जाँच गर्ने गरेका छौं’ भन्दै त्यहीं लैजान आग्रह गरिन् । उल्टै प्रहरीले मेरी श्रीमतीलाई हपारे । जावलाखेल प्रहरी परिसरमा केही पत्रकार भेला भइसकेका थिए । उनीहरूले हत्कडी लगाएको फोटो खिच्नलाग्दा प्रहरीले रोके । मेरी श्रीमतीले भिडियो खिच्न भ्याइछन् । भिडियो मेरै फेसबुक आईडीबाट पोस्ट पनि गरिछन् । भिडियो भाइरल भएछ । पाटन अस्पतालमा स्वास्थ्य जाँच गराएपछि सरकारी वकिलको कार्यालय मानभवन, ललितपुर पुर्‍याइयो । बयानका क्रममा मलाई परिवारका सदस्य, कानुनी सल्लाहकार लगायत कसैसँग भेट्न दिइएन ।

११:३० बजे बयान सुरु भयो । बयान सरकारी वकिलले लिनुपर्ने होला । जावलाखेलबाटै आएका प्रहरीले मसँग निरन्तर प्रश्न सोधेका थिए । मलाई ठूलै अपराधीजस्तो व्यवहार गरियो । समाचारको विषय–वस्तुभन्दा पनि मलाई कसरी पँmसाउन सकिन्छ भन्ने नियतले नचाहिँदा प्रश्न गरेको प्रस्ट बुझिन्थ्यो । उनीहरू मेरो आत्मबल गिराउन चाहन्थे । बयानमा मैले समाचार आफूले लेखेको नभई दृष्टि साप्ताहिकको प्रिन्ट र अनलाइन संस्करणबाट साभार गरेको बताएँ । साभार गर्न मैले दृष्टिका सम्पादक शम्भु श्रेष्ठसँग मौखिक अनुमति लिएको थिएँ । सहमतिको फोन रेकर्ड मसँग सुरक्षित छ ।

पौन ४ बजेतिर बयान नसकिएको भन्दै म्याद थप्न हतकडी लगाएर मलाई काठमाडौं जिल्ला अदालत पुर्‍याए । जावलाखेल प्रहरी वृत्तको मुद्दा शाखाकी सई रमा थापाले बयान बाँकी रहेको भनेपछि चार दिन म्याद थपियो । अदालत परिसरमा पानी र बिस्कुट खानलाग्दा पनि हतकडी फुकाइएको थिएन । अप्ठ्यारो भएको बताएपछि इन्स्पेक्टर ज्योति शर्माले हतकडी खोलिदिए । पानी–बिस्कुट खाएपछि फेरि हतकडी लाग्यो ।

न्यायाधीशका अगाडि हत्कडी खोलिदिएका थिए । न्यायाधीश बेन्चबाट उठ्ने बित्तिकै फेरि हतकडी लगाइदिए । मलाई जावलाखेल प्रहरी परिसरको हिरासत कक्षमा लगियो । हिरासतमा लैजानुअघि प्रहरीले मेरो शरीर खानतलास गरे । हिरासत कक्ष छिरेपछि त्यहाँका थुनुवाहरूले मलाई हातगोडा धुन ट्वाइलेट पठाए । म पत्रकार भएको जानकारी गराएपछि उनीहरूले सम्मानपूर्वक कुरा गरे ।

२६ गते
मानसिक तनाव र दिनभरको धपेडीले होला, बिहान अबेरसम्म मस्त सुतेछु । थुनुवाले कान्तिपुर, नागरिक र अन्नपूर्ण पोस्ट दैनिक पत्रिका मगाएका रहेछन् । थुनुवा सुनज सुवेदीले चिच्याउँदै ‘दाइ, तपाईंबारे समाचार आएको रहेछ’ भनेपछि म उठँें । कान्तिपुरको पहिलो पृष्ठमै ‘पत्रकारलाई हतकडी’ शीर्षकको समाचार पढेँ । मेरो आत्मबल झन् बलियो बनेर आयो । म एक्लो रहेनछु भन्ने लाग्यो । पत्रकारलाई अंकुश लगाउनेगरी हालै लागू भएको मुलुकी अपराध संहिता ऐनविरुद्ध नेपाल पत्रकार महासंघ लगायतका संघ–संस्थाले गरिरहेको आन्दोलनलाई यस घटनाले मलजल गर्ने सम्भावना देखेँ । म पक्राउ परेको घटनाविरुद्ध पत्रकार महासंघ लगायत विभिन्न संस्थाले विज्ञप्ति जारी गरेछन् ।

मेरो मानसपटलमा परिवारका सदस्य, घर वरिपरिको दृश्य झलझली आइरह्यो । छोरालाई अफिसको कामले बुबा चितवन जानुभएको छ भनिएको रहेछ । मध्याह्नतिर प्रहरीले मलाई फेरि हतकडी लगाए । अनि सरकारी वकिलको कार्यालय पुर्‍याए । आफन्त र पत्रकार साथीसँग भेट्न दिइएन । प्रहरीले उनीहरूलाई ‘तपाईहरू आइरहने हो भने बयानका लागि अरू दुई दिन म्याद थपिन सक्छ’ भनेर धम्कीपूर्ण जवाफ दिन्थे । प्रहरीले अघिल्लो दिन झैं फँसाउने नियतकै प्रश्न मसँग गरेका थिए । बारम्बार दृष्टिको नाम लिएपछि उनीरूले जनप्रतिनिधिको मानमर्दन किन गरेको भनी सोध्न थाले । करिब ३/४ घण्टामा मेरो बयान सिध्दियो ।

मैले प्रयोग गरेको ल्यापटप ल्याउन प्रहरी तम्सिए । सरकारी वकिलले नै ल्यापटप मगाउनु भनेको उनीहरूको भनाइ थियो । प्रहरीले मलाई सातदोबाटोस्थित अफिस ल्याए । मेरो अफिसका कर्मचारी र परिवारले फँसाउन योजना हुनसक्ने आशंकामा ल्यापटप अन्तै लगेछन् । ल्यापटप नपाएपछि प्रहरीले मुचुल्का उठाए । बयान सिध्दिएपछि हतकडीमै मलाई हिरासत कक्षभित्र हुलेर थुने । हिरासत कक्षमा भेट्न आउनेलाई बिहान ७ बजेदेखि ९ बजेसम्म र बेलुकी ३ बजेदेखि ५ बजेसम्म समय दिइएको थियो । भेट्न आउनेसँग करिब पाँच मिटर टाढा बसेर कुराकानी गर्नुपथ्र्यो । विशिष्ट व्यक्तिहरू आउँदा मलाई डीएसपी नरेन्द्र चन्दको कार्यकक्षमा बोलाएर भेटघाट गराइन्थ्यो । राति ९ बजे नेकपाका सांसद तथा केन्द्रीय सदस्य निरु पाल दिदी आउनुभयो । उहासँग डीएसपीकै कार्यकक्षमा भेट भयो । उहाँले समाचार लेखेकै भरमा पत्रकारलाई दु:ख दिन नहुने बताउनुभयो । सही समाचार लेख्न पछि नहट्न पनि भन्नुभयो । ‘हामी सधैं तपार्इंंहरू जस्तो पत्रकारको पक्षमा उभिनेछौं’ भन्दै उहाँले मलाई ढाडस दिनुभयो ।

२७ गते
पत्रिकाले पत्रकार बस्नेत हिरासतमै रहेको भन्ने समाचार छापेछन् । त्यसले प्रहरीलाई दबाब परेर हो कि आगन्तुकसँग बाहिर छुट्टै भेटघाट गर्न दिइयो । ४ बजेतिर प्रेस काउन्सिल नेपालका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठ, सदस्य गोपाल बुढाथोकी, छापा माध्यम राष्ट्रिय सञ्जालका अध्यक्ष देवप्रकाश त्रिपाठी, पत्रकार महासंघका सभापति गोविन्द आचार्य र केन्द्रीय सदस्य गोविन्द चौलागाईं र दृष्टि साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठ लगायत वरिष्ठ पत्रकारसँग एसएसपी रवीन्द्र धानुकको कार्यकक्षमा भेटघाट गराइयो ।

थानकोटतिर घर भएका गिरी थरका असइले मेरोलागि खाना ल्याउने भाइ सुदनलाई हप्काउँदै लखेटेछन् । मैले त्यसबारे सोधपुछ गर्दा उल्टो मलाई ‘बढ्ता हुने होइन, चुप बस, फेरि...’ भन्दै थर्काए । मैले त्यसको प्रतिवाद गरेँ । अरू थुनुवाले मलाई चुप लाग्नुस् भनेर सम्झाए । त्यही दिन प्रहरीले मेरो बयानकै आधारमा पक्राउ पुर्जी जारी भएका शम्भु श्रेष्ठलाई बयान लिएर छाडिदिए । उनकै पत्रिकामा छापिएको समाचार साभार गर्दा मलाई भने हतकडी लगाएर राज्यले ममाथि राजनीतिक प्रतिशोध साँधेको निष्कर्ष निकालेँ । म प्रजातान्त्रिक विचारधारा राख्ने पत्रकार हुँ ।

राष्ट्रियसभामा नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले मेरो गैरकानुनी पक्राउबारे बोल्नुभएछ । बिहीबार खोजतलास साप्ताहिक निकाल्नुपर्ने थियो । पत्रिका ननिकाल्नु भनेर मलाई विभिन्न पक्षबाट दबाबमूलक सन्देश आए । हिरासतमा बसेकाले बाहिरी वातावरण थाहा भएन । मैले साथीहरूलाई पत्रिका ननिकालांै भन्ने सुझाव दिएँ । तर मेरी श्रीमती रमिताले ३ महिना बरु हिरासमतै बसौंला, पत्रिका जसरी पनि निकाल्छु भनेर सबै पत्रकारसमक्ष अडान राखिछन् ।

२८ गते
प्रहरीले करिब १ बजे फाइल लिएर मलाई अदालत पुर्‍यायो । समय अभाव भएको भनेर अदालतले भोलिपल्ट थुनछेक बहस हुने भन्दै फर्कायो । मेरो पक्राउ, निर्मला हत्याकण्ड र रोल्पाका तरुण दलका नेताको हत्याका विषयमा नेपाली कांग्रेसले सरकारसँग जवाफ माग गर्दै प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेछ । गृहमन्त्रीले जवाफ दिने भनिएपछि सदन चलेको सुनेँ ।

२९ गते
प्रहरीले साढे ११ बजे मलाई जिल्ला अदालत काठमाडौं लगे । अदालतले थुनछेकको विषयमा मलाई बयान लियो । न्यायाधीशले ठट्यौली पारामा ‘पत्रिकामा लेखेकै भरमा पत्रकारलाई हतकडी लगाएको विषय हाउसमा उठेको’ र ‘पत्रिकामा हतकडी लगाएको फोटो तपाईकै हो’ भन्दै थुनछेक बहस सुरु गराउन आदेश दिनुभयो । करिब ३ बजे न्यायाधीश कृष्णप्रसाद पौडेलले साधारण तारेखमा छाड्न आदेश दिनुभयो । प्रहरीले भने मलाई भ्यानमै राखेर जावलाखेल लैजाने तयारी गरे । अरूले खादा, माला लगाउन खोज्दा प्रहरीले दिएनन् । मिडियामा बोल्न पनि दिएनन् । यसले शंका बढायो । सगरमाथाका टेलिभिजनका एकजना भाइले ‘गेटसम्म आउनुस्, हामी प्रतिक्रिया लिन्छौं, त्यो सार्वजनिक भएपछि थप दबाब हुन्छ’ भने ।

मैले गेटमा आएर राज्यले दिएको उपहारको बयान गर्न थालेँ । पत्रकार साथीहरूसँग कुराकानी सकिएपछि म प्रहरी भ्यानमै बसँे । पाटन अस्पतालमा स्वास्थ्य परीक्षण गराए । त्यसपछि जावलाखेल लगेर परिवार तथा त्यहाँ भेला भएका पत्रकारको रोहवरमा छाडे । मेरो गैरकानुनी पक्राउ विरुद्ध ऐक्यबद्धता जनाउने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पत्रकार संगठन, विभिन्न राजनीतिक दलका नेता तथा भ्रातृ संगठन, आफन्त र मिडियाकर्मी सबैलाई म धन्यवाद दिन्छु ।

- राजु बस्नेत
लेखक खोजतलास साप्ताहिकका अध्यक्ष तथा प्रधान सम्पादक हुन् ।

दृष्टिकोण

परीक्षणमा संविधान

डेटलाइन तराई
- चन्द्रकिशोर

समय एउटा पाठशाला हो, जहाँ हामी सिक्छौं । समय त्यो आगो हो, जसले हामीलाई झन् बढी चम्किलो बनाउँछ । तर यसको पहिलो सर्त हो, समयले दिएको सन्देशलाई तटस्थ भई सुन्ने, मनन गर्ने र पालन गर्ने । अतितले वर्तमानलाई प्रदर्शित गरिराखेको हुन्छ । वर्तमानले हामीलाई देखाउँछ, हाम्रा पाइताला आफ्नो जमिनमा कति अडिएको छ वा भासिँदै गएको छ । कतै अतितका त्रुटि वर्तमानमा दलदल बनेर देखापरिरहेको त छैन ?

नवसंघीय गणतान्त्रिक नेपालले आफ्नो संविधानको तेस्रो वर्ष पूरा गरेको छ । अहिलेको पुस्ता संविधान निर्माणको पुस्ता हो । संविधानसभाबाट संविधानका लागि संघर्ष, संविधानसभाको गठन, संविधान निर्माणको संक्रमण र घोषणा पश्चातको बाङ्गोटिङ्गो हिँडाइ, यो सम्पूर्ण यात्राको जीवन एउटा ज्युँदो इतिहासजस्तो छ । यस यात्राका कतिपय कुरा समयसँगै छुट्टिदै गए, कैयौं नयाँ चिज सामेल भएर आज यसको अंग बन्दै गएको छ । यो सम्पूर्ण अभ्यास सरस, आक्रामक र ऊर्जापूर्ण हुनुका साथै विवादित, संघर्षशील र कलंकित पनि रहेको छ । अहिलेको चौखटबाट अतित र आगतलाई नियाल्दा एकातर्फ कैयौं उपलब्धिको सूची छ । कतिपय कुराले अन्य मुलुकलाई इष्र्या हुनसक्छ, अर्कोतर्फ विराट विफलताको समेत लामो सूची छ, जसप्रति आँखा चिम्लिनु आफ्नै भविष्यका लागि खतरनाक हो । आजको नागरिक समाज संविधानको सबल र दुर्बल पक्षमाथि नजर नराखी नागरिक धर्मलाई कसरी निर्वाह गर्न सक्छ ?

संविधानले बहुदलीय संसदीय व्यवस्थालाई आदर्श मान्यो । गणतन्त्रलाई आफ्नो अस्तित्व मान्यो । प्रादेशिक संरचनालाई आफ्नो आकार मान्यो । संविधन निर्माणपश्चात बहुतहको चुनाव भयो । ७ वटै प्रदेशमा प्रादेशिक सरकार बने । नयाँ संरचनाको स्थानीय सरकारले आफ्नो आयतन ग्रहण गर्‍यो । यसका बाबजुद पनि अझै आत्मप्रशंसाको अवसर जुरेको छैन । नेपाललाई सही अर्थमा विभिन्न पहिचान र आकांक्षाहरू भएको प्रदेशहरूको संघ बनाउनु थियो । संविधान निर्माण जुन परिस्थितिमा गरियो, यसले जुन अन्तरवस्तुहरूलाई आफूभित्र आत्मसात गर्‍यो र निर्वाचनपश्चात कार्यान्वयनको क्रममा जुन अलमल, अस्पष्टता र अन्योल देखापर्‍यो, त्यसले देखाएको पक्ष के हो भने संविधानको उत्सवगाथा भन्दा पनि उत्तरगाथाप्रति घोत्लिनु अपरिहार्य छ । संविधानका सपथ लिएकाहरू, संविधानप्रति असहमति राख्नेहरू वा संविधान खारेजीको सपना राख्नेहरूमध्ये कोबाट संविधानमाथि चुनौती छ ?

संघीय संसद्भित्र ३ वटा प्रमुख धार देखिएका छन् : राष्ट्रवादी धार । संघीयतावादी धार । हिन्दुत्ववादी धार । यी धारहरू विभिन्न दलभित्र छन् । धारहरूको प्रस्टता दलहरूको अनुहारमा नदेखिंँदासमेत अलमल र अन्योल व्याप्त छ । संविधान निर्माणसंँग राष्ट्रियता र समाजवाद विमर्शमा आयो । जसरी संविधान घोषणाको काँधमा चढेर ‘राष्ट्रियता’ उक्लियो, त्यसले उत्पन्न संकीर्ण परिभाषाले गैरनेपाली भाषी र सत्ता विमर्श बाहिरको नेपालबासीलाई मूलधारमा सामेल गर्न सकेन । राष्ट्रियताको त्यो उर्लिंदो भेलले बञ्चित समूहहरूको आकांक्षालाई टिकापुर घटनापछि कर्णालीमा बगाइदियो ।

संविधान कार्यान्वयनको क्रममा यसको स्वीकार्यता बढाउने २ तरिका छन् । एउटा संविधानप्रति इमानदार भएर त्यसको अन्तरप्रवाहलाई फैलाउने । अर्को, संविधानको अन्तरवस्तुप्रति असन्तुष्ट रहेका समूहलाई विश्वासमा लिने र संविधानलाई गतिशील दस्तावेजको रूपमा प्रमाणित गर्ने । संविधान जारी हँुदै गर्दा संविधानसभाको अध्यक्षकै कुर्सीबाट सभामुख सुवासचन्द्र नेम्वाङले भनेका थिए, ‘आजैबाट संविधान कार्यान्वयनको चुनौती सुरु भएको छ । संविधानले अधिकार दिन्छ, कर्तव्य तोक्छ र राज्य सञ्चालनको व्यवस्था गर्छ । सबै गर्छ, तर बुद्धि, विवेक र क्षमता बाँड्न भने सक्दैन । त्यो बुद्धि, विवेक र क्षमता देखाउँदै एकजुट भई हामीले संविधान कार्यान्वयन गर्नुपर्छ । अर्को विकल्प छैन ।’ तर के भइरहेको छ ? परम्परा र परिवर्तनको अन्तरद्वन्द्वमा संवैधानिक यात्रालाई अल्झाइएको छ । संविधान कार्यान्वयनको प्रक्रिया भनेको संविधान र राज्यप्रति जनताको भरोसा बढ्दै जानु हो । राज्यका अंगहरू विधिसम्मत ढङ्गले अगाडि बढिरहेको छ भन्ने सन्देश सामान्यजनमा जानु हो । तर काँचको कचौराभित्र एक–अर्कामाथि हानहान गर्ने मामिलामा राज्यका अंगहरू नै एकभन्दा अर्को अगाडि रहेकाले त्यसभित्रका असहमति र अन्तरद्व्रन्द्व सडकमा छताछुल्ल हुँदैछन् ।

संवैधानिक प्रावधान अनुसार अन्तरप्रदेश समन्वय परिषदको बैठक संघीय सरकारले अहिलेसम्म बसाउनसकेको छैन । प्रदेश सरकार गठन भएको ६ महिनामा पहिलोपटक प्रधानमन्त्रीले बोलाएको परिषद बैठक उनकै कारण अनिश्चित भयो । कारण अरू केही होइन, मुख्यमन्त्रीहरूले आफूविरुद्ध मोर्चाबन्दी गर्लान् भन्ने आशंका उनमा जन्मियो । जबकि ७ वटै मुख्यमन्त्रीमध्ये ६ वटा उनकै दलका छन् र बाँकी १ दलको पनि उनको संघीय सरकारमा मौन साक्षी छ । संविधान निर्माण हुँदा त्यसप्रतिको विमतिलाई बलमिच्याइँ गर्ने तत्कालीन राजनीतिक गठबन्धनलाई साथ दिने मूलधारको मिडियासमेत यतिखेर सशंकित भएका छन् र भन्न थालेका छन्, ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता खुम्च्याउन नेता, प्रशासक र न्यायमूर्ति एकै ठाउँमा उभिएका छन् ।’ पछिल्ला घटनाक्रमले न्यायपालिका र नेपाली सेनाको कमजोरी बाहिरिएको छ । जसले यी संस्थाहरूप्रतिको जनआस्था र लोकदृष्टिमा व्यापक क्षरण आएको छ । कर्मचारीतन्त्रले संघीय सरकारको शक्तिशाली जनमतलाई बेवास्ता गर्दै गएका छन् । त्यसैले संघीय सरकार र कर्मचारीतन्त्र बीचको सम्बन्धबारे गाउँ–देहातमा आहान भन्न थालिएको छ, ‘सवारलाई सवारीले पत्याएन ।’ समाजको ऐनामा प्रहरीको अनुहार धमिलो देखिएको छ । संघीय सरकार प्रमुखका कतिपय कामकारबाही संघीयताको मर्म विपरीत हुँदै गएको मुख्यमन्त्रीहरूको साझा निष्कर्ष छ ।

संविधान जारी गर्दा ‘मधेस र भारत’लाई देखाएर नेपालका आन्तरिक शक्तिहरू ऐक्यबद्ध भए र त्यो प्रक्रियालाई साथ दिए, तर अहिले संविधानले निर्माण गरेका बन्धनहरूमा ती शक्तिहरू बस्न चाहिरहेका छैनन् । बरु संविधानको विरोध गर्दै आएका मधेसी दलहरूले निर्वाचनमा भाग लिए, प्रदेश २ मा सरकार बनाए र संघीय सरकारलाई समर्थन जनाए । संविधान कार्यान्वयन गर्ने कार्य निश्चय नै चुनौतीरहित छैन । नयाँ संविधानको खोजी नेपालको जुनसुकै क्षेत्रका जनताले राज्यको चाल, चरित्र र चेहरामा बदलाव ल्याउनका लागि थियो । तर संविधान कार्यान्वयनको अभिभारा बोकेको पक्षले नत जनतामा भरोसा कायम राख्न सकिरहेका छन् न संविधान भित्रको अस्पष्टतालाई छिचोल्ने आँट देखाएका छन् ।

संविधानले कतिको स्थायित्व दिनसकेको छ ? खोजिनिती आवश्यक छ । संविधान मात्रले स्थायित्व दिन सक्दैन । नेपाली सन्दर्भमा अहिले संविधानका लागि लड्ने, संविधान बनाउने र संविधान कार्यान्वयन गर्ने प्राय: उही पात्र र पंक्ति भए । तर तिनीहरूले आफूलाई सच्याउन चाहेनन् । वर्तमान संघीय सरकारसँंग सुविधाजनक अवस्था थियो कि उसले संविधानसंँग असहमत पक्षलाई सुझबुझसाथ सम्याउने र संवैधानिक ढाँचाप्रति लोकविश्वासको पहाड अग्लो बनाउने । यी दुइटै कार्यभारमा सरकार चुक्दै गएको छ । प्रतिपक्षी नेपाली कांग्रेस सदन वा सडक जहाँ भए पनि यो राष्ट्रिय कार्यसूचीलाई डोर्‍याउन सकारात्मक हस्तक्षेप गर्न सक्थ्यो । संविधान कार्यान्वयनको एउटा नैतिक कार्यभार बोकेको राजनीतिक शक्ति ऊ पनि हो । तर कांग्रेस नेतृत्व ओली सरकार ‘आफ्नो भार आफै थेग्न नसकी ढल्छ’ भन्दै निस्फिक्रीको ‘वाइन’ खाएर मस्त छ ।

कृपाभावलाई प्रश्रय दिएर अब लामो समयसम्म मधेसी, थारु, दलित वा जनजातिलाई चुपचाप राख्न सकिँदैन । मधेसी आन्दोलनको उदय, प्रतिरोध राजनीतिको क्रमिक विस्तार, नागरिक अधिकारप्रतिको सजगता, लैङ्गिक लोकतन्त्रप्रतिको बढ्दो प्रतिबद्धताले गर्दा संविधान कार्यान्वयनको नाममा यथास्थितिमा अल्झाउन सकिँदैन । नेपालमा भूराजनीतिक प्रभाव छ, त्यो इन्कार गर्न सकिँदैन । तर असमावेशी र असमानता विरुद्धको आवाजलाई अनेक आक्षेप लगाएर ठन्डा पार्ने प्रयत्नले नत राजनीतिक स्थिरता हुनसक्छ, न शान्ति कायम । एउटै दलको बहुतहमा बहुमत भएर पनि राजनीतिक स्थिरता र शान्ति हुँदो रहेनछ । आखिर समस्या कहाँ छ ? समस्या संरचना र सोचमा छ । भयो के भने संघीय सरकारको नेतृत्व गर्ने व्यक्तिमाथि एकैपटक २ असाधारण काम आइपुग्यो, एउटा संविधानको कार्यान्वयन र अर्को नवगठित दलको गतिशीलता ।

कसले संविधान दिवसमा उत्सव मनायो ? कसले यो दिनलाई उत्सर्ग दिवसको रूपमा मनायो ? यसको लेखाजोखामा अल्झिनुभन्दा संविधानले शोषित र बञ्चित समूह, कमजोर तप्काको पहिचान र सम्मानको खोजीलाई आफ्नो ध्येय बनायो कि बनाएन ? समावेशी विकासको चुनौती के हो ? आर्थिक नीतिमा गाउँ र गरिब कहाँ छन् ? समाजवाद गन्तव्य भनिएको संविधानले विकासको कुन मोडल आत्मसात गर्ने ? मूल नेतृत्व र त्यसको वरिपरिको झुन्डको रूपान्तरण विना संविधानको आत्माको रक्षा हुन सक्दैन । राज्यका अंगहरू बीचको सम्बन्ध सन्तुलित र पारदर्शी बनाउँदै तृण तहमा सेवा प्रवाहलाई सहज बनाउन आफूलाई केन्द्रित गर्नुपर्ने हो, संघीय सरकारले । संविधान भित्रका अस्पष्टतालाई संशोधन गर्न आँट देखाउनुपर्ने हो । समयको भित्तामा लेखिँदै गरेका असन्तुष्टिका नारालाई छलछाम, षडयन्त्र र ढाँटभन्दा असल नियत र आत्मीय संवादबाट आफ्नो बनाउन सकिन्छ र आफूसंँग हिँडाउन सकिन्छ । आखिर समयलाई चिन्नसके र चिर्नसके संविधान जनताको हुन्छ ।
datelineterai@gmail.com

Page 8
समाचार

मेलाबाट फर्कंदा बलात्कृत

- कान्तिपुर संवाददाता

बागलुङ (कास)– मेलाबाट घर फर्कंदै गरेकी एक किशोरी बलात्कृत भएकी छन् । घटनामा संलग्न आरोपमा प्रहरीले निसीखोलाका दुई युवकलाई पक्राउ गरेको छ । भदौ २७ मा निसीखोला–४ को कानबगरमा तीजको मेला हेरेर फर्केकी १५ वर्षीया किशोरीलाई स्थानीय युवकले बलात्कार गरेका थिए ।

किशोरीका अभिभावकको उजुरीमा ती युवकलाई गाउँबाटै नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ । पक्राउ पर्नेमा निसीखोला–५ का खगेन्द्र विक र रामबहादुर विक छन् । उनीहरूलाई बुधबार बुर्तिबाङबाट सदरमुकामस्थित जिल्ला प्रहरीमा ल्याइएको छ । बलात्कारीले गाउँमै मिलापत्र गर्ने प्रयास गरेका थिए । पीडित परिवार नमानेपछि घटना प्रहरीसम्म पुगेको हो ।

समाचार

गुट््खा कारोबारी अझै फरार

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– बुटवलस्थित श्रीराम टोबाको उद्योग प्रालिको नाम र उस्तै ब्रान्डमा काठमाडौंबाट अवैध रूपमा करेन्ट, भोलालगायत गुट्खा उत्पादन गर्ने गिरोहका चार जनालाई प्रहरीले पक्राउ गर्‍यो ।

तर राजस्व छली र नक्कली कारोबारमा संलग्न मुख्य व्यक्ति भने अझै फरार छन् ।
प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी वसन्त लामाको नेतृत्वमा भदौ पहिलो साता काठमाडौंका विभिन्न स्थानमा गुट्खा बनाउने कम्पनीमा छापा मार्दा नक्कली गुट्खासहित विन्दुलाल चौरसिया, जयन्द्र चौरसिया, रविशंकर चौरसिया र भारत विहार घर भई तारकेश्वर बस्ने राकेश सिंहलाई पक्राउ गरेको हो । उनीहरूसँगै कारोबारमा संलग्न सन्तोष भट्ट भने फरार रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले तारकेश्वर नगरपालिका १०, बोहोराटार र सीतापाइलास्थित शुभकामना सुर्ती उद्योग तथा नोलाङ र चमतीस्थित गोदाममा छापा मारेर नक्कली गुट्खा बनाउने मेसिन, ठूलो परिमाणमा नक्कली स्टिकर बरामद गरेको थियो । त्यसैक्रममा विन्दु चौरसिया पान भण्डारको सञ्चालक बनेर नक्कली गुट्खाको कारोबारमा संलग्न चार जनालाई पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त बालाजुका अनुसार जयन्द्र, रविशंकर र राकेश धरौटीमा रिहा भएका छन् भने विन्दुलाल थुनामै छन् ।गोदाममा छापा मारेकै दिन प्रहरीले थानकोट चेकपोस्टबाट बा१०च ४७२२ नम्बरको मारुती गाडीमा नक्कली गुट्खा बरामद गरेको थियो ।

प्रहरीका अनुसार संगठित गिरोहले नै नक्कली गुट्खाको कारोबार गरेको देखिन्छ । नक्कली कम्पनीका सञ्चालकले हेटौंडास्थित नेपाल रोटो प्रिन्टिङ एन्ड प्याकेजिङ प्रालिबाट नक्कली गुट्खाको खोल बनाएको देखिन्छ । करेन्ट गुट्खाको सक्कली उत्पादक श्रीराम गुट्खाले नक्कली कारोबारबाट १९ करोडभन्दा धेरैको अनधिकृत वस्तु उत्पादन र बिक्री भएको दाबी गरेको छ । प्रहरीका अनुसार राजस्व छलीको विषयमा आन्तरिक राजस्व कार्यालयले पनि अनुसन्धान गरिरहेको छ ।

Page 9
विदेश

नि:शस्त्रीकरणप्रति किमको प्रतिबद्धता

- कान्तिपुर संवाददाता

प्योङयाङ (रासस/योन्हाप)– उत्तर कोरियाली नेता किम जोङ–उनले आणविक नि:शस्त्रीकरणका लागि थप कदम चाल्न बुधबार सहमति जनाएका छन् । यो घोषणासागै केही समयदेखि रोकिएको संयुक्तराज्य अमेरिका र उत्तर कोरियाबीचको वार्ता पुन: सुरु हुने सम्भावना बढेको छ ।

प्योङयाङमा आयोजित उत्तर कोरियाली नेता किम र दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनबीचको ऐतिहासिक द्विपक्षीय वार्तामा उक्त सहमति भएको हो । दक्षिण कोरियाली राष्ट्रपति तीनदिने भ्रमणका क्रममा हाल उत्तर कोरियामा छन् । ‘उत्तर कोरियाले दोङचाङ–री क्षेप्यास्त्र परीक्षण केन्द्र र क्षेप्यास्त्र प्रक्षेपण केन्द्र दुवै देशका विज्ञको सहभागितामा सधैंका लागि बन्द गर्न सहमति जनाएको छ,’ किमसँगै आयोजित संयुक्त पत्रकार सम्मेलनमा राष्ट्रपति मुनले बताए । उक्त पत्रकार सम्मेलनको प्रत्यक्ष प्रसारण सोलमा पनि गरिएको थियो । ‘उत्तर कोरियाले योङवियोन आणविक केन्द्र पनि स्थायी रूपमै बन्द गर्नेजस्ता थप कदम पनि चाल्ने सहमति जनाएको छ तर त्यसका लागि अमेरिकाले आफ्ना नीतिमा सामयिक पुनरावलोकन गर्नुपर्छ,’ राष्ट्रपति मुनले बताए । उनले भने, ‘दक्षिण र उत्तर कोरियाले पहिलो पटक आणविक नि:शस्त्रीकरणका बारेमा छलफल गरेका छन् ।’ किमले आफू र मुनले सबै किसिमका आणविक हातहतियार त्याग्ने तथा कोरियाली द्वीपमा रहेको आणविक त्रास हटाउने प्रतिबद्धता जनाएका छन् । ‘यो घोषणाले दुवै देशबीचको सम्बन्धमा सुधार ल्याउन उच्चस्तरको मार्गप्रशस्त गरेको छ, र यसले शान्ति र समृद्धिको ढोका खोल्न हामीलाई नजिक ल्याएको छ,’ प्योङयाङ सम्झौतामा हस्ताक्षर गर्दै किमले बताए ।

संयुक्त घोषणापत्रमा आणविक नि:शस्त्रीकरणका सम्बन्धमा उत्तर कोरियाले प्रतिबद्धता जनाएको छ । प्योङयाङको तीनदिने भ्रमणको पूर्वसन्ध्यामा दक्षिण कोरियाली राष्ट्रपति मुनले अमेरिका र उत्तर कोरियाबीचको अवरुद्ध वार्ता पुन: सुरु गराउन पहल गर्ने बताए । संयुक्त पत्रकार सम्मेलनमा राष्ट्रपति मुनले भने, ‘उत्तर कोरिया र अमेरिकाबीचको वार्ता पुन: सुरु हुने मैले विश्वास लिएको छु ।’ अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीट गर्दैै अन्तर–कोरिया शिखर बैठकमा भएका सहमति स्वागतयोग्य रहेको बताएका छन् । राष्ट्रपति ट्रम्पले लेखेका छन्, ‘किम जोङ उनले आणविक सुपरीवेक्षणका लागि अनुमति दिन सहमति जनाउँदै अन्तर्राष्ट्रिय विज्ञको उपस्थितिमा एउटा आणविक परीक्षण केन्द्र र क्षेप्यास्त्र प्रहार केन्द्र सधैंका लागि बन्द गर्न राजी हुनुभएको छ ।’

संयुक्तराज्य अमेरिकाले उत्तर कोरियासँग रहेका आणविक हातहतियारको सूची उपलब्ध गराउन र आणविक केन्द्रको निरीक्षण गर्न माग गरिआएको छ । तर उत्तर कोरियाले अमेरिकी मागलाई अस्वीकार गरिरहेको छ । यहीकारण दुवै देशबीचको वार्ता केही समयदेखि अवरुद्ध छ ।

विदेश

म्यांकुटबाट ८१ ले ज्यान गुमाए

उत्तरी फिलिपिन्समा आँधीपछिको पहिरोमा परेर पुरिएकाहरूको खोजी गर्दै उद्धारकर्मी । खानी क्षेत्रमा कार्यरत दर्जनौं व्यक्ति पहिरोमा पुरिएको आशंका छ । तस्बिर : एपी

मनिला, फिलिपिन्स (एएफपी) : फिलिपिन्समा ‘म्यांकुट’ नामक भीषण आँधीमा परी मृत्यु हुने व्यक्तिको संख्या ८१ पुगेको प्रहरीले जनाएको छ । प्रकोपमा परी अझै पनि ७० बेपत्ता रहेका र बेपत्ता व्यक्ति भीषण आँधीपछि आएको पहिरोमा पुरिएको अनुमान छ ।

फिलिपिन्स राष्ट्रपतिका सल्लाहकार फ्रान्सिस टोलेन्टिनोले उद्धारकार्य जारी रहने र पहिरो प्रभावित क्षेत्रबाट सम्भव भएसम्म जीवितै उद्धार गरिने जनाए । यस आँधीले प्राय: पहाडी इलाका प्रभावित पारेको छ । यसैकारण आँधीपछि पहिरोको प्रकोप जारी छ ।
यस आँधीबाट हताहत र बेपत्ता पनि यसै पहाडी इलाकामा बढी भएको छ ।

फिलिपिन्समा यस वर्ष आएको आँधीमध्ये म्यांकुट अत्यन्त शक्तिशाली हो । गत शनिबार लुजोन द्वीपबाट सुरु भएको शक्तिशाली आँधीबाट घरहरू क्षतिग्रस्त भएको विद्युत् लाइन अवरुद्ध भएको थियो । रूख ढलेका र पहिरो
पनि गएको थियो ।

आँधीबाट कृषि क्षेत्रमा २६ करोड ४३ लाख अमेरिकी डलर बराबरको नोक्सानी भएको राष्ट्रिय प्रकोप व्यवस्थापन परिषद्ले जनाएको छ । फिलिपिन्समा यस वर्ष आएको यो १५आँै आँधी हो । हाल आएको म्यांकुट अत्यन्त शक्तिशाली आँधीका रूपमा छ । यस वर्षको अन्त्यसम्म अझै पनि चार या पाँचवटा आँधी आउने फिलिपिन्सको मौसम विज्ञान विभागले जानकारी दिएको छ ।

प्रहरी प्रवक्ता बेनिग्नो दुरानाले गत सोमबार प्रकाशित विज्ञप्तिका अनुसार मृतक संख्या ६५ पुगेको थियो । उपचारका क्रममा घाइतेहरू मारिएका र बेपत्ताको शव फेला परेपछि बुधबार म्यांकुटबाट मारिनेको संख्या ८१ पुगेको प्रहरी स्रोतले बुधबार जानकारी दिएको छ ।

आँधीका कारण फिलिपिन्सका लाखौँ मानिस प्रभावित भएका छन् । आँधीपछि गएको भूक्षयका कारण यस क्षेत्रमा बिजुली आपूर्ति बन्द भएको छ । हजारौं मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । सामुद्रिक र हवाई यात्रामा रोक लगाइएको छ भने विद्यालय बन्द गरिएका छन् ।मध्य फिलिपिन्समा सन् २०१३ मा आएको सुपर टाइफुन ‘हाइयान’ का कारण ६ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । त्यसैगरी सन् २०१३ मा राजधानी मनिलामा आएको ‘केत्साना’ नामक आँधीका परी ७ सयभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो ।

विदेश

साढे १६ हजार अफगान शरणार्थी घर फर्के

- कान्तिपुर संवाददाता

काबुल (सिन्हवा)– अफगानिस्तानका छिमेकी देशहरू पाकिस्तान र इरानबाट गत साता १६ हजार ६ सय ६३ अफगानी शरणार्थी घर फर्किएको संयुक्त राष्ट्रसंघीय बसाइँसराइ निकाय (आईओएम) ले बुधबार जनाएको छ । पाकिस्तानबाट सरकारी कागजबिनाका ९ सय ६९ अफगान शरणार्थी अफगानिस्तान फर्किएका छन् । यो संख्या गत साताको तुलनामा वृद्धि भएको आईओएमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । अघिल्लो साता कागजात नभएका ८ सय ९५ शरणार्थी पाकिस्तानबाट अफगानिस्तान फर्किएका थिए ।
यस्तै, गत साता १५ हजार ६ सय ६४ जना अफगान शरणार्थी इरानबाट फर्किएका आईओएमले जनाएको छ । गत साता इरानबाट फर्किएका अफगान शरणार्थीको तुलनामा हालको यो संख्या १० प्रतिशतले वृद्धि भएको जारी विज्ञप्तिमा उल्लेख छ । हिंसात्मक द्वन्द्वका कारण अस्तव्यस्त रहेको अफगानिस्तानमा पाकिस्तान र इरानबाट जनवरी १ देखि हालसम्म ५ लाख ६१ हजार अफगान शरणार्थी घर
फर्किएका छन् ।

Page 10
कला र शैली

तीन महिनादेखि बेपत्ता छिन् चिनियाँ सुपरस्टार

- कान्तिपुर संवाददाता

फयान बिङबिङ, विश्वकै महँगी अभिनेत्रीमध्ये एक, कहाँ कुन अवस्थामा छिन् भन्नेबारे अझै अत्तोपत्तो लाग्न सकेको छैन । कसैले उनको खुटखबर नपाएको तीन महिनाजति भयो ।टव्ीटरजस्तै चीनको लोकप्रिय सामाजिक सञ्जाल सिना वेबोमा उनका ६ करोडभन्दा बढी फलोअर्स छन् । उनले जुलाई २३ यता वेबो अपडेट गरेकी छैनन् । लाइमलाइटमा छाइरहेकी, व्यस्त र चर्चित सेलिब्रेटी एकाएक हराउनुलाई बडो रहस्यमयी मानिएको छ । उनी हलिउडमा पनि नामी थिइन् ।

बीबीसी, द न्युयोर्क टाइम्स, सीएनएन लगायत विश्वका ठूला मिडियाले उनी हराएको समाचार प्रकाशन/प्रसारण गरिरहेका छन् । टाइम म्यागाजिनका अनुसार उनी पछिल्लो पटक जुलाई १ मा चीनकै एउटा बाल अस्पतालमा देखिएकी थिइन् । त्यसयता अभिनेत्रीको कुनै अत्तोपत्तो छैन । मलेसियाको ‘द स्टार अनलाइन’ ले भने यही सेप्टेम्बर १६ मा उनी वेबोमा झुलुक्क अनलाइन देखिएको बताएको छ । स्टारका अनुसार अभिनेत्रीले आफ्नो ३७ औं जन्मदिनका अवसरमा नयाँ स्टाटस पोस्ट गरेकी थिइन् । तर, उक्त पोस्ट तुरुन्तै डिलिट भयो ।

हलिउड फिल्म ‘एक्स–म्यान : डेज अफ फयुचर पास्ट’ र ‘आइरन म्यान ३’ मा अभिनय गरेकी बिङबिङ गायन र मोडलिङमा समेत स्थापित थिइन् । उनी अभिनीत ‘माई फेयर प्रिन्सेस’, ‘सेल फोन’, ‘लस्ट इन बेइजिङ’, ‘बुद्ध माउन्टेन’, ‘आई एम नट म्याडम बोभारी’, ‘माई वे’ जस्ता फिल्म चर्चित छन् । यीमध्ये कति त चीनमा सबैभन्दा बढी कारोबार गर्ने फिल्ममा पर्छन् । केही फिल्मले उनलाई चीनको गोल्डेन ग्लोब मानिने हन्ड्रेड फ्लावर अवार्डसमेत दिलाएका थिए ।

कर छलीको आरोप
गत मेमा अभिनेत्रीलाई कर छलीको आरोप लगाइएको थियो । उनले यिङ एन्ड याङ सम्झौतामा हस्ताक्षर गरेको हल्ला छ । यसको अर्थ उनले वास्तविक कमाइ लुकाएर सरकारलाई झूटो विवरण पेस गर्ने गरेकी थिइन् । स्थानीय सीसीटीभीले बिङबिङको यिङ एन्ड याङ सम्झौताको प्रति सार्वजनिक गरेको थियो । त्यसमा अभिनेत्रीले दोहोरो बिल बनाएको प्रस्ट देखिने टाइम म्यागाजिनमा उल्लेख छ । बिङबिङको स्टुडियोले भने त्यस्तो कुनै सम्झौता नभएको दाबी गर्दै यथाशीघ्र अनुसन्धान गरेर तथ्य बाहिर ल्याउन आग्रह गरिरहेको छ ।

चिनियाँ फिल्म उद्योग राज्यबाट नियन्त्रित छ । तसर्थ कर छलीलाई राज्यविरुद्धकै अपराध मानिन्छ । अभिनेत्रीले एउटै फिल्मबाट झन्डै ७० करोड रुपैयाँ लुकाएको आरोप लागेपछि चीनको स्टेट एडमिनिस्ट्रेसन अफ टयाक्सेसनले त्यसबारे गम्भीर अनुसन्धान हुने बताएको थियो । यसैबीच, चीन सरकारले अभिनेत्रीको नाम उल्लेख नगरीकनै एउटा चेतावनी सार्वजनिक गर्‍यो । त्यसमा भनिएको छ, ‘करसम्बन्धी कानुन अवज्ञा गरेको पाइएमा कानुनअनुरूप नै कडा ढंगले प्रक्रिया अघि बढाइनेछ ।’

अभिनेत्रीका प्रतिनिधिले भने कर छलीको आरोप मिथ्या भएको पटकपटक जिकिर गर्दै आएका छन् । यो विवादपश्चात् उनलाई कन्ट्रयाक्ट साइन गरिसकेको फिल्मबाट पनि हटाइएको थियो । आगामी अगस्टमा प्रदर्शन हुने ‘अनब्रेकेबल स्पिरिट’ फिल्मको प्रचार सामग्रीबाट उनको नाम र उपस्थिति मेटाइएको छ । उनी संलग्न कतिपय व्यापरिक विज्ञापन देखाउनबाट रोकिएका छन् । कस्मोपोलिटन अनलाइनका अनुसार उनलाई सरकारले नजरबन्दमा राखेको छ । तर, यो खबरको पुष्टि हुन सकेको छैन । उनी आबद्ध संस्थाले कर छलीमा अभिनेत्रीको संलग्नता नरहेको बताए पनि उनी कहाँ छिन् भन्नेबारे खुलाउन सकेको वा चाहेको छैन ।

बिङबिङ जस्ती सुपरस्टार बेखबर भएपछि सामाजिक सञ्जालममा तरंग पैदा भएको छ । यो मुद्दामा एकताका ज्याकी च्यान पनि मुछिएका थिए । अभिनेताले बिङबिङलाई अमेरिकामा शरण लिन सुझाव दिएको बताइन्छ । कर छलीको आरोपबाट बच्न उनलाई त्यस्तो सल्लाह दिएको भनिए पनि च्यानले यो फगत हल्ला मात्र भएको बताउँदै आएका छन् ।बिङबिङ हराएको यत्रो समय बितिसक्दा पनि चीन सरकारले उनीविरुद्ध कुनै कसुर लगाएको छैन । यद्यपि, उनी कम्युनिस्ट पार्टीकै नियन्त्रणमा रहेको कुरा डँढेलोसरि फैलिएको छ । ‘हिजो साँझ रेड कार्पेटमा हिँडेकी जेनिफर लरेन्स भोलिपल्टदेखि एक्कासि गायब भइन्,’ सीएनएनले लेखेको छ, ‘सम्झिनुस् त, त्यस्तो भए कस्तो लाग्ला ? कति हाँसउठदो र भयावह सुनिन्छ ! यो अहिले चीनको यथार्थ भइरहेको छ ।’

कला र शैली

सितुका गीतगजल

- कान्तिपुर संवाददाता

काठमाडौं – गायिका सितु खरेल यसअघि आधुनिक लयमा बढी सुनिइन् । यसपालि आफ्नो सातौं एल्बम ‘मजस्तै तिमी पनि’ मा उनले गजल गीत समावेश गरेकी छन् । उक्त एल्बम बुधबार लोकार्पण गरियो ।पत्रकार पति सुमन खरेललाई एल्बम लोकार्पण गर्न लगाएकी सितुले समारोहमा दुइटा गीत प्रस्तुत गरिन् । एल्बममा रहेका ‘तिम्रो त्यो वचन...’ र ’केही गीत छन्...’ बोलका गीत उनले गाएकी थिइन् । यिनमा क्रमश: सचिन सिंह र प्रभुराज ढकालको संगीत छ ।

एल्बमका छ वटै गीत दुबसु क्षत्रीले लेखेका हुन् । तिनमा प्रभुराज र सचिनसँगै चण्डीराज काफ्ले, न्हयू बज्राचार्य, हरि लम्साल र कर्ण दासले संगीत भरेका छन् । विन्ध्यावासिनी म्युजिकले एल्बम वितरणको जिम्मा लिएको छ ।

दुई दशकयता संगीत क्षेत्रमा रहेकी सितु बेलायतमा संगीत सिकाउँदै आएकी छन् । उनी आफूले भने लन्डनको ट्रिनिटी म्युजिक स्कुलमा संगीत अध्ययन गरेकी थिइन् । ‘गुरुहरूको मेन्टरिङले म यहाँसम्म आइपुगेकी हुँ,’ उनले भनिन्, ‘पहिलो पटक गजल गाउने प्रयास गरेकी छु ।’ यसअघि सितुले ‘स्मारिका’, ‘सिम्रिक’, ‘निर्मन’ लगायत एल्बम बजारमा ल्याएकी थिइन् । उनका ‘ओ मेरी स्मारिका...’, ‘मेरो विश्वास...’, ‘के रैछ माया...’ जस्ता गीत श्रोतामाझ आइसकेका छन् । पछिल्लो एल्बम बिक्रीबाट आएको सम्पूर्ण आम्दानी मानवसेवा आश्रमलाई प्रदान गर्ने उनले बताइन् ।

कला र शैली

सर्वसाधारणका रूपमा पूर्वकुमारीको एक वर्ष

काठमाडौं - वा प्रतापमान शाक्यले दोस्रो पटक बोलाएपछि माथिल्लो तलाबाट झरिन् उनी । गोरो रंग, पातलो ज्यान, कम्मरसम्म कपाल । बुधबार बिदाको दिन मावल जाने तयारीमा थिइन् उनी । मतिना शाक्य, पूर्वकुमारी । आफ्नी छोरीलाई प्रतापमानले उनी यसअघि जीवित देवी हुँदाका विभिन्न पत्रपत्रिकाका कटिङ, कुमारीका तस्बिर र कुमारीबारे जानकारी दिन थाले ।प्रतापमानले काठमाडौं मात्र होइन, पाटन, बुङमती, भक्तपुर, नुवाकोट जस्ता स्थानमा रहेका कुमारीका बारे पनि जानकारी संकलन गरेका छन् ।

विभिन्न स्थानमा फरक–फरक समुदायबाट कुमारी छानिन्छन् । कतै शाक्य, कतै बज्राचार्य, बुद्धाचार्य त कतै महर्जन थरका कुमारी पुज्ने चलन छ । कतै महिनावारी भइसकेपछि कुमारी घर छोड्ने चलन छ भने कतै हुनुअगावै खोजेर आसनमा बसाइन्छ । लिपि विज्ञ उनी संस्कृतिको जगेर्नामा लागेका अभियानकर्मी पनि हुन् । घडीको पसलका साथै उनी एक सहकारीमा पनि काम गर्छन् ।

उनकै छोरी मतिना ९ वर्ष जीवित कुमारीका रूपमा काठमाडौंमा पुजिइन् । उनी यसलाई सौभाग्य मान्छन् । यो सौभाग्य सबै बालिकाले पाउँदैनन् । उनकी जेठी छोरी मिजलाले पनि पाइनन् । उहिले कुमारी खोज्ने बेला मिजला एक वर्षकी थिइन् । कान्छी छोरी मतिनाको उमेर र चिनो दुवै मिलेपछि कुमारी भइन् ।

कुमारीका रूपमा ९ वर्ष रहेर पछिल्लो १ वर्षदेखि सामान्य जीवनयापन गरिरहेकी मतिना निकै कम बोल्छिन्, लजालु छिन् । उनी कतिऔं कुमारी हुन् भन्ने यकिन छैन । किनकि कुमारी पुज्ने परम्परा कहिलेबाट सुरु भयो र कतिवटा कुमारी फेरिए, यसको तथ्यांक कतै भेटिन्न । पहिले कुमारी छान्ने प्रक्रिया गोप्य हुन्थ्यो । अर्को कुमारी जात्रामा देखेपछि मात्र सर्वसाधारणले कुमारी फेरिएको चाल पाउँथे । पछिल्लो समय फेरिने समय सबैलाई थाहा हुन्छ र उत्सवझैं चर्चाको विषय बन्छ ।

काठमाडौंको प्राचीन बस्ती हो वसन्तपुर आसपास क्षेत्र । उपत्यकाको सबैजसो जात्रा, पर्व र संस्कृतिको मुख्य केन्द्र नै यही हो । यहीँको इटुंबहालमा निकै सुन्दर ‘राजमती’ र भैरवको एक रूप ‘गुरुमापा’ बारेका मिथक पनि जोडिन्छन् र यही ठाउँकी हुन् निवर्तमान जीवित देवी कुमारी वा ‘द्य:मांजु’ मतिना शाक्य ।

मतिनाको अर्थ नेपालभाषामा ‘मायाप्रेम’ भन्ने हुन्छ । २०६५ सालको कुरा सम्झिँदै प्रतापमानले भने, ‘तीन वर्ष पुगेर भर्खरै मात्र स्कुल जान सुरु गरेकी थिइन् मतिना । कुमारीका चिताइदार नयाँ कुमारी खोज्दै थिए । मतिनाको चिना पनि दिएँ ।’ केही दिनपछि घरमा मतिनालाई कुमारी छानिएको समाचार आयो । आमा सुनिता र बुवा प्रतापमानले तीन वर्षीया मतिनालाई कुमारी बस्ने कि नबस्ने भनेर सोधे । ‘हुन्छ,’ उनको जवाफ थियो । त्यसपछि उनी आफ्नो घर छाडी अजी, आमा, दिदी र बुवालाई छाडेर कुमारी घर बस्न पुगिन् ।
 
हप्ता दिन हर्षोल्लासका साथ उपत्यकामा मनाइने इन्द्रजात्रामा कुमारीको विशेष महत्त्व हुन्छ । यसबाहेक घोडेजात्रा र अन्य पर्वमा पनि कुमारीलाई बाहिर निकाल्ने र सहर परिक्रमा गराइने गरिन्छ । २०६५ को दसैंमा अष्टमीका दिन उनी कुमारी घरमा विधिवत् रूपमा भित्रिएकी थिइन् । अहिले एक वर्ष भयो, उनले अवकाश पाएको । मतिना १२ वर्ष पुगेपछि उनको स्थान तृष्णा शाक्यले लिएकी छन् ।

मतिना यसकारण पनि विशेष थिइन् किनकि उनी राजाले गद्दी त्यागी नेपाल गणतान्त्रिक मुलुक घोषणा भएपछिको पहिलो कुमारी थिइन् । राजासँग चिना मिलाइने परम्परा रहेकामा नेपाल देशसँग मतिनाको चिना मिलाइएको थियो । कुमारी को हुने भन्ने निर्णय भएपछि राजदरबारमा ज्योतिष तथा कुमारी चयनमा संलग्नहरूको भेटले कुमारीलाई ‘पक्का गर्ने कार्य’ गरिन्थ्यो, जसलाई ग्वयंदा भनिन्छ । राजाले यो निर्णय राजदरबारमा गर्थे । उनको पालामा राष्ट्रपति भवनमा यो विधि सम्पन्न भयो । भर्खरै केही महिनाअघि मात्र नेपाल एक राजतन्त्रात्मक देशबाट गणतान्त्रिक मुलुकमा परिवर्तन भएको थियो । राजा होइन, आलंकारिक राष्ट्रपति राष्ट्रप्रमुख भएका थिए । रामवरण यादव राष्ट्रप्रमुख थिए, उनले इन्द्रजात्रामा कुमारीका हातबाट टीका थापे । मतिना ९ वर्ष कुमारी रहिन् । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि उनैले टीका लगाएकी छन् ।

गत वर्ष अष्टमीका दिन उनी कुमारी घरबाट बाहिरिइन् । अब उनी अन्य बालिकाझैं बाहिर जाने, खेल्ने, विद्यालय जाने गर्छिन् । कुमारी घर छँदासम्म उनलाई पढाउन शिक्षक नै कुमारी घर पुग्थे । दिउँसो १२ देखि ४ सम्म पढ्ने समय हुन्थ्यो उनको । त्यसअघिसम्म पूजा गरिन्थ्यो । पछि ईश्वरको रूपबाट सामाजिक र पारिवारिक जीवनमा फर्किंदा गाह्रो नहोस् भनेर परिवारले निकै ध्यान दिने गरेको थियो ।
उनलाई अरू बालबालिकाले झैं कुमारी घरभित्र सबै सुविधा दिइन्थ्यो । फरक यति थियो कि, उनी विशेष अवसरमा मात्र घर बाहिर निस्किन पाउँथिन् । तर बाहिरका भने भित्र जान पाउँथे । आमाबुवा र शिक्षक मात्र होइन, उनका साथीसंगी पनि उनलाई भेट्न समय–समयमा कुमारी घर जान्थे । यसै कारण सामान्य दिनचर्यामा फर्किएपछि पनि उनलाई खासै फरक परेको छैन ।

उनी नचिनेको मान्छेसँग निकै कम बोल्छिन्, गम्भीर देखिन्छिन् । अलिक बढी बोल्ने र रमाउने भनेको घरका मान्छेसँग र नजिकका साथीसँग हो । अनि मोबाइल भनेपछि हुरुक्कै हुन्छिन् । कुमारी घर हुँदा पनि टीभी हेर्थिन् र इन्टरनेट चलाउँथिन् । खासै गाह्रो भएन उनलाई । बाहिरी वातावरणबाट पनि राम्रोसँग परिचित थिइन् मतिना । गत वर्ष असोजमा दसैंको बिदा सकिएपछि उनी स्कुल पुगिन् । उनी ग्रिन पिस कोएड स्कुलले सबै शिक्षक र विद्यार्थीलाई भेला गरी एक समारोहका बीच उनको स्वागत गर्‍यो । साथीहरू, अन्य कक्षाका विद्यार्थी र उनलाई पढाउने शिक्षक सबै मक्ख थिए । आखिर ‘देवी’ पढ्न आएकी थिइन् । कुमारीको पदबाट हटिसकेपछि पनि कुमारीको महत्त्व नेवारी परम्परामा घट्दैन भन्छन्, मतिनाका बुवा ।‘विभिन्न कार्यक्रममा पूर्वकुमारीलाई बोलाइन्छ । पूजा गरिन्छ । त्यस्तो बेलामा मतिना पनि सहभागी हुन्छिन्,’ उनले भने ।

१३ वर्षीया मतिनाको आठ कक्षामा पढाइ राम्रै चलिरहेको छ । भविष्यको योजना बनाइसकेकी छैनन् । यो निर्णय लिने उमेर पनि भइसकेको छैन भन्छन् बुवा प्रतापमान । तर ‘असल नागरिक’ बनाउने चाहना छ उनका बुवाको । विद्यालयमा शिक्षक र विद्यार्थी दुवैको आकर्षणको केन्द्र हुन् उनी । उनलाई विद्यालय जीवन कस्तो लाग्छ त ? उनको छोटो उत्तर छ, ‘रमाइलो ।’ मनपर्ने विषय, ‘गणित ।’

साथीसँग चञ्चल हुन्छिन् उनी । विद्यालयमा कक्षाकोठा पढ्ने र सिक्ने मात्र होइन, बाल्यकालको ठूलो हिस्सा बिताउने स्थान पनि हो उनका लागि । ‘कक्षामा हल्ला गर्छौ ?’ प्रश्नमा उनी ‘हो’ भनेझैं लजाइन् । इन्द्रजात्रामा गणेश र भैरवको स्थान पनि निकै महत्त्वपूर्ण हुन्छ । उही कक्षाको अर्को सेक्सनमा ‘गणेश’ अर्थात् संवेग शाक्य पनि पढ्छन् । स्कुल जान थालेपछि सोही वर्ष तिहारपछि उनको ‘इही’ अर्थात् बेल विवाह गरियो । माघमा गुफा बसिन् । समग्रमा कुमारी घरबाट निस्केपछिको वर्ष निकै व्यस्त भइन् ।

गएको महिना पनि उनको दिनचर्या निकै व्यस्त थियो । एकाबिहानै साढे चार बजे उठेर नित्यकर्म सकी स्वयम्भू पुग्थिन् । बाँसुरी बजाउँदै फर्किन्थिन् अनि खाना खाएर स्कुल ड्रेस लगाएर हतारिँदै स्कुल पुग्थिन् । ‘गुँला’ महिनालाई नेवारी संस्कृतिमा विपद् र प्रकोपको मौसम मानिन्छ । यस समयमा मनलाई स्थिर राख्नुपर्ने र धार्मिक क्रियाकलापमा संलग्न हुनुपर्ने मान्यता छ । उनले गुँला सुरु हुनुभन्दा दुई महिना अघिदेखि नै बाजा खल:बाट बाँसुरी बजाउन सिकिन् । र, दिनहुँ बाँसुरी बजाउँदै दिदी र टोलका अन्यसँगै फर्किन्थिन् ।

नयाँ–नयाँ कुरा सिक्न उनलाई निकै मन पर्छ । आउने वर्ष अर्को बाजा बजाउने उनको योजना छ । फेरि अर्को वर्ष गुँलामा बाजा विधिपूर्वक निकालिएपछि अरू बाजा सिक्ने मतिनाको धोको छ । यसै वर्ष बाजा खलकसँग पिकनिक जाँदा नेवारी गीत गाएकी थिइन् मतिनाले । गीत संगीतमा उत्तिकै रुचि छ ।मतिना कुमारी घरबाट निस्केपछि जापानबाट आएको एक टोलीले उनका बारे वृत्तचित्र तयार गरिसकेको छ । अन्य देशबाट पनि कुमारीबारे बुझ्न आउनेको संख्या बढिरहेको छ । प्रतापमानका अनुसार जर्मनी, कोरियालगायतका देशबाट मतिनाबारे डकुमेन्ट्री बनाउन प्रस्ताव आइरहेका छन् ।

प्रतापमान कुमारी घर बनाइएको हिसाबले यो प्रचलन मल्लकालमा सुरु भएको भनिए पनि नेवारी संस्कृतिको सुरुवातसँगै भएको मान्छन् । उपत्यकाका अन्य क्षेत्रमा र नेपालकै विभिन्न जिल्लामा पनि कुमारी राख्ने र पुज्ने चलन छ । उपत्यकामा तीन तहका कुमारी रहने गरेको उनी बताउँछन् । ‘मुख्य कुमारीबाहेक नगर र टोल–टोलमा पनि कुमारी हुन्थे,’ प्रतापमानले भने, ‘अहिले छैनन् । संस्कृति जोगाउन इच्छा मात्र होइन, अर्थ पनि चाहिन्छ । त्यसैले बिस्तारै उपत्यकाको धेरै कुमारी संस्कृति लोप भइसक्यो ।’ कुमारीलाई सेवासुविधा दिन कन्जुस्याइँ गर्न नहुने धारणा छ प्रतापमानको । उनले भने, ‘डेढ सय रोपनीभन्दा बढी जग्गा कुमारीका लागि राखिएको थियो । विभिन्न समयमा राज्यले अधिग्रहण गर्दै गयो ।’

कुमारीले भोगचलन गर्नुपर्ने जग्गामा सरकारको स्वामित्व भएपछि कुमारीको सेवासुविधामा कुनै कमी हुन नदिनु पनि सरकारकै दायित्व ठान्छन् उनी । अहिले नयाँ कुमारीलाई केही सुविधा थप गरिएको छ । मासिक ४० हजार रुपैयाँ भत्ता काठमाडौं महानगरपालिकाले दिन्छ । पूर्वकुमारीलाई १० हजार मासिक दिइन्छ । यसैगरी नेपाल सरकारका तर्फबाट दिइने सुविधामा पनि केही वृद्धि गरिएको छ ।


-ग्रिन पिस कोएड स्कुलमा आठ कक्षामा अध्ययनरत
-विभिन्न पूजामा सहभागिता
-बाँसुरीवादन प्रशिक्षण
-आफूबारे डकुमेन्ट्री निर्माणमा सहभागिता

Page 11
कला र शैली

मिस नेपाल लन्डनमा

- कान्तिपुर संवाददाता

लन्डन – मिस नेपाल शृंखला खतिवडा मंगलबार साँझ लन्डन आइपुगेकी छन् ।शृंखला अल्डरसटस्थित प्यालेसमा आफ्नै प्रोजेक्टका लागि गर्न लागिएको च्यारिटी डिनरमा सहभागी हुन पहिलो पटक उनी यूके आएकी हुन् । शृंखलाले विमानस्थलमा ‘एउटा पवित्र कामको लागि यूके आउन पाएकोमा निकै खुसी लागेको’ बताइन् ।

आमाका साथ यहाँ आएकी उनलाई स्वागत गर्न आयोजक र अन्य शुभचिन्तक हिथ्रो विमानस्थल पुगेका थिए । सिग्नेचर ग्रुप र हयाभ अ मोमेन्टले शुक्रबार च्यारिटी डिनर गर्दै छन् । आउँदो डिसेम्बरमा मिस वल्र्डका लागि नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुन लागेकी शृंखलालाई उक्त प्रतियोगितामा ‘ब्युटी विथ अ पर्पोज’ सेग्मेन्टमा एउटा च्यारिटी काम देखाए प्लस प्वाइन्ट हुन्छ । त्यसैले मकवानपुरको दुर्गम कैलाश गाउँपालिका ७ मा हेल्थ पोस्ट बनाउने उनको योजना छ र यसैका लागि आर्थिक संकलन गर्न उनी यूके आएकी हुन् ।

पेसाले आर्किटेक्ट उनी सुरुमा गृहजिल्लाकै चेपाङ समुदायका लागि भवन निर्माण गर्न चाहन्थिन् । तर, जब उनी मकवानपुरको कैलाश गाउँपालिका ७ पुगिन्, त्यहाँको दयनीय स्वास्थ्य सेवा, बालबालिकामा कुपोषण र सामान्य हेल्थ एन्ड हाइजिनसमेत नहुँदा उनको योजना बदलियो । सामान्य रुघाखोकी र झाडापखाला लागे पनि पाँच घण्टा पैदल हिँडेर उपचार गर्न जानुपर्ने गाउँलेको बाध्यता देखेपछि हेल्थ पोस्ट बनाउने निर्णय गरेको उनले बताइन् ।

कला र शैली

वेडिङ फोटो अवार्ड

- कान्तिपुर संवाददाता

काठमाडौं – फोटोग्राफर संघद्वारा राजधानीमा आयोजित ‘वेडिङ फोटो अवार्ड २०१८’ मा सानुकाजी महर्जन प्रथम भएका छन् । महर्जनले पुरस्कारस्वरूप निकोन डी ८१० क्यामेरा पाएका छन् । छैठौं संस्करणको प्रतियोगितामा चितवनका रामजी नेपाल द्वितीय र काठमाडौंका अनिस खड्गी तृतीय भएका छन् । द्वितीय र तृतीय हुने विजेताले निकोन डी ७२०० र निकोन डी ३४०० क्यामेरा पुरस्कारस्वरूप पाए । संघका अध्यक्ष भवदेव थापाका अनुसार प्रतियोगितामा करिब १५ सय फोटा समावेश थिए ।

कला र शैली

मुक्तक माधुर्य

शैली संक्षेप
- कान्तिपुर संवाददाता

काठमाडौं – मुलुकभरका २ सय १ जना मुक्तककारहरूका सिर्जना समेटिएको कृति ‘मुक्तक माधुर्य’ राजधानीमा सार्वजनिक गरिएको छ । नेपाल मुक्तक प्रतिष्ठानद्वारा प्रकाशित संयुक्त मुक्तकसंग्रहको गीतकार एवं मुक्तककार रत्नसमशेर थापाले लोर्कापण गरे । कृतिमा हरेक स्रष्टाका पाँच/पाँच वटा सिर्जना छन् । समालोचक ज्ञानु अधिकारीले मुक्तककारहरूलाई एउटै कृतिमा पढ्न पाउनु गौरवको कुरा रहेको दाबी गरिन् । प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेले ढिलै भए पनि मुलुकभरका मुक्तककारहरूको संयुक्त कृति निकाल्न आफूहरू सफल भएको बताए । कृति वियोगी बुढाथोकी, विष्णुबहादुर सिंह, यादव भट्टराई र निशा केसी सम्पादन गरेका हुन् । समारोहमा प्रतिष्ठानका अध्यक्ष कोनेले सल्लाहकार रत्नशम्सेर थापालाई सम्मान गरेका थिए भने अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का नवनिर्वाचित अध्यक्ष राधेश्याम लेकालीलाई बधाइ ज्ञापन गरिएको थियो ।

कला र शैली

बरालका मुक्तक

शैली संक्षेप
- कान्तिपुर संवाददाता

काठमाडौं - ऋषि बरालको मुक्तक संग्रह ‘पैतालाका डोबहरू’ बुधबार राजधानीमा लोकार्पण गरियो । नेपाल मुक्तक प्रतिष्ठानले आयोजना गरेको समारोहमा साहित्यकार रत्नशमशेर थापाले कृति लोकार्पण गरे । कृतिमा मायाप्रेम, देशभक्ति, वियोग र मातृशोकका विषय समेटिएको छ । साहित्यकार खगेन्द्रप्रसाद लुइँटेल र रामकुमार पाँडेले बरालका मुक्तक पठनीय भएको दाबी गरे । स्रष्टा बरालले बढी झुकाव हाइकुमा भए पनि पछिल्लो समय मुक्तकमा पनि मन बसेको बताए ।

कला र शैली

देवेन्द्रको ‘निश्चल हिमाल’

शैली संक्षेप
- कान्तिपुर संवाददाता

काठमाडौं – गीतकार देवेन्द्र थाम्सुहाङको ‘निश्चल हिमाल...’ गीतको भिडियो सार्वजानिक भएको छ । गीतमा मेलिना राई र ताराप्रकाश लिम्बूले स्वर दिएका छन् भने ताराप्रकाशकै संगीत छ । भूपेन्द्र तुम्बाहम्फेले निर्देशन गरेको म्युजिक भिडियोमा भने निराजन प्रधान र सिम्रान श्रेष्ठले अभिनय गरेका छन् । पाँचथरको प्राङ्बुङका थाम्सुहाङले यसअघि ‘हाम्रो जोडी...,’ ‘प्राङ्बुङ माथि स्कुल...’ गीत ल्याइसकेका छन् ।

कला र शैली

छक्का पञ्जा–३ को फस्टलुक

शैली संक्षेप
- कान्तिपुर संवाददाता

काठमाडौं – नेपाली कथानघक फिल्म ‘छक्का पञ्जा ३’ को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । ‘छक्का पञ्जा’ को सिक्वेलमा बनेको फिल्मको पोस्टर संबिधान दिवसको अवसर पारेर सार्वजनिक गरिएको हो । यस अघि फिल्मको गीतहरू ‘पहिलो नम्बर’ र ‘उमेर ढल्किन्छ पछि कालै पल्किन्छ’ सार्वजनिक भइसकेको छ । पोस्टरमा फिल्ममा मुख्य भूमिका निर्वाह गरेका सबै कलाकारहरूको अनुहार समेटिएको छ । फिल्ममा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, दीपिका प्रसार्इं, प्रियंका कार्की, बुद्धि तामाङ नायिकाद्वय स्वस्तिमा खड्का, वर्षा राउत लगायतका कलाकारले अभिनय रहेको छ । दीपाश्री निरौलाले निर्देशन गरेको फिल्ममा दीपा र दीपककै लगानी छ । पुरुषोत्तम प्रधानको छायांकन रहेको छ ।

Page 12
समाचार

सागका ठाउँमा निगुरो

दैनिक हजार बढी कमाइ
- प्रकाश बराल
बागलुङ बजारमा निगुरो बिक्री गर्न हिँडेकी महिला । वर्षायाममा अरू साग नहुने भएकाले निगुरोको किनबेच राम्रो छ । तस्बिर : प्रकाश

लगातारको वर्षाले किसानका बारीमा साग उम्रिएको छैन । तर जंगल र डाँडापाखामा निगुरो फस्टाएको छ । अहिले हरियो तरकारीको मागलाई निगुरो संकलन गरेर बजार पुर्‍याउनेले धानेका छन् ।

तीन महिनादेखि गुठीकी विष्णुमाया किसानको दैनिकी निगुरो व्यापार भएको छ । उनले दैनिक सय मुठासम्म निगुरो बिक्री गर्छिन् । हरेक मुठामा १० रुपैयाँसम्म नाफा लिँदा दैनिक हजार रुपैयाँ कमाइ हुने उनले बताइन् । मासिक ३० हजार रुपैयाँसम्म कमाएको उनी बताउँछिन् । हिउँदमा प्लास्टिकका टनेलमा फलाउने तरकारी बेच्ने उनी असारदेखि कात्तिकसम्म हरियो तरकारी बेच्ने गर्छिन् । निगुरो बेच्ने किसान एक्ली होइनन् ।

सिजनको तरकारी भएकाले बागलुङ बजारमा निगुरो व्यापार राम्रो छ । जुका लाग्ने भएकाले संकलन गरेर ल्याउन सजिलो नभए पनि बजारमा हातहातै बिक्छ ।
किसानजस्तै बजारमा धेरैको दैनिकी निगुरोसहितका हरियो तरकारीले धानिएको छ । संकलन गरेर ल्याइने निगुरोबाहेक अधिकांश तरकारी गाउँमा उत्पादित हुन् । असारदेखि छिटपुटबाहेक हरियो तरकारी बाहिरबाट नआएको कृषि प्राविधिक राजु शर्माले बताए ।

बागलुङसहित म्याग्दीका गाउँगाउँबाट संकलन भएको निगुरो अहिले बजारको मुख्य आकर्षण भएको छ । ‘एक मुठाको ४५ देखि ६० रुपैयाँसम्ममा बिक्री हुन्छ,’ किसानले भनिन्, ‘साथी पाएको दिन आफैं टिप्न जान्छौं, नभए थोकमा खरिद गरेर घरघर पुर्‍याउँछु ।’ आफंैले टिपेर ल्याएको दिन उनको खर्च कटाएर तीन हजारसम्म कमाइ हुन्छ ।

बजारमा निगुरो दुई प्रकारका बिक्री भइरहेका छन् । कालो रङको निगुरोको बढी माग हुने गर्छ । वर्षायाममा रायो सागको उत्पादन कम हुने भएकाले उपभोक्ताले निगुरो माग गर्छन् । ‘साग भएकै दिन पनि निगुरो पाएसम्म पकाउने गर्छु,’ होटल सञ्चालक तालबहादुर भण्डारीले भने, ‘पाहुनालाई दुई/तीन थरी हरियो तरकारी पस्कन पाउँदा खुसी लाग्छ ।’ रैथाने हरियो सागपात नपाएर तराईबाट ल्याइएका खानुपर्ने बाध्यता हटेको उनले बताए ।

सदरमुकाम आसपासका किसानले दैनिक सयौं केजी तरकारी डोकोमा बोकेर ल्याउन थालेपछि हरियो तरकारीको माग बढेको व्यवसायी बताउँछन् । बानपा ३ का नरबहादुर थापा र नारायणप्रसाद शर्मा पनि दैनिक डोकोमा तरकारी लगेर होटल र चोकमा बिक्री गर्ने खुद्रा व्यवसायीलाई छाडेर आउँछन् । उनीहरूले दैनिक दूधसमेत बिक्री गर्दै आएका छन् । यसरी बिक्री गर्दा मासिक ३० देखि ५० हजारसम्म कमाइ बढेको शर्माले बताए । बारीमा लगाएको तरकारीबाहेक पाखामा पाइने निगुरोले आयातित तरकारी रोक्न सघाएको थोक व्यवसायी गंगा केसीले बताइन् । ‘यतिबेला प्याज र लसुनबाहेक हरियो तरकारी बाहिरबाट आएको छैन,’ उनी भन्छिन्, ‘फलाइयो भने सजिलै बिक्री हुन्छ भन्ने विश्वास बढेको छ ।’ किसान आफ्ना उपज आफैं बजार पुर्‍याउँदा बिचौलियाले मौका पाउँदैन ।

किसानले कृषि फसल डोकोमा ल्याउँदा तुलनात्मक कम मूल्यमा तरकारी खान पाएको उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले बताए । ‘अनुगमनका क्रममा कुहिएको वस्तु भेटिन छाडेकाले स्वस्थ खाने अवसर मिलेको छ,’ उनले भने, ‘स्थानीय उत्पादनका लागि किसानलाई बीउ र प्राविधिक सहयोग बढाउनुपर्छ ।’ सुक्खा मौसममा भने बागलुङ बजारको मागअनुसार झन्डै ४० प्रतिशत तरकारी बाहिरबाटै भित्रिन्छ । दूध, कुखुराको मासु र अण्डामा आत्मनिर्भर बनाउने प्रयास भएको छ । अण्डा र कुखुराको मासु छिटपुटबाहेक ल्याउन पर्दैन ।

समाचार

एसिड आक्रमणमा शिशुको मृत्यु

- कान्तिपुर संवाददाता

अछाम (कास)– तुर्माखाद गाउँपालिका ४ चिसिका ६ महिने शिशु मुस्कान बयकलाई मंगलबार बिहान एसिड जस्तै मानिने कोरिसिफ केमिकल अनुहारमा फ्याँकेर हत्या गरिएको छ । एसिड आक्रमणबाट गम्भीर घाइते शिशुको नेपालगन्ज मेडिकल कलेजमा लैजाने क्रमा बुधबार सुर्खेतमा मृत्यु भएको हो ।

घटनाबारे जानकारी पाएलगत्तै पुगेको प्रहरी टोलीले उनकै काकी २५ वर्षीया जानकी बयकलाई पक्राउ गरेको छ । ‘प्रारम्भिक अनुसन्धानबाट सानिमा जानकी बयकलाई नियन्त्रणमा लिएका छौं,’ अछाम प्रहरी प्रमुख जनक शाहीले भने, ‘थप अनुसन्धान गरेर कानुनी प्रक्रियामा जान्छौं ।’ स्थानीयका अनुसार घरायसी रिसइबी लामो समयदेखि रहिआएको र परिवारको रिसले ६ महिने शिशुमाथि एसिड खन्याएको हुन सक्ने अनुमान गरिएको हुन सक्छ । ‘घरमा छोरालाई छाडेको ५ मिनेट नबित्दै उक्त घटना भएको थियो । घरमा अरू कोही थिएन,’ आमा देवसराले भनिन्, ‘म भैंसीलाई पानी खुवाउँदै थिएँ । एक्कासि बाबु रोयो । त्यतिबेलासम्म शिशुलाई एसिडको पीडा अति भइसकेको थियो ।’

श्रीमान् पनि काममा निस्केको मौक छोपी छोरामाथि आक्रमण भएको उनी बताउँछिन् ।घरबाट नजिकको स्वास्थ्य संस्था लैजाँदा कमलबजार रिफर गरिएको थियो । त्यहाँबाट जिल्ला अस्पताल पुर्‍याउँदा शिशुको अवस्था गम्भीर भइसकेकाले नेपालगन्ज मेडिकल कलेज कोहलपुर रिफर गर्दा ढिलो भएकाले ज्यान गएको
स्वास्थ्यकर्मीले बताए । जिल्ला अस्पतालमा अक्सिजन दिनेलगायत सामान्य उपचारपछि बालकलाई नेपालगन्ज पठाइएको थियो ।

समाचार

राममनोहरको शव अस्पतालमै

- कान्तिपुर संवाददाता

नेपालगन्ज (कास)– प्रहरी हिरासतमा बिरामी भई उपचार क्रममा मृत्यु भएका भनिएका बाँके जानकी गाउँपालिका ६ कपासी गाउँका राममनोहर यादवको शव २४ दिनदेखि अस्पतालमा छ । परिवारले माग पूरा नभएको भन्दै शव बुझ्न मानेका छैनन् । उनीहरूले प्रहरी हिरासतमै यादवको मृत्यु भएको दाबी गरे । मृतक राममनोहरलाई सहिद घोषणा, घटनामा संलग्नमाथि कारबाही, उचित क्षतिपूर्ति र परिवारको पालनपोषण जिम्मा सरकारले लिनुपर्ने माग छ । ‘हाम्रो माग पूरा नभएसम्म शव बुझ्दैनौं । सरकारले शवलाई जे गरे पनि हुन्छ,’ मृतकका भाइ विष्णुले भने, ‘सरकारले घटनाको निष्पक्ष छानबिन गरी न्याय दिनुपर्छ ।’

हिरासतमा बिरामी परेका यादवलाई बर्दिया अस्पतालमा प्रारम्भिक उपचारपछि काठमाडौं लगिएको थियो । उनको मृत्यु उपचारकै क्रममा अस्पतालमा भएको प्रहरीले जनाएको छ । शवको पोस्टमार्टम गर्दा परिवारका सदस्यलाई उपस्थित नगराएको आरोप छ । ‘पोस्टमार्टम भएको खबरमात्र पायौँ । कसको रोहबरमा भयो थाहा छैन,’ विष्णुले भने, ‘सरकारले घटनाको सत्यता लुकाउन हामीबिना पोस्टमार्टम गर्‍यो ।’ उनले घटनाको निष्पक्ष छानबिनको माग गरेका छन् ।

यादव गत भदौ ७ गते पार्टी बैठक छ भन्दै बर्दिया पुगेका थिए । त्यही साँझ प्रहरीले उनलाई पक्राउ गरेको थियो । राममनोहर पहिलेदेखि नै सीके राउत समूहमा आबद्ध रहेको परिवारले जनाएका छन् । यसअघि उनी बाँकेमा पनि पक्राउ परेका थिए । उच्च अदालतको आदेशमा उनी रिहा भएका थिए । भदौ ७ गते बर्दिया आएका उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई कालो झन्डा देखाएको आरोपमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीविरुद्ध राजद्रोहको मुद्दा चलाइएको थियो । राममनोहरको मृत्युपछि परिवारमा आक्रोश छ । स्थानीयले जिल्ला प्रशासनमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएका छन् । उनकी पत्नी सुनीताले घटनाको निष्पक्ष छानबिन नभएसम्म शव नबुझ्ने बताइन् । उनी गाउँमा राम्रै अगुवाका रूपमा चिनिन्थे ।

समाचार

कुखुरालाई कलर !

- आनन्द गौतम
ताप्लेजुङको माथिल्लो फेदीमा रङ लगाइएको कुखुराको भाले । चोरी नहुने र जंगली जनावरले पनि आक्रमण नगर्ने भएकाले यहाँ रङ लगाएपछि कुखुरालाई त्यत्तिकै चर्न छाडिन्छ । तस्बिर : आनन्द

माथिल्लो फेदी होटल व्यवसायी संघका अध्यक्ष इन्द्रनारायण भट्टराईकामा कुखुराका २६ भाले छन् । यहाँ आउने पाहुनाका लागि पालिएका प्रत्येक कुखुरालाई शरीरको माथिल्लो भागमा हरियो रङ लगाइदिएको छ । रङकै आधारमा उनले आफ्नो र अर्काको छुट्याएर रेखदेख गर्छन् ।

छिमेकी मादेन होटलकी मुनाले भने खुट्टामा धागो बाँधिदिएकी छन् । हरियो रङको धागो बाँधेका कुखुरामा अरूले आफ्नो दाबी गर्दैनन् । राजेन्द्र महतले भने कुनै रङ वा संकेत लगाएका छैनन् । संकेत नगरिएका उनैको भएको गाउँलेले बुझ्छन् । १६ वटा होटल रहेको यस क्षेत्रका प्रत्येकलाई कुखुराका लागि रङ छुट्याइएको छ । शिरमा, पखेटामा, पेटमा, खुट्टामा गरी आ–आफ्नो संकेत बोकेका कुखुरा देखिन्छन् ।
कहिलेकाहीँमात्र खोरमा राखिन्छ । धेरै समय बाहिरतिरै हुन्छन् ।

‘यहाँ कुखुरा थुन्ने, बाँध्ने वा कुनै पनि किसिमले नियन्त्रणमा राख्ने काम हुँदैन,’ होटल व्यवसायी घनश्याम पौडेलले भने, ‘दिन–रात खुलै हुन्छन् ।’ एकले अर्काको चोर्ने, काट्ने वा आफ्नो बनाउन नखोज्ने र जंगली जनावरको पनि खासै डर नहुँदा खुलै छाडिएको पौडेल बताउँछन् ।काट्ने बेलामा अर्काको खोरमा भए निकाल्दा ‘मेरो यहाँ आएछ लगें है’ सम्म भन्ने गरेका छौं,’ पौडेलले भने, ‘अन्यथा सबै नियन्त्रणको काम रङले नै गर्छ ।’ यहाँ स्थानीय जातको कुखुराको सुप खान सदरमुकाम फुङलिङ र पाथीभराबाट फर्किएका बस्ने गर्छन् ।

३१ सय मिटर उचाइको चिसोका कारण यहाँ कुखुरा नफस्टाउने भएकाले बाहिरबाट किनेर लगिन्छ । भाले फुरुम्बु, फावाखोला, हाङदेवा, लिंखिम र फुङलिङका गाउँबाट लाने गरिएको छ । घर पुर्‍याउनासाथ पहिलो काम रङ्गाउने हुन्छ ।एउटा कुखुराको सुरु मूल्य बस्तीमा पुर्‍याउँदा किलोको नौ सय रुपैयाँसम्म पर्छ । माग अत्यधिक भएकाले प्रत्येक होटलले पाल्न भने अनिवार्य छ । ग्राहकले १२/१३ सयमा पाउँछन् । पाथीभरा दर्शनका लागि जानेले अहिले बोका–पाठा कम लान थालेपछि कुखुराको खपत बढेको हो । चिसो धेरै हुने ठाउँमा कुखुराको सुप धेरैले मन पराउने होटल व्यवसायी बताउँछन् ।असोज, कात्तिक, फागुन, चैत र वैशाखमा दैनिक ५ हजारभन्दा बढी यात्रु पाथीभरा पुगेर फर्कने गर्छन् । उनीहरूले मासु खान खोज्ने गरेकाले तिनैका लागि यस्तो व्यवस्था गरिएको होटल व्यवसायी बताउँछन् ।

Page 13
Page 14
समाचार

आरोपीविरुद्ध मुद्दा तयारी

- कान्तिपुर संवाददाता

म्याग्दी (कास)– अन्नपूर्ण गाउँपालिका, ६ घारमा १५ वर्षीया किशोरीमाथि भएको बलात्कार घटनाका आरोपीविरुद्ध प्रहरीले मुद्दाको तयारी गरेको छ । बेनी–५ घर भई आफन्त भेट्न सोमबार साँझ घार पुगेकी किशोरीलाई बलात्कार आरोपमा अर्जुन परियार र नवीन परियारलाई प्रहरीले पक्राउ गरेको हो । बुधबार संविधान दिवसको बिदा परेकाले बिहीबारमात्र मुद्दा दर्ता हुने जनाइएको छ । ‘स्वास्थ्य परीक्षण रिपोर्ट, पीडितको बयान र पीडकको स्वीकारोक्तिपछि मुद्दा चलाउँछौं,’ प्रहरीले भन्यो, ‘पक्राउ परेका तीनमध्ये दुईजना घटनामा संलग्न रहेको पत्ता लागेको छ ।’

समाचार

४ वर्षमा ४ महिनामात्र हाजिर

- घनश्याम गौतम

लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति नरेशमान वज्राचार्यले पदीय दुरुपयोगसँगै शिक्षा मन्त्रालयकै निर्देशन अटेर गर्दै आएका छन् । उपकुलपति नियुक्त भएको ४ वर्षमा १ सय ३४ दिनमात्र कार्यालयमा हाजिर छन् । बिनास्वीकृत दर्जनौंपटक विदेश भ्रमणसमेत गएको देखिएको छ ।

शिक्षा मन्त्रालयले वैशाखमा सबै विश्वविद्यालयका सम्पर्क कार्यालय काठमाडौंबाट हटाउन र उपकुलपतिले केन्द्रीय कार्यालयमै बसेर काम गर्न निर्देशन दिएको थियो । शिक्षामन्त्री गिरीराजमणि पोखरेलले तीन महिनाको समय दिएर सबै विश्वविद्यालयका उपकुलपतिलाई साउन १ देखि केन्द्रीय कार्यालयमै हाजिर हुन निर्देशन गरेका थिए । तर, लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति वज्राचार्य काठमाडौंमा बस्दै आएका छन् ।

हाजिरी विवरणअनुसार उनी साउनमा २ दिन र भदौमा पनि २ दिनमात्रै केन्द्रीय कार्यालयमा उपस्थित रहेको देखिन्छ । सरकारले उनलाई ०७१ कात्तिक २२ गते नियुक्त गरेको थियो । नियुक्त भएको वर्ष र ०७२ मा उनी एक दिन पनि कार्यालय उपस्थित भएको देखिँदैन । ०७३ वैशाखदेखि कात्तिकसम्म एकै दिन पनि उपस्थित भएनन् । त्यसपछिका ५ महिनामा ४४ दिन हाजिर भए । गत आवको असार, साउन, भदौ र पुसमा कार्यालय नै नआएका उनी वैशाखमा ९, जेठमा ५, असोजमा २, कात्तिकमा १०, मंसिरमा ६, माघमा ९, फागुनमा १३ र चैतमा १७ दिनमात्र हाजिर छन् ।

विश्वविद्यालय प्रशासनका अनुसार उपकुलपति नियमित उपस्थित नहुँदा प्राज्ञिक परिषद् बैठक एकपटकमात्र बसेको छ । मासिक दुईपटक बस्नुपर्ने कार्यकारी समिति बैठक बसेकै छैन । वार्षिक रूपमा हुनुपर्ने दीक्षान्त समारोह अहिलेसम्म एक पटकमात्र गरिएको छ । नियमित बैठक नहुँदा विश्वविद्यालयका शैक्षिक योजना सबै प्रभावित भएको प्राध्यापक गितु गिरीले बताए । ‘लुम्बिनीमै केन्द्रीय कार्यालय रहेर विश्वविद्यालय जुन गतिमा अघि बढ्नुपर्ने हो, त्यसो भएन,’ उनले भने, ‘लामो समय काठमाडौंमै सम्पर्क कार्यालय रहँदा विश्वविद्यालयलाई ठूलो आघात परेको छ ।’ सरकारको निर्णय लुम्बिनीमा केन्द्रीय कार्यालय भन्ने भए पनि अहिले काठमाडौंमा केन्द्रीय र लुम्बिनीमा सम्पर्क कार्यालयको अवस्था रहेको उनले बताए ।

कार्यालयमा नियमित हाजिर नभई काठमाडौंमै बस्ने गरेका उनले विश्वविद्यालयबाट भने मासिक २२ हजार आवास भाडा बुझ्ने गरेका छन् । तर, लुम्बिनी आएका बेला आफैं अध्यक्ष रहेको वज्रयान विहारमा सुविधासम्पन्न रूपले बस्ने गर्छन् । ‘त्यतिमात्र होइन, विश्वविद्यालयका लागि आउने कतिपय सेवा सुविधासमेत त्यही विहारका नाममा बुझ्ने गरेका छन्,’ स्रोतले भन्यो, ‘यो पदको चरम दुरुपयोग भयो ।’ विश्वविद्यालय ऐनको परिच्छेद ६ नियम १२ को (२) (घ) अनुसार कार्यकारी परिषद्मा स्थानीय बौद्ध दर्शन, साहित्य, शिक्षा र संस्कृतिका ख्यातिप्राप्त स्थानीय विद्वान्बाट एकजना नियुक्त गर्नुपर्ने व्यवस्था छ । तर, उनले काठमाडौं कीर्तिपुर निवासी डा. कवीन्द्र वज्राचार्यलाई नियुक्त गरेका छन् । विश्वविद्यालयको उच्च निकाय विश्वविद्यालय सभाका लागि २० जना नियुक्त गर्न पाउने व्यवस्थामा पनि उनले दुरुपयोग गरेका छन् ।
सभामा नियुक्तिका लागि उनले आफ्नै बहिनी सरला वज्राचार्यलाई सिफारिस गरेका छन् । सभामा विज्ञभन्दा पनि जातीयताका आधारमा नियुक्त गरेको विश्वविद्यालय कर्मचारीको दाबी छ । उनले सभाका लागि १३ जना नेवार, ३ शेर्पा, ३ जना चौधरी र १ जना खसआर्यबाट सिफारिस गरेका छन् । उनको सिफारिसमा प्रधानमन्त्रीले नियुक्त गर्ने व्यवस्था छ । काठमाडौंमै सम्पर्क कार्यालय राखेका उपकुलपति वज्राचार्यले ०७२ मा इन्जिनियरिङ कलेजलाई सम्बन्धन दिएको विषय पनि विवादमा छ । उनले केन्द्रीय कार्यालयमै नआई आफ्नै घरमा बैठक राखेर निर्णय गरेको स्रोतले बतायो ।

उपकुलपतिले कुलपतिबाट स्वीकृत गराएरमात्र विदेश भ्रमण गर्न पाइने ऐनमा उल्लेख छ । तर ०७१ पुसदेखि ०७५ वैशाखसम्म उनी २० पटक विभिन्न देश पुगेका छन् । ती कुनै पनि भ्रमणबारे कुलपति र कार्यकारी परिषद्लाई जानकारी छैन । ती भ्रमणका बेला गरिएको ५ लाख ४४ हजार ३ सय ७७ रुपैयाँ महालेखापरीक्षकले बेरुजु देखाएको छ । लामो समयसम्म पनि उनले बेरुजु दाखिला गर्न आनाकानी गर्दै आएको स्रोतले बतायो । चीन र दक्षिण कोरिया भ्रमणको रकम बढी बेरुजु छ । उनी स्वीकृत नगराई सातपटक भारत, दुईपटक अमेरिका, दक्षिण कोरिया, कोरिया, चीन, जापान र क्यानडा गएका छन् । भियतनाम र सिंगापुर एकपटक भ्रमण गरेको देखिन्छ ।

उपकुलपति वज्राचार्यले यसअघिका उपकुलपतिभन्दा आफू धेरै दिन विश्वविद्यालयमा हाजिरी भएको दाबी गरे । कहाँ बस्योभन्दा पनि काम के गर्‍यो भन्ने महत्त्वपूर्ण भएको उनको तर्क छ । ‘पहिलो उपकुलपतिको हाजिरी नै छैन, दोस्रोको ४० दिनमात्र छ, मेरो त्यसभन्दा धेरै छ नि †’ उनले भने, ‘त्यसैले कहाँ बस्योभन्दा विश्वविद्यालयका लागि के गर्‍यो भन्ने कुरा महत्त्वपूर्ण हुन्छ ।’

Page 15
अर्थ वाणिज्य

लघुवित्तको ध्यान नाफामा

- यज्ञ बञ्जाडे

सेयर बजारमा सूचीकृत ३३ लघुवित्त संस्थामध्ये ३१ कम्पनीको सेयर मूल्य ५ सय रुपैयाँभन्दा बढी छ । तीमध्ये १७ कम्पनीको सेयर मूल्य १ हजार रुपैयाँभन्दा धेरै छ । तुलनात्मक रूपमा लघुवित्त वित्तीय संस्थाहरूको प्रतिफल राम्रो भएकै कारण यिनीहरूको सेयरमा आकर्षण भएको हो ।

आठ अर्ब चुक्ता पुँजी, मुलुकभर शाखा सञ्जाल, अर्बौंको व्यवसाय भएका वाणिज्य बैंकहरूभन्दा १० करोडको हाराहारी पुँजी भएका लघुवित्त संस्थाहरूले कसरी धेरै प्रतिफल दिन सक्छन् भन्नेमा धेरैको चासो छ ।

उद्देश्यबाट विचलित
लघुवित्त संस्थाहरू खासगरी ग्रामीण भेगमा विपन्न र सीमान्तीकृत वर्गमा वित्तीय पहुँच विस्तार गर्दै उनीहरूको आय आर्जन वृद्धिका लागि काम गर्न खुलेका संस्था हुन् । अन्य बैंक तथा वित्तीय संस्थाबाट थोकमा ऋण लिएर सोही रकम विपन्न वर्गमा लगानी गर्ने यिनको प्रमुख काम हो । प्राय: लघुवित्त संस्थाहरूले बचतका रूपमा पैसा संकलन नगर्ने भएकाले उनीहरूसँग आफ्नो वित्तीय स्रोत हुँदैन । कमाइको प्रमुख स्रोत भनेकै ब्याज अन्तर (बैंकहरूबाट सस्तोमा कर्जा लिएर महँगो दरमा लगानी गर्नु) हो । यसकारण लघुवित्त संस्थालाई लाग्दै आएको आरोप कर्जा निक्षेपबीचको ब्याजअन्तर (स्प्रेड) धेरै हुन्छ भन्ने हो । लघुवित्त संस्थाहरूमा स्प्रेड नियन्त्रणका लागि राष्ट्र बैंकले अनेकन प्रयास गर्नुले यो कुरा पुष्टि हुन्छ ।

लघुवित्त संस्थाहरू आफ्नो उद्देश्य विपरीत नाफामुखी भएकाले कमाइ धेरै भएको र यसको असर सेयर बजारमा देखिएको पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले बताए । ‘सञ्चालन लागत धेरै छ भन्ने बहानामा स्प्रेड धेरै राख्छन्,’ उनले भने, ‘यसकारण प्रतिफल पनि उच्च छ ।’ बढ्दो प्रतिस्पर्धासँगै लघुवित्त संस्थाहरू बढी मुनाफा केन्द्रित हुँदै गएको र यसले विकृति बढाएको उनले बताए । ‘लघुवित्त संस्थाहरू आफ्नो उद्देश्यबाट विचलित भएका छन्,’ उनले भने, ‘दीर्घकालमा यसको असर राम्रो हुँदैन ।’
ग्राहकलाई के खाँचो छ सो पहिचान गरी उनीहरूको रोजाइको क्षेत्रमा लगानी गर्ने भन्दा पनि कुन क्षेत्रमा ऋण प्रवाह गर्न सकियो भने संस्थालाई धेरै नाफा हुन्छ भन्नेमा लघुवित्त संस्थाहरू केन्द्रित भएको क्षेत्रीको आरोप छ । ‘उद्देश्यबाट विचलित भएका छन्,’ उनले भने, ‘अस्वस्थ प्रतिस्पर्धा बढेको छ ।’

उच्च प्रतिफल
लघुवित्त संस्थाहरूको नाफा अनुपात हेर्दा पनि क्षेत्रीको भनाइ पुष्टि हुने थुप्रै आधार भेटिन्छन् । केही लघुवित्त संस्थाहरूले चुक्ता पुँजीको ९३ प्रतिशतसम्म मुनाफा गरेका छन् । सिधा अर्थमा भन्दा ३० करोड चुक्ता पुँजी भएका संस्थाले २८ करोड रुपैयाँ खुद मनाफा आर्जन गरेको छ । गत वर्षको वित्तीय विवरण हेर्दा करिब १० वटा संस्थाको पुँजी नाफा अनुपात ५० प्रतिशतभन्दा बढी छ । यसकारण ती संस्थाहरूको प्रतिसेयर (आय) प्रतिफल पनि उच्च भएको जानकारहरू बताउँछन् ।लघुवित्तलाई घुमाउरो बाटोबाट धेरै ब्याज उठाउन राष्ट्र बैंकले नै छुट दिएकाले यस्तो अवस्था आएको एक जानकारले बताए ।

हाल लघुवित्त संस्थाहरूले २० प्रतिशतसम्म बोनस बाँडदा ग्राहक कल्याणकारी कोषमा १ प्रतिशत छुटयाउनुपर्छ । संस्थाले २० प्रतिशतभन्दा बढी पनि लाभांश बाँड्न पाउँछन् । तर, २० प्रतिशतभन्दा बढी बोनस बाँडदा २५ प्रतिशत रकम ग्राहक कल्याणकारी कोषमा छुट्टयाउनुपर्ने राष्ट्र बैंकको निर्देशन छ ।

उच्च स्प्रेड
‘नियामक निकायको ध्यान लघुवित्तले कति प्रतिशत ब्याज लियो भन्नेमा मात्र छ । त्योबाहेक सेवा शुल्कलगायत विभिन्न शुल्कमा उनीहरूको आँखा जाँदैन,’ उनले भने, ‘यस्ता शुल्कहरू धेरै महँगा हुन्छन् ।’ लघुवित्त संस्थाहरू नाफा केन्द्रित भएकै कारण विपन्न वर्गका सुलभ दरमा वित्तीय सुविधा पाउन नसकेको उनले बताए । ‘लघुवित्त बैंकहरूले हरेक ग्राहकसँग २ प्रतिशत सेवा शुल्क लिन्छन्,’ ती अधिकारीले भने, ‘६ प्रतिशत स्प्रेडसँगै तीन प्रतिशतसम्म सञ्चालन लागत र २ प्रतिशत सेवा शुल्क जोड्दा कुल ब्याज अन्तर ११ प्रतिशत पुग्छ ।’ यही कारण लघुवित्त संस्थाको नाफा धेरै भएकाले सेयर प्रतिफल पनि बढी हुने उनले बताए ।

लगानीका लागि बजारमा धेरै विकल्प नभएकाले पनि लगानीकर्ताको ध्यान लघुवित्तमा गएको अर्थविद् केशव आचार्यको बुझाइ छ । ‘लघुवित्तमा स्प्रेड मात्र नभएर सेवा शुल्क पनि उच्च छ, यसकारण पुँजीको तुलनामा नाफा धेरै छ,’ उनले भने, ‘नाफा धेरै भएकाले प्रतिफल पनि राम्रो छ ।’ पछिल्ला वर्षहरूमा संख्यात्मक वृद्धिसँगै लघुवित्त संस्थाहरूमा अस्वस्थ प्रतिस्पर्धा मौलाएको उनको बुझाइ छ । राष्ट्र बैंकले अन्य बैंक तथा वित्तीय संस्थाको अनुमति रोकेपछि सबैको ध्यान लघुवित्तमा गएको र त्यसले विकृति भित्र्याएको उनले बताए । ‘जसरी भए पनि नाफा कुम्ल्याउने ध्याउन्नमा लघुवित्त देखिए,’ उनले भने, ‘यसले एकदम अस्वस्थ प्रतिस्पर्धा बढाएको छ ।’


चलखेल गर्न सजिलो
प्रतिफलका कारणले भन्दा पनि ‘बजार चलखेल’ ले लघुवित्त संस्थाको सेयर मूल्य वृद्धिको कारण भएको एक धितोपत्र ब्रोकरले बताए । ‘बजारमा थोरैसँग मात्र लघुवित्तको सेयर छ,’ उनले भने, ‘यसकारण अल्पकालमा यी कम्पनीहरूको सेयरमा खेल्न सजिलो छ ।’ करिब तीन दर्जन लघुवित्त बजारमा सूचीकृत भए पनि सेयर संख्या थोरै भएकाले ‘म्यानुपुलेसन’ गर्न सजिलो भएको उनले बताए । ‘बजारमा धेरै सेयरको माग अर्डर गर्ने तर निकै थोरै मात्र आपूर्ति गर्ने,’ उनले भने, ‘धेरै–धेरै कम्पनीको सेयर मूल्य यही कारण बढेको हो ।’ एकातिर सेयर संख्या नै थोरै छ, सर्वसाधारणको हातमा भएकोमध्ये पनि धेरै कारोबारमा नआउने भएकाले बजारमा चलखेल गर्न सम्भव भएको उनको तर्क छ ।

उच्च नाफा, थोरै लगानीकर्ताको हातमा सेयर र ३/४ वटा संस्थाले राम्रो कार्यक्षमता देखाएकाले समग्र लघुवित्तको सेयरमा लगानीकर्ताको विश्वास बढेको अर्का एक धितोपत्र ब्रोकरले बताए । लघुवित्त बैंकर्स संघका अध्यक्ष रामचन्द्र जोशी भने ब्याजअन्तर धेरै बनाएर नाफा बढेको मान्न तयार छैनन् । ‘लघुवित्त संस्थाहरूको नाफा घटदो क्रममा छ,’ उनले भने, ‘कस्ट अफ फन्ड नै धेरै भएकाले नाफा वृद्धिदर घटेको हो ।’ हाल लघुवित्त संस्थाहरूको पुँजी कम रहेकाले नियामक निकायबाट पुँजी वृद्धिको निर्देशन आउने अनुमानका आधारमा लगानीकर्ताको आकर्षण बढेको उनको भनाइ छ ।

लचिलो नीति
गत वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले लघुवित्त संस्थाहरूको ब्याजदरमा १८ प्रतिशत अधिकतम सीमा मात्र होइन ७ प्रतिशत स्प्रेड पनि तोक्यो । यो व्यवस्था लघुवित्त संस्थाहरूलाई पाच्य भएन । विभिन्न शक्ति केन्द्रमार्फत त्यो व्यवस्था हटाउने पहलमा लागे । उनीहरूको मेहनत खेर गएन । चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत १८ प्रतिशतको सीमा हटयो । लघुवित्त बैंकहरूले ६ प्रतिशत ब्याजअन्तरमा ३ प्रतिशतसम्म सञ्चालन लागत र २ प्रतिशतसम्म सेवा शुल्क जोडेर ब्याजदर निर्धारण गर्न पाउने छुट पाए ।

लघुवित्त १ सय १५ पुग्दै
वित्तीय संस्थाको संख्या घटाएर गुणस्तर वृद्धि गर्ने उद्देश्यविपरीत केन्द्रीय बैंकले लघुवित्त वित्तीय संस्था बढाएर करिब सवा सय पुर्‍याउन लागेको छ । राष्ट्र बैंकमा दर्ता भएका आवेदनमध्ये अनुमति पाउनयोग्य र सञ्चालनमा रहेका संख्या जोडदा निकट भविष्यमै लघुवित्त वित्तीय संस्था कम्तीमा १ सय १५ देखि १ सय १७ सम्म पुग्ने भएको हो ।

सञ्चालनमा रहेका बहुसंख्यक लघुवित्त संस्था सहर बजार र सुविधा सम्पन्न क्षेत्रमा केन्द्रित भएको, बहुबैंकिङ (डुप्लिकेसन) बढदै गएको, उच्च ब्याजदरसहित विभन्न किसिमका शुल्क असुल्दै आएकोलगायत कारण लघुवित्त संस्थाहरूको आलोचना बढदै गएको छ । यही समयमा राष्ट्र बैंकले आफूकहाँ प्राप्त आवेदनमध्येबाट नयाँ संस्थालाई अनुमति दिन गर्हकार्य थालेको छ । ‘बढदै गएको डुप्लिकेसन समयमै नियन्त्रण नगर्ने हो भने निकट भविष्यमा गाउँ समाजमा विकराल समस्या आउने संकेत देखिएको छ,’ एक विज्ञले भने ।

विगतकै गल्ती दोहोरिँदै
विगतमा पनि मनपरी ढंगले लाइसेन्स वितरण गरेकै कारण बैंक तथा वित्तीय संस्थाको संख्या धेरै भएको थियो । ती संस्था व्यवस्थापनकै लागि पछिल्लो समयमा राष्ट्र बैंकले मर्जर तथा एक्विजिसन ल्याएको छ । यो नीतिमार्फत पनि बैंक तथा वित्तीय संस्था घटे पनि अपेक्षित रूपमा घटाउन नसकिएको राष्ट्र बैंक उच्च अधिकारीहरूले सार्वजनिक रूपमै बताउँदै आएका छन् । यसकारण राष्ट्र बैंकले विगतको गल्तीबाट पाठ सिकेर लघुवित्तको संख्या मात्र थप्नुभन्दा गुणस्तर अभिवृद्धिमा जोड दिनुपर्ने अर्थविद् आचार्यको सुझाव छ ।

हाल ६५ वटा लघुवित्त संस्था सञ्चालनमा छन् । अनुमतिको प्रक्रियामा रहेको संस्था हेर्दा निकट भविष्यमा लघुवित्त संस्था १ सय १५ हाराहारीमा पुग्ने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकमा परेका आवेदनहरूको प्रवृत्ति हेर्दा अधिकांश वित्तीय पहुँच विस्तारको उद्देश्यविपरीत निहित स्वार्थ र व्यक्तिगत उद्देश्यले सञ्चालन हुन थालेको देखिन्छ ।

गत आर्थिक वर्षको मौद्रिक नीति घोषणा हुनुअघिका दुई दिनमा ३३ वटा नयाँ संस्थाको आवेदन परेको थिए । यो संयोग मात्र नभई नियोजित भएको जानकारहरू बताउँछन् । यसकारण एकैपटक धेरै आवेदन पर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको थियो ।

स्वार्थ देखियो
मुलुकमा रहेका वित्तीय संस्थाहरूमध्ये लघुवित्त संस्था सबैभन्दा सानो भए पनि पछिल्लो समयमा यसप्रतिको आकर्षण निकै बढदो छ । यसअघि राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका संस्थाको अनुमति रोकेपछि ‘घ’ वर्गमा आकर्षण झनै बढेको थियो । यसअघि लघुवित्तीय संस्थाहरूलाई राष्ट्र बैंकले पनि विभिन्न सुविधा तथा नियमन छुट दिएको थियो ।

यद्यपि गत वर्षको मौद्रिक नीतिमार्फत नियमनलाई केही कडाइ गरेको छ । सोही कारण छोटो समयमा नयाँ संस्थाका लागि धेरै आवेदन राष्ट्र बैंकमा आवेदन परेका हुन् । बैंक खोल्न पाए पनि ठूला व्यापारिक घरानाहरू पनि लघुवित्तमा छिरेको जानकारहरू बताउँछन् ।

वित्तीय पहुँच विस्तार, गरिबी न्यूनीकरण तथा सामाजिक उत्थानमा योगदान पुर्‍याउन हेतुले स्थापना हुने गरेका लघु वित्त संस्था विगत केही समययता नाफामूलक बन्दै आएका छन् । यसकारण जसरी भए पनि धेरै नाफा कमाउने होडबाजीमा बहुसंख्यक संस्थाहरू देखिन्छन् । यसको अर्थ सबै संस्था नराम्रा छन् भन्ने होइन ।
कतिपय संस्थाले राम्रो काम पनि गरेका छन् । ग्रामीण क्षेत्रमा वित्तीय पहुँच र आय आर्जन वृद्धिमा उनीहरूको ठूलो योगदान रहेको जानकारीहरू बताउँछन् । तर, धेरै संस्थाले नराम्रो गतिविधिमा संलग्न भएपछि राम्रो गर्ने सीमित संस्थालाई पनि त्यही समूहमा राखेर हेर्ने गरिएको हो ।

हाल मुलुकभर सञ्चालित लघुवित्त संस्थाहरूबाट २५ लाखभन्दा बढी घरपरिवारमा सेवा पुगेको छ । ती संस्थाले करिब सवा १ खर्ब रुपैयाँ कर्जा प्रवाह भएको जनाइएको छ ।

अर्थ वाणिज्य

८ महिनामा ६ लाख पर्यटक

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– सन् २०१८ को पहिलो ८ महिनामा हवाई मार्ग हुँदै नेपाल आउने पर्यटकको संख्या ६ लाख ८० हजार पुगेको छ ।

अध्यागमन विभागले जारी गरेको तथ्यांकअनुसार सन् २०१८ को जनवरीदेखि अगस्तसम्म नेपाल आउने विदेशीको संख्या ६ लाख ८० हजार ९ सय ९६ पुगेको हो । यो सन् २०१७ को पहिलो आठ महिनाको तुलनामा १८ प्रतिशतले बढेको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अगस्त महिनामा मात्रै ८७ हजार पर्यटक नेपाल आएको देखिन्छ । अघिल्ल्लो वर्ष यही महिनामा ७३ हजार विदेशी नेपाल आएका थिए । यो संख्या कम्तीमा ४५ वटा मुलुकका विदेशीहरूको हो । यसमा नेपाल घुम्न आउने, काम गर्न आउने र विदेशी नागरिकता लिइसकेका नेपालीहरूसमेत पर्छन् ।
अगस्त महिनामा सबैभन्दा धेरै भारतबाट १४ हजार, श्रीलंकाबाट ९ हजार, चीनबाट ७ हजार, अमेरिकाबाट ४ हजार र यूकेबाट २ हजार ९ सय विदेशी नेपाल आएका थिए ।

पर्यटन बोर्डका अनुसार श्रीलंकाबाट आउने पर्यटकको संख्या ७४, भारतबाट आउने पर्यटकको संख्यामा ३७ प्रतिशतले बढेको छ । यो तुलनात्मक दर अघिल्लो वर्षको अगस्त महिनाका आधारमा हो । त्यसैगरी सार्क क्षेत्रका मुलुकबाट आउने पर्यटकको संख्या ४८ प्रतिशतले बढेको देखिन्छ । त्यसैगरी अघिल्लो वर्षको अगस्त महिनाको तुलनामा चिनियाँ पर्यटकको आगमन पनि ६३ प्रतिशतले बढेको छ ।

युरोपेली मुलुकबाट आउनेहरू २१ प्रतिशत जर्मनीबाट ३१, फ्रान्सबाट २५ र बेलायतबाट २१ प्रतिशतले पर्यटक बढेका छन् । अस्ट्रेलियाबाट ३९, न्युजिल्यान्डबाट १८ तथा अमेरिका/क्यानडाबाट १५ प्रतिशतका दरले पर्यटक बढेका छन् ।

यसअघि जुलाई (मध्य असारदेखि मध्य साउन) सम्म नेपाल आउने विदेशीको संख्या ७३ प्रतिशतले बढेको थियो । जुलाईमा मात्रै ७३ हजार विदेशी नेपाल आएका थिए भने जनवरीदेखि जुलाईसम्म नेपाल आउने विदेशीहरूको संख्या ५ लाख ९३ हजार पुगेको थियो ।

अर्थ वाणिज्य

फास्टट्रयाकको डीपीआर तयार गर्न कोरियाली कम्पनी छानियो

फास्टट्रयाकको ललितपुर खण्ड र सुक्खा बन्दरगाहका लागि जग्गा मुआब्जा ज्युँका त्युँ
- बलराम बानियाँ

मुलुकको केन्द्रीय राजधानीबाट तराई–मधेसको निजगढ जोड्ने राष्ट्रिय गौरवको आयोजना दु्रतमार्ग (फास्टट्रयाक) को विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न दक्षिण कोरियाली परामर्शदाता कम्पनी छनोट भएको छ । फास्टट्रयाक निर्माणको जिम्मा पाएको नेपाली सेनाले ग्लोबल प्रतिस्पर्धा गराई कम्पनी छनोट गरेको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यसअघि निर्माणको जिम्मा दिन प्रक्रिया सुरु गरेको भारतीय कम्पनी आईएल एन्ड एफएसले समेत फास्टट्रयाकको डीपीआर तयार गरेको थियो । सेनाले उक्त कम्पनीसित डीपीआर खरिद गर्न खोजे पनि मूल्यमा सहमति नभएपछि प्रक्रिया अघि बढेन । भारतीय कम्पनीले डीपीआर चर्को मूल्यमा बेच्न खोजेका कारण सहमति हुन नसकेको हो ।

किन्ने प्रयास असफल भएपछि सेनाले दोस्रो विकल्पमा गई ग्लोबल प्रतिस्पर्धाबाट परामर्शदाता कम्पनी छनोट गरेको हो । सेनाले छनोट भएको दक्षिण कोरियाको सुसुङ कम्पनीसँग अबको डेढ साताभित्रै डीपीआर तयार गर्नेसम्बन्धी सम्झौता गर्ने भएको जानकारी उच्च सैनिक स्रोतले दिएका छन् ।

स्रोतका अनुसार कोरियाली कम्पनीले १० करोड १५ लाख रुपैयाँको लागतमा डीपीर तयार गर्नेछ । सेनाले किन्न खोज्दा भारतीय कम्पनी आईएल एन्ड एफएसले ६१ करोड रुपैयाँमा डीपीर बेच्न खोजेको थियो । कोरियाली कम्पनीले भारतीय कम्पनीले मागेकोभन्दा ५१ करोड रुपैयाँ कममा डीपीआर तयार गर्ने भएको छ । सम्झौता भएको चार महिनाभित्रै कोरियाली कम्पनीले डीपीआर तयार गर्ने प्रतिबद्धता व्यक्त गरेको जानकारीसमेत सैनिक स्रोतले दिएको छ । फास्टट्रयाक निर्माण निर्माणको जिम्ममा पाएको १३ महिनामा सेनाले डीपीआर तयार गर्न कम्पनी छनोट गरेको हो । २०७४ वैशाख २१ मा मन्त्रिपरिषद् बैठकले निर्णय गरी फास्टट्रयाक निर्माण व्यवस्थाको जिम्मा सेनालाई दिएको हो । द्रुतमार्ग निर्माण गर्न १ खर्ब ११ अर्ब रुपैयाँ लाग्ने अनुमान छ ।

कोरियाली कम्पनीले फास्ट ट्रयाकको डीपीआर तयार पारेर बुझाउनासाथ ग्लोबल प्रतिस्पर्धा गराई कम्पनी छनोट गरी द्रुत मार्ग निर्माण गर्न दिने योजना सेनाको छ । द्रुत मार्ग छिट्टो निर्माण गर्न खण्ड खण्ड गरी निर्माणको ठेक्का दिने तयारीसमेत सेनाको छ ।सेनाले फास्टट्रयाकको दूरी घटाउन छोक्रेडाँडादेखि बाँदरे खोल्सीसम्म करिब १२ किमि खण्डमा तीनवटा सुुरुङ निर्माण गर्ने गरी दु्रतमार्गको रेखांकन (एलाइनमेन्ट) परिवर्तन गर्ने भएको छ । ५.६७ किमि सुरुङ निर्माण गर्दा फास्ट ट्रयाकको लम्बाइ तात्त्विक रूपमै साढे तीन किमिभन्दा धेरै घट्नेछ । फास्टट्रयाकको लम्बाइ घटाउनकै लागि सुरुङ निर्माणलाई प्राथमिकता दिइएको जानकारीसमेत सैनिक स्रोतले दिएको छ ।

छोक्रेडाँडा–महादेव खोल्सीसम्म (३.३ किमि), सिमपानीबेंसी–चालिसे खोल्सीसम्म १.३७ किमि र घट्टेपाखा–बाँदरे खोल्सीसम्म १.४ किमि लम्बाइका तीनवटा सुरुङ निर्माण गर्ने निर्णयमा सेना पुगेको छ । ती सुरुङ समानान्तर दूरीमा गाडी आउजाउ गर्न सक्ने दुइटा मुख भएका ९.५ मिटर चौडाइ र ५.५ मिटर अग्लो हुने जानकारी निर्माणमा संलग्न सैनिक अधिकारीले दिएका छन् ।

ती अधिकारीले रेखांकन परिवर्तन गरी सुरुङ निर्माण गर्दा फास्टट्रयाकको लम्बाइ साढे तीन किमि घट्ने मात्र नभई ठूला १० वटा पुल र आधा दर्जनभन्दा बढी कल्भर्ट बनाउन नपर्ने जानकारी दिए । उक्त सुरुङ निर्माणपछि यसअघि प्रस्तावित ७६ किमिको फास्टट्रयाक ७२.५ किमि लम्बोइको हुनेछ । झन्डै ५.६७ किमि सुरुङको कम्पोनेन्ट थप्दा लागत भने ६ अर्ब ८० करोड रुपैयाँ बढ्ने जानकारी स्रोतले दिएको छ ।

एसियाली विकास बैंक (एडीबी) को सहयोगमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले २००८ मै द्रुतमार्गको सम्भाव्यता अध्ययन गरेको थियो । सम्भाव्यता अध्ययन प्रतिवेदनका आधारमा सेनाले अहिले द्रुतमार्गको ट्रयाकलाई स्तरोन्नति गर्ने, रिटेनिङ वाल बनाउनेलगायतका निर्माणसम्बन्धी सुरुआती आधारभूत काम गर्दै आएको छ । सरकारले द्रुतमार्गको ट्रयाक खोल्ने क्रममा आवश्यक पर्ने ९० प्रतिशत जग्गा मुआब्जा दिई अधिग्रहण गरिसकेको छ । आफूले जिम्मा लिएपछि सेनाले फास्टट्रयाकमा पर्ने २० हजार रूख कटान गरिसकेको छ ।

सरकारले फास्टट्रयाकको काठमाडौं र ललितपुर जिल्लामा पर्ने करिब १० किमि खण्ड र त्यसका लागि सुख्खा बन्दरगाह निर्माण गर्ने जग्गा मुआब्जा विवादका कारण झन्डै एक दशकदेखि अधिग्रहण गर्न सकिरहेको छैन । त्यसका लागि परम्परागत नेवारी बस्ती नै अन्यत्र सार्नुपर्ने भएकाले जग्गा अधिग्रहणमा समस्या परेको हो । खोकनालगायतका परम्परागत बस्तीका स्थानीयले सुक्खा बन्दरगाहका लागि आफूले सयौं वर्षदेखि खेतीपाती गर्दै जग्गा दिन मानिरहेका छैनन् ।

उक्त क्षेत्रमा फास्टट्रयाकका अतिरिक्त बाहिरी चक्रपथ र ठूलो क्षमताको विद्युत् प्रसारण लाइनको सबस्टेसन निर्माण गर्ने सरकारी योजना रहेकाले त्यहाँका बासिन्दा आफ्नो सम्पूर्ण थातथलो नै छाड्नुपर्ने त्रासमा छन् । जग्गा र घरको मुआब्जा लिएर बस्न कहाँ जाने भन्ने प्रश्न स्थानीयबासीको छ । जग्गा मुआब्जा विवादका कारण सरकारले ललितपुर खण्डमा ट्रयाक नखोली काठमाडौं–कुलेखानी–हेटौंडा सडकको केही खण्ड उपयोग गरी द्रुत मार्गको बाँकी ट्रयाक मात्र खोलेको छ ।

ललितपुर खण्डको मुआब्जामा २० अर्ब रुपैयाँभन्दा बढी लाग्ने जानकारी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अधिकारीले दिए । फास्टट्रयाकको राजधानीतर्फको अन्तिम बिन्दुमा निर्माण गर्न प्रस्तावित सुक्खा बन्दरगाहका लागि त्योभन्दा बढी मुआब्जा लाग्ने अनुमानसमेत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको छ । ललितपुर खण्ड र सुक्खा बन्दरगाह निर्माणस्थलको विकल्प खोज्नेबारेमा समेत सरकारले अध्ययन गरिरहेको छ ।

Page 16
अर्थ वाणिज्य

कर्णाली पर्यटन वर्ष घोषणामै सीमित

सुस्तायो महत्त्वाकांक्षी योजना
- प्रकाश अधिकारी
कर्णाली–रारा पर्यटन वर्ष शुभारम्भ गर्दै प्रधानमन्त्री केपी ओली । फाइल तस्बिर : कान्तिपुर

प्रदेश सरकारले वैशाख १ मा रारा किनारबाट घोषणा गरेको ‘कर्णाली–रारा पर्यटन वर्ष’ को लक्ष्य थियो– एक वर्षमा पाँच लाख पर्यटक भित्र्याउने । घोषणाको पाँच महिना बितिसक्यो, कर्णालीमा कति पर्यटक भित्रिए अत्तोपत्तो छैन । सरोकारवाला भन्छन्, ‘योजना अत्यन्तै महत्त्वाकांक्षी हो, कार्यान्वयन फितलो भयो ।’

प्रधानमन्त्री केपी ओलीले शुभारम्भ गरेको र प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको पर्यटन वर्ष अभियान घोषणामै सीमित बन्न पुगेको छ । हालसम्म सरकारले पाँच लाख पर्यटक भित्र्याउने कुनै खास योजनासम्म ल्याउन सकेको छैन । अभियान कार्यान्वयन गर्ने जिम्मेवारमध्येको एक प्रदेशको पर्यटन मन्त्रालय पनि मौन छ ।

सरकारले कर्णाली–रारा पर्यटन वर्षसँग सम्बन्धित विशेष कार्यक्रम अझै सञ्चालन गर्न सकेको छैन । मन्त्रालयको मूल गेटबाहिर र धुलियाबिटमा होर्डिङबोर्ड राख्नेदेखि कर्णालीमा सञ्चालित मेला महोत्सवमार्फत पर्यटन प्रर्वद्धनमा सहयोगबाहेक मन्त्रालयले कुनै काम गरेको छैन ।

रारासम्म पुग्नलाई सडक सुधारका लागि भौतिक पूर्वाधार विकास मन्त्रालय र हवाई विस्तारका लागि विभिन्न विमान कम्पनीहरूसँग छलफल भइरहेको बताइएको छ । प्रदेश सरकारले सडक मार्गमा सुधार गर्न नसक्दा बर्खामा रारा जाने पर्यटकले सास्ती खेपे । सडक मार्गबाट सुर्खेत, दैलेख, कालिकोट, जुम्ला हुँदै तथा हवाई सेवामार्फत नेपालगन्जबाट मात्र मुगुको ताल्चा विमानस्थल हुँदै रारा पुग्न सकिन्छ । सुर्खेतबाट ताल्चा हवाई सम्पर्कमा जोडिन सकेको छैन । ‘न सडक भरपर्दो छ, न त हवाई सेवा नै, केही समयअघि रारा पुगेर फर्किएका सुर्खेत वीरेन्द्रनगर ४ का राजन रजवारले भने, ‘बाटोमा खान बस्न पनि समस्या छ ।’

कर्णाली प्रदेशमा पर्यटन क्षेत्र हेर्ने कुनै कार्यालय नहुँदा चाहेर पनि बजेट खर्च गर्न नसकेको मन्त्रालयका कर्मचारीहरू बताउँछन् । सांगठनिक संरचना जनशक्तिबिनै सरकारले हचुवाका भरमा अभियान सुरु गर्दा अभियान सफल हुन नसकेको उनीहरूको तर्क छ । यसअघि मध्यपश्चिम क्षेत्र हेर्ने पर्यटन कार्यालयसमेत नेपालगन्जमै छ । संघीय सरकारले उक्त कार्यालयलाई कर्णालीमा सार्न पहल नगरेको प्रदेश मन्त्रालयको गुनासो छ । नेपालगन्जस्थित पर्यटन कार्यालयमा दक्ष जनशक्तिको दरबन्दी पनि थियो । ‘कर्णाली प्रदेशमा सारेको भए कार्यक्रम कार्यान्वयन गर्न सहज हुन्थ्यो,’ उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका प्रवक्ता शिवराम अधिकारी भन्छन्, ‘बजेट खर्च गर्न अख्तियारी पाइसक्यौं, कसका नाउँमा निकासा पठाउने समस्या नै छ ।’

यद्यपि मन्त्रालयले अर्को व्यवस्था नभएसम्मका लागि भू तथा जलाधार व्यवस्थापन कार्यालय र सम्बन्धित जिल्लाका डिभिजन वन कार्यालयमा पर्यटन शाखा स्थापना गर्ने खाका तयार पारेको छ, जुन प्रस्ताव मुख्यमन्त्री कार्यालय स्वीकृतिका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पुगेको छ । सुर्खेत र जुम्लामा जलाधार व्यवस्थापन र बाँकी जिल्लामा डिभिजन वन कार्यालयअन्तर्गत पर्यटन शाखामार्फत चालु आवको कार्यक्रम सञ्चालन गर्ने तयारी छ ।
वर्षातमा कर्णाली राजर्मागका ठाउँठाउँमा खसेको पहिरोका कारण सडक यात्रा झन कठिन बनेको छ । सरकारले रारासम्म पुग्न भौतिक पूर्वाधारको विकास र आवासको योजना नबनाए राराकै सन्देश नराम्रो जाने रजवार बताउँछन् ।

पर्यटन वर्ष शुभारम्भपूर्व कर्णालीका १० वटै जिल्लामा समन्वय समितिका संयोजकको नेतृत्वमा कर्णाली–रारा पर्यटन वर्षको सचिवालय गठन गरिएको थियो । ती समिति पनि संरचना, जनशक्ति र बजेट अभावले निष्क्रिय छन् । समितिलाई सरकारले नै कामकाजी बनाउन सकेको छैन । प्रशासन योजना तथा अनुगमन महाशाखा प्रमुखसमेत रहेका मन्त्रालयका प्रवक्ता अधिकारी कर्मचारी र पर्यटन हेर्ने निकायको कमीले पर्यटन पूर्वाधारको विकासमा असर पुगेको बताउँछन् ।

चालु आवमा प्रदेश सरकारले राराको बृहत् गुरुयोजना बनाउने र त्यसै आधारमा अन्य पूर्वाधारको काम गर्ने योजना बनाएको छ । साइक्लिङ र पैदल मार्गका लागि तीन करोड र पर्यटन प्रर्वद्धनका लागि २(.....) बजेट छुटयाएको छ । प्रदेश सरकारको चालु आवमा ९८ करोड बजेट पर्यटन क्षेत्रमै विनियोजन गरेको छ, जुन उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको कुल बजेटमध्ये ५३ प्रतिशत हुन आउँछ ।

तथ्यांक छैन
तथ्यांकका लागि प्रदेश पर्यटन मन्त्रालयले रारा राष्ट्रिय निकुञ्जको सहारा लिनुपरेको छ । वैशाखदेखि असार मसान्तसम्म ८ हजार पर्यटकले रारा भ्रमण गरेको तथ्यांक छ । गत वर्ष साउनदेखि चैतसम्म १२ हजार र यस वर्षको वैशाखदेखि असारसम्म ८ हजार पर्यटकले रारा अवलोकन गरेको तथ्यांकमा छ । अभियानकै प्रभावले कति पर्यटक आए भन्ने तथ्यांक छैन । यसले गर्दा अभियान कति उपलब्धिपूर्ण बन्यो र पर्यटक आगमनले प्रदेशलाई हुने आर्थिक लाभको लेखाजोखा हुन सकेको छैन । कर्णालीका अन्य पर्यटकीय स्थलहरूमा पनि तथ्यांक व्यवस्थापन हुन सकेको छैन, जसले गर्दा पर्यटकबाट प्रवेश शुल्कबापत राजस्व संकलन शून्य छ । सुर्खेतका काँक्रेविहार र बुलबुले अवलोकन गर्नेका लागि भने टिकटको व्यवस्था गरिएको छ । यहाँ पनि टिकटको व्यवस्थित अभिलेख नहुँदा तथ्यांक विश्लेषण गर्न समस्या छ । कर्णाली प्रदेश उद्योग वाणिज्य महासंघका अध्यक्ष पदमबहादुर शाहीले रारालाई केन्द्रमा राखिए पनि कतिले रारा अवलोकन गरे भन्नेबारे भरपर्दो तथ्यांक नहुनु दुखद अवस्था भएको बताएका छन् ।

अर्थ वाणिज्य

सम्झौता नै नगरी कालीगण्डकी दोहन

- प्रकाश बराल

कालीगण्डकी किनारको ढोडेनी, मालढुंगा र कालापातलमा ढुंगा, गिट्टी र बालुवा उत्खननका लागि नगरपालिकाले ठेक्का प्रक्रिया सुरु गरेको छ । यसैक्रममा ठेक्का पाउनेको अन्तिम नामावली सार्वजनिक गरिएको छ । सम्झौता गर्ने समय सोमबारदेखि खुला भएको छ । ठेकेदार कम्पनीहरू नगरपालिकामा सम्झौता गर्न आएका छैनन् ।

स्थानीय तहले साउन र भदौमा खोलाजन्य पदार्थ उत्खननमा रोक लगाएका थिए । ठेकेदारहरूले भने साउन–भदौदेखि नै धमाधम गिट्टी–बालुवा उत्खनन गरिरहेका छन् ।
जनस्तरबाट विरोध आउँदा अवैध उत्खनन गर्नेका सवारी साधन नियन्त्रण गरी प्रहरीले कारबाहीका लागि स्थानीय तहको जिम्मा लगाउने गरेको थियो । न्यूनतम जरिवानामा छाड्ने गरिएपछि प्रहरी पनि रोकथाममा उदासीन छ ।

अवैध उत्खनन गर्नेहरूले पहाड जत्रा थुप्रा बनाएर वर्षामा पनि बालुवा बिक्री गर्न छाडेका छैनन् । ‘जिल्ला समन्वय समितिले वातावरणीय प्रभाव मूल्यांकन गरेका स्थानमा हामीले टेन्डर खुलाएका हौं,’ बाग्लुङ नगरपालिकाका योजना अनुगमन तथा प्रशासकीय अधिकृत युक्तप्रसाद सुवेदीले भने, ‘सम्झौता गर्न आइनसकेकाले बालुवा झिकेका छैनन् भन्ने हाम्रो अनुमान हो ।’ स्थलगत निरीक्षण नभएकाले आफूले केही भन्न नसक्ने उनले बताए । ठेकेदारहरूले प्रतिबन्धित समयमा पनि उत्खनन र दोहन गरिरहेको बारे नगरपालिकाले बेवास्ता गरेको छ ।

‘मानवीय जोखिम र प्राकृतिक विपत्ति आउन सक्ने भएकाले साउन र भदौमा कानुनले नै उत्खननमा रोक लगाएको छ तर रोकिएको समयमा पनि नदी दोहन भइरहेको छ,’ अधिवक्ता राम शर्माले भने, ‘कानुनको दिनदहाडै उल्लंघन भइरहँदा पनि प्रहरी प्रशासन मूकदर्शक बनिरहेको छ ।’ रातको समयमा समेत डोजर लगाएर बालुवा उत्खनन भइरहे पनि कारबाही गर्न सम्बद्ध निकाय अघि नसर्नु राम्रो नभएको उनले बताए ।

ठेकेदारहरूबाट रकम असुलेर चुप बसेको आरोपसमेत प्रहरीलाई लाग्ने गरेको छ । प्रहरी उपरीक्षक दीपक रेग्मी भने सूचना पाएर पटकपटक पक्राउ गरेर ल्याएको बताउँछन् ।‘पक्राउ गरेर ल्याउँदा ड्राइभर परेका छन्, पछि जरिवाना गराएर छाडिएको छ,’ उनले भने, ‘प्रतिबन्धित समयमा काम नगर्न पनि भनेका छौं ।’ पटक–पटक दोहन भएपछि उच्च अदालत पोखराको बाग्लुङ इजलासले पनि कानुन बनाउने र वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनका आधारमा मात्र उत्खनन गर्ने व्यवस्था मिलाउन आदेश दिएको थियो ।

Page 17
अर्थ वाणिज्य

ढुवानी अवरोध गरे सम्झौता रद्द गर्ने चेतावनी

- राजु चौधरी

आयल निगमले इन्धन ढुवानी अवरोध गर्ने टयांकरको ढुवानी सम्झौता रद्द गरी खारेज गर्ने चेतावनी दिएको छ । टयांकर चालकले उठाएका मागहरूप्रति निगम सकारात्मक रही तलब भत्ता, सञ्चय कोष, ट्रिप भत्ता पूरा गर्ने सहमत भइसकेकाले कसैको उक्साहटमा नलाग्न चेतावनी दिएको हो ।

‘टयांकर चालकको मागप्रति निगम सकारात्मक छ । पेट्रोलियम पदार्थको नियमित आपूर्ति सहज गर्ने सहमति भएको थियो । हाल टयांकर चालकहरूबाट पुन: आपूर्ति असहज गर्ने प्रयास गर्नु निकै दु:खद् पक्ष हो,’ निगमले जारी गरेको सूचनामा भनिएको छ, ‘निगम सम्बद्ध ढुवानीकर्ता तथा चालकलाई आफ्नो टयांकर पूर्ण रूपले सञ्चालन गरी आपूर्ति सरल र सहज बनाउन सूचना गरेका छौं । अन्यथा निगमको विनियमावलीअनुसार दायित्व पूरा नगरेको मानी ढुवानी सम्झौता रद्द गरी खारेज गर्छौं ।’
निगमका कार्यकारी निर्देशक सुशील भट्टराईका अनुसार केही व्यवसायीले आफ्नो स्वार्थ पूर्ति गर्नका लागि टयांकर चालकलाई प्रयोग गरेका छन् । ती व्यवसायीहरूले आफ्नो माग पूरा गराउनकै लागि टयांकरमा ढुंगा हानेको उनले बताए ।

‘माग पूर्ति गर्नकै लागि अन्य चालकले सिमरामा ढुंगा हानेर टयांकरको सीसा फुटाएका छन् । मंगलबार धादिङमा पनि ढुंगा हानेको जानकारी पाएका छौं,’ भट्टराईले भने, ‘सुरक्षाको ग्यारेन्टी निगमले दिन्छ । तर, विभिन्न बहानामा अत्यावश्यक सेवा बन्द गर्न पाइँदैन ।’ केही संस्थाले ढुंगा हाने पनि चालकले भने निगमसँग सहकार्य नगरेको उनले गुनासो गरे ।

‘ढुवानीका क्रममा केही अवरोध पुर्‍याएको छ भने निगमलाई जानकारी गराउनुपर्छ । स्कर्टिङ गरेर ल्याउन तयार छौं,’ उनले भने, ‘तर, चालकले निगमसँग कुनै सहकार्य गरेन । त्यसैले कडाइ गर्न खोजेका छौं ।’ उनका अनुसार इन्धनको आपूर्ति व्यवस्थामा प्रतिकूल प्रभाव पर्ने गरी प्रोडक्ट डेलिभर अर्डर (पीडीओ) नलिने, भारतीय आयल निगम (आईओसी) मा लोड लिन नजाने, डिपोमा लोड लिएर नआउने, बिक्री वितरणमा सहयोग नगर्ने कार्य गरे कडा कारबाही गरिने बताए ।

‘उक्साहटको भरमा बन्द गर्न पाइँदैन । सूचना जारी गरेका छौं,’ उनले भने, ‘कडा कारबाही हुन्छ ।’ आफ्नो स्वार्थ पूरा गर्नका लागि उनीहरूले नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिसमेत गठन गरेका छन् । संघर्ष समितिले आफ्नो आन्दोलनमा साथ दिन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघलाई समेत पत्रचार गरेका छन् । ‘सवारी तथा यातायात व्यवस्था ऐन २०५९ को संशोधित ऐन २०५४ मा सरकारले गरेको व्यवस्थाबाट हामी सवारी चालकहरू सवारी चलाउन नसक्ने गरी त्रसित अवस्थामा पुगेका छौं ।

सवारी चालकलाई अन्य अपराधीजस्तै जन्मकैदको सजायसम्मको व्यवस्था गरिएको छ, कानुन संशोधनसहितका विभिन्न १३ बँुदे माग गरेका छौं,’ संघर्ष समितिका संयोजक वसन्त शर्माले महासंघलाई पठाएको पत्रमा भनिएको छ, ‘जुन सवारी चालकलाई मात्रै नभई यातायात व्यवसायीलाई समेत आवश्यक छ । संघर्षका कार्यक्रम सफल बनाउन महासंघको साथ र सहयोग चाहिएकाले सवारी साधन बन्द गरी सहयोग पुर्‍याइदिनुहुन अनुरोध छ ।’ विरोधस्वरूप चालक कमिटी सिमराले पनि कानुनविपरीत पर्चा बाँडेको छ । चालकहरूको संघर्षका कार्यक्रमको यातायात स्वतन्त्र मजदुर संगठनले भने विरोध गरेको छ ।

‘केही दिनदेखि फैलिएको गलत हल्लाप्रति संगठनको ध्यानाकर्षण भएको छ । मुलुकी अपराध संहिता र सवारी तथा यातायात व्यवस्था ऐनका बिषयलाई लिएर ऐनमा हुँदै नभएका विषयहरू उल्लेख गरी मजदुरहरू जेल जाने भए भन्दै मजदुरलाई उत्तेजित आतंकित बनाउँदै यातायात बन्द गर्न उक्साएको प्रति सजग रहन र बन्दको हल्लापछि नलाग्न आग्रह गर्छौं,’ मजदुर संगठनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

अर्थ वाणिज्य

कुनबानसँग पीपीए

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– सुस्मित इनर्जी र नेपाल विद्युत् प्राधिकरणबीच २० मेगावाट जडित क्षमताको कुनबान खोला जलविद्युत् आयोजनाको विद्युत् खरिद गर्ने सम्झौता (पीपीए)
भएको छ ।

सम्झौतामा प्रवद्र्धक कम्पनीका अध्यक्ष सुशील पोखरेल र प्राधिकरणका उपकार्यकारी निर्देशक जनदीश्वरमान सिंहले बुधबार हस्ताक्षर गरेको हुन् । म्याग्दीको मुडी गाउँपालिकामा आयोजना निर्माण हुनेछ ।

प्राधिकरणले आयोजनाबाट उत्पादित विद्युत् हिउँदमा प्रतियुनिट ८ रुपैयाँ ४० पैसा र वर्षामा ४ रुपैयाँ ८० पैसामा खरिद गर्नेछ । आयोजनाले वार्षिक १ सय १५ दशमलव ५१ गिगावाट ऊर्जा उत्पादन गर्ने अनुमान छ ।

आयोजनाबाट उत्पादित विद्युत् २० किलोमिटर लामो प्रसारण लाइन निर्माण गरी डाँडाखेतस्थित विद्युत् प्राधिकरणको प्रस्तावित १३२ केभीए सबस्टेसनमा ल्याएर जोड्ने योजना छ । आयोजनाको कुल लागत ३ अर्ब ८० करोड रुपैयाँ हुने अनुमान छ । यस आयोजनामा विभिन्न बैंकबाट ७० प्रतिशत ऋण र विकासकर्ता कम्पनीबाट ३० प्रतिशत स्वपुँजी लगानी जुटाइनेछ । सन् २०२४ को फेब्रुअरीदेखि विद्युत् उत्पादन गर्ने गरी प्राधिकरणसँग सम्झौता भएको हो ।

अर्थ वाणिज्य

भारतमा विद्युत् बिक्री गर्न समझदारीको तयारी

- विजय तिमल्सिना

नेपालका दुई जलविद्युत् आयोजनाबाट उत्पादित करिब १५ सय मेगावाट विद्युत् बिक्रीका लागि भारतीय कम्पनीसँग नेपाल विद्युत् प्राधिकरणले समझदारी गर्ने तयारी गरेको छ । भारतको विद्युत् व्यापार निगम (एनभीभीएन) र प्राधिकरणबीच आयोजनाको विद्युत् बिक्रीका लागि सम्झौता हुनेछ । प्राधिकरणले एनभीभीएनसँगै अहिले ढल्केबर–
मुजफ्फपुरमार्फत नेपाल विद्युत् भित्र्याइरहेको छ ।

७ सय मेगावाटको माथिल्लो अरुण र ८ सय मेगावाट क्षमताको दूधकोसी जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् बिक्रीका लागि भारतीय संस्थासँग समझदारी गर्न लागिएको हो । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले दुवै आयोजनाबाट उत्पादित विद्युत् बिक्रीका लागि भारतीय पक्षसँग एक महिनाभित्र समझदारी हुने बताए । ‘अहिले छलफलको चरणमा छौं,’ उनले भने, ‘सम्भवत: एक महिनाभित्र समझदारी हुन्छ ।’

संखुवासभामा अवस्थित माथिल्लो अरुण आयोजनाको अध्ययन विस्तृत आयोजना अध्ययन भइरहेको छ । आयोजनाको डीपीआर तयार पार्न विश्व बैंकले सहयोग गरेको छ । यस्तै खोटाङ जिल्लामा निर्माण हुने दूधकोसी आयोजनाको एसियाली विकास बैंकको सहयोगमा अध्ययन भइरहेको छ ।

माथिल्लो अरुण २०४६ मा प्राधिकरणले प्रारम्भिक अध्ययन गरेको थियो । उक्त आयोजना निर्माण लागत तुलनात्मक रूपमा सस्तो हुने प्राधिकरणका आकलन छ । उक्त आयोजनाको डीपीआर तयार पार्न प्राधिकरणले चिनियाँ कम्पनीलाई अघिल्लो माघमा जिम्मा दिएको छ । आगामी वर्ष उक्त डीपीआर तयार हुने अनुमान छ ।
माथिल्लो अरुणलाई जलाशययुक्त आयोजना बनाउने प्राधिकरणको योजना छ । अरुण तेस्रो आयोजनाको बाँधस्थल रहेको संखुवासभाको फयाक्सिन्दा दोभानबाट २० किमिमाथि अरुण नदीमा आयोजना निर्माण हुनेछ ।

खोटाङको रबुवाघाटमा बन्ने बाँधबाट धितुङमा निर्माण गर्ने विद्युत् गृहसम्म सुरुङमार्फत पानी खसाली विद्युत् उत्पादन गर्ने योजना छ । जलाशययुक्त यो आयोजनाका लागि १३ दशमलव ५ किलोमिटर लामो सुरुङ निर्माण गर्नुपर्नेछ । उक्त सुरुङ निर्माणका लागि भेरी–बबई डाइभर्सन आयोजनामा प्रयोग भएको जस्तै टनेल बोरिङ मेसिन (टीबीएम) प्रयोग गरी गर्ने प्राधिकरणको योजना छ । सोहीअनुसार विस्तृत परियोजना प्रतिवेदन तयार पार्न प्राधिकरणले परामर्शदाता कम्पनीलाई निर्देशन दिइसकेको छ ।

नेपालमा बन्ने आयोजनाबाट उत्पादित विद्युत् किनेर बंगलादेशलाई बिक्री गर्ने योजनासहित एनभीभीएनले किन्न लागेको बताइएको छ । बंगलादेशले भारतीय कम्पनीले निर्माण गर्ने ९ सय मेगावाटको विद्युत् किन्ने गरी एनभीभीएनसँग समझदारी गरिसकेको छ । उक्त समझदारीअनुसार माथिल्लो कर्णाली जलविद्युत् आयोजनाले उत्पादन गर्ने ५ सय मेगावाट विद्युत् एनभीभीएनले खरिद गर्नेछ र सोही विद्युत् बंगलादेशलाई बिक्री गर्नेछ ।

नेपाल र बंगलादेशबीच पनि अघिल्लो महिना ऊर्जा सहकार्यसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भइसकेको छ । उक्त हस्ताक्षरमा बंगलादेशले नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्ने, नेपालका जलविद्युत् आयोजनाबाट उत्पादिन विद्युत् खरिद गर्नको लागि मार्गप्रशस्त गर्ने व्यवस्था उल्लेख गरिएको छ ।

बंगलादेशले दुई साताअघि मात्रै नेपालबाट सन् २०४० सम्ममा ९ हजार मेगावाट विद्युत् खरिद गर्ने योजना सार्वजनिक गरेको थियो । नेपाल र बंगलादेशबीच विद्युत् व्यापारका लागि भारतीय भूमि वा प्रसारण प्रणाली प्रयोग अनिवार्य छ ।

प्राधिकरणले ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत नेपाल भित्र्याउने विद्युत् एनभीभीएनसँग खरिद गर्दै आएको छ । भारतीय सरकारले एनभीभीएनलाई नेपालसँगको विद्युत् व्यापारका लागि नोडल एजेन्सी तोकेको छ ।

अर्थ वाणिज्य

नदी दोहन गर्नेलाई जरिवाना

मेलम्ची (रासस)– सिन्धुपाल्चोकका विभिन्न नदीमा अवैध रूपमा गिट्टी, बालुवा निकाल्नेबाट जरिवानास्वरूप दुई महिनामा साढे ३८ लाख रुपैयाँ असुल गरिएको छ । असारदेखि भदौसम्म नदीबाट गिट्टी बालुवा निकाल्न नपाइने नियम छ । तर, पनि लुकिछिपी अवैध काम गर्नेलाई प्रहरीको सहायतामा पक्राउ गरी कारबाहीको दायरामा ल्याइएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार हालसम्म ३६ टिपर, १८ मिनी ट्रक, १३ स्काभेटर, दुई डोजर, १२ टयाक्टर, एक जेसीभी नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाइएको छ । त्यसैगरी एक टयाक्टर, दुई स्काभेटर र दुई मिनी टिपर कारबाहीको क्रममा रहेको प्रहरीले जनाएको छ ।

प्रहरी नै तस्करसँग मिलेको आरोप लाग्न थालेपछि केही प्रहरीमाथि विभागीय अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी वरिष्ठ उपरीक्षक मुकुन्द मरासिनीले बताए । उनले आरोप पुष्टि भए कडा कारबाही गरिनुका साथै तस्करलाई सजिलै उन्मुक्ति नदिने पनि जनाए ।

जिल्ला समन्वय समितिको खातामा जरिवानस्वरूप उठाएको रकम जम्मा भए पनि खाता भने बन्द छ । प्रदेश सरकारले खाता सञ्चालनका लागि नयाँ कार्य विधि नबनाएकाले उक्त रकम सञ्चालन गर्न नसकिएको जिल्ला समन्वय समितिका संयोजक कृष्णगोपाल तामाङले बताए ।

बर्खाका तीन महिना नदीजन्य पदार्थ उत्खनन गर्न नपाइने नियम भए पनि जिल्लाका सानाठूला सबैजसो नदीमा तस्करले गिट्टी, बालुवा निकाल्ने गरेका छन् । उनीहरूले नदीको धार नै परिवर्तन हुने गरी जथाभावी नदीजन्य पदार्थ निकाल्ने गरेका छन् । यसले नदी आसपासका बस्ती, विद्यालय, पुलसमेत जोखिममा परेका छन् ।

Page 18
अर्थ वाणिज्य

पानी घट्टबाट आम्दानी

- कान्तिपुर संवाददाता

रुकुम (रासस)– रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाका बासिन्दा पानीघट्टबाट मनग्ये आम्दानी गर्दै आएका छन् । काँइयो खोलामा ३० भन्दा बढी पानीघट्ट सञ्चालन गरेर स्थानीयले आम्दानी गर्न थालेका हुन् । थोरै रकम र कम मेहनतले नै पानीघट्टबाट फाइदा लिन सकिने निर्मल चन्दले बताए । पानीघट्टको आम्दानीले बालबालिकाको पढाइ–लेखाइमा समेत सहयोग पुगेको उनको भनाइ छ ।

अर्थ वाणिज्य

कैलालीमा तस्करका नाका खुले

- मोहन बुढाऐर

कैलालीको फुलबारी सीमा नाकाबाट तस्करी भई भित्रिन लागेको रेडिमेड कपडालगायतका वस्तु गत आइतबार सशस्त्र प्रहरीको गस्ती टोलीले समात्यो । फुलबारी बाट जिपमा धनगढीतर्फ ल्याउँदै गरेको भन्सार छलीका ती वस्तु सशस्त्र प्रहरीले बेवारिसे अवस्थामा बरामद गरेको हो ।


चाडवाड सुरुसँगै मोहना नदीको पानीको सतह घटदै जाने क्रममा कैलालीको खुला सीमा नाकाबाट तस्करी बढ्ने गरेको छ । कैलालीको मोहनादेखि कुसमघाटसम्मको १ सय २ किलोमिटर भारतसँगको खुला सीमा नाकाबाट ठूलो मात्रामा राजस्व चुहावट हुने गरेको छ ।

स्थानीय बासिन्दाका अनुसार सशस्त्र, जनपद र भन्सारकै कर्मचारीको मिलोमतोमा भारतबाट अवैध रूपमा वस्तु आयात हुने गरेको छ । भजनी इलाका प्रहरी, हसुलिया, खक्रौलालगायतका सीमा प्रहरी चौकी तथा इलाका प्रहरी कार्यालयका प्रहरीसँगको तस्करी गर्ने समूहको मिलोमतो हुने गरेको छ । त्यस्तै सीमा क्षेत्रमा हुने तस्करी, अपराधलगायत सीमा स्तम्भको सुरक्षार्थ सशस्त्र प्रहरीको सीमा सुरक्षा बलले कैलालीको ३ ठाउँमा सीमा सुरक्षा बेस क्याम्प स्थापना गरेको छ । त्रिनगर भन्सार, भजनी र टीकापुरमा उसले सीमा सुरक्षा बेस क्याम्प राखेको छ । उक्त बेस क्याम्प इन्चार्जमार्फत तस्करसँग मिलोमतो हुने गरेको स्थानीयले बताए ।

उक्त सीमा पोस्टका सशस्त्र र जनपद प्रहरीका इन्चार्जहरूले जिल्लाका प्रहरी प्रमुख र डीआइजीहरूलाई महिनावारी रकम बुझाउने गरेको स्रोतको दाबी छ । हरेक वर्षा कटेपछि सेटिङ र महिनावारीको दररेट मिलाउन भदौ–असोजमा सशस्त्र प्रहरी, जनपद र भन्सार कर्मचारीबाट नाकामा कडाइ हुने गरेको ती स्थानीय बताउँछन् । कहिले सशस्त्र प्रहरीको जिल्लामा नयाँ एसपी आएपछि बीचका अन्य महिनामा पुन: तस्करसँग बार्गेनिङसमेत हुने गरेको छ । उनले तस्करसँगको महिनावारी सेटिङ भएपछि एकाएक तस्करीको मालसमान बरामदका घटना बन्द हुने बताए ।

स्थानीय गंगा चौधरीका अनुसार यतिबेला तस्कर समूहसँग सुरक्षा निकायले मासिक उठाउने रकम वृद्धि गर्नुपर्दा मालसामान समातेको नाटक हरेक दिन मञ्चन हुने गरेको उनी बताउँछन् । जसको मर्कामा चाडबाडका लागि सीमावर्ती बस्तीका बासिन्दाले ल्याउने समानसमेत प्रहरीले थुतिदिन लागेको हसुलियाका प्रेम चौधरीले बताए । ‘दैनिक उपभोग्य वस्तुमा समेत प्रहरी र सशस्त्रले तस्करीको समान भन्दै समात्ने गरेको छ,’ उनले भने, ‘यतिबेला गाउँघरमा चाडबाड सुरु भएकाले ५/१० किलो चिनी, केही थान कपडा, केही नयाँ भाँडाकुँडाको पनि भन्सार चाहियो भन्छन्,’ उनले टयाक्टर, गाडीमा तस्करी हुने वस्तुबाट पैसा असुलेर छोडिदिने गरेको बताए । सर्वसाधारणलाई मात्रै दु:ख दिने गरेको उनले बताए ।

‘वस्तु समातिने, तस्कर नसमातिने किन हुन्छ ?’ एक स्थानीयले भने, ‘जबसम्म तस्कर पुलिसका शरणमा आफैं आउँदैन र महिनावारीको कुरो मिल्दैन सामान समातिने प्रक्रिया चलिरहन्छ ।’ उनले कुरा मिलेपछि भन्सार बुझाएको तस्करी वस्तुसमेत लिलाम बढाबढको नाममा तस्करल नै फिर्ता पाउने गरेको बताए ।

उनका अनुसार कैलालीको खुला १ सय २ किलोमिटर क्षेत्र ५ भागमा बाँडिएको छ । बर्दियाको बोर्डरदेखि टीकापुर खक्रौला नरायणपुर सत्ती, लालबोझी–भजनी, हसुलिया, फुलबारी र धनगढी गरी ५ भागमा सीमा नाका बाँडिएको छ । ती चारै नाकाका नाइकेहरूले संयुक्त रूपमा सशस्त्र, जनपद र भन्सारका कर्मचारीलाई महिनावारी मिलाउने गरेका छन् ।

Page 19
खेलकुद

लिभरपुलको रोमाञ्चक जित

- कान्तिपुर संवाददाता
जेम्स मिल्नर

पेरिस (एएफपी)– रोबर्टो फिरमिनोले अन्तिम समयमा गरेको गोल मदतले लिभरपुलले मंगलबार राति युरोपेली च्याम्पियन्स लिगको रोमाञ्चक खेलमा पेरिस सेन्ट जर्मेनलाई ३–२ ले हरायो । लियोनल मेसीको ह्याट्रिक मदतले बार्सिलोनाले पनि प्रतियोगितामा विजयी सुरुआत गरेको छ । युरोपेली क्लब फुटबलको सर्वोच्च प्रतियोगिताका अरू खेलमा पनि अन्त्यतिर भएका गोल निर्णायक बने । यसक्रममा इन्टर मिलानलले टोटेनहमलाई हरायो ।एट्लेटिको म्याड्रिडले मोनाकोलाई हराएसँगै अरू ठूला टिमले पनि विजयी सुरुआत गरे ।

तर दिनको प्रमुख दुई हेभिवेट टिमको भिडन्त एनफिल्डमा रह्यो । समूह ‘सी’ को यो खेल गत सिजनको उपविजेता र उपाधिको प्रत्याशीबीच थियो । अपेक्षाअनुसार यो खेल रोमाञ्चक पनि रह्यो । बलियो सुरुआत लिएको लिभरपुलले ३६ मिनेटभित्र दुई गोलको अग्रता लियो । ड्यानिएल स्टुरेजले पहिलो गोल गरेपछि जेम्स मिल्नरले दोस्रो गोल थपे ।

तर फ्रान्सेली लिग च्याम्पियनका लागि थोमस मेनिएरले पहिलो गोल फर्काएयता ८३ औं मिनेटमा केलियन एमबापेले बराबरी गोल फर्काए, नेयमरको सहयोगमा । यो दुई विश्वकै महँगा खेलाबीच चलेको साझेदारीको गोल रह्यो । सब्स्टिच्युटका रूपमा मैदानमा प्रवेश गरेका फिरमिनोले खेल सकिन केही सेकेन्ड अगाडि निर्णायक गोल गरे । ‘बबीको कति मात्र प्रशंसा गरौं,’ लिभरपुल प्रशिक्षक योर्गन क्लोपले भने, ‘चोट लागेपछि पनि मैदानमा आउनु र गोल गर्नु ठूलो उपलब्धि हो ।’

लिगमा टोटेनहमविरुद्ध जान भेर्टोन्घेनको हातले उनको आँखामा चोट लाग्न पुगेको थियो । अब पीएसजीले रेड बेलग्रेडको सामना गर्नेछ भने लिभरपुलले नेपोलीको । यी दुई टिमले अर्को खेलमा गोलरहित बराबरी खेले । समूह ‘बी’ को नु क्याम्पमा भएको खेलमा बार्सिलोनाले पीएसभी आयनहोभनलाई ४–० ले हरायो । लामो यात्रा तय गर्ने छाँट देखाएका मेसीले ३२ औं मिनेटमा पहिलो गोल गरेयता ८७ औं मिनेटमा ह्याट्रिक पूरा गरे । त्यसबीचमा ओसमन डेम्बेलेले एक गोल थपे ।

मिलानमा भने इन्टरले २–१ को जित निकाल्यो । लिभरपुलको हातबाट लिगमा हार बहोरेयता टोटेनहमको यो लगातार दोस्रो हार हो । ‘पछिल्ला खेलमा केही राम्रो भइरहेको छैन, तर यो क्षमायोग्य छैन,’ टोटेनहमका प्रशिक्षक मउरिसो पोचेटिनोले भने । यस्तै अरू खेलमा बोर्सिया डर्टमन्डले क्लब ब्रुगलाई १–० ले हरायो भने साल्काले एफसी पोर्टोसँग १–१ को बराबरी खेल्यो । गालातासारेले भने लोकोमोटिभ मस्कोलाई ३–० ले पराजित गर्‍यो ।

खेलकुद

खेल तालिका सार्वजनिक

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– अखिल नेपाल फुटबल संघ (एन्फा) ले असोज १३ गतेदेखि सुरु हुने सहिद स्मारक ‘ए’ डिभिजन लिगको खेल तालिका सार्वजनिक गरेको छ ।बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आयोजित कार्यक्रममा खुला ‘ड्र’ मार्फत तालिका सार्वजनिक गरिएको हो । यस तालिकाअनुसार लिगको उद्घाटन खेल असोज १३ गते न्युरोड टिम (एनआरटी) र त्रिभुवन आर्मी क्लबबीच एन्फा कम्प्लेक्समा हुनेछ ।

एन्फाले यसपटक लिगका प्रत्येक चरणका सम्पूर्ण खेल समाप्त भएपछि मात्र अर्को चरण सुरु गर्ने बताउँदै खेल तालिका तयार पारेको छ । प्रत्येक चरणपछि
कम्तीमा १ दिन विश्राम पनि राखिएको छ । प्रतियोगिताका सम्पूर्ण खेल एन्फा कम्प्लेक्स र हलचोकस्थित एपीएफ रंगशालामा खेलाइनेछ । लिग तालिकाअनुसार
दसैंअघि तीन चरणका खेल समाप्त हुनेछन् । दसैं र तिहारका लागि एन्फाले ५ साता विश्राम दिएको छ ।खेल तालिकाअनुसार लिगको अन्तिम चरणको अन्तिम खेल पुस १७ गते तोकिएको छ । अन्तिम खेलमा संकटा र एपीएफ भिड्नेछन् ।

खेलकुद

नेपालको खराब सुरुआत

एएफसी यू–१६ महिला च्याम्पियनसिप छनोट
- कान्तिपुर संवाददाता
नेपालविरुद्ध तेस्रो गोल गरेपछि फिलिपिन्सकी किन अलामो सहकर्मी पाउलिन सान्टियागोसँग (२०) अंकमाल गर्दै  । तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौं (कास)– सुरुआती अवसरलाई सदुपयोग गर्न नसक्दा नेपालको यू–१६ महिला टोलीले एएफसी यू–१६ महिला च्याम्पियनसिप छनोटअन्तर्गत पहिलो खेलमा
फिलिपिन्सविरुद्ध ४–० को हार बेहोरेको छ । फिलिपिन्सको जितमा कप्तान मारिया लाजोले दुई तथा किन अलामो र मिकाएला भिलाचिनले १–१ गोल गरे ।

प्रतियोगिता सुरु हुने अघिल्लो दिन प्रि–म्याच प्रेस कन्फरेन्समा नेपाली टोलीकी प्रशिक्षक गंगा गुरुङले पहिलो खेल महत्त्वपूर्ण रहने र नेपालले जितका लागि खेल्ने
बताएकी थिइन् । नेपालले बुधबार हलचोकस्थित एपीएफ रंगशालामा त्यसैअनुसार सुरुआत पनि गर्‍यो ।

खेलको पहिलो मिनेटदेखि नै बलमा पकड जमाएको नेपालले विपक्षी बक्समा लगातार आक्रमणको प्रयास गर्‍यो । खेलको १२ औं मिनेटमा सविता रानामगरको
फ्रिकिकलाई गोलरक्षक मारिया यापले हल्का छोएपछि क्रसबारमा लाग्दै फर्कियो । त्यसको दुई मिनेटपछि नै अस्मिता चौधरीले पेनाल्टी क्षेत्रभित्रको बायाँबाट गरेको
शक्तिशाली प्रहारले गोलरक्षकलाई बिट गरे पनि पोस्ट बाधक बन्यो ।

नेपालको लगातार आक्रमण निस्तेज पारेको फिलिपिन्सले त्यसपछि काउन्टर अट्याकमा सुन्दर अवसर पायो । कप्तान मारियाले वान भर्सेस वानको स्थितिमा
गोलरक्षकलाई छलाएर प्रहार गरेको बल सविना चौधरीले गोललाइनबाट बचाइन् । नेपालको आक्रमण फितलो भएपछि पहिलो हाफमा नै फरवार्ड निकिता थोकरलाई मैदानमा पठाइएको थियो ।

खेलको ४२ औं मिनेटमा भने नेपाल खेलमा पछाडि पर्‍यो । डिफेन्सले क्लियर गर्न नसकेको बललाई केट सिमोन्सले पेनाल्टी क्षेत्रभित्र कन्ट्रोल गर्दै दिएको पासमा
कप्तान लाजोले सहजै गोल गरिन् । त्यसको ४ मिनेटपछि सिमोन्सले मिडफिल्डबाट बल बढाउँदै पेनाल्टी क्षेत्रको दायाँ भागबाट गरेको कटब्याकमा लाजोले सहजै
अग्रता दोब्बर पारिन् ।

दोस्रो हाफमा नेपाली डिफेन्सले लगातार गल्ती गरिरहे पनि फिलिपिन्सले अग्रता बढाउन भने ७६ औं मिनेटसम्म कुर्नुपर्‍यो । अलामोले मिडफिल्डबाट बल अगाडि
बढाउँदै पेनाल्टी क्षेत्रको दायाँबाट गरेको प्रहार गोलरक्षक करिना धिमालले बचाउन सकिनन् । पहिलो हाफमा केही उत्कृष्ट बचाउ गरेकी करिनाले दोस्रो हाफमा भने
त्यसै लयलाई कायम राख्न सकिनन् । काइली पानागनको थ्रु बलमा भिलाचिनले ८२ औं मिनेटमा सहजै फिनिस गर्दै फिलिपिन्सको सहज जित पक्का गरिन् ।
खेलपछि पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक गुरुङले डिफेन्सको गल्ती नै हारको मुख्य कारण रहेको बताइन् । ‘हामीले डिफेन्समा गल्ती गर्दा हार बेहोर्नु पर्‍यो ।
सुरुआतको लयलाई कायम राख्न सकेनौं । फरवार्डहरूले पनि अवसर चुकाउँदा दबाब सिर्जना भएको हो,’ गुरुङले भनिन् । उनले नेपाल आगामी दुई खेलमा जितको
लक्ष्यसाथ मैदानमा उत्रने र छनोट हुनेमा आशावादी रहेको बताइन् ।

फिलिपिन्सकी प्रशिक्षक जोइस लान्दागानले टोलीको मिहिनेतले नै जितको आधार तय भएको बताइन् । ‘हामीले सुरुआतमा दबाब खेपे पनि खेलाडीहरू मैदानमा
डटिरहे । नेपाल राम्रो टोली हो तर हाम्रा खेलाडीले पाएको अवसर सदुपयोग गर्न सके । यस खेलले हाम्रो हौसला बढेको छ तर मिहिनेतबिना अगाडि बढ्न सम्भव छैन । हामी सक्दो राम्रो नतिजा ल्याउने प्रयास गर्नेछौं,’ उनले भनिन् ।

समूहको अर्को खेलमा म्यानमारले मलेसियालाई ३–० ले पराजित गर्‍यो । निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । तर
अन्तिम १५ मिनेटमा ३ गोल गर्दै म्यानमारले महत्त्वपूर्ण ३ अंक हासिल गर्‍यो । म्यानमारको जितमा म्याट नो खिनले ७५ औं, ८७ औं र ८९ औं मिनेटमा गोल
गरेकी थिइन् । नेपालले अब समूहको दोस्रो खेलमा शुक्रबार म्यानमारको सामना गर्नेछ । त्यसै दिन अर्को खेलमा मलेसिया र फिलिपिन्स भिड्नेछन् ।

Page 20
खेलकुद

पीपीएलको खेलाडी दर्ता सुरु

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– क्विन्स इभेन्ट्स प्रालिको आयोजनामा कात्तिक दोस्रो सातादेखि पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० का लागि खेलाडी दर्ता प्रक्रिया सुरु भएको
छ । ६ टिमको सहभागिता रहने प्रतियोगितामा सहभागी हुने टिम, मार्की प्लेयर र खेलाडी अक्सनको गर्ने तयारी अन्तिम चरणमा पुगेको आयोजकले प्रेस
विज्ञप्तिमार्फत जनाएको छ ।

लिगको अक्सनका लागि खेलाडी दर्ता प्रक्रिया बुधबारदेखि सुरु भएको पनि आयोजकले जानकारी दियो । प्रतियोगिताको वेबसाइटमा रहेको दर्ता फारम भरेर १ हजार शुल्क तिरेर नाम दर्ता गर्न सकिने प्रावधान रहेको छ । यस प्रतियोगितामा खेलाडीलाई तीन श्रेणीमा विभाजन गरिनेछ । क्याप्ड सिनियरमा नेपालको सिनियर राष्ट्रिय टिमको प्रतिनिधित्व गरेका खेलाडी छन् भने क्याप्ड एज लेभलमा नेपालको उमेर समूहमा कुनै पनि टिमको प्रतिनिधित्व गरेका खेलाडीलाई राखिएको छ । अनक्याप्ड श्रेणीमा नेपालको राष्ट्रिय र उमेर समूहको टिमबाट नखेलेका खेलाडी हुनेछन् । कुनै पनि खेलाडीले आफ्नो न्यूनतम मूल्य चाहेअनुसार बढाएर राख्न पाइने प्रावधान रहेको छ । दर्ता गर्ने अन्तिम मिति असोज ९ मंगलबारसम्म तोकिएको छ । एक टिमले न्यूनतम १५ खेलाडी र अधिकतम १८ खेलाडी टोलीमा समेट्दा अक्सनबाट न्यूनतम १० खेलाडी आबद्ध गर्नुपर्नेछ । टोलीमा १ मार्की खेलाडी, २ जना विदेशी खेलाडी र २ जना लोकल आइकन प्लेयरलाई पनि राख्नुपर्ने नियम छ । प्रतियोगिताका सबै खेल पोखरा रगंशालास्थित क्रिकेट मैदानमा हुनेछन् ।

खेलकुद

अग्रहरिलाई सम्मान र तामाङलाई पुरस्कार

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– गोरखापत्र संस्थानका पूर्वमहाप्रबन्धक एवम् प्रधान सम्पादक सीताराम अग्रहरि ‘एनएसजेएफ पत्रकारिता सम्मान २०७५’ बाट बुधबार सम्मानित
भएका छन् । खेलकुद पत्रकारितामा ३५ वर्ष योगदान गरेका उनलाई नेपाल खेलकुद पत्रकार मञ्चले १४ औं वार्षिक साधारणसभाको अवसरमा सम्मान गरेको हो ।

उनलाई १५ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको थियो । त्यस्तै, मञ्चले राजधानी दैनिकका संवाददाता दिलबहादुर तामाङलाई ‘एनएसजेएफ युवा पत्रकारिता
प्रोत्साहन पुरस्कार’ प्रदान गर्‍यो ।

युवा प्रोत्साहन पुरस्कार यसैपालि सुरु गरिएको हो । २०७० सालयता खेलकुद पत्रकारितामा आबद्ध तामाङलाई एआईपीएस एसियाद्वारा उपलब्ध गराइएको ‘आइप्याड मिनी’ प्रदान गरियो ।